कविता
हेर्दा फरक छौ।
सुनिँदा उस्तै सुनिन्छौ।
तर अर्थ फरक-फरक दिन्छेऊ।
सुनेर मात्र तिमीलाई बुझ्नै सक्दिनँ।
त्यसैले तिमी त मलाई नेपाली व्याकरणजस्तै लाग्छ।
तिमी मोटाउँदा एउटा अर्थ दिन्छौ।
तिमी दुब्लाउँदा अर्कै अर्थ दिन्छौ।
एकातिर फर्किंदा एउटा अर्थ दिन्छौ।
अर्कोतिर फर्किंदा अर्को अर्थ दिन्छौ।
तिम्रो तौल, तिम्रो दिशा, तिम्रो गति, तिम्रो यति, तिम्रा सबै बान्कीहरू आफैंमा जटिल छन्...
त्यसैले तिमी त मलाई नेपाली व्याकरणजस्तै लाग्छ।
कहिले तिमी सग्ली हुन्छौ।
कहिले तिमी पेट काटेकी हुन्छौ।
कहिले तिमी सर्लक्क हुन्छौ।
कहिले तिमी खुट्टा काटेकी हुन्छौ।
कहिले नाकमा थोप्ली लगाउँछौ।
कहिले शिरमा शिरबन्दी लगाउँछौ।
कहिले तिमी लघु स्वरकी हुन्छौ।
कहिले तिमी दीर्घ स्वरकी हुन्छौ।
अरूको अगाडि, अरूको पछाडि र अरूको बीचमा हुँदा तिम्रा नियम फेरिन्छन् तिम्रा तौरतरिका फेरिन्छन्।
सरल त तिमी छँदै छैनौ ...
सोझी त तिमी हुँदै होइनौ।
त्यसैले तिमी त मलाई नेपाली व्याकरणजस्तै लाग्छ .....