जीवनमा धेरै सुनें- जिन्दगी भनेको छोटो छ, यसै बितिहाल्छ, त्यही भएर समयमै सबै कुरा गर ताकी पछि केही कुराको पछुतो नहोस्।
अहिले आफ्नो कोठाको एउटा कुनामा बसेर सोच्दा पो यो भनाइको महत्त्व बुझ्दैछु।
हेर्दाहेर्दै जिन्दगीका ८ दशक बिते। सानो छँदा कहिले ठूलो भइएला भन्ने इच्छा, त्यसपछि आफैं केही गरौंला भन्ने आकांक्षा र अन्ततः अहिले आएर फेरि त्यही सुनौलो बाल्यकालमा फर्किने चाहना। शायद मान्छेले वर्तमानमा बाँच्न नजानेर नै जीवनको रमणीय यात्राको आनन्द लिन नसक्ने रहेछ।
म एउटा सरकारी कर्मचारी, ५८ वर्षमा अवकाश प्राप्त गरें।
म र मेरो धर्मपत्नीको केही संचय गरेर राखेको रकमले अलि समय देशका विभिन्न ठाउँहरू अवलोकन गर्थ्यौं। जागिरबाट त अवकाश हो नि, आफ्नो शरीर त्यतिबेला बलियो नै थियो, अरू कसैको उपस्थिति या अनुपस्थितिले फरक परेन।
५ सन्तानका बुवाआमा, कोही न कोही त यसो भेट्न पसिरहन्थे। कान्छो छोरा विदेशिएको थियो, ४-५ वर्षमा एकपटक आउँथ्यो। नयाँ प्रविधि इन्टरनेटमार्फत् जेठाका सन्तानले कुरा गराइदिन्थे १०-१५ दिनमा एकपटक। समय बित्दै गयो, अलि अलि रोगले च्याप्न थाल्यो।
पहिला जस्तो आफ्नै इच्छाले यता-उता गर्न नपाइने। स्वन्तन्त्र रूपमा बाँचिरहेको जिन्दगी अचानक पिंजडामा थुनिएको पन्छीको जस्तै भयो।
बिहान काममा गएका छोराबुहारी साँझपख आउने, कोही नातिनातिना विदेश, कोही देशमै भए पनि आफ्नै जीवनमा व्यस्त। छोरीहरू पनि आफ्नै घर सम्हाल्दै व्यस्त।
हैन, कसैलाई दोष लगाउन खोजेको हैन मैले! शायद जिन्दगी भनेकै यही रहेछ, उनीहरूले आफ्नो समयमा रमाइलो नगरे कहिले गर्ने त!
त्यै पनि हप्ताको सातै दिन एउटै कोठामा बसिरहँदा मनमा यस्तो कुरा आउनु पनि त स्वाभाविक हो नि, हैन र?
छोराबुहारी आउँछन् ५ मिनेट अनुहार देखाएर जान्छन्, एकछिन अझै बसिदिए हुन्थ्यो जस्तो लाग्छ। तर न म मन खोलेर भन्न नै सक्छु, न उनीहरू आफैं बुझेर बस्छन्।
छोरी कहिलेकाहीँ आउँछिन्, तर आफ्नै गृहस्थीमा फर्किनकै हतार, के गुनासो गरूँ खै, आफैंले कन्यादान गरेर अबदेखि तिम्रो सम्पूर्ण जिम्मेवारी नयाँ घरको भनेर पठाएको!
विदेशमा भएको छोरासँग त टाइम जोनले टाइम दिँदैन भनम्, मनलाई सम्झाउने बाटो। वास्तविकतामा नै बुढाको सहारा बुढी र बुढीको बुढा नै हुने रैछ।
हरेक दिन यही कोठामा बस्छु, यताउता हिँड्न नि यी कमजोर खुट्टाले दिँदैनन्। मेरी जहानको नि यस्तै अवस्था छ, मनका कुरा उनी पनि खासै खोल्दिनन्। बस त्यही पुराना रमणीय पल सम्झियो अनि टोलाएर बस्यो। झ्याल बाहिरका दिन रातमा बिते, बसन्तबाट शिशिर ऋतु भयो, यसैगरी साल अघि बित्दै गए। मेरा परिवारको लागि त म यही छु- उनीहरूसँग, तर बुढेसकालको यो एक्लोपनले मलाई भित्रभित्र खाइरहेको छ। शायद जीवनको गतिपथ नै यही होला, शायद!