एसएलसी सकेर पहिलोपटक गाउँदेखि बजार झरेका भिभान गाउँको मेधावी विद्यार्थी भएको हिसाबले स्कुलबाट सबै सर/म्याडमहरूले साइन्स नै पढ्न सल्लाह दिए पनि उनी आफ्नो हिसाबले वाणिज्य शास्त्र पढ्न चाहन्छन र कलेज भर्ना गर्छन्।
सरकारी स्कुलमा पढेको भएर अङ्ग्रेजी थोरै कमजोर रहेका उनलाई कक्षा एघार अङ्ग्रेजी माध्यममा पढ्न चुनौती हुन्छ, तर उनलाई गाउँमा रहेको रोल नं १ को साख जोगाउनु छ।
उस्तै मेहनत गरेर ११/१२ मा कलेज टप गरेपछि उनमा आत्मविश्वास बढ्छ।
कक्षा १२ पास गरेपछि चार्टर्ड एकाउन्टेन्ट पढ्न चाहेका उनको परिवारको आर्थिक स्थितिले गर्दा पढ्न सक्षम नभएपछि छात्रवृत्तिमा बिबिए पढ्न जान्छन्।
बिबिएमा पनि सुरूसुरूमा गाह्रो भए पनि विस्तारै उनी आफ्नो लयमा आउँछन्।
बिबिए पढ्दाको समय भर्खर भर्खर बाहिर पढ्न जानेको लहर लागेको हुन्छ।
अन्तिम अन्तिम सेमेस्टरमा पुग्दा क्लासकै केही साथीहरू विदेश जानलाई आइइएलटिएस क्लास गर्नलाई जाँदा उनलाई पनि बाहिर जाने कि भनेर सोध्दा तिमीहरू गएपछि पैसा पठाउँदा सम्हालेर राख्नलाई नेपालको बैंकिङमा करियर बनाउँछु, भनेर जिस्किने उनी पारिवारिक बाध्यतालाई लुकाउन बाध्य हुन्छन्।
भर्खर भर्खर साहित्य पढ्न थालेका भिभानले पहिलो किताब बुद्धिसागरको कर्णाली ब्लुज पढेपछि साहित्यमा मोह जागेर सुविन भट्टराईको समर लभ पढिरहेका हुन्छन्।
विदेश नगएर आफ्नै देशमा केही गर्ने सोच बनाएका उनी समर लभको पात्र अतितमा आफैं भिजेपछि नर्वे जाने हुटहुटी चल्छ। अनि नर्वेको शिक्षा, भाषा, संस्कृतिप्रति अध्ययन गर्न थाल्छन्।
नि:शुल्क शिक्षा अनि नर्वेको स्तरीय शिक्षाले उनलाई तान्छ। नर्वेको मौसम बढीजसो चिसो हुने भएकोले छ महिना काम गर्ने छ महिना भित्र नै रहनुपर्ने भए पनि नर्वेमा शिक्षादेखि कमाइ पनि राम्रो हुने देखेर नर्वेको भूत चढेको हुन्छ।
परिवारसँग नर्वे पढ्न जान्छु भनेर आइइएलटिएस गर्न साथीहरूले सल्लाह दिए पनि उनको पारिवारिक अवस्थाले गर्दा विदेश जान्छु भनेर भन्न सक्दैनन्।
बिबिए पास भएपछि पारिवारिक स्थितिलाई मध्यनजर गर्दै केही वर्ष जागिर गरेरमात्रै स्नातकोत्तर गर्ने कि भनेर सोच्दै गर्दा स्नातकोत्तर पढ्न पनि छात्रवृत्तिमा नाम निस्केपछि अब भने जागिरको योजना केही समयलाई थाती राख्नुपर्ने हुन्छ उनलाई।
एमबिएमा केही साथीहरू बैंकिङ करियर सुरू गरिसकेका हुनाले बिस्तारै नेपाली बैंकिङमै लाग्नलाई उनी पनि फारम खुलेको बैंकमा योग्यता अनुसारको पोस्टमा फाराम भर्दै जान्छन्।
हरेक संस्थाको परीक्षादेखि अन्तर्वार्ता सबै केन्द्रमै भएको हुनाले कतिपय परीक्षा दिन जानआउन खर्चको अभावले छोडे पनि राम्रो मानिने बैंकको परीक्षा दिन भने साथीभाइसँग सापटी गरेर भए पनि पुग्छन् र नाम निस्केकोमध्ये बैंक रोजेर काम गर्न थाल्छन् उनी।
उता उनीसँगै पढेका साथीहरू कोही स्नातक तह सकेर त कोही स्नातकोत्तर तह सकेर विद्यार्थी भिसामा अस्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड पुगिसकेका हुन्छन्।
अन्तिमपटक यी साथीहरूलाई दिक्षान्त समारोहमा आ–आफ्नो परिवारसहित एकअर्काको अभिभावकलाई परिचय गराएका धेरै साथीहरू अहिले बाहिर पुगिसकेका हुन्छन्।
दीक्षान्त समारोहको अन्तिम रातमा गेट टुगेदर गर्दा कसैले कसैलाई नबिर्सने, जहाँ भए पनि अपडेट दिइरहने भन्ने वाचा कसम त्यस रातको नशासँगै उडिसकेको हुन्छ।
बाहिर गएपछि कोही बोल्न छोडेका कसैको समय नमिलेको कसैको नेपालको समयसँग नमिल्ने भएर सम्पर्क लगभग टुटिसकेको भए पनि फेसबुकमा एकअर्काको साथी भने भएको धेरै साथीहरूको बेलाबेला पोस्ट आइरहेको हुन्छ।
बाहिर गएपछि फेरिएको जीवनशैली, रहनसहन , एक डेढ महिना विवाह गर्न मात्रै आउने छुट्टी, नेपाल आएर बिहे गरिसकेपछिको फेसबुकमा अपडेट हुने तस्वीरहरू आदि भने अज्ञात नै हुन्छन्।
ए उसले पनि बिहे गरेछ, उसले त अमेरिकामा गाडी किनेछ, अर्कोले अस्ट्रेलियामा घर किनेछ। सबै साथीहरू माथिमाथि पुगिसकेको देख्दा आफू भने नेपाल बसेर मुस्किलले आफ्नो परिवारलाई पुर्याउन नसकेको आधारभूत आवश्यकता भन्दा माथिको केही कुरा किन्न पाँचपटक सोच्नुपरेको देख्दा नेपालको पनि के लाइफ, लाइफ त बाहिर नै छ जे भए पनि भन्ने लाग्ने उनी आजकल धेरै साँघुरिन थालेका छन्।
अफिसबाट घर आएर थकित अवस्थामा नेट खोलेर सरर फेसबुक स्क्रोल गरिरहँदा पछाडिबाट बुवाले कसैको फोटो देखेर थोरै माथि गर्नु त भन्नुहुन्छ, हल्का माथि स्क्रोल गर्छन् उनी, उहाँहरू त तेरो साथीको बाबाआमा हैन र? पोहोर साल टोपी लगाउने दिनमा भेटाएको थिइस् त !!
‘हजुर हो उहाँहरू अघिल्लो महिना अस्ट्रेलिया जानुभएको छोरा उतै भएको भएर, अझै एक दुई महिना बस्नुहुन्छ होला।’
‘ए ए अर्को साथीको आमाबुवा पनि हिजो मात्रै अमेरिका समुन्द्रको छेउमा रमाएको फोटो देखेँको थिएँ उहाँहरू कहिले जानुभएको?’
‘उहाँहरू अघिल्लो हप्तामात्रै जानुभएको, नयाँ घर र गाडी किनेको भएर घरमापस्ने बेला जानुभएको होला म पनि उसँग त्यति कुरा हुँदैन फेसबुकमै देखेको।’
‘ए ए, तँ पनि कतै बाहिर गएको भए साथीहरू जस्तै प्रगति गर्ने थिइस् होला’ भनेर बुवा अरू केही नसोधी आफ्नो काममा लाग्नुहुन्छ।
कमेन्ट बक्समा गएर रमाइलो गर्नुहोला अङ्कल आन्टी भनेर लेखेपछि कताकता मनमा चिसो लाग्छ उनलाई।
बाबाले यो सबै देखेर के सोच्नुभयो होला, म बाहिर भएको भए हामीले पनि नेपाल बाहिरको संसार देख्न पाउने थियौं भन्न मन थियो होला, तर छोराले नराम्रो मान्ला भनेर केही भन्नुभएन।
खाना खाएर बिस्तरामा पल्टिरहँदा केके कुरा मनमा खेलिरहे, त्यतिबेला ऋणधन गरेर बाहिर जाने आँटेको भए पनि आज यो दिन देख्न पर्थेन होला, आमाबुवालाई विदेश भन्ने सपना पूरा हुन्थ्यो होला।
हाम्रा बाबा आमा पनि यतिबेला कुनै देशमा रमाइलो गरिरहनुभएको हुन्थ्यो होला, यावत् कुराहरू मनमा खेल्दाखेल्दै निदाउँछन् उनी। बाबाआमासँग नर्वेको ओस्लोमा घुमेको सपना देख्दादेख्दै झल्याँस्स ब्युँझेका उनी मोबाइल खोलेर हेर्छन् बिहानको ६ः३० बजेको हुन्छ।
ओहो! कस्तो सपना देखेछु, पूरा हुन नसक्ने, भन्ने सोच्दासोच्दै नेट अन गर्छन्, फेसबुक स्क्रोल गर्छन्।
सुरूमै पोस्ट आउँछ ममीबाबालाई न्युजिल्यान्डमा स्वागत छ। , न्युजिल्यान्ड भएको साथीको आमाबुवा पनि उतै पुग्नुभएछ।
बधाई साथी, ह्याभ अ बेस्ट टाइम विथ योर प्यारेन्ट्स भन्ने कमेन्ट लेख्छन् अनि सोच्छन् उनी।
आज त बुवाआमालाई कतै नजिकै भए पनि घुमाउन लिएर जान्छु। बैंकिङ एप लगइन गरेर हेर्छन्। रु १२,४५६ देखिन्छ उनको एपमा।
आज १४ गते अझै २५ गते आउन ११ दिन छ भनेपछि बढीमा ५/६००० सम्म आजको खर्च गर्न सकिन्छ।
‘बाबाआमा आज हजुरहरू खाना खाएर तयार हुनुस् है, फेवाताल घुम्न जानुपर्छ अनि डुंगा चढेर ताल बाराही दर्शन पनि गर्नुपर्छ।’
‘अनि छोरा तिम्रो अफिस?’, आमाले सोध्नुहुन्छ।
‘मैले आज बिदा लिएको छु अफिस।’
यति भनेपछि उनी आफ्नो अफिसमा हाकिमलाई कल गर्छन्।
‘सर गुड मर्निङ, आज बाबाआमालाई यसो घुम्न लिएर निस्किनुपर्ने भयो, अफिस भोलिमात्रै आउँछु।’
हाकिम सरले ‘हुन्छ’ भनेपछि घुम्न जाने तयारी गर्न थाल्छन् उनी।
तालछेउ पुगेर तीन जनाको टिकट लिएर डुंगा चढ्छन् उनीहरू, पहिलोपटक डुंगा चढेको उत्सुकता, थोरै डर र धेरै खुसीको भाव देखिएको बुवाआमाको तस्वीर कैद गरेपछि डुंगा अगाडि बढ्न थाल्छ।
अगाडि बढिरहेको डुंगाले पछाडि पाइला मेटेर हिँडिरहेको छ। उनको दुबै हात कलकल चल्मलाइरहेको पानीमा स्पर्श गरिरहेको छ।
आमाले बुवाको हात समाएर आफ्नो डरलाई कम गरिरहनुभएको छ।
बुवा पहिलोपटक डुंगा चढेर दंग हुनुहुन्छ। उनी मनमनै सोच्दै छन्। ‘बुवाआमा मलाई माफ गर्नुहोला, मैले हजुरहरूलाई घुमाउन सक्ने भनेको यही हो, हाम्रो लागि अमेरिका, अस्ट्रेलिया सबै यही हो। किनकि हजुरको छोराले हजुरहरूलाई विदेश घुमाउन सक्दैन।’
डुंगा रोकिन थालेको हुन्छ। माझी दाइ डुंगा साइड लगाउन थाल्छन्।
भक्तालुहरू केही ताल बाराही मन्दिर दर्शन गरेर फर्किने तयारीमा हुन्छन्।
परेवाहरू यताउता उडिरहेका हुन्छन्, पृष्ठभूमिमा भजन बजिरहेको हुन्छ।
बेलाबेला भक्तालुले बजाएको घण्टी बजिरहेको हुन्छ।
पूजाको सामग्री बेच्ने दिदी आएर भन्नुहुन्छः आमा पूजा सामग्री लिनुभएको रैनछ, आउनुस् मेरोमा लिनुस्।