कविता
हिजोआज सहकारी घाइते छ,
अस्पतालको विपन्न वार्डमा
बिग्रिएको बेडमा छटपटाइरहेछ।
डाक्टरहरू आउँछन् जान्छन्
अपरेसन गर्ने हिम्मत कसैमा छैन
उपचारको पालोमा हेपिएको छ सहकारी,
कुरूवाहरू पनि दिक्क छन्
आफन्तहरूले बाँच्ने आश मारिसके।
डाक्टरहरूले ठेगान छैन भनेर हिँडे बरू
बचाउने र बिसेक पार्न वास्तै गरेनन्
अब औषधि सबै फिर्ता हुने क्रममा छ
उपचार स्थगित भएको सुनिन्छ
डाक्टर, नर्स, सिस्टर र कुरूवा समेत
सबै हुरेर क्याबिनतिर लागेका छन्।
गलल्ल हल्ला छ क्याबिनभित्र बाहिरबाट सुनिन्छ-
अब सहकारीको बिजोग हुन्छ।
फेरि गलल्ल हाँसो गुन्जिन्छ...
परबाट बैंकहरू पनि दंग परेको देखिन्छ
तंग्रिएको जस्तो फूर्तिलो देखिन्छ
सेयर मार्केट चाहिँ खासै खुसी छैन
राम्रो उपचार नपाएर होला सायद
घाइते सहकारीप्रति आस लगाएर बस्या छ।
सहकारीको उपचार गर्ने पैसाहरू
व्यापारीका घरका भित्ता-भित्तामा छन्
जग्गाको प्लट अनि कित्ता-कित्तामा छन्
साहुले त कोठा खनेर गाडेका छन् रे
जमिनदारले सुनको ढिक्कामा राखेका छन् रे
भ्रष्टाचारीलाई फसाद छ यहाँ
बैंकले स्रोत खोजेर हैरान
सहकारीको भर छैन यहाँ
कालो धन लुकाउनै मुश्किल ...
बिचरा सहकारी
रगतको अभावमा-इन्तु न चिन्तु छ
कुरूवाहरू भने कुर्न छोड्न खोजिरहेछ
सम्बन्ध तोड्न खोजिरहेछ
सहकारीबाट मन मोड्न खोजिरहेछ
हिजो सहकारी मै झुम्नेहरू
सहकारीबाटै घुम्नेहरू
आज दायित्वबाट पन्छिन खोजिरहेछन्
घाइते सहकारीलाई मन्छिन खोजिरहेछन्
हिजो रगत पैंचो लिनेहरू
आज मुटु र कलेजो मागिरहेका छन्।
मिर्गौला लिएर गएकाहरू
बाटो भुलेर बसेका छन्।
तमासा बैंक र मिटरब्याजीहरूले मात्रै हेरेनन्
झ्यालबाट धेरैले चिहाइ रहेका छन्।
सहकारी अब अस्पतालबाट
बिना उपचार बाहिर निस्कँदैछ।
सायद अब घर आँगनीको
तुलसी मोठनिर उतानो परेर सुत्नेछ।
यति हुँदासम्म पनि
हिजो सहकारीसँग रमाएकाहरू
आज बाहिर निस्कने छैनन्।
बरू मुन्टो बटारेर
मुख खिस्रिक्क बिगारेर
भन्न बेर छैन- 'सहकारी अब मर्छ'
होइन 'सहकारी कहिल्यै मर्दैन'
यसले धेरैलाई बचाएको छ
जमिनदार, मिटरब्याजीदेखि ढुकुटीका पीडितहरूलाई
यसले उद्धार गरेको छ
बैंक र फाइनान्सको व्यवहारलाई
यसले सबक सिकाएको छ
गरिब, विपन्न र निमुखाको साथी भएको छ
यो कोही नहुँदा केही नहुँदा
सबैका लागि यो सबथोक भएको छ।
त्यसैले यो मर्दैन, बरू कुरूवा मर्ला, डाक्टर मर्ला...
तुलसीको शितल जलको सिंचनले यो उठ्छ
अब यो उठ्छ अब