कविता
थाप्लोमा नाम्लो भिरी
काँधको जिम्मेवारीलाई
जुरूक्क पारी
कहिले माने भञ्ज्याङ
स्याफ्रु बेसी
त कहिले
ओलाङ्चुङगोला
नुनको भारी बोकी
पाटी पौवामा
बास बसि
चौतारीमा खुइँय
सुस्केरा हाल्दै
साइली माइलीको
भट्टीमा अबेर
रात बेरात
थकाइ मार्न
प्रत्येक प्याकसँगै
हिसाब किताब राख्दै
गोजी छाम्दै
छोरीको सीसा कलम
र कापी किताब
बुढीको फाटेको लाज
अनि
बुढी आमाको ओखतीको
किर्मिर नाम सम्झी
घ्याम्पे हान्छु
जेनतेन गुजारा
चलिरहेको थियो
विरानो सहरमा
अलिकति जम्मा गरेको
इजारको मैलो पैसाले
त्यति नै बेला
नाका बन्दी
भू-कम्पको पराकम्पनहरू
कोभिड-१९
पछिको मन्दी
सडकको गोलभेँडा, दूध
प्याजमा करले गर्दा
मेरो नाम्लो
झन गुजुल्टिन थाल्यो
एक मध्ये रात
हत्केलाले पेट थिचेर
सुति रहेको बेला
उत्तेजनामा आएर
डोरी संगाल्दै संगाल्दै
फुटपाथमा नाम्लो
जड भयो