कविता
सालनालमा बेरिएर
गुजुल्टिएको जीवन
फक्रिएर फुल्न नलाग्दै
फेरि परम्परा र विचारको
अर्को नालले बेरिदिन्छ
सबैको थोर धेर
बाँच्नुमा कति आनन्द छ
एकचोटि बाहिरिएर त हेर।
जन्मने बित्तिकै सुरू हुन्छन्
हाम्रा सीमा स्तम्भहरू
उनीहरू भन्दछन्
हामी मान्छौं
हामी सहन्छौं -
तिनीमा ठोकिएका चोटहरू
पुच्छदै बगेको रगत र पसिना
र,
धिक्कारछौं जीवनलाई थोर धेर
बाँच्नुमा कति आनन्द छ
एकचोटि बाहिरिएर त हेर।
कालो पर्दाले उज्यालो छेकेझैं
छेकिएको छ सत्य,
उसको सत्य हाम्रो बनेको छ,
उसको उचाइ भन्दा माथि छैन हाम्रो
उसको असम्भव हाम्रो भएको छ,
त्यसैले,
पीडा भएको छ थोर धेर
बाँच्नुमा कति आनन्द छ
एकचोटि बाहिरिएर त हेर।
हुरीले बादल मडारेर
वर्षात भए झैं
वृष्टि गराउनु छ सिमानाहरूको
चट्याङ पारेर
बस् एकचोटि
बगाएर त हेर,
कानछोपी बसे पीडा हुन्छ थोर धेर
बाँच्नुमा कति आनन्द छ
एकचोटि बाहिरिएर त हेर।