कविता
नेतृत्व बन्दीगृहमा प्रताडित छ।
विचार कौडीको भाउमा बिक्रीमा छ।
आस्था स्खलित छ।
संगठन बरामद गरिएको छ।
देश विखण्डनमा छ भने
तिमी र म किन सग्लो किन हुनुपर्यो?
बेलुकी फुलेको फूल बिहान मन्दिर पुग्छ कि मसानघाट
बेलुकी सुतेको मान्छे बिहान मान्छे बन्छ कि लास।
अनि तिमी र म किन हाम्रो हुनुपर्ने ?
सद्भावनाहरू खुद्रा खुद्रा बाँडिए।
सहिष्णुता होलसेलमा फ्याँकियो।
संस्कारहरू आयात हुन थाले
शताब्दी एउटै प्रतीक्षामा रहेको उपेक्षित र उत्पीडित दुई किनारा
झैं वियोगान्त बेहोर्नु परेको छ भने
तिमी र म किन हामीलाई हामी हुनुपर्ने?
हाँस्नेहरू रून थाले, रूनेहरू हाँस्न थाले
गरिबहरू निरपेक्ष गरिब भए
धनीहरू आस्मान छुन थाले
तिमी र म सहयात्रा गरेर किन पैसा कमाउनु पर्ने?
आऊ घाटमा
दाउराको चाङमा मेरो खुसी च्यापिएको छ
मट्टितेलको तरलतामा मेरो आँसु बगाइएको छ।
आगोको भुंग्रोमा अतितहरू पोलिएको छ।
खरानी शरीर सँगै मेरो सजिव इतिहास बगाइएको छ।
आऊ
सोध मलाई
३५ सय वर्षको बहिष्करण र विभेदको विरूद्ध लडछौं कि
प्रेमको निम्ति?