कविता
अहिले त म
भर्खरै हिँड्न सिक्दैछु,
शब्दका अनकन्टार गोरेटो
गल्ली अनि गाउँहरूमा
तैरिन सिक्दैछु
अक्षरका विशाल ताल,
तलाउ अनि सागरहरूमा
अर्थका अग्ला अग्ला अग्ला.. ...
हिमालहरू छिचोलेर
भर्खंरै हिँड्न सिक्दैछु,
अनगिन्ती आफ्ना भावनालाई
लुकाएर, फुकाएर,
धकाएर, डराएर अनि रमाएर
भर्खर कलम समाएर
लेख्न सिक्दैछु
मनको कुराहरू
निर्धक्क पोख्न सिक्दैछु
अक्षरका बेरु"प आकृतिहरूलाई
कपीका पानाहरूमा,
कम्प्युटरका फाइलहरूमा
अनि फेसबुकका भित्ताहरूमा
सुनामी नै ल्याउने
विचारहरू मनभित्रै पोको पारेर
आफैंले लेखेका अक्षर
अनि शब्दहरू
उच्चारण गर्न सिक्दैछु
गलत नै होस्
तर पनि लेख्न खोज्दैछु
हरेक अक्षरमा म
आफैंलाई देखिरहेको छु
हरेक शब्दमा म
स्वयमलाई पोखिरहेको छु
अहिले म तिमीलाई
यति भन्न सक्छु
अर्थका पहाड छिचोलेर
कुनै दिन म
लेख्नेछु म
एउटा सुनौलो कविता
आमा ठ्याक्कै तिमी जस्तै
अहिले त म एउटा खहरे
तिमी विशाल सागर
म सानो थुम्को
तिमी फराकिलो हिमाल
तिम्रो गहिराइ, सौम्यता
विशालता अनि भव्यता
म अहिले कसरी आँक्न सकूँली
आफैंलाई स्थिर बनाएर
आफैंलाई शान्त पारेर
एक दिन म लेख्नेछु
तिम्रो मुखबाट सुनेका
तीतो–मीठो अनुभूति,
सुस्केरा, हाँसोहरू समेटेर
तिम्रो दुःख, पीडा
अनि रहरहरूलाई बटुलेर
अनुहारका गुजमुजिएका
मुजाहरूमा थुप्रिएका
तिम्रा अव्यक्त
भावनाहरू चोरेर
तिम्रो लागि
एउटा सुनौलो कविता
तिमीले भोगेको
त्यो अभावको,
डर लाग्दो दबाबको,
तुहाइएका सपनाहरूको
साँचेर राख्दाराख्दै
कुहिएका रहरहरूको
सन्तानका लागि मारेको/मरेको
इच्छाहरू सबैको
एक दिन
सुनौलो एउटा कविता