एक साँझ एकाएक फेसबुक मेसेन्जर उनको नामबाट बोल्यो।
'के तिमी मलाई साँच्चि माया गर्छौ?’
म काममा निकै व्यस्त थिएँ। पत्रिकाको सेटिङ चलिरहेको थियो। कुनै जवाफ फर्काइनँ।
म आफ्नो ध्यान कामदेखि भंग गर्न चाहन्नँ थिएँ। आफैं प्रुफ हेर्नु र सेटिङको काम गर्नु परिरहेको थियो।
थोरै पनि गडबडी भए अर्कोदिन खेपिनसक्नु आलोचनाका तीरहरू सम्पादकले सहनु पर्छ।
सुन्दर र ठूलो सहरका भवनहरू निर्माण गर्ने ज्यामी झुपडीमा बसेजस्तै सम्पादकलाई सजिलो पारिदिने हामी जस्तैको काम न हो।
मेरो कारणले अरू कसैले भनाइ खानु परोस्, म त्यो कहिल्यै चाहन्नँ। पत्रकारिता यस्तै त हो, अभाव, दबाब र तनावको पेशा।
थोरै म्यानपावर, त्यसमा पनि धेरैजसो समय राति अबेरसम्म एक्लै काममा जोतिएर पत्रिका निकाल्नु सानो कुरा हैन। अर्कोतर्फ न्यूज नै हुँँदैन। कसरी पत्रिका भर्ने? ओहो, कहिलेकाहीँ सकस हुन्छ। तस्बिरको साइज ठूलो बनाउनु र तन्काएर क्याप्सन राखिदिनुको विकल्प हुँदैन।
यस्तै कारणहरूले राति समयमा घर पुग्ने कुरा नचिताए पनि हुन्छ। प्राय: घरमा म पुग्दा सबै सुतिसकेका हुन्छन्।
कुनामा राखिदिएको खाना एक्लै खायो, सुत्यो। त्यसै भनिएको होइन रहेछ– पत्रकारले खाने भात सधैं चिसो र उसकी श्रीमती सधैं ताती हुन्छे म ध्यानमग्न ऋषिजस्तै अक्षरमा केन्द्रित हुन खोजे पनि उनका ती शब्दले मन बेचैनी बढेको थियो।
अचम्म, मैले समयमै जवाफ नफर्काउँदा उनी टुप्लुक्क त्यही आइपुगिन्।
लजाउँदै विस्तारै मेरो नजिक आएर बसिन्। काखमै बसुलाझैं गरिन्।
म एक्लै जो थिएँ। अब भने उनी अक्षरसँगै नाच्न थालिन्। आफ्ना गोरा अनि लामा औंलाहरू किबोर्डहरूमा जादुझैं चलायमान बनाइन्।
मैले हतारपूर्वक पत्रिका फिलअप गरें।
बिस्तारै उनले मलाई एउटा सुन्दर जंगलभित्र डोर्याइन। जहाँ सानो घर थियो। केही पर अर्को एक अधबैंसे पुरूष देखियो।
उसले सोध्यो– उहाँ को हो? उनले प्रश्नवाचक शैलीमा मलाई पुलुक्क हेरिन्।
जवाफ दिइन्– उहाँ पत्रकार। मेरो इन्टरभ्यू लिन आको।
अनि त्यो पुरूष अलप भयो।
ओ हो, महिला भएर पनि कति मर्दाङ्गी हो। कस्तो हाकाहाकी बोल्न सकेको। मलाई अप्ठ्यारो फिल भइरहेको थियो। क्यान्डल लाइटको उज्यालोमा उनी पूर्णिमाको चन्द्रमा जस्तै भरिपूर्ण र धपक्कै बलेकी थिइन्। फेरि उनले ल्यापटप खोलिन्। कञ्चन पानीले भरिएको एउटा सुन्दर पोखरी सम्मुख थियो।
वसन्त ऋतु थियो। मलाई सँगै डुबुल्की लगाऊँ कि भन्दै इशारा गरिन्। मैले अनइच्छा देखाउँदा रिसाउँदै झ्वाम्म हाम फालिन्। सायद उनी मेरो परीक्षा लिन चाहन्थिन्। देखादेख कसैको ज्यान जान दिनु मानवता थिएन। मैले पनि हाम फालें। ‘तिमी पागल’।
आधा शरीर उनले अठ्याइन्। भित्रै गाड्न खोजिन्। डुबेको मान्छे अरूलाई पनि डुबाउनै खोज्छ। म उनलाई किनारमा हुत्याउन सफल भए। केहीबेर लथ्र्याक्क लुथ्रुक्क हात खुट्टा गले। बेहोसीको नाटक गरेकी उनको ज्यान कम्ता भारी थिएन। अरूको भरमा ज्यानै छोड्नेहरूसँग कसले सक्छ?
केहीबेरमै उनी बिउँझिएको बहाना गरिन्। फेरि त्यही पोखरीमा डुबल्की लगाइन्। यतिखेर पोखरीबाट निस्कँदा जादुगर जस्तै बनिन्। उड्न र गुड्न मिल्ने एउटा अनौठो स्कुटीजस्तै साधन पोखरीबाट निकालिन्। अब भने मलाई लाग्न थाल्यो,उनीसँग असाधारण क्षमता छ। स्कुटीको चाबी थमाइन्।
मैले सत्य बोलें–मलाई चलाउन आउँदैन। अरे, अचम्म मान्दै शिरदेखि पाउसम्म नियालिन्। पछाडि बस्न इशारा गरिन्। म पछाडि बस्दा उनको उत्साह सगरमाथाभन्दा अग्लिएको थियो सायद।
मलाई कतै गुडाउन र कतै उडान थालिन्। कहिले पहाडका नागबेली सडक र खोंचमाथि उडाइन्। कहिले तराईका चौकोशे झाडीहरूमाथि गुडाइन्। मलाई मनमा डर पनि लागिरहेकै थियो।
तर पनि हामी रमायौं। कहिले काठमाडौंका सहरहरूमा डुल्यौं, कहिले चितवन सौराह, सुनसरी, झापा, मोरङ र बुटवलसम्म यादगार यात्राहरू भए। थारु देवता रक्साझैं उनले मलाई रातरात घुमाइन्। बिहान हुन थाल्यो। अब मलाई घर फर्किनु थियो। तर, कसरी? वार्षिक उत्सवहरूमा वा विशेषांक निकाल्दा कहिलेकाहीँ म कामको चापले अफिसमै सुत्थें। सुरूमा डर लाग्छ। कसैले उनीसँगै देख्यो भने?
उनले चिन्ता नलिन र ढुक्क हुन ढाडस दिइन्। विस्तारै उनले मलाइ स्कुटी चलाउन सिकाइन्। सिक्ने रहर ममा पनि थियो। अब म अगाडि उनी पछाडि। नयाँ नयाँ जोश, मैले सम्भव भएपछि स्केलेटर बटारें। सालझुण्डीनिर झन्डै यमराज रूपी टिपरले हाम्रो स्कुटी उडाएन। बल्ल देब्र छातीको मुटु उफ्रिएर दाहिनेतर्फ आउला झैं गयो। सातो उड्यो। बा–आमा र घर परिवार तथा मिल्ने साथी सम्झिएँ। मेरो मूर्खताविरूद्ध उनले खबरदारी गरिन्।
म निन्द्राबाट झल्यास्स् ब्युँझिएँ। कस्तो अनौठो सपना। सिरानी मुन्तिरको मोबाइल हेरें। रातको तीन बजेको थियो। छोरा र श्रीमती गहिरो निन्द्रामा थिए। मध्यरातमा उनीहरूको निन्द्रा खलबल्याउन चाहिनँ। बाहिर निस्केर एउटा क्यान्सर पाइपमा आगो झोसें। शान्त आकाशमा धुँवाजस्तै मन उडिरहेको थियो।
आएर पल्टिएँ। निन्द्रादेवी आए पो! कोल्टो फेरिरहें। केहीबेरमै घरको भाले बास्यो। ठिक एक– एक घन्टाको जनाउ दिने सजिव घडी भन्छु म उसलाई।
नजिकै बाँसको रूखमा बास बसेका सिम्टाल्नी र भंगेरा एकैछिन चर्को स्वरमा बोले। फेरि शान्त बने। वसन्त ऋतु। बोटबिरूवामा नयाँ पालुवा पलाउन थालिसकेका थिए। आलु बारीबाट बिरालोले मुसो घिसार्दै आँगनसम्म ल्यायो। जुनेली रातमा मैले झ्यालको बेडबाटै नियालें। एउटालाई ननासी अर्को बन्दैन भन्ने त्यो उदाहरण थियो। ठूलो माछाले सानो माछा खान्छ। धनीहरूले गरिबलाई ठगेरै आर्जन गरिरहेका हुन्छन्। वर्ग, जात, मालिक, मजदूर, शासक र शासित वर्ग बीचको द्वन्द्व चलिनै रहन्छ। त्यो अन्त्य गर्छौं भन्नेहरू उनीहरूलाई नै टेक्दै माथि पुगेको कति वृत्तान्त छन्। जो लेखेरै साध्य छैन। एक सय केजी सुन एकै लटमा त्रिभुवन विमानस्थलबाट बिना सेटिङ त्यसै भित्रन्थ्यो र?
सरकारी अड्डा अदालतका कर्मचारी, प्रहरीका हाकिम, दुई नम्मरी व्यापारीको सम्पत्ति छानबिन गरे पुग्छ। एउटा प्रहरीको डिएसपी, एउटा नासु तहको कर्मचारी सहर बजारमा घर नभएको विरलै होला। के उनीहरूको तलबले मात्रै त्यो सबै सम्भव छ? कदापी छैन।
सपनामा आएकी ती राजकुमारीसँग वास्तवमा कहिलेकाहीँ हेराफेरि मात्रै हुन्थ्यो। बोलचाल थिएन। निन्द्रा नलागेपछि साढे ४ बजेतिर मैले उनलाई ‘हेलो’ लेखें।
उताबाट तत्कालै जवाफ आयो।
मैले लेखें – तपाईं जागै हो?
उनले लेखिन् – तपाईंको जवाफ आउला भनेर पर्खिबसें अनि निन्द्रा नै लागेन।
मैले खुसीको इमोजी पठाएँ। उनले लभ रियाक्ट गरिन्।
मैले भोलि भेटेर कुरा गरौं भनेर लेखें। उताबाट ग्रीनसिग्नल आयो। शुक्रबार दिउँसो साथीहरूसँग बबई नदीमा गरेको रमाइलो तस्बिरहरू नियाल्दै आफूलाई भुलाउन खोजें।
एकबारको जुनी, फेरि फर्केर आउने हैन। केही वर्ष पहिलेसम्म हामीले साथीभाइका बीचमा थुप्रै रमाइलोहरू गथ्र्यौं। ती कहिल्यै नसकिने कथाहरू छन्। हामी आपसमा पैसा उठाउँथ्यौं। घरमै बनाएको स्पेशल रक्सीको एउटा ग्यालिन साथमा हुन्थ्यो। मासुका विभिन्न परिकार पनि लगिएका हुन्थे। गर्मीका दिनहरूमा दाङ भित्री मधेशमा पर्ने भए पनि तातो टिनमाथि बस्नु सरह हुन्थ्यो। त्यो छल्न र रमाउन हामी फुर्सद मिलाएर नदीमा पुग्थ्यौं। जहाँ गहिरो हुन्थ्यो त्यो ठाउँ खोजी हुन्थ्यो। सबै नदीमा एकै साथ पस्ने। गीत गाउने, रमाउने। पानीभित्र ढुंगाले च्यापेर राखिएका पिय पदार्थ केहीबेरमै चिसो बन्थे। डुबुल्की लगाउँदै चुस्दै फाल्दै।
मासुका परिकार पोलिथिनमा हुन्थे। आफूभन्दा माथि हुने साथीले ती बगाइदिन्थे। तलतिर बस्नेहरूले पौडिँदै समाएर खान्थे। फेरि उनीहरू त्यसैगरी पास गर्थे। समुन्द्री टटमा विदेशीका सनबाथभन्दा झनै आनन्द हामीले लिन्थ्यौं।
एकदिन एक जना साथीको अन्डर वयर बगेपछि पानीबाट बाहिर निस्कनै आपत्। आपसमा जिस्कने, छिल्लिने, पौडिएर लेखेट्ने, एक अर्काको नयाँ नामहरू राखेर गिज्याउने। सायदै जीवनमा त्यस्तै खुसी फेरिफेरि मिल्छ होला?
‘ए कालीको पोइ’, ‘ए डल्लीको पोइ …’। त्यही बीचमा एउटा साथीले मलाई उनको नाम लिएर, ‘लौ फलानीको पोइ यो मासु क्याच गर’ भन्यो। पानीभित्र डुबेको मलाई औडाह भयो। उसले कसरी हाम्रो सम्बन्ध थाहा पायो, भनेर डर लाग्यो।
मानिस गल्ती गरेका कुराहरू लुकाउन छिपाउन चाहन्छ। आफूले माया गर्ने व्यक्तिलाई पनि अरूको नजर र प्रभावबाट लुकाउन मन लाग्दो रहेछ।
उसलाई मैले सोधें – को हो त्यो केटी। साथीले चिनेकै रहेनछ। त्यसै जिस्काउन भनेको भनेपछि बल्ल मन शान्त बन्यो।
चोर आफैं तर्सिन्छ भन्ने सुनेको थिएँ। त्यो पल मलाई ठीक त्यस्तै भएको थियो। जो जस्तो छ उसलाई त्यस्तै भनिदिँदा खुबै पीर लाग्दो रै’छ। जस्तो कालोलाई – काले, होचोलाई पुड्के। झुक्केर पनि नभन्नू!
सबै बन्दोबस्तीका साथ हामी नदीमा गएका हुन्थ्यौं। त्यसैले केही पर कोही जालले माछा मारिरहेका हुन्थे। मारेका माछा किनारमै पोलेर भागबन्डा गर्नेहरू तयार हुन्थे। प्रकृतिसँग रमाउन जान्नुपर्छ। त्यसको बेग्लै सन्तुष्टि मिल्छ। राम्रा होटलभन्दा पनि साथीभाइसँग खुला, शान्त र सुनसान वन जंगलमा क्याम्प फायर गर्दाको क्षण बढी यादगार लाग्छन्। वरिपरि पहाडले घेरिएको एसियाकै ठूलो उपत्यका दाङमा त्यस्ता थुप्रै लोकेसनहरू छन्।
म बिहानदेखि राति अबेरसम्म काममा व्यस्त हुने व्यक्ति। म श्रमको पुजारी हुँ। मेहनतको रोटीभन्दा कहिल्यै दायाँ-बायाँ यो उमेरसम्म गरेको छैन र त अहिलेसम्म बैंक ब्यालेन्स एक रुपैयाँ छैन। ब्यालेन्स जति भुँडी मै होला। सन्तानलाई संस्कार दिने हो, पढ्दासम्म पढाउने हो। उनीहरूकै लागि भनेर नखाइ नलाइ साँचेर के राख्नु भन्ने लाग्छ। सीपवान र क्षमता वान भए उनीहरूले आफैं केही गरिहाल्छन् भन्ने मलाई लाग्छ।
त्यसैले म मरेपछि पाइने बीमा सीमा बनाउन पनि ध्यान दिन्नँ। आफू नरहे सम्पत्ति के काम?
बिहानभर म अर्कै अफिसमा डिजाइनको काम गर्छु। दिउँसो केहीबेर आरामपछि अर्को अफिस जान्छु। काम ठूलो सानो हुँदैन सक्दासम्म काम भने सबैले गर्नैपर्छ। खाडी मुलुकमा कमाउने जति कमाइ म मज्जाले गरिरहेकै छु। साँच्चै काममा इमानदारिता र लगन हुनुपर्छ। पर्दा पछाडिको हिरो भएर काम गर्नेहरू यहाँ धेरै छन्।
अरूका एक एक शब्दहरू निफन्ने म आफैंलाई कहिलै पत्रकार भनिन चाहिनँ। कहिल्यै मञ्च लिइनँ। भाषण गर्न मन लागेन। कहिल्यै अगाडिको सिट खोजिनँ। म लाष्ट बेञ्चर हुँ। एकदम लो प्राफाइल मन पर्छ। मलाई नेताका अपत्यारिला भाषण सुन्दा निकै औडाहा हुने गर्छ।
त्यसैले डिजाइनका लागि आउने नेतादेखि मन्त्रीसम्मका कति फोनहरू म जानाजान उठाउँदिनँ। बरू सामान्य मानिसहरू श्रमको मूल्य तिर्छन्। ठूला भनाउँदाहरू ठग्छन्। बनाए त्यस्ता मान्छेहरूको लामो लिष्ट तयार हुन्छ।
धेरैका प्रमाण पत्रहरू तयार पार्ने मलाई कतिले प्रशंसापत्र वा प्रमाण पत्र दिन खोज्दा ती पनि लिइनँ। कामलाई पूजा ठान्नुपर्छ भन्ने मैले अग्रजबाट सिकेको संस्कार हो। यस्तैमा रमाइरहेको मलाई विदेश जाने सोच कहिल्यै आएन।
आफ्नै परिवेशमा रमाउने मान्छे भनौं कि देशप्रति सच्चा माया गर्ने एक असल नागरिक। त्यसैले त होला सायद एक जना गैरकानुनी रूपमा अमेरिका छिरेका व्यक्तिले मलाई मूर्खको संज्ञा दिएका थिए।
उनी जेलमा थुनिएपछि मैले नै कागजात र केही डकुमेन्ट बनाइ पठाइदिएको थिएँ। उनी मलाई जसरी पनि विदेश आउन भनिरहन्थे। पैसा आफैं पठाइदिन्छु र उतै पुगेर कमाइ दिनु भन्थे। मैले नमानेपछि मलाई महामूर्खको संज्ञा दिएका थिए।
आफ्नो गरिबीका कारण विदेश जानेहरू र केही समयपछि स्वदेश फर्किनेहरू इमानदार हुन्। तर, सधैंभरी उतै बस्ने, पैसा र व्यक्तिगत सुखसयलका लागि नेपाली नागरिकता नै च्यात्ने अनि त्याग्न तयार हुनेहरूलाई के भन्ने?
उनीहरू उतैका नागरिक भए बच्चा उतैका हुने नै भए। उनीहरूका बच्चाबच्चीको बिहे उतै हुने नै भयो। अनि विदेशी नातिनातिनाको मायाले उतै तान्ने नै भयो। त्यसैले छोराछोरी अमेरिका, अष्ट्रेलिया छ भनेर धाक् लगाउनेहरू देख्दा दिक्दार लाग्छ।
धन र सुखसयल मात्रै खोज्ने प्रवृत्तिका मानिसहरू नेपाल फर्किनै चाहन्नन्। डिभी भराउँदै विश्वभरका मानिसलाई तानेर आफ्नो मुलुकमा अमेरिका विविधता मात्रै स्थापित गरिरहेको छैन आवश्यक श्रमिक पनि भित्र्याइरहेको छ। आधुनिक कमैया वा दास बनाइरहेको भन्नु गलत नहोला।
हुन त अहिलेसम्म मेरो हालत पनि यहाँ उस्तै छ। प्याक अफ हर्ष। तर, मनमा सन्तोष छ। लाग्छ यहाँका ढुंगा माटो पनि मलाई चिन्छन्। मेहनतको रोटी खायो। रातमा चैनको निन्द्रा सुत्यो। अरू के चाहियो।
उनीसँग भेटेरै कुरा गरौंला भन्ने सल्लाह भए पनि त्यसको चार दिनसम्म हामीले आपसमा कुरा गरेनौं।
मलाई पनि डर थियो। मैले के उत्तर दिनु? उनको म्यासेजले मन अधैर्य बने पनि सकभर नभेट्ने मेरो सोच थियो। पाँचौं दिन एकाबिहानै उनी थाहै नदिएर छापा खानामा आइन्। म लोगो डिजाइनमा व्यस्त थिएँ। ‘सर, नमस्कार।’ उनको अप्रत्यासित आगमनले सोचमग्न भएँ।
त्यो अप्ठ्यारो चिर्न उनले एउटा चिर्कटो थमाइन्। साथमा उनकै उमेरकी अधबैंसे अर्की महिला पनि थिइन्। ‘यो बिहेको कार्ड बनाउन आएका हौं।’
मैले सरसर्ती नियालें। नबुझेका नाम र ठेगाना सोधें। मेरो टेबलनजिकै उनी बसेकी थिइन्। उनकी साथी केही पर अर्को कुर्सीमा थिइन्। साहुजीलाई बोलाइदिएँ। दररेटको कुरा टुंगो लाग्यो। साहुजी चिया अर्डर गर्न जानु भयो। उनकी साथी फोन आएपछि बाहिर निस्किइन्। त्यो मौका छोपेर उनले एकाएक मेरो हातमा यति जोड्ले चिमोटिन् कि छाला नै उप्किएको थियो। म एैंया भन्दै थिएँ, उनले मेरो मुख आफ्नो हातले थुनिदिइन्।
आँखा तरेर भनिन्– खै जवाफ? म केही बोल्न सकिनँ। उनीसँग हारिदिन्छु भन्ने सोच। उनले छातीमा लुकाइ राखेको चिज तानेर सुटुक्क थमाइन्। चिया नखाइ उनीहरू निस्किए।
त्यो कागजमा के होला? फेरि खुलदुली बढ्यो। त्यो किबोर्डले च्यापे। मेरो कुर्सीमा अर्को ब्यक्ति जान मिल्दैन थियो। पूर्वतिर फर्किएर पढ्न थाले। करिब एक सय शब्दको चरिनङ्ग्रे त्यो छोटो नोटिस म रोकिँदै पढें। तीन पटक पढें। एक जना डन खाले केटाले आफ्नो पिछा गर्ने गरेको र उसले पाँच लाख रुपैयाँ मागेर धम्क्याउने गरेको कुरा त्यसमा थियो। उबाट उम्किन तपाईंको साथ खोजेकी छु। आशा छ मलाई निराश बनाउनु हुने छैन। आजै राति नौ बजेपछि जतिखेर भए पनि र जसरी भए पनि घरमा आउनू। अन्यथा प्राण त्यागिदिनेछु।
अन्तिमको शब्द पढ्दा शरीरका रौंहरू ठाडा भए। साह्रै डर लाग्यो। अन्तिममा फोन नम्बर पनि थियो। हामी बीचमा म्यासेन्जरमा कुरा हुने गरे पनि फोन नम्बर साटफेर भइसकेको थिएन।
त्यो दिन दिउँसो मैले उनलाई फोन गरे। उनले फेरि दोहोर्याइन्, तपाईं आज नआए मैले जे लेखेको छु त्यही गरी देखाइदिन्छु। तिमी आफ्नो ज्यान लिन्छौं भने लिऊ मलाइ के मतलब! भनेर जवाफ फर्काउन मन थियो। तर म रोकिएँ।
नौ बजेतिर उनीकहाँ पुग्ने केही बेरमै फर्किने मैले वाचा गरें।
म मेरो गृह जिल्लामा कहिल्यै होटलमा बास बसेको छैन। मतलब घर कहिल्यै छोडेको थिइनँ। काम गर्ने क्रममा वा कहिले साथीहरूसँगको टेगटुगेदरमा मध्यरात हुँदा पनि म बरू एक्लै हिँडेरै घर जान्थें। गल्लीका कुकुरहरू भुक्थे। म कहिल्यै भागिनँ र उनीहरूले मलाई कहिल्यै टोकेनन्।
उनको घर जाँदा कसैलाई लैजान पनि उचित ठानिनँ।
फोनमा कुरा गर्दै पैदल हिँडें। रातको साढे नौ बज्दै गर्दा म उनको घर पुगें। उनी आफैं ढोका खोल्न आइन्। ‘डराउनु पर्दै घरमा एक्लै छु।’ मेरो त्रास उनले सुरूमै मेटाइदिइन्।
आफैंले घरमै बनाएको ड्रिङ्स लिएर आइन्। मैले – फर्किनु छ खाँदिनँ भनें।
अनि आफ्नो लागि पनि गिलास थपिन्। चियर्स, सधैं यस्तै गरी सँगै बस्न पाऊँ। उनको चाला देखेर भित्रभित्रै मन डराएको थियो। उनी डिप्रेसनको सिकार छन् कि? त्यस्तै अनुभूति भयो।
खाना खाइवरी हामी गफिँदै थियौं। उनले एउटा बैंकको भौचर ल्याइन्। जसमा इच्छाएको व्यक्तिको नाम मेरै थियो। नाता– श्रीमानश्रीमतीको। म चित खाँदै सोधें। ‘पागल छौ, यो के लेखेको?’
लाडिँदै बोलिन्– आत्माले जे भन्यो त्यही लेखें। यो दुनियाँमा मेरो अरू को नै छ र? मेरो राजकुमारमात्रै हैन तपाईं। यो सबै सम्पत्तिको मालिक पनि हो। सोमरसले चट्टै छोड्लाजस्तो भयो।
अनि मैले घर फर्किने कुरा गरें। ‘यति राति?’ उनी बोलिन्।
एक जना साथीलाई मोटरसाइकलसहित बोलाएको छु भनेर ढाँटें।
हुन त पत्रकारलाई पुलिसले के गर्छ र? तिमीहरू उस्तै उस्तै छ हौ नि, जारभतार जस्तो। समाउने दुःख दिने हामीजस्ता एकल महिला र सर्वसाधारणलाई न हो!
जितको हाँसो हाँस्दै बोलिरहिन्–निष्ठुरी नहुनू, कहिल्यै माया नमार्नू। म अरू कुराहरू केही माग्दिनँ। तिम्रो सिन्दुर र थर पनि चाहिँदैन। तिम्रो सुन्दर संसार कहिल्यै बिथोल्न खोज्ने छैन। कहिल्यै अप्ठ्यारोमा पार्ने छैन। कहिल्यै घर लैजाऊ भन्ने छैन। बरू सके जति सहयोग गर्नेछु।
त्यतिखेर उनी मेरो मुटुको शल्यक्रिया गर्न थालेको चिकित्सकजस्तै उभिएकी थिइन्। म बेडमा लम्पसार थिएँ।
त्यसको केहीबेरमा म उनको घरको माथिल्लो तलाबाट बाहिर निस्कँदै थिएँ। ‘ओइ–चश्मा।’
म चश्मा लिन फर्किएँ। यतिखेर उनले सुस्तरी गालामा हानिन् र बिस्तारै बोलिन्– ओइ बेइमान पत्रकार!
कसैले नदिएको पत्रकारको उपाधि मलाई उनैले दिएकी थिइन्। उनका कथा लेखेर आज मेरो मन शान्त पारेजस्तो लागेको छ।