नेपालगञ्ज सबभन्दा रंगीन र जीवित सहर लाग्थ्याे। बाक्लो बजार, जता हेर्यो त्यतै झिलिमिली, जलेबी र बिर्यानीकाे मगमग सुगन्धले मनै लाेब्याउने।
रिक्साकाे ताँती, ट्रिङट्रिङ आवाज, टांङाकाे टक टक र छन्छन् गर्ने घाेडाका पाइलाले मनमा बेग्लै ऊर्जा दिन्थ्याे।
यी आवाज र दृश्य देख्दा लाग्थ्यो सहर भनेको नेपालगञ्ज जस्तो हुनुपर्छ।
हुन त याे सहरका आफ्नै समस्या नभएका हाेइनन्। तर थुप्रै विशेषताका अगाडि ती समस्या यो सहरका अगाडि केही हाेइनन्। आखिर चन्द्रमा पनि दाग छ।
बिहान-बेलुकी सुनिने कुरान र वेदकाे जुगलबन्दी अन्त कहाँ देख्न पाइन्थ्यो। लामाे लवजमा अल्लाह.....काे आजान र मधुर आरतीकाे गुञ्जनले स्वर्गकै आभास दिलाउँथ्याे।
के हिन्दु, के इस्लाम मानवकाे मन त्यसै प्रफुल्ल हुन्थ्यो। नेपालगञ्ज यिनै कुराले मिलेको थियो।
सांस्कृतिक भौगोलिक काेणबाट अटुट देखिन्थ्यो। भलै ४५ डिग्री सेल्सियस प्रचण्ड गर्मी हुन्थ्यो तर मानिसमा माया थियो, सद्भाव थियो।
याे सहर मन्दिर र मस्जिदकाे संगमस्थल पनि हाे।
एउटा कुनामा मन्दिर र अर्को कुनामा मस्जिद हुनु अर्को विशेषता हाे। अल्लाह र देवताकाे जाेडी वर्षाैंदेखि जमेको थियो। तालको बीचमा जुङ्गे महादेव, बीच बजारमा अल्लाह तालाकाे दरबारले एकअर्कालाई वर्षाैंदेखि इसारा गर्दै बसेका थिए। महादेव बिहानकाे चार बजे जाग्थे भने अल्लाह बेलुकी चारमा। सहरका दायाँ-बायाँ रामराम र असलम वालेकुम आदानप्रदान हुन्थ्यो।
यही रंगीन र मस्त सहरमा अनेक कथा थिए। हाटका कथा, कालापहाडका कथा, धर्मका गाथा।
त्रिभुवन चाेकदेखि पूर्व, भेरी अञ्चल अस्पताल नपुग्दै लामो नीलाे रङको घर थियो। पसलहरू एक आपसमा टाँसिएका थिए। अलि अँध्यारो जिन्स रेडिमेड पसल बाहिर सुकिला कुर्ता पाइजामा, सेता दाह्री, हाेचाे कद, मन्द मुस्कानमा प्राय: ती व्यक्ति खुट्टे मेसिन चलाउँथे। गुट्खाकाे लाल रङले सेता दाँतसँग प्रित गाँसेजस्तो देखिन्थ्यो।
मेसिनकाे आवाजसँगै माेहम्मद रफी र किशोर कुमारका गीतमा ती मान्छे रमाइरहेका हुन्थे। केटाकेटीले सधैं उनको मेसिन घेरेकाे देखिन्थ्यो। काेही पाइन्ट चुज बनाउन आउँथे त काेही छाेटाे। उनको मुहारकाे चमकबाट के झल्किन्थ्याे भने उनी आफ्नाे काममा सन्तुष्ट छन्।
सधैं हाँसीहाँसी बाेल्ने, मजाक गर्ने, सायद उनी विरलै रिसाउँथे हाेला! उनको हाउभाउले उनमा कत्ति रिस नै छैन जस्तो देखिन्थ्यो।
त्यहाँ आउने जाे काेहीकाे मुखमा रहिम चाचा...चाचा सुनिन्थाे।
‘चाचा अलि छाेटाे गर्नुपर्याे, यस्तो गरिदिनुन दामी देखिन्छ’ केटाकेटीले भनेको सुनिन्थ्याे।
मेसिन चलाउने ती हसमुख व्यक्तिको नाम रहिम हाे भन्ने थाहा भयो। रहिम चाचा पनि मन्द मुस्कानमा ‘हाँ बेटा भन! के सेवा गरौं’ भन्थे। सबैका प्यारा थिए रहिम चाचा।
म बस्ने काेठाकाे झ्यालबाट उनको मेसिन, ग्राहककाे भिड स्पष्ट देखिन्थ्यो। सधैं उही स्वभाव, मिजासिलाे बाेली! कहिल्यै रूखाे आवाज सुनिएन। किन किन मलाई चाचासँग बाेल्ने मन लाग्यो, उनको स्वभावले मेसिनसम्म जानलाई लाेब्याउँथ्याे।
अस्ति किनेको निलाे जिन्सकाे पाइन्ट लामाे भएर झाेलामा थन्किएको थियो। त्यसलाई छाेटाे पार्न चाचाकाे मेसिन अगाडि गएँ।
चाचा मन्द मुस्कान दिँदै ‘बाेल बेटा के सेवा गरौं’ भनेर स्वागत गरे। उनको हाउभाउले पटक्कै उनको र मेरो पहिलो भेट भन्दैन थियो। मैले पनि चाचालाई पाइन्ट चार इन्च सानाे बनाइदिन आग्रह गरें।
सेताे चकले नीलाे पाइन्टमा रेखा काेरे, दाेब्राएर झाेलामा राखे!
‘चाचा म कति बेला आऊँ?’ भनें।
चाचाले साँझ आउन अनुरोध गरे।
मैले ‘हुन्छ’ भनें।
चाचासँग बाेल्ने मेसाे पनि मिल्यो, बेलुकी पख।
दिनभन्दा साँझमा नेपालगञ्ज गर्जिन्छ। साँझ पख याे सहर झन् झकिझकाउ देखिन्थ्यो। दिउँसोको तातो हावामा लखतरान नेपालगञ्जलाई बेलुकाकाे चिसो हावाले ऊर्जा दिन्थ्याे।
सहरका गल्ली गल्लीमा मानिसको घुइँचो हुन्थ्यो। सागसब्जी किन्ने बेच्नेबीच घम्साघम्सी चलेको देखिन्थ्यो।
सडक किनारमा जलेबी, बिर्यानीकाे मगमग जीवन्त बस्ना ! पकाैडा तारेकाे झ्वाँइ आवाजले सहरलाई नयाँनयाँ धुन उपहार दिएको थियो।
रिक्साका ताँती! ट्रिङट्रिङ आवाज, टकटक र हाहाहा... हाेहाेहाे ... चलचल चलचल, नेपालगञ्जलाई सामान्य लाग्थ्यो। नयाँलाई राेचक लाग्थ्यो। मलाई भने अति प्यारो।
बजारमा हजार हुन्छकाे खास अर्थ यिनै दृश्यले दिएको थियो। एकै लाइनमा दशथरी स्वाद, दशथरी परिकार।
दिनभरकाे दाैडधुपले थकित थिएँ। त्रिभुवन चाेक पुगेपछि चाचाकाे याद आयो। फेरि पाइन्ट पनि लिनु थियो। त्याेभन्दा पनि चाचासँग बातचित जाे गर्नु थियो।
वरैबाट चाचाकाे हँसिलाे मुहार, सुकिला लुगा अनि मन्द मुस्कानले स्वागतकाे आभास गराउँथ्याे।
किशोरकुमार, माेहम्मद रफीका गाना र मेसिनकाे ध्वनि सँगसँगै बग्थ्याे प्राय:।
मलाई देख्नेबित्तिकै चाचाले भने ‘बाेलाे बेटा के सेवा गराैं’।
मैले भनें, ‘चाचा पाइन्ट छाेटाे गर्न दिएको थिएँ।’
‘अच्छा! कुन रङको छ’ भनेर चाचाले साेधे।
मैले ‘नीलाे रङको जिन्स’ भनें।
बाेराबाट निकाल्दै ‘याे हाे बेटा’ भने।
मैले ‘हाे’ भनें!
त्यसबखत चाचा अलि फुर्सदमा थिए। मानिसको चाप पनि कम थियो। मेसिन पनि शान्त थियो। छेउको रेडियो भने व्यस्त थियो।
‘मेरी सपाेनाे कि रानी तुम कब आवगी’ हिन्दी गीत बज्दै थियो।
मैले जिस्किँदै साेधें, ‘चाचा लभ पर्याे कि के हाे? गीत त्यस्तै बजेको छ त!’
चाचा हाँस्दै, ‘कहाँ पर्नु बेटा याे बुढेसकालमा। चिया पिउँछाै’ भनेर चाचाल साधे?
मैले ‘हुन्छ’ भनें।
यसै बहानामा गफ गर्ने माैका मिल्यो।
‘चाचा कता बस्नु हुन्छ नि?’ मैले प्रश्न गरें।
चाचाले माइलाे औंलाले ‘ऊ त्यो परको टिनको छानाे भएको घरमा’ देखाए।
आलिसान, ठूलाठूला महलबीच चाचाकाे झुपडी थियो। तर मन भने चाचाकाे विशाल थियो। केटाकेटीका कयौं पाइन्ट सित्तैमा बनाएका थिए। सयौं कप चिया त्यसै पिलाएका थिए।
चाचा हाँसीहाँसी बाेल्थे। चाचाकाे घर हेरें, मुहार हेरें। धेरै केही बाेलिनँ। मानिसको घुइँचाे लाग्न सुरू भयो। म काेठातिर लागें।
कुरैकुरामा चाचालाई पैसा दिन बिर्सेछु। काेठा नपुग्दै फर्किएँ, मेसिन चल्दै थियो। केही युवायुवतीले चाचालाई घेरेका थिए।
‘चाचा अघि गफै गफमा पैसा दिनै भुलेछु, कति हाे’ मैले साेधें।
चाचा हाँस्दै ‘२० रुपैयाँ हाे बेटा! कहिलेकाहीँ भुलचुक हुन्छ नि बेटा’ भने।
अलि मन शान्त भयो तर कताकता मलाई नरमाइलो लागेको थियो। केही नबाेली फर्किएँ!
मनमा कुरा खेलाउँदा खेलाउँदै त्रिभुवन चाेक पुगेकाे पत्ताे पाइनँ छु। टाङावालाकाे हाहाहाहा आवाजले झस्किएँ।
टाङा मेरो हातलाई घचेट्दै गएछ। हल्का दुख्यो, घाेडाकाे काठीले हातमा काेतारेकाे रहेछ। केही भनिनँ! मेरो अगाडि राजा त्रिभुवन माइलो औंलाे ठड्याएर बीच सडकमा उभिएर बसेका थिए।
सडक किनारकाे चिया पसलमा चिया मगाएँ। चियाको पिउँदै राजा त्रिभुवनकाे शालिक हेरें। अलि पर मेसिन चलाउँदै गरेका रहिम चाचालाई हेरें। सँगैकाे पानवालाई पनि हेरें। सबै आफ्नाे काममा व्यस्त थिए। म र राजा त्रिभुवन फुर्सदमा थियौं। मेरो पनि केही काम थिएन, राजा त्रिभुवनकाे पनि केही काम थिएन। दुवै स्टाच्यू!
सयाैंकाे भीडमा राजा त्रिभुवनकाे शालिक एक्लै बीच सडकमा ठिङ्ग उभिएको थियो। सेता दाैरा सुरूवाल धुलाेले मैला भैसकेको थियो। गल्लीका कुकुरहरू बेलाबेला खुट्टाे तेर्साएर मुत्र विसर्जन गर्थे। कुकुरलाई के राजा के पर्जा! राजाको त्यो हविगत देख्दा अचम्म लाग्थ्यो। जिउँदो हुँदा बन्दुकको नाल अगाडि पछाडि बीचमा चिल्लो कार, सडक सुनसान हुन्थ्यो। मरिसकेपछि आफ्नाले पनि बिरलै सम्झेर सायदै सफा गरे हाेलान्!
अलि पर चाचाकाे सेताे टाेपी टल्किरहेको थियो। राजाको मुकुटभन्दा त्यस सफेद टाेपीमा चमक थियाे। भलै हिरा, माेती, पन्ना थिएनन् तर चाचाकाे शिरमा तर चमक भने हिरालाई ढाक्ने थियो। चाचा सधैंभरि युवायुवतीले घेरिएका हुन्थे। मानाैं चाचा राजा र ती वरिपरिका रैती! जसरी एउटा राजासँग रैती नतमस्तक हुन्छन् त्यस्तै नतमस्तक ती ठिटाठिटी देखिन्थे,भनेकाे सबैले मान्थे! हुँदैन, हुन्न सुनिँदैन थियो।
राजाको जस्तो चाचाकाे हुकुम चल्थ्याे। उनका अगाडि मै हुँ भन्ने अल्लारे पनि हजुर चाचा भन्थे।
भाेलि डाके पनि हजुर भन्थे, बेलुका आउनुभन्दा पनि हुन्छ भन्थे। यति पैसा दिनुभन्दा नाइँ नास्ति कहिल्यै सुनिँदैन थियो। चाचा आफ्नाे संसारका राजा थिए। उनको राज सबैलाई प्रिय थियो। सबैको मन जित्न चानचुने कुरा थिएन। त्यसै रहिम चाचा भएका हाेइनन् पनि।
उनका अगाडि के हिन्दु , मुसलमान, इसाई, बाैद्व सबै बराबर थिए। सबैको मन जितेका थिए।
चाचाकाे राजलाई मनन् गर्दै डेरातिर गएँ। राजा त्रिभुवन र रहिम चाचाकाे बसाइ नजिक थियो। त्यस्तै सय मिटर दूरी थियाे, दुबै जनाको। मेरो काेठाकाे झ्यालबाट चाचा, उनको मसिन र गीत गुन्जने रेडियो स्पष्ट देखिन्थ्यो भने काैसीबाट त्रिभुवनकाे शालिक। बिहानैदेखि राजा त्रिभुवन र चाचा मेराे मानसपटलमा नाचिरहेका थिए।
खाना पकाउँदै थिएँ, ढाेका ढकढक ढकढकको आवाज आयाे। ढाेका खाेल्दा घरबेटी काकी थिइन्।
‘बाबु आज भाडा बुझाउने दिन हाे, बिर्सनु भएको भनेर सम्झाउन आएकाे’ भनिन्।
एकछिन झसङ्ग भएँ!
‘ए हाे त, एटिएमबाट पैसा झिक्न भुलेछु। भाेलि दिन्छु है आन्टी’ भनें। ‘हुन त नहुने हाे तर भाेलि नबिर्सनु’ भन्दै माथिल्लो तला गइन्।
मन चिसो भयो! सधैं १ गते बिहाना भाडा बुझाउँथें त्यस १ गते बिर्सिएकाे थिएँ।
माथिल्लो तलामा साहु साहुनीकाे रडाकाे सुरू भयो। ‘काेसँग पल्केकी छस्? आँखा धेरै नचाउँदै हिँड्छेस्, म बुझ्दैन साेचेकी छस्?’ भन्दै साहुले साहुनीलाई कुट्न सुरू गर्याे।
माथिबाट ‘मार्यो मार्यो मलाई, बचाऊ, बचाऊ’ साहुनीले भनिन्। मनले मानेन छुट्टाउन गएँ।
साहु उल्टै झपार्न आयाे। लाेग्ने स्वास्नीकाे झगडा हाे बीचमा नआउन चेतावनी दियो। म त्यसै फर्कें।
एकछिनपछि शान्त भयो। मिलेछन् क्यार! जाेसमा हाेस गुमाएर गएको भए आपत्त आइलाग्ने रहेछ!
सधैं आजन र आरति सुनिने नेपालगञ्ज माैन थियो त्यो बिहान! मेरो अर्लाम तिनै पवित्र धुन थिए। आजन र आरतिकाे धुनमा सधैं म बिउँझेको हुन्थें। त्यस बिहान अलि ढिलो उठेको थिएँ। मन झसंग भयो, किन यस्तो भाे भनेर काैसीमा गएँ। आकाश पूरै कालो मुस्लोले ढाकेको थियो। ठाउँठाउँमा टाएर बलेका थिए। चाेक चाेकमा युवाहरू लाठी र भाला लिएर गस्तीमा थिए। एम्बुलेन्स, दमकल सहरका गल्ली गल्लीमा कुद्दै थिए। हेलिकप्टर फन्काे मारेकाे मारै थियो। पूरै सहर सुनसान थियो, नेपालगञ्जकाे यस्तो रूप कहिल्यै देखेको थिइनँ। मन चिसो भयो, अकस्मात आँखा रसाए।
हतारहतार रेडियो अन गरें, स्वाँस्वाँ ...स्वाँस्वाँ आवाजमात्र बज्यो। झन् आत्तिएँ ,टेलिभिजन अन गरे टुटु टुटु बाहेक केही देखिएन। काेठाकाे झ्याल खाेलें चाचा पनि थिएनन्। माथि घरबेटी पनि थिएनन्। एक्कासि डरकाे मात्रा झन् बढ्यो। काेठामा ताल्चा लगाएर सडकतिर हिँडें। त्रिभुवन चाेक नपुग्दै कालाे रूमालले मुख छाेपेकाे युवक मेरो अगाडि आएर ‘हिन्दु हाे कि मुस्लिम’ भनेर साेध्याे।
मैले ‘किन’ भनें? बस हिन्दु या मुस्लिम! पछाडिबाट एक हुल मानिस लाठी बाेकेर चाेकतिर दाैडिँदै थिए। म अक्क न वक्क भएँ। त्यो हुल देख्नेबित्तिकै माक्सधारी युवा भाग्याे। म पनि गल्ली गल्ली टाप कसें!
दायाँ-बायाँ कतै नहेरी सुरक्षित गन्तव्यतिर कुद्दै थिएँ। ठ्याक्कै चाचाकाे घर अगाडि पुगेका पत्तै पाइनँ! केही साेच विचार नगरी चाचाकाे घरभित्र पसें। चाचा नमाज पढ्दै थिएँ। केही बाेलिनँ, छेवैकाे मुढा तानेर बसें। नमाज पढेपछि चाचालाई साेधें, ‘चाचा बर्बाद भयो, सहर त बस्न नसकिने भयो?’ चाचाकाे अगाडि कुरान थियो।
कुरानलाई दराजमा राखे।
‘हाे बेटा, हिजाे रातिदेखि यस्तै छ।’
हतास मुद्रामा ‘किन यस्तो भाे चाचा’, मैले प्रश्न गरें!
‘बेटा भारतले दस गजा मिचेकाे थियो। सीमानामा विवाद भयो, हाम्रो केटाहरूले उताका मान्छेलाई पिटेछन्। रातारात रूपडियाबाट सयाैंकाे संख्यामा भारतीय भिजलान्तेले हुलदङ्गा मचाए, हिन्दु मुस्लिमकाे नाममा बेटा बिसकाेरिएन टाेलमा राति मारामार थियो। बिनाकारण, छाेटु हलवाई र फिराेजबिज मारपिट भयो। अहिले दुबै अस्पतालमा छन्। त्यसपछि सहरका गल्ली गल्लीमा टायर बले, घर जले, पूरा बर्बाद भयो। याे सब पढाेसीकाे चाल हाे बेटा! फुट अनि लुट, चाल बहुत खतरा छ पापीहरूकाे! आफ्नाे व्यक्तिगत स्वार्थलाई परिपूर्ति गर्ने धार्मिक दंगा मच्चाए बेटा।’
चाचाका कुराले झन् हतास भएँ।
‘चाचा अब के गर्ने?’ मैले प्रश्न गरें।
चाचा गम्भीर मुद्रामा थिए, ‘याे बुढेसकालमा के नै गर्न सक्थें र!’ अचानक दमाहकाे आवज सुनियो, विशाल आवाज निस्केको थियो। पूरा सहर गुन्जमान भएको थियो। चाचाले दराजबाट कुरान निकाले। बाहिर सबै मानिस भेला भएका थिए। चाचाले हातमा कुरान बाेक्दै त्यस दमाह बादककाे पछि लागे। म पनि उनकै पछाडि हिँडें। गल्ली गल्लीबाट मानिस निस्किए। सबैको अनुहारमा आक्राेश देखिन्थ्यो। दमाहकाे आवाजले छिनभरमै विशाल रूप लिँदै थियो। मानिसको हुल पनि बिशाल भैसकेको थियो।
परको गल्लीबाट माक्सधारी समूह भाग्दै भाग्दै त्रिभुवन चाेकमा पुग्नै आटेकाे थियो, करिब पचास साठीको समूह थियो। पछिल्तिर युवाको समुहले लखेट्दै लखेट्दै घेरा हाल्यो। सहरका कुनाकाप्चाबाट नेपाली युवाले लेखेटेका रहेछन्! दमाहकाे राग राेकियाे, चाचा अगाडि बढे। एकछिन सबै शान्त भए।
राजा त्रिभुवनकाे शालिक अगाडि चाचाले ‘काैन हाे तुम लाेग’ भने? पछाडिबाट एक युवाले ‘माराे साला भिजलान्तेलाई, यिनै डाकाले हुलदंगा मच्चाएको हुन्।’ अर्को आवाज ‘हाे हाे’ सुनियो।
छेवैमा बसेका गुरू प्रसादले ‘यिनै फटाहाले मस्जिदकाे ढाेका फुटाएका हुन्’ भने।
एकएक गर्दै सबैले माक्सधारीकाे खुराफात बेलिबिस्तार लगाए। चाचाले ‘बताओ क्यु किया यैसा’, भने। कसैले केही बाेलेनन्।
बैसाखी टेक्दै छाेटु हलवाई र फराेज चाचाका छेवैमा बसे। थकित देखिन्थे, ‘यी लाेक है हमरा समजामे तबाही मच्चाने वाले! तुम लाेग यिन गद्दाराे के बातओमे लडे!’
दुबैले शिर निहुराए।
‘भाइ भाइ लडाते हाे! तुमलाेगकाे जरूर सजाय मिलेगा’, चाचाले भने।
म माैन थिएँ, चाचालाई एकोहाेराे हेरें। त्यत्रो सहरमा एक सय एक धनी थिए, नेता थिए तर चाचाकाे अगाडि सबै फिक्का भएका थिए। राजनीतिक दलको भेलामा दुई हात उफ्ररेर भाषण गर्ने गेरु यादव चुपचाप दर्शक भएको थियो। सायद नेतालाई डर थियो। छिमेकी रिसाउँछन् कि भनेर! त्यसैले चुप लागेको हाेलान्!
शान्त माहोल क्षण भरमै आक्राेशित भयो,चाचा हराए। यताउता खाेज्छु चाचालाई कतै देखिनँ। हुलदंगा मच्चियाे। भिजलान्तेलाई पिट्न थालियो। अचानक शान्त भन्ने आवाज सुनियो, उनै सेता कुर्ता पाइजामा सजिएका चाचा थिए। दुस्मनलाई दुश्मनकै घरमा सजाय दिनुपर्छ भने। भिडले केही आवाज निकालेन। भिजलान्तेलाई युवाहरूले घेरा हाले, देवीप्रसादले जुत्ता, चप्पलका माला लगाइदिए। अस्लमले मुहारभरि माेसाे पाेतिदियाे। चाचाले उक्त जनभेलाकाे नेतृत्व लिए। अघिल्तिर चाचा पछिपछि जनता बीचमा भिजलान्ते। जनसागर सरासर सीमानातिर लाग्याे। सबैकाे एक उद्धेश्य थियो छिमेकीलाई सुनाउन ‘हामी फुटेका छैनौं बरू जुटेका छाैं’।
प्रशासनले बीच बाटोमै राेक्ने चेष्टा गर्यो। जनमानसले स्वीकार गरेन। एकछिन झडप हाेला जस्तो भयो। दमाह बज्यो, विशाल धुनले तनावग्रस्त माहोल मथ्थर पार्याे। प्रहरी पनि अलमल्ल परे, दमाह बज्न राेकियाे। चाचा, दमाह वादक र एसएसपी वार्ताका लागि प्रहरी कक्षतिर गए। बाहिर जनसागर भित्रकाे उत्तरको पर्खाइमा थियो।
एकछिनकाे भलाकुसारीपश्चात तीनै व्यक्ति बाहिर आए, चाचाले ‘चलो’ भने। प्रहरी पनि चाचाकै पछाडि लागे। म अचम्म परें।
एकछिन अगाडि जान नमिल्ने भन्दै गर्जिने प्रहरी चाचाकाे पछाडि हिँड्याे। चाचा त्यसै चाचा भएका हैनन्।
च्यात्तिएका, फाटेका लुगामात्र हाेइन फाटिएकाे मन पनि सिलाए। उद्रेकाे जनमानसलाई सिलाएर एक बनाए। सबैले मुखामुख गरे, चाचा अघिल्तिर लागे। छिमेकी खबरदार .... छिमेकी खबरदार नारा लाग्न सुरू भयो। भिजलान्तेहरू बीचमा थिए।
मोसाेले भरिएको अनुहार झन् कालाे भएको थियो। हुलकै बीचबाट जब भाइहरू एक हुन्छन् नि शत्रूकाे हालत यस्तै हुन्छ, उनैले राष्ट्रिय एकता जिन्दावाद भन्दै नारा लगाए, जनसागरले उनलाई पछ्यायो, जिन्दावाद .....जिन्दावाद। दशगजामा जनसागर राेकियाे! भिजलान्तेलाई उसकै भूमिमा घुँडा टेक्न लगाइयो। एकाएक नेपाल आमाकाे जय जय ... नारा लाग्याे।