कविता
पास गर्छु, भन्दा भन्दै गर्न सकिन्न।
निजामती जागिर नखाई छोडन सकिन्न।
परिश्रम, कोसिस नगरेको हैन।
संघ र ७ प्रदेशको परीक्षाको प्रयास नगरेको हैन।
हरेक दिन हरेक रात बेरोजगारीको आगोमा नजलेको हैन।
मन भित्र बाहिरका शत्रुहरू पन्छाएर अघि नबढेको हैन।
लोक सेवा आयोग पास गर्ने होडबाजीमा हरेक रात निन्द्रासँग समझौता नगरेको हैन।
तर लोक सेवाको पाठ्यक्रम गिर्खाबाट ठूला ठूला पहाड बन्दै गएको छ।
उता परिवारको कर्जा र चुनौतीहरू हिमाल झैं अग्ला अग्ला बन्दै गएको छ।
सायद यही अवस्थाले अब यहाँ भन्दा निजामती तिर पर्न सकिन्न।
पास गर्छु भन्दा भन्दै पनि अब पास गर्न सकिन्न।
यता लोक सेवा पढाउने सरहरूको आशा छ, लोक सेवा छोड्न सकिन्न।
यति सम्म बित्यो समय बिना जागिरको अब झन् लोक सेवा नखाई छोड्न सकिन्न।
हार खाएर कैयो पटक हातमा डोरी नलिएको हैन।
बाली बिरूवा बचाउने एग्रोभेटबाट मर्ने अमृत नकिनेको पनि हैन।
तर घाँटीमा डोरी बेर्नु अगाडि सोच्छु, मलाई काठमाडौं पढाउने आमाले घाँटीको सुन किन बेचेकी होलिन्?
मर्ने अमृत पिउन अगाडि सोच्छु, बाबाले चर्को घाममा हरेक दिन खुन पसिना कसका लागि बगाएका होलान्?
म माथि परिवारले आश गरेको छ, मर्न सकिन्न।
यत्रो समय लोक सेवाको लागि बिताए अब छोड्न सकिन्न।
यी तमाम कुरा सोच्दा सोच्दै आँखा रसाउँछ।
यी सबै पीडाले मेरो मुटु जलाउँछ।
आफूले आफैंलाई सम्झाउँदै भन्छु, के छ यो लोक सेवा जुनमा नाम निकाल्न सकिन्न? अरे यो दुनियाँमा के जो छ र जुन गर्न सकिन्न?