वर्षामासमा कौशलटारको एउटा पार्टी प्यालेसमा आफन्तको बिहे भोजको निम्तो थियो।
विभिन्न दूरी र उमेरका नातेदारहरू र अन्य निम्तालुहरू रहर र गच्छेअनुसारको सज्जा प्रदर्शनमा थिए।
कतिपयको प्रदर्शनमा एक प्रकारको दबाब स्पष्ट देखिन्थ्यो, सोख र हैसियतलाई व्यावहारिक बाध्यताले मिच्नेखालको।
केही बेफिक्री भने सहज सज्जामा थिए। मलाई बेफिक्रीहरू यसै आकर्षक लाग्छन् र म तीजस्तो हुने प्रयास गर्छु पनि।
हलको एकतर्फ अग्लो र फराकिलो मञ्चमा नवविवाहित बेहुला बेहुलीलाई टीका लगाइदिन, नगद र जिन्सी उपहार, बधाई र आशीर्वाद दिन र त्यसपछिका फोटो सेसनको पालो कुर्दै र मिच्दै थिए कतिपय। त्यो प्रक्रियामा निम्तालुले चाहेअनुसारका फोटो खिचाउनुपर्दा बेलामा बेहुलाबेहुलीलाई कस्तो लाग्दो हो कुन्नी, तर रमाएकै देखिन्थे।
प्रोफेश्नल क्यामेराम्यान भने यस्तो माहोलमा दिक्क मानेको देखिन्छ। फोटो खिच्नासाथ ब्रेकिङ पोस्ट गरिहाल्ने हतारोमा पनि थिए कतिपय।
मञ्चको देब्रेपट्टि रंगीन झिलिमिली बत्तीमुनि थर्कमान पार्ने गरी गीतहरू बजिरहेका थिए।
डिजेसँगै स्वर थप्दै ज्यान हल्लाइरहेको भीड थियो, त्यहाँ सबै उमेरका निम्तालुहरू थिए, अधवैंशे र केटाकेटी बढी थिए। दौरा सुरूवाल लगाएका एक जना बाको हिन्दी गीतमा एकल झ्याउरे नाचको फ्युजन बढी आकर्षक थियो। कोही कोही नाच्न नजान्ने वा लजाउनेहरू फेसबुक लाइभ गरिदिँदै थिए।
सहरको बिहे भोजमा प्रदर्शनको सोख हुन्छ नै, व्यवहारिक बाध्यता पनि हुन्छ। जसरी होस्, प्रदर्शन दर्शनीय थियो, रंगीन थियो। शाकाहारी मांशाहारी स्न्याक्स, चिसो पेय, मदिरा आदि हात र ट्रेमा लिएर एकनासको पहिरनमा वेटर वेट्रेस घुमिरहेकै थिए। फरक खालको पहिरनमा केही मानिसहरू खाइसकेका भाँडा बटुल्दै थिए। मदिरा लिनेमध्ये कोहीले २, ३ वटा पेग एउटैमा खन्याएको, कसैले चिसो पेयको रंगमा घोलेर लुकाएको, कसैले न्यापकिनले बेरेर औपचारिकता निभाएको देखिनु सामान्य थियो।
केही अन्तरालपछि भेटिएका मान्छेहरूसँग सम्बन्ध पुनर्ताजगी हुँदैथियो, नयाँसँग पनि परिचय हुँदै थियो। कुनै समूहमा चुस्स छिरेर अभिवादन मात्र गरेर अर्कोपट्टि लाग्ने अनि कसैसँग तर्किने पनि चल्दै थियो।
आफ्नो उन्नतिप्रगति वा दुर्गतिको प्रदर्शनदेखि अमूक कसैको प्रशंसा र आलोचना यस्ता माहोलमा सामान्य हुन्छन्।
कोही कोही त कसैकसैलाई एउटा कुनातिर तानेर खै कसकसको कुरा गर्दै थिए, वा काट्दै थिए। गफका प्रधान विषयमा मूल थलोको स्थानीय राजनीतिबारे पुस्ताअघि नै बसाइसरेका मानिसहरूको विज्ञता प्रदर्शनले मान्छेले थातथलो छाडे पनि त्यहाँको लिगेसी बोकिराखेको प्रष्ट हुन्थ्यो। राष्ट्रिय राजनीति, प्रशासन र सेटिङमा आफ्नो वा अमूकको पकडप्रतिको दम्भ र खिसिट्युरी पनि सामान्य नै भयो।
समान अवस्थाबाट उँभो लागेका केही भने अन्तर्राष्ट्रियस्तरकै विज्ञता प्रदर्शन गरिरहेका थिए, विज्ञताको मूल्यांकन गरिराख्नु जरूरी रहेन।
कसैको आर्थिक प्रगतिबारेको बिना संकोच प्रशंसा, संशयपूर्ण आश्चर्य अनि ओठ लेप्र्याइ, सामाजिक सञ्जालका पोस्टमाथिको प्रतिक्रिया अनि कसैको निजी जीवनबारेको सूक्ष्म विश्लेषणदेखि लिएर चासो, क्षमता र व्यक्तित्वअनुसारका अन्य विविध विषयहरू पनि तँछाडमछाड गर्दै प्रवेश गरिरहेका थिए।
मदिरा पान गर्नेले त्यो गरिसकेपछि जोशको मात्रा गुणात्मक बढ्छ र नगर्ने कतिपयको लागि पनि त्यो माहोलको स्वाद लिँदै त्यसमा अचार थप्दै अझ रमाउनु स्वादिलो हुन्छ। त्यस्तै हुँदै थियो। हरेक विषयमाथिको विज्ञता झन् ठूला स्वरमा र दृढताका साथ प्रदर्शन हुँदैथिए। कुनातिरको संगीतको आवाजले विज्ञता प्रदर्शनको भल्युम पनि बढाइरहेको थियो।
परिवारसहित गएको म, पुगिसकेपछि परिवारलाई अरू परिवारहरूसँग पारिवारिक हुने वातावरण मिलाएर आफू मदिरा परिवारतिर मिसिएँ। परिवारबाट ‘धेर नखानू’ भन्ने सल्लाह माने पनि आउँछ, नमाने पनि। नियन्त्रित मदिरापान गर्नेहरू त महान नै हुन्, म हैन, तै पनि सुरूआती सचेतना देखाउने प्रयास गरेँ। अलिक बढी नै समय लगाएर पहिलो पेग पार्टी हलमै सकाएपछि हलको बढ्दो भीड र ध्वनीबाट पन्छिन, चुनिन्दा समूहमा चुनिन्दा गफ गर्न दोस्रो पेग लिएर खुला पार्किङतिर गइयो, भनौं मदिराले त्यसो गर्न उत्प्रेरित गर्यो। पेग जोडिँदै गर्दा जोश गुणन हुन्छ, त्यसै हुँदैथियो। अमूक विषय उठाएर त्यसको उच्चतम गम्भीरतामा गफिँदै थियौं र सक्दो विज्ञता प्रदर्शन गर्दैथियौं। सिमसिम झर्दै रोकिँदै गरेको पानीले माहोल रोमाञ्चक बनेको थियो।
अँध्यारो छिप्पिँदै थियो, तर्किनुपर्नेहरूसँग तर्किन थप सजिलो भएको थियो। कसैले देखिहाले पनि मदिराले गुणन गरिदिएको आँट छँदैथियो, त्यो तत्कालीक लज्जाको ओखति पनि थियो।
पेग सकिँदै गर्दा गफको सिलसिला पनि टुटेजस्तो भयो, सबका तर्क उम्दा हुनाले कसैले कसैलाई हराउन सकेका थिएनन्, तर बेलाबेला मदिराले छाडेजस्तो गर्दा एकअर्कासँग हारेको महसुस पनि गरिरहेका थिए।
मदिराले साथी खोजेजस्तो लाग्यो। सल्लाहसाथ २, ३ जना गेट बाहिर निस्कियौं।
गेटबाहिर देब्रेपट्टिको पसलमा चुरोट किनेँ, सल्काएँ। अरू साथी त्यतै टहलिँदै थिए होला, म बेग्लै सुरमा भएछु क्यारे, मेरो ध्यान सडकको किनारमा उभिएर र बसेर गफ गर्दै गरेका ३, ४ जना मान्छेहरूतिर गयो। गन्जी, सुरूवाल, लुङ्गी लगाएका, गम्छा बेरेका ती मान्छेहरूको छेउमै गएर उभिएँ। गफ सुन्दै दायाँबायाँ हेर्दा निर्क्यौल भयो, उनीहरू कवाडीवाला थिए। एक जना अलिक पाको, अर्को अधवैंशे, अर्को तन्नेरी, यस्तै। सामुन्ने कवाडीको ठूलो अस्थायी संरचना थियो, संकलन केन्द्र होला।
मधेशमा जन्मेहुर्केको भएर स्वभावैले मधेशीहरूप्रति बेग्लै अपनत्व हुन्छ मेरो। मधेशमैं भेट्दा खासै नभए पनि काठमाडौंमा त खास नै हुन्छ। म उनीहरूले गरेको गफ अनुसारको हाउभाउ बनाउँदै नजिकिएँ।
सोधेँ, ‘कस्तो छ त काम अहिले?’
कुनै एकले जवाफ फर्कायो, ‘राम्रै छ सर, जति गर्न सक्छ उति त हुन्छ’ ।
‘घर कता हो नि?’
‘रोतहट’ भन्यो कसैले।
अर्कोले ‘इन्डिया हैन नेपालमै हो हाम्रो घर’ भन्यो।
स्वभावमा मदिरा मिसिएपछि सुन्दा चसक्क पार्ने जवाफ थियो त्यो।
भनेँ, ‘इन्डिया भए नि, नेपाल भए नि, गर्ने त काम हो नि, कामै गरेर खाँदै हुनुहुन्छ नि!’
उनीहरू शायद मसँग थप गफ गरिरहन अनिच्छुक थिए। के भनेर टारे ख्याल गर्न सकिनँ। तर मदिराले गफ छाड्नै दिएन।
‘खाना खेलियै ?’ सोधेँ।
एकजनाले भने, ‘भैसक्यो।’
अर्कोले भन्यो, ‘कोही खाँदै होला।’
हेरेँ, सडकबाहिर हल्का ओरालोतिर झण्डै २० मिटर परको अस्थायी टहरोमुनि कोही खाना खाँदै गरेजस्तो लाग्यो।
भनेँ, ‘जान्छु ल हेर्न?’
उनीहरूको जवाफ नपर्खी भित्र छिरेँ। मदिराको देखिने स्वाद खुट्टाले पाइसकेको थाहा पाएँ, तर म बेपरवाह थिएँ। मदिरापछिको धूमपानले गुणात्मक नशा दिन्छ, त्यो सुरूमा जाँगर दिने हुन्छ अनि पाचन शक्तिअनुसार शिथिल बनाउन थाल्छ। म जाँगरकै अवस्थामा थिएँ।
यो कम्पाउण्ड पार्टी प्यालेससँगै जोडिएको थियो। अस्थायी गेटको दाहिनेपट्टि ठूलो घरको भित्तो, भित्तामा किसिम किसिमका कवाडी टाँसिएका, वा राखिएका। देब्रेपट्टि बन्द टहरो, लामो थियो त्यो। त्यसको भित्ताबाहिर र छानोमाथि पनि कवाडी नै थिए। कवाडी गोदाम त थियो त्यो, त्यसैले यत्रतत्र कवाडी थिए। दराज, कुर्सी, भाँडा, ग्यालेन, सोफा, ड्रम, कार्पेट, बोतल यस्तै के के थिए जसले आफ्नो जोवन र जीवन व्यतित गरिसकेर परित्यक्त भएका थिए।
छानो के को थियो थाहा छैन, तर छानोको भित्रपट्टि टिनको पाता, बोरा, त्रिपालजस्तो केही टाँस्सिएको थियो, बर्खाबाट जोगाउन होला। गेटपट्टिबाट बन्द कोठाजस्तै रहेको त्यही टहरो अलिक अगाडि गएर खुला भएको थियो।
खुला सुरू भएकै आडमा खाटजस्तो थियो, खाटै चाहिँ थिएन त्यो। कवाडीकै सामानको जुगाडले बनेको खाट। त्यसमा २ जना बसेका थिए, एक जना बुढेसकालतिर लम्किँदै गरेको मान्छेले देब्रे खुट्टोको पलेँटी कसेर दाहिने भुइँमा झारेको थियो, अर्को केटो थियो, खाटको बीचतिर घुँडा दोब्र्याएर बसेको। दुवै जना खाँदै थिए। खाटभन्दा बाहेकका ठाउँमा सबै कवाडी थिए। खाटभन्दा पछाडि अर्को अलिक अग्लो सुत्ने ठाउँ थियो, बंक बेडको माथिल्लो भागजस्तै, लमतन्न परेको।
बिहे भोजमा गएको मलाई यो खान्कीले खप्नै नसक्नेगरी लोभ्यायो। दाल, भात, तरकारी, अचार के के थियो सबै एकै ठाउँ मुछेर ग्वाम् ग्वाम् खाँदै गरेका ती मान्छे देखेर इर्ष्या पलायो। एकैछिनको मौन रमितापछि भनेँ, ‘ओहो! कस्तो मीठो गरी खाको यार!’
खानेहरू बोलेनन्। बाहिर गफ गर्नेहरू र भित्रै भएका अरू गरी ४, ५ जना मलाई देखेर होला, त्यतै वरिपरि आएका थिए। फेरि सोधेँ, ‘मासु हो? मासुजस्तै छ त?’
‘हैन’भने बुढा चाहिँले, तर के हो भनेनन्।
हेर्दा ग्रेभी चिकेनजस्तो, या ग्रेभी भाण्टाजस्तो। तरकारी मुछिसकेका थिए, बत्ती मधुरो थियो, ठम्याउने अवस्था पनि थिएन। जे होस्
बास्ना र खाएको शैली मलाई लोभ्याउन काफी थियो।
‘मलाई पनि खान मन लाग्यो यार! पुग्छ अलिकति?’ आग्रह गरेँ।
उनीहरू छक्क परे होलान्, या दिक्क माने होलान्।
‘सकिसक्यो त ऊ खाली भैसक्यो’ बुढोले किटको कराही देखायो।
मेरा आँखाले कराहीमा २, ३ ठाउँमा एक चोक्टाको १० भागको १ भागजति तरकारी, थोरै ग्रेभी यताउता लतपतिएको देखे, मनले अद्भूत स्वादको कल्पना गर्यो, जिब्रो रसायो।
‘भात त होला’ भन्यो केटो चाहिँले।
‘म यस्मै खान्छु न त, भात छ त?’ म हौसिएँ।
कराही देखाउँदै सोधेँ, ‘यसमै खान मिल्छ? नत्र कागजको प्लेटजस्तै केहीमा खाइहाल्छु। कोही कोही त पकाएको भाँडामा खाँदैन नि!’
‘भात हौ? ला दे रे’ भने बुढाचाहिँले। विपरीत दिशामा रहेको अलिक सानो आकारको टहरोबाट एक जनाले अलिक ठूलै कुकर लिएर आयो, भात रैछ। कराहीमै खान हुने रैछ, अलिकता हाल्दिन भनेँ। वास्नाको स्वादको लोभ र भोक दुवै जागेको थियो। लोभ बढी, या भोक बढी ख्याल गर्नु जरूरी थिएन।
दुइटै खुट्टा तलै झारेर तेर्सो बसेर तरकारीको प्रतिनिधि र लतपतिएको ग्रेभीसँग मुछेर खान थालेँ, खानुभन्दा पनि सुस्ततम गतिमा स्वाद लिँदै थिएँ, नौलो अनुभव भैरहेको थियो। रमित हेर्ने बढेको जस्तो लाग्यो। उनीहरू रमाएको ठानेँ, हौसिएँ।
मदिराको जोश कायम थियो। उनीहरूको काम, कमाइ, जीवन आदित्यादिबारे जिज्ञासा राख्दै थिएँ, कोही सोझो गरी र कोही बेवास्तापूर्ण जवाफ दिँदै थिए। मनमा कतै असहज महसुस भैरहेको त थियो, तर मदिराले सहज बनाउन पनि सघाउँछ बेलाबेला। उनीहरूले म मात्तेको महसुस नगरून् वा कम गरून् भन्ने थियो। म आफ्नो स्वभाव सबै कामको सम्मान गर्ने खालको रहेको कुरा गर्दै थिएँ, कति पत्याए उनै जानुन्।
‘म त्यो पार्टी प्यालेसमा भोज खान आएको, तर मलाई त्यहाँको भन्दा तपाईंहरूको खाना धेरै मीठो लाग्यो’, भनेँ।
त्यो मेरो इमानदार स्वीकारोक्ति र उनीहरूलाई मख्ख पार्ने प्रयास दुवै थियो। उनीहरूले भने मेरो कुरामा अपेक्षित खुसी जाहेर गरेनन्। म भित्रभित्रै हल्का खिन्न भएँ।
त्यसैबेला सानो टहरोपट्टिबाट एक जना अधवैंशे आए। सामान्य कदकाठीका, नकाटेको छोटो दाह्री, निधार निक्कै माथि पुगेको, भाग्यमानीको जस्तो। ती मान्छे बुढो मान्छेको पछाडिपट्टि बसे, दुवै खुट्टा तल झारेर।
सोधिहालेँ, ‘तपाईंको नाम के हो नि?’
‘माइ नेम इज संजय कुमार शर्मा, आइ एम फ्रम रोतहट’, जोशिलो तर रूखो खालको स्वरले जवाफ फर्कायो।
म भित्रको म एक लट मज्जाले झस्कियो, बाहिरको ममा पनि पक्कै देखियो। सम्हालिएर सोधेँ, ‘वाह!, तपाईं त अंग्रेजी बोल्नु हुँदो रैछ। मैथली मै भने पनि हुन्छ हौ, हमहुँ मधेशै के छियै।’
पूर्वतिरको मेरो भाषाभन्दा जनकपुरदेखि पश्चिमको भाषा, शब्द र शैली फरक हुँदै जान्छ।
तिनले के जवाफ दिए ख्याल छैन, तर तिनको व्यक्तित्व तिनको स्वर र हाउभाउमा एकप्रकारको बेवास्ता झल्किरहेको थियो। म सक्दो सचेत भएँ, अनि जिज्ञासापूर्वक सोधें, ‘तपाईं त अलिक पढेलेखेको हुनुहुँदो रैछ, के कति पढ्नु भा छ, भन्न मिल्छ त?’
‘बिएस्सी इन ...... फ्रम......’ के र कहाँबाट पढेको भने, मैले सम्झिन सकिनँ। म फेरि छक्क परेँ। सक्दो सामान्य हुँदै फेरि सोधेँ, ‘मलाई सोध्न र बुझ्न मन पर्छ, नरिसाउनुस् है, किन र कसरी आउनुभयो त यो काममा?’
‘किन पढे लेखेकोले यो काम गर्नु हुँदैन?’ उल्टो प्रश्न थियो मलाई, उही रूखो खालको स्वरमा।
मैले सोध्ने पारा पो जानिनँ कि, डर डर लाग्यो। सबै कामको इज्जत गर्ने आफ्नो स्वभाव दोहोर्याएँ, आफ्नै एकाध अनुभव पनि सुनाएँ र भनेँ, ‘हैन हजुर, त्यो भनेको होइन। काम त सबै काम नै हो। तर मैले आज पहिलो पटक यति पढेको मान्छेलाई भेटेर मलाई सोध्न मन लाग्यो। प्लिज, नराम्रो नठान्दिनोस्, म तपाईंहरूभन्दा फरक हैन।’
त्यसपछिको उनको रौतहटिया लवज केही नरम सुनियो, ‘काठमाडौंमा चार जनाको परिवार छ। श्रीमती र छोराछोरी लोकन्थलीमा डेरामा बस्छ। छोराछोरी राम्रो स्कुलमा पढ्छ। म कहिले यहाँ, कहिले डेरा जान्छु।’
‘अनि यो सबै गर्न कमाइले पुग्छ त?’ मैले सोधेँ।
‘पुग्ने नै छ, गाउँबाट बुवाले बेलाबेला चामल पठाइदिन्छ।’
‘अनि यति पढेको मान्छे, जागिर नखाँदा घरपरिवार रिसाएनन् त?’
‘काम त मैले गर्ने हो नि! रिसाएर के हुन्छ ? रिसाउन त बुवा रिसायो नि?’
अघिदेखि झस्किएको मलाई फेरि कताकता मज्जाले थिच्यो। अझ केन्द्रित भएर सोधिहालेँ, ‘अनि कतै अरू काम पनि गर्नुभयो कि? उता काम राम्रो नभएर कि यता कमाइ राम्रो भएर कि? यो काममा चैं कसरी त?’
यतिबेला उनी अझ मज्जाले खुले, ‘हेर्नुस् सर, यहाँ गाह्रो छ। जागिर त त्यतिकै पाउँदैन नेता सेताको सिफारिसबिना। केही पायो भने पनि हामीलाई त बढी नै हेप्छ। गरिबलाई त गाह्रै हुन्छ नि! जागिर पनि गरेँ, खुब मेहनत गरेँ। तर न पैसा राम्रो थियो न व्यवहार राम्रो थियो। अब कता कता जाने नमस्कार गर्न? त्यही भएर आफ्नो मन परेको काम गर्छु, कसैले हेप्न त पाउँदैन। पैसा पनि राम्रो छ त किन अरूको नोकरी गर्नु? मलाइ आत्मसम्मान र आत्मसन्तुष्टि यसैमा छ।’
मदिराको नशा सगरमाथामै अड्याइराखेको मेरो जोश हाम फालेर केचनकवल पुग्यो, अझ तलै भास्सियो। जीवनशैलीको फितलो आडम्बरमा बनेको तासको महल गर्ल्याम्म ढल्यो। अचानक शरीरमा काँढा उम्रिए कि रिँगटा लाग्यो कि के के भयो भयो। होश आयो कि होश गयो के के भयो भयो। म खङ्ग्रङ्ग भएँ, त्यो सिमसिम पानीको शितलमा मलाई असाध्यै गर्मी भयो।
ओहो! आहो! मिलिसेकेण्डहरूमै मभित्र अनगिन्ति संवेदनाहरूको तीव्र हुरी चल्यो। म ढलुँलाजस्तो भएँ। छट्पटिएँ, अवाक् भएँ। म बाहिर पसिनाले भिजेँ होला, भित्र लज्जाले निथ्रुक्कै भएँ। लौ के भन्यो यसले? यो कवाडीवालाले ?
होशमा आइहाल्नुको विकल्प पनि त थिएन। भात अघि नै खाइसकेको थिएँ। उठेर प्लास्टिकको जगको पानीले हात धोएँ र थोरै पानी पिएँ। अनि उसको हातनजिक आफ्नो हात लगेँ, उसले हात थोरै अगाडि बढायो, मैले धेरै बढाएर हात मिलाएर भनेँ, ‘वाह!, तपाईंप्रति उच्च सम्मान छ मेरो । साँच्चैको सम्मान। मलाई पनि तपाईंजस्तै साहसी हुन मन त छ तर मैले सकेको छैन, म तपाईंभन्दा कमजोर छु।’
तिनले के प्रतिक्रिया या दिए याद छैन। तर मेरो प्रशंसाले तिनलाई खासै छोएजस्तो लागेन। खै केप्रति लक्षित हो, एकप्रकारको वितृष्णा कायम थियो तिनको मुहारमा। तिनलाई कुनै प्रकारले विश्वस्त बनाउन नसकेकोमा उच्च क्षोभ महसुस गरिरहेको थिएँ म।
त्यसपछि के कुरा भयो ख्याल छैन, तिनी लगत्तै उठे र सानो टहरातिर लागें। अरू ३, ४ जना वरिपरि नै थिए, कोही सुत्ने तरखर गर्दैथिए। ढिलै भैसकेको थियो। त्यहीबीचमा मलाई २, ३ पटक फोन आइसकेको थियो, म ‘यतै छु, आइहालेँ’ भन्दै अलमलिँदै थिएँ। पानी रोकिएको थियो क्यारे।
म उनलाई पछ्याउँदै टहरातिर लागेँ, मलाई भित्र छिर्न अप्ठ्यारो लाग्यो। के गरूँगरूँ हुँदैथियो, उनी बाहिर निस्किए।
मैले आग्रह गरेँ, ‘मलाई तपाईंको नम्बर दिनुस् न। म अहिले केही पिएको पनि छु, भोलि फोन गरेर भेट्छु। तपाईंसँग धेरै कुरा गर्न मन लाग्यो।’
तर खै के भनेर हो मलाई पन्छाए उनले। नम्बर दिएनन्, बेवास्ता दिए। म, मेरो पोशाक, मैले खाएको महंगो मदिरा, मेरो तुलनात्मक सुकिलो स्वरूप, मेरो सम्पूर्ण म... सबै सबैलाई नराम्ररी गिज्यायो तिनको बेवास्ताले।
भोजमा फर्केर खाना खाइनँ। फर्किंदा बाटोभरी मलाई उसको ‘आत्मसम्मान र आत्मसन्तुष्टि’ ले गिज्याइरह्यो। निदाउन गाह्रो भयो। म स्वभावतः ऊजस्तै थिएँ, तर यदि उनी आफ्ना भनाइमा सत्य थिए भने म आफ्नो व्यवहारमा झुटो थिएँ। पूर्णतः देखावटी।
भोलिपल्ट उठेर उनलाई भेट्न जाने चाहना भयो, तर आँट आएन, लाज पनि लाग्यो। कहिलेकाहीँ आँट चाहिने कामबाट पन्छिएर जितेजस्तो देखाउने रैछ मान्छेले आफूलाई।
***
झण्डै एक दशकदेखि जे गरिरहेको थिएँ, त्यसले मेरो दिक्दारी सनैसनै शिखर चढिरहेको थियो। पछिल्लो एक डेढ वर्ष त शिखरतर्फ दौडिनै थालेको थियो। शिखरमा पुगेपछि केही पनि अडिन सक्दैन, ओर्लिनै पर्छ। धेरै मामिलामा स्पष्ट र निश्चयी भए पनि जीवनयापनको मामिलामा सम्झौतावादी भएको थिएँ।
अरूको नजरबाट जोगिने प्रयास गरे पनि आफ्नो नजरमा म कमजोर हुँदै थिएँ। खुसी हुने समय आउने आशाले गर्ने निष्फल सम्झौता, काम फेर्ने अल्छे र असफल प्रयास, उही काम उसैगरी गरिराखेर बेग्लै परिणाम आउँदै आउँदैन भन्ने बोध, विविध जिम्मेवारी, निश्चित विकल्पबिनाको अन्यौलपूर्ण भविष्यको त्रासजस्ता यावत जटिलताले उकुसमुकुसपूर्ण समय बित्दै थियो। मभित्रको सल्किसकेको ठूटोमा कवाडीवालाको ‘आत्मसम्मान र आत्मसन्तुष्टि’ ले झोसिदिएको मशाल दन्दनी बल्न थालेको थियो।
***
केही समयको कठोर आत्ममन्थनपछि एक दिन मैले राम्रो मानिएको काम, त्यससँग जोडिएको राम्रै दाम अनि राम्रै पहुँच र प्रतिष्ठा सँगसँगै आफूसँग आश्रितहरूप्रतिको जिम्मेवारी, भविष्यको अन्योल आदि इत्यादि सबैलाई एकातिर थन्क्याएर लम्बिँदै गएको उकुसमुकुसलाई बिदा दिने अन्तिम निर्णय गरेँ, साहस जुटाएँ र जागिर छाडेँ।
अघिल्ला प्रयासहरूमा विभिन्न कारणवश सफल नभएको म, यसपटक आफ्ना सबै जिम्मेवारी निष्ठा र प्रतिबद्धतापूर्वक पूरा गरेर छुट्टिएँ।
फेरि टाँस्नेहरूको प्रयासलाई दृढतापूर्वक अस्वीकार गरिदिएँ। सुनैको सही, खुला आकाशमा विचरण गर्ने चरीलाई पिँजडाभित्र बाँच्नु असम्भवप्राय: छ। पिँजडा भत्काइदिएँ।
के के हारिने हो समयले देखाउला, तर मैले जितेको ‘आत्मसम्मान’ र ‘आत्मसन्तुष्टि’ को केही श्रेय ती कवाडीवालालाई दिन पाउनु मेरो सौभाग्य हो।
(कथाको सम्पूर्ण वा कुनै अंश कसैसँग मेल खाएमा संयोग मात्र ठान्दिनुहोला)