हिजोआज यो मन दिनप्रति दिन दुविधा हुँदै गएको छ। कयौं रात अनिन्द्रामा नै बितेका छन्। रातको अनिन्द्रामा पनि हजारौं सपनाले पछ्याइरहेका छन्।
मानौं ती सपना बिहान उठ्ने बित्तिकै पूरा हुने छन्। अहिले नपुगेको पनि केही छैन, पुगेको पनि केही छैन। अलपत्र अवस्थामा जिन्दगीका ती सपना गुज्रिरहेका छन्। जिन्दगीको सपना उद्देश्य एउटा थियो तर जिन्दगीको यात्रा अर्को बाटो दौडिरहेको छ।
भन्न त भन्ने गर्छन् मान्छेहरू पूर्वजन्ममा जे लेखेर ल्याएको छ त्यही हुन्छ तर म यो मान्न तयार छैन। पूर्वजन्मको समय र अहिलेको समय परिस्थिति फरक फरक छ।
हिजो बालापन थियो त्यसैमा रमाइलो थियो चिन्ता थिएन। न त घर न त परिवार समाज न त सम्पत्ति र देशको वास्ता। न धर्म थियो न जात थियो त केबल बालापन। त्यहीभित्र हुर्किंदै गरेको हजारौं सपना त्यहीभित्र हुर्किंदै गरेको एउटा बालापन। मलाई थाहा छ समय परिर्वतनसँगै उमेर परिर्वतन भएको छ।
उमेर सँगसँगै थुप्रै कुरा परिर्वतन भएका छन्। वसन्त ऋतुसँगै वन जंगलले नयाँ पालुवा पलाएको छ। तातो हावाको रापले कहाँ जाऊँ, कसो गरौं बनाइरहन्छ।
आफ्नै गतिमा फेरि लगाउने सेकेन्ड सुई तीव्र चलेको आभास नभए पनि मिनेट, घण्टा, दिन हप्ता हुँदै महिना र साल बित्यो।
हुन त यस्ता कैयौं साल बितिसके।
भित्तामा २०८० लेखिएको अर्को नयाँ भित्ते पात्रो कोठाको भित्तामा टाँस्नै लाग्दा मनमा धेरै कुरा टाँसिएका छन्।
लाग्छ भित्तामा झुन्डिएको भित्तेपात्रोले पनि गिज्याएजस्तो लाग्छ। नयाँ वर्ष लाएसँगै वर्षौंसम्म अधुरै रहेका सपनाले पछ्याइरहेका छन्। हिजो सँगै पढेका सँगै हुर्किएका साथी सहकर्मीहरू अहिले कताकता पुगिसके मिलन नभएको पनि वर्षौं भइसक्यौं।
कोही साथी युरोपतिर छन्। धन सम्पत्ति हुने साथीहरू कोही कोरीया, जापान, अष्ट्रेलिया। धन सम्पत्ति नहुने साथीहरू खाडी दुबई, कतार, मलेसिया पुगिसकेका छन्।
उनीहरूको अवस्था फेरिएको छ। रहनसहन फेरिएको छ। कहिलेकाहीँ म्यासेजमा सोध्ने गर्छु के छ मित्र कस्तो चल्दैछ जिन्दगीको यात्रा? उनीहरू देश छोडेसँगै कोरिया, जापानले धेरै परिर्वतन ल्याएको छ।
सहर बजारमा जग्गा जमिन जोडे। बसाइ सर्दै छन् घरमा बाबा आमा खुसी छन्। तीर्थ, व्रत विभिन्न ठाउँमा घुम्न जाने गर्छन्। जापान, कोरियाले मुहार फेरिएको छ। अहिले हाम्रो परिवार उनीहरूको अगाडि विचारा बनेको छ।
आफ्नै देशमा केही गर्छु भनेर विदेशी भूमि जाने कहिल्यै सोचिनँ। केही गर्छु त आफ्नै देशमा केही गर्छु भनेर सधैं देशप्रति सकरात्मक भावले सोचिरहें।
हुन त आजसम्म मैले देशको लागि केही दिन सकेको छैन तर पनि आफू सँगैका सहकर्मी लाखौं डलर कमाइरहँदा म भने देशमा बेरोजगार बन्नु परेको छ। मैले देशमा बसेर केही नगरेको पनि होइन केही गर्नुपर्छ भनेर कुखुरा पालेको बर्डफ्लु लाग्यो भनेर सरकारले जबर्जस्त नस्ट गरिदियो। गाईपालन गरेको बजारमा दूधको उचित मूल्य नपाउँदा सधैं घाटा ब्यहोर्नु पर्यो।
तरकारी खेती गरे बजारमा जाँदा त्यसै फालेर आउनु पर्यो। सधैं घाटा हुँदा लाखौं ऋण तिर्न बाँकी छ। त्यही ऋणले घरबाट लखेटिएको छु। साहुहरूको तारन्तार धम्कीले सम्पर्कविहीन हुन परेको छ।
हिजो आज बाबा आमाको अगाडि पनि निरिह भएको छु। उनीहरूलाई खुसी दिन सकेको छैन। पैसा कमाएर दिन सकेको छैन।
कहिलेकाहीँ घर गयो त कचकच सुरू हुन्छ। छिमेकीको छोराको उदारण दिन्छन्। कोरिया र जापानको डलरले छिमेकीको परिवार सुखसँग जिन्दगी बिताउँदै छन्।
मेरो बाबाआमाको उमेर ढल्कँदै छ। उत्ति नै दुःखले च्याप्दै गएको छ। भन्ने गर्छन्- देशमा बसेर के गर्न सकिस्? तीर्थ, व्रत गर्ने उमेरमा सधैं अरूको भारी बोकेर जीवन निर्वाह गर्नु परेको छ।
कहिलेकाहीँ बिहेको चर्चा चलाउने गछर्न्। 'अब ठूलो भइसकिस् बिहे गर्नु पर्यो छोरा। छिमेकीका छोराको बच्चा भइसक्यो। तँ भने अझै केटाकेटी छु भन्छस्।'
आज यी नै शब्दले घोचिरहन्छ बारम्बार म नि:शब्द भएर उभिरहेको छु।
यो समाजले जोसँग जे छैन त्यही माग्छ। हाम्रो यो झुपडीमा कस्ले छोरी पत्याउँछ यो समाज! देशमा बसेर केही गर्छु भन्नेलाई विश्वास गर्दैन। यो कस्तो समाज हो? आफ्ना छोराछोरीलाई विदेश पठाउन चाहन्छ। म जस्तो युवालाई यो समाजले स्वीकार गर्दैन र आज लाखौं युवाहरू विदेशिन बाध्य छन्।
बाबाआमाको इच्छा पनि अचम्म अचम्म छन्। छोरालाई डिभी चिठा परोस् भनेर बिहानै भगवानसामु भाकल गर्छन्। बाआमाको निम्ति भए पनि मैले धेरै पटक डिभी भरें। परेको भने छैन। बाआमाले भन्ने गर्छन् हाम्रो भाग्य छैन।
मैले आजसम्म भाग्य कस्तो हुन्छ बुझ्न सकेको छैन। कसले दिन्छ भाग्य? हिजोआज बाबाआमा भाग्यलाई दोष दिने गर्छन्। मलाई थाहा छैन अमेरिका कस्तो छ, त्यहाँ कस्ता मान्छे बस्छन्? के त्यहाँ बस्ने मान्छे सबैले आफूलाई भाग्यमानी ठानिरहेका छन् त? खै के छ त्यहाँ? यस्तै प्रश्न सोचिरहन्छु।
आफ्नो देशलाई माया गरेर सरकारले दिने बेरोजगारी भत्ता लिएर बसौं या कोरिया र जापानको, दुबई, कतारको लागि तयारी गरौं! मनमा दोधार चलिरहेको छ।
सरकारले प्रत्येक बजेट भाषणमा अब युवाहरू विदेशिनु पर्दैन भनिरहेको छ। यता प्रत्येक वर्ष युवाहरू विदेशिने क्रम बढ्दो छ। सधैं राजनीतिक दलले युवालाई ढालको रूपमा प्रयोग गरे जसले गर्दा सधैं युवाहरू राजनीतिक दलको माथि चढ्ने भर्याङ बनि नै रहे।
लोकतन्त्रपछि देश सधैं राजनीतिक भ्रष्टाचारले ग्रस्त छ।
जता गयो, उतै राजनीतिक दलको लुट चल्दैछ। कार्यक्रतको हालीमुहाली छ। लोकतन्त्रपछि देशले मुहार फेर्नु पर्ने थियो झन् पछि झन् भ्रष्टाचारको दल दलमा फस्दै छ।
आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने कथन खाएका दल, राजनीतिक पार्टी स्वयम् प्रधानमन्त्रीले भनिरहँदा बालुवाटार र सिहंदरबारभित्र लुटेर बसिरहेका छन्। यो सबै देखेर देशमा रहेका युवाहरू आजित भइसकेका छन् र त उनीहरू डिग्रीको सर्टिफिकेट लिएर कोरिया भाषा र जापानिज भाषा पढेर कोरियाको र जापान लगायत युरोप देशको भिसा पर्खिरहेका छन्।
अब म पनि त्यही लाइनमा उभिएको छु। ती हजारौं सपना बाकेर बाबाआमा अनि समाजको निम्ति पैसा कमाउनु छ। बाँकी रेमिट्यान्सबाट भए पनि देशमा समृद्धि ल्याउनु छ हाम्रै पालामा।