कविता
गर्नु केही छैन
बिहानै उठ्नु छ
डाबर लाल दन्त मञ्जनले
दाँत चम्काउनु छ
चाइनिज सर्फले
कोरियाबाट बनेर आएको
रेडिमेड टिसर्ट धुनु छ।
दस जाेड दुई पनि पास गरियो
केही कन्सल्टेन्सी पनि धाइयो
आमा भगवानसँग वरदान माग्दै छिन्
अष्ट्रेलियाको भिसा लागोस्
थाहा छैन त्यहाँ पैसा फल्छ कि फल्दैन।
खैर म यति खेर
दाइले क्यानडाबाट उपहारमा पठाइदिएको
एक जोर ब्राण्डेड जुत्ताको
तुना बान्दैछु र निक्लँदैछु
आफ्नाे गन्तव्यकाे खाेजीमा।
केही साथीहरू भेटिए अनायासै
नजिकैको क्याफे हाउसमा
कोही क्यापाचिनो त कोही अमेरिकानो
कफीको चुस्की लिँदै भन्दै थिए
अरे यार उसको त भिसा लाग्यो अमेरिकाको
भरे त पार्टी गर्नु पर्छ
ब्राण्डेड मदिराको साथ
जमेर डान्स पनि गर्नु पर्छ
खोइ गए पछि त
कति वर्ष पछि हो
हाम्रो भेट हुने फेरि।
बिदाईमा आओ है केटा केटीहरू
दिदीले कोरियाबाट पठाइदिएको आइफोनबाट
केही थान सेल्फी हान्नु पर्छ
युवाहरूको सपनालाई टिकाउन नसक्ने
देश हो यो
पल्ला घरे काकाको छोरा छोरी पनि त
आखिर विदेशी नागरिक नै भैसके
गाउँ रित्तिओस्
सहर रित्तिओस्
हामीलाई के मतलब
उनले स्ट्रोबेरी फ्लेबरको हुक्का तान्दै भनिन्
भन्देकी छु है गाइजहरू
केही वर्ष पछि फेरि पछुताउन नपरोस्
सपनाको गन्तव्य तिर लाग्नु छ
हिजो मुग्लान थियो
अनि भोट थियो
आज अनगिन्ती छन्।
हाम्रा पखेंटालाई त उड्नु छ
निन्द्रा त्यागेर भए पनि
यो देशलाई घाडो भएको
आफ्नै देशको युवाहरूको सपनीलाई
पराई देशमा फुलाउनलाई।
लु है त गाइज
आज त नगए पनि
भोलि त पक्कै आउलास्
फेरि यसै गरी भेटिएला या नभेटिएला
कहीँ कतै भुल भुलैयाकाे सहरमा
आफैं हराएर पनि
उसै गरी सपनीहरू फुल्ने देशमा।