कविता
सहरमा के पाइन्छ भन्नुहुन्छ तपाईं!
त्यही कुरिरहेको छ सपनाको सुन्दर महलको ढोका,
त्यही पर्खिरहेको छ बा आमाको आशा र अपेक्षा
त्यही छ हजुर बा को औषधी मुलो
त्यही छन् मेरा तथानाम बाध्यता, सहजता र अभाव
सपना बेच्न सहर पसेको थिइनँ म
सपना खोज्न आएथें
गाउँबाट सहर आएको तरकारीले भाउ नपाएजस्तै
मेरा बा आमाको आशा अपेक्षाले पनि भाउ पाएको छैन खासै
जसरी बाहिरबाट आएका अस्वस्थ तरकारीले महङ्गी फैलाई रहेको छ बजारमा
मूल्यहीन भएर टोलाइरहेको छ गाउँको तरकारी
उसै गरी महँगी फैलाइरहेका छन् शासकहरू
टोलाइ रहेको छु म मूल्यहीन बेकामको भएर
बेरोजगार भएर
गाउँको उत्कृष्ट अंक
मध्य उमेरको अप्ठ्यारो साइन्स
र यो उमेरको विज्ञानकै स्नातकोत्तर
बडा जोडले चिच्चाइ रहेको छ
आफ्नै गला च्यापिरहेका छन् सर्टिफिकेटहरू
आफ्नै हात काटिरहेका छन् सीपहरू
आफ्नै भित्ता र भविष्य मा तथानाम छरपस्ट अशिष्ट शब्द रचिरहेका छन् विश्वविद्यालयहरू
एक ज्येष्ठ
विश्वविद्यालयको शिक्षा आफैं स्वीकार्दैछ आफ्नो असफलता
आफैंले लेख्न सिकाएका हातबाट आफैंले दलिमागेको छ मोसो
लगाई मागेको छ कक्षाकोठामा ताला
पिटी मागेका छ वरिष्ठ प्रोफेसर
एक ज्येष्ठ विश्वविद्यालय
वर्षौं पढाएर सर्टिफिकेट दिएर
पठाउँदैछ इन्स्टिच्युट तिर सर्टिफाइड विद्यार्थी
र घोकाउँदैछ लोक सेवाको पत्र
लोक सेवा सोधिराखेको छ अनावश्यक अत्यधिक तथ्यांक
फेरिराखेको छ पत्रका आशय र खोजिरहेको छ उही पुरानो उत्तर
सिकाउँदैछ गतिलो सुशासन र विकासको परिभाषा
ल्याएका छन् अधिकतम अंक
र तिनै जो अब्बल भए
उनैले चलाउँदैछन् कुशासनको रथ
दौडिराखेका छन् भ्रष्टाचारको चक्रपथ।
बडो जोडले शंख फुक्ने जोगीले घर चोरेर हिँडेझैं
देश बनाउँछु भनेर वर्षौं लडेकाहरू
लडाइरहेका छन् देशको अस्मिता
लुटिराखेका छन् देशका गहना
देशमै बसौं देशले पत्याउँदैन
देश छाडौं आशले अत्याउँदैन
देशको कर्णधार भनिएको युवा नागरिकता नबनाउँदै सकाइसकेको हुन्छ पिटिई र आइइएलटिएस
देशको शिक्षाले खाली बनाउँदैछ कलेज
खाली बनाउँदै छ पेट
गाउँले गाउँको चामल खान छाडेको छ
जिरा मसिनो खोज्छ
गाउँले तरकारी उब्जाउन छाडेको छ
बजारको तरकारी खोज्छ
के खोज्छौ सहरमा?
यहाँ सबथोक छ
देश बिगार्ने नेतादेखि मेरा बाध्यतासम्म यतै छन्
मीठो भाषणमा राष्ट्रियतादेखि भ्रष्टाचारका ज्ञाता यतै छन्।