कविता
हे फेसबुक
हुन त तिमी धेरै भन्दा कनिस्ट मित्र
तथापि कैंयनको घनिष्ट मित्र
विलक्षण तिम्रो क्षमता
लाखौं लाख तिम्रा साथी
युवा, वयस्क हुन वा वृद्ध
सबको आशा अनि भरोसा तिम्रै माथि
अति सहज पहुँच तिम्रो
छौ नि तिमी साह्रै गुनि
वाइफाइ जोड्यो घोप्टो पर्यो
अनि त के पो चाहियो
आफ्नै रूचि, आफ्नै छनोट
जे जे गरेनि हुने
पलपलका समाचार हेरे पनि हुने
कसैले नचिन्ने गरी आफ्नो हुलिया बारम्बार फेरे पनि हुने
अरूका पोस्ट स्क्रोल गरी गरी
धित मरून्जेल हेरे पनि हुने
कसले के गर्छ को कहाँ जान्छ
निजीखुदी चियोचर्चो जति गरे पनि हुने
टिलिक्क पोसाक र कृतिम मुस्कानयुक्त तस्बिर पोस्ट्याउँदै
मनग्य भ्रम छरे पनि हुने
स्कुल, क्याम्पस, काम वा उत्सव मेला
शौच गर्ने होस् वा सुत्ने बेला
तिम्रो दोस्ती अविच्छिन्न
किनकी
लाइक र कमेन्टको लेखा जोखा गर्नु छ यसै बेला
स्क्रोल गर्छु लाइक ठोक्छु,
भ्याई नभ्याई लामा लामा कमेन्ट नि लेख्छु
अफसोच,
आफ्नो पोस्टमा लाइक कमेन्टको खडेरी पर्दा
तीन लोक चैध भुवनै नै देख्छु
किनकी यो मन चसक्क दुख्छ र ओठमुख सुक्छ
छटपटी र चिडचिहाटले खलखली पसिना नि छुट्छ
अनि
दिक्क मान्दै त्यसै त्यसै झोक्राउँछु
यी खाइस लाइक कमेन्ट भन्दै
आफैंले आफैंलाई लोप्र्याउँछु
इर्ष्या र डाहको छटपटाहटले
बारम्बार पुर्पुरो समाउँछु,
आफ्नो पोस्टमा यदाकदा पर्ने
प्रशंसाका दुई चार शब्दले ममा त्राण भर्छन्
अनि प्रति उत्तरमा तिम्रो वाल भर्दै औधी रमाउँछु
प्रेमिल सम्बन्धको पनि उर्वर भूमी तिमी
माया प्रेमका बिउ छर्न नि मिल्ने
आफ्नो रूप र धुपमा फूलबुट्टा भर्न नि मिल्ने
खादा,बस्दा, सुत्दा, उठ्दा
भेटको होस वा डेटको
छिन् छिनमै भातिभातीका फोटोले बाल भर्न पनि मिल्ने
आफ्ना मन भित्रै गुम्सिएका भावना सहजै पोख्न नि मिल्ने
अरूका खुसी, सुख पीडा ब्यथा छर्लंग देख्न नि मिल्ने
टाढा होस वा समिप दिनदिनै गफ ठोक्न नि मिल्ने
खुसी, सुख पीडा ब्यथा छर्लंग देख्न नि मिल्ने
घनिष्ठ मित्रले नै आफ्नो छिद्र खोज्न थाल्दा
फ्याट्टै अन्फ्रेण्ड गर्न नि मिल्ने
अजिब तिम्रो क्षमता
फुर्सदमा च्याट गरी गरी समय सजिलै कटाउन नि मिल्ने
साथीभाइ, आफन्तलाई तुरून्तै खबर पठाउन नि मिल्ने
देख्या चिन्या केही छैन
तथानाम म्यासेज पठाइ पठाइ लास्टै सताउन नि मिल्ने
लाइक कमेन्ट प्रगेलेर को आफ्नो को बिरानो खुट्याउन नि मिल्ने
कसैलाई खुसी पार्न चाकडीका शब्दहरू भट्याउन नि मिल्ने
व्यापार विस्तारको साधक अनि
समाजसेवीको सच्चा प्रचारक
शुल्कै नतिरी थरीथरीका विज्ञापनले बाल सजाउन नि मिल्ने
लाइक कमेन्ट ठोकीठोकी ग्राहक फकाउन नि मिल्ने
भर्चुअल्ली नै सही
खर्चै नगरी साथीभाइलाई थरीथरी उपहार टक्र्याउन नि मिल्ने
भाडा लाउन भाडामा पाउन
नयाँ किन्न होस् वा सस्तोमा छिन्न
मार्केट प्लेसमा खुत्रुक्क छिर्न नि मिल्ने
रोगमा परेका हुन वा शोकमा
न सहयोग न त सहानुभूति
तिम्रै पेजमा सन्देश लेखी लेखी
उत्कृष्ट समाजसेवीको भ्रम छर्न नि मिल्ने
दुई चार चाउचाउको फोटो पोस्ट्याएर
सहयोगको नाटक मञ्चन गर्न नि मिल्ने
परोपकार र सेवाको नौटंकी रची रची
थरीथरीका शब्दले बाल भर्न नि मिल्ने
कसैसँग चित्त नबुझे गाली गरी गरी फत्रक्कै गलाउन नि मिल्ने
शब्दवाण प्रहारले पक्लक्कै ढलाउन नि मिल्ने
भर्चुअल युद्ध कठिन हुँदा
भाडाका सेना लगाई लगाई विरोधीलाई तहलाउन नि मिल्ने
फेक आइडी बनाइकन ठगी धन्दा चलाउन नि मिल्ने
सबको साझा मन्च तिमी थरीथरी नाटक हेर्न नि मिल्ने
अजब तिम्रो विशेषता जे जे गर्न नि मिल्ने