भदौको तेस्रो साता भइसके पनि काठमाडौंमा पानी रोकिएको छैन।
क्षेत्र फरक बनाई यो पानी यसरी ओइरिन्छ कि मानौं कुनै गहिरो पीडाका मनहरू एकैचोटि फाटेका छन् र ती धेरै मनका बह आँखाबाट निरन्तर बगिरहेका छन्।
आज मेरो मन मिल्ने साथी इभानालाई भेट्ने दिन। म परीक्षा नियन्त्रण कार्यालयको काम सकेर इभानालाई फोन गरें। ‘बागबजारको पद्मकन्या क्याम्पसको गेटमा भेटेर कतै कफी खाँदै कुरा गरौं न है।’
यो समयको चाँजोपाँजो हिजोको उसको फोन कलको परिणामस्वरूप भएको हो।
केही समय भएको थियो म मेरो श्रीमानको मूल घर दैलेख गएर आएदेखि इभानासँग भेट भएको थिएन।
इभाना र म अत्यन्तै मिल्ने साथी हौं हामी आजभन्दा आठ वर्ष अगाडि त्यही पद्मकन्या क्याम्पसमा भेट भएका थियौं विद्यार्थीका रूपमा।
मेरो त्यहीबेला नै बिहे भइसकेको थियो भने ऊ अविवाहित।
हामी यति घनिष्ट बन्यौं कि हरेक क्षणका चाहे सुख हुन् वा दु:ख जस्तो कुरा पनि सेयर गर्ने गर्थ्यौं।
मानौं कुनै समलिंगी जोडीजस्तो। हामी भेट भएपछि छुट्टिन चाहँदैन थियौं।
काठमाडौं सहरमा हामी दुबै सम्मानित पेसामा जागिरे बनिसकेका थियौं। इभानाको मामाले अर्थमन्त्रीको निजी सचिव हुनुभएको बेला नै इभानालाई अर्थ मन्त्रालयमा करारमा सुब्बा तहमा र मलाई पनि एउटा प्राइभेट बैंकमा राम्रो पोष्टमा नियुक्ति गराइदिनु भएको थियो।
मेरा दुई छोरी र श्रीमानले समेत इभानालाई खुब माया गर्नुहुन्थ्यो। हाम्रो बाक्लो भेटघाट र फोनमा समेत घण्टौं कुरा त हुन्थ्यो तर यो पटक खै इभाना मैले बोलाएको ठाउँमा आउन तयार नै भइन र भनी 'सरु जसरी तँसँग भेट गर्नु छ।'
म सधैं जसो जिस्क्याइ रहन्थें 'के हो मैया अझै सपनाको राजकुमार भेटेको छैन कि? यसै जीवन बिताउने मन छ?' यसो भन्नुमा पनि एउटा खास कारण छ।
ऊ जहिले भन्थी 'यार सरू बिहे एकपटक गर्ने हो तैंलेजस्तो बच्चामा नै बिहे गरेर के गर्नु? मलाई त यार चट्ट ह्याण्डसम, हाइट भएको काठमाडौंमा नै कम्तीमा घर भएको केटा चाहिन्छ म त काठमाडौं छोडेर अन्त बस्ने कल्पना समेत गर्न सक्दिनँ यार।'
उसले यसो भन्दा कताकता मलाई सानै उमेरमा बिहे गरेकोमा पश्चाताप पनि हुन्थ्यो तर भन्थें 'इभाना जीवन कुनै जादु हैन हेर जीवनमा अनुहार र रूपमात्र सब थोक हैन तर पनि तेरो सोच पूरा होस्।'
आज चाहिँ केटीले कोही राजकुमार भेटी र भेटाउनको लागि मलाई पनि बोलाई भन्नेमा म ढुक्क बनेर उसको भनाइलाई 'हस्' भनी बागबजारतर्फ हिँडेकी थिएँ।
म पद्मकन्या क्याम्पसको गेटमा पुग्दा इभाना अरू कसैसँग फोनमा कुरा गर्दै थिई।
आँखा फरक थिए, त्यो मेरी साथीको हुलियाभन्दा केही फरक थिई। किन आज मैले उसलाई मेरी प्यारी साथीको रूपमा देखिनँ के भयो यसलाई? मलाई देखेर यसो रुन्चे हाँसोमात्र हाँसी र हातको इसाराले उसको स्कुटर देखाई मैले भनें 'एउटैमा जाम न यो महंगीको तेल किन खर्च गर्नु?'
ऊ फोनमा नै खै कसैसँग अनुनय विनयजस्तो गरेर प्लिज, प्लिज भन्दै थिई।
म उसलाई त्यहीँ छोडेर स्कुटर पार्किङ गर्न कलेजभित्र गएँ।
'मलाई बोलाएर कति फोनमा झुण्डिएकी' भन्दै बनावटी रिस देखाएर 'खै चाबी लेऊ मैया हजुरलाई फोनमा बोल्न डिस्टर्ब होला' भनेर के स्कुटरमा बस्न मात्र लागेको थिएँ उसले 'तँ अब मेरो लागि सधैंको लागि मरिस्' भनेर फोन काटी र भनी 'सरु सरी हामी जाने ठाउँ तँलाई थाहा छैन त्यसैले म नै स्कुटर चलाउँछु।'
पहिले कि इभाना थिइन ऊ।
म सहजै अनुमान गर्न सक्थें तर केही बोलिनँ सोचेँ कुनै महत्वपूर्ण कुरा त छ। बागबजारबाट उसले स्कुटर पुतलीसडक हुँदै न्यूप्लाजाबाट अनामनगरको बाटो लगी। तर पहिले पतर पतर बोलिरहने इभाना आज चुपचाप अपरिचित पठाओ राइडरजस्तो बनेर उसको गन्तव्यमा मात्र ध्यान दिइरहेकी थिई।
नयाँ बानेश्वरबाट शंखमूल जाने बाटोको एउटा सुनसान रेष्टुरेन्टमा लगेर स्कुटर रोकी र भनी 'आइपुग्यो'।
ऊ सरासर भित्र पसी पुरानो परिचित झैं वेटरले 'गुड आफ्टरनून म्याम' भन्यो।
मैले सोचें यस रेष्टुरेन्टको संस्कार हो तर पछि बुझें हैन रहेछ।
ऊ परिचित नै रैछे। ऊ एउटा क्याबिनमा गएर बसी र भन्न थाली 'के छ? सन्चै छेस्?'
मैले उसको सोधाइलाई बेवास्ता गर्दै सोधें, ‘हामीमात्रै कि अरू कोही पनि? जाबो खाजा खाएर केही कुरा गर्न पनि किन यति टाढा?'
उसले एकछिन सोची गहभरी आँसु पारी र मलाई अङ्गालो हालेर रुन थाली।
मैले के भयो किन यसो गरेकी भन्न नपाइ ऊ आफैं नै सम्हालिएर भन्न थाली 'सरू म लुटिएँ बर्बाद भएँ म मेरो सपनाको मलामी बनिरहेकी छु। म मेरो विश्वासको लास कुरिरहेकी छु। म भुल्नै नसक्ने अतितको घाउ बोकेर हिँडिरहेकी छु। यो घाउको पीडा म तँबाहेक अरूलाई देखाउन सक्दिनँ।
म नाजवाफ भएँ। कुुरा अझै बुझिनँ र सोधें, 'के भनेको खास कुरा के हो? उसले निरन्तर गहभरी आँसु पारेर भनिरही।
'मेरो उमेर अब बिहे गर्नैपर्ने भैसकेछ क्यार घरमा दिनका दिन आफन्त, छरछिमेक, साथीभाइ र चिनजानका सबैले छोरीको बिहे गर्ने हैन भन्दै केटाको रिस्ता ल्याउन थालेछन्। तँलाई त थाहा नै छ म कस्तो केटा चाहन्छु भन्ने, थुप्रै केटामध्ये एउटा काठमाडौंमै घर भएको गृह मन्त्रालयमा काम गर्ने खरिदारलाई मैले पनि उसको अनुहारमात्र हेरेर ठीक छ नि त कुरा गर्दै गरौं भाग्यमा रैछ भने होला नि भनी कुरा गर्न थालें।
म करारमा भए पनि सुब्बा, ऊ खरिदार। घरमा र अरू आफन्तले होस् समान स्तरकोसँग गर्नुपर्छ भनी सम्झाउनु पनि भयो तर हामी नजिक भयौं।
सुरूआती दिनमा उसको गोरो छाला र अनुहारले नै मलाई आकर्षित गराइहाल्यो।
हामी अलिक नजिक भएर कुराकानी अगाडि बढाउन थाल्यौं तर घरपरिवार र आफन्तलाई यो सब थाहा छैन। आज तँलाई भन्दै छु।'
म केही नबोली कुनै महात्म्ये जस्तो एक चित्त भई सुनिरहेँ।
'सुरूसुरूका दिनमा अनेक सपना देखायो। घरको डिजाइन र गाडीको कलर समेत तिम्रो च्वाइस अनुसार हुनेछ भन्दै पूरै विश्वास दिलायो। मैले बारम्बार मेरो घरकी हजुरआमाले मीत लगाउनु र बिहे गर्नु बराबरीमा भनेको छ, जे भए पनि यो उमेरसम्म केही नराम्रो सुनेको छैन नानी तेरो उदाहरण सबै अरूलाई दिन्छु कुनै निर्णय गर्न हतार नगर्नु भन्नुहुन्छ भनेर सुनाउँदा मैले अफिसर दिएको छु नाम निकालेर तिम्रो हात माग्न आउँछु भन्यो। मन फुरूङ्ग हुन्थ्यो। साथीहरूको बुढाहरूको अगाडि मेरो बुढा भनेर गर्वले भन्न पाउने आश मेरो नारी मनमा पलाउन थाल्यो। लगभग छ महिनामा सरू हामीले पन्ध्र पटक बढी भेट्यौं होला। अफिसबाट घर पुग्ने बित्तिकैदेखि रातको एक दुई बजेसम्म भिडिओ र फोन कल हुन्थ्यो। म मनमनै उसैलाई जीवनसाथी स्वीकार गरेर दान धर्म, मठमन्दिर गर्न थालेकी थिएँ।
सरू! म अलिक बढी नै खुलेँ क्यार मेरा केही कुरा लुकाउन सकिनँ। साथीभाइ, घरपरिवार सबै-सबैको बारेमा ऊसँग कुरा गरें। तँ काठमाडौं बाहिर भएर मात्र हो नत्र तँलाई पनि भेटाइसकेकी हुन्थें। हामी प्रायः यहीँ भेट्थ्यौं। यो अलिक शान्त छ भनी उसैले पहिलो पटक लिएर आयो र सधैं हाम्रो डेटको स्पेस बन्यो।
तर सरू मेरो विश्वास जितिसकेपछि उसले किन यहाँ ल्याउँदो रैछ भन्ने बुझ्न थालें उसले मेरो शरीरसँग खेल्न खोज्यो यही क्याबिन हो सरू जहाँ उसले मलाई पहिलो पटक आफ्नो पुरूषत्व देखायो। मैले सहयोग गरें किनकी मैले सबै समर्पण गरिसकेकी थिएँ। मैले भन्नलाई भने अब केही दिन त बाँकी छ बिहे नै गर्नलाई हजुर माग्न आइस्यो त्यसपछि जे गरौंला भनी मुखले चाहिँ भनें।
पर्खिनलाई अनुनय विनय त गरें। तर म उसको अगाडि कमजोर बनें म समर्पित भएँ।
उसको मात्र दोष छैन सरू मैले यो हुनुमा पूरापूर सहयोग गरेको छु।
मैले नै सायद बेहोसीमा निम्ता पो गरें कि? उनन्तिस वर्षको उमेरसम्म नगरेको काम मैले गरें।
उसको विश्वासले जित्यो म हारें। म अनुहार र काठमाडौंसँग हारें। त्यसपछि त उसको रवैया नै फेरियो रातभरि भिडिओ कलमा बोल्दिनु पर्ने तर ऊ म्यासेजमा पढ र स्थायी जागिर खा भन्ने। जति बेलै केही कुरा सेयर गर्न कल गर्दा पनि कुनै लोक सेवाका पुराना प्रश्नका लिङ्क पठाएर समाधान गर्न दबाब दिने। मैले हारेको दिन कोठामा पुगेर उसलाई कल गरें धेरै पल्टमा उठ्यो। मैले सबै कुरा नर्मल लिएर घरमा माग्न आउन र बिहे फिक्स गर्न भनें तर उसले पहिले स्थायी जागिर अनि मात्र बिहे भन्ने शर्त तेर्स्यायो।
म छाँगाबाट खसें सरू। म कति रोएँ, कति कराएँ त्यसले उसको मन कहिल्यै पग्लिएन।
म जीवनसँग हार खाएँ सरू। म अब के गरौं कसो गरौं? एक मनले सोच्छ बिहे नै नगरूम् कि भनेर, अर्को मनले सोच्छ भविष्य कस्तो होला। तँ साह्रै भाग्यमानी रैछेस् सरू भिनाजुजस्तो भए पनि बुझ्ने हुनुहुन्छ। म तँलाई कति भन्थें हतारमा बिहे गरिस् भनेर तर सरू आइ एम सरी। उसले अगाडि सारेको शर्त म पार लगाउन उसलाई भेट्नु अगाडि सक्थें होला तर अब सक्दिनँ साथी। म पहिले कि इभाना रहिनँ सरू। अब पूरै म मेरो विश्वासको मलामी बनेर कसलाई दु:ख पोख्न सकूँला र?'
मलाई क्याबिनको डेटले बर्बाद पार्यो। अब म के गरौँ।'
उसले यति भनिसकेपछि मैले को हो त्यो? बुझ्न खोजेँ तर उसले भनिनँ। मात्र यति भनी 'मैले आफैंलाई धोका दिएँ यार अब यो बिर्सन सक्ने गरी मलाई साथ दे न ल ?' मैले कुनै जवाफ नदिँदै अर्डर आयो।
हामी खाने तर्खर गर्न थाल्यौं। तर मलाई अहिले पनि यस्तो लाग्छ दोष त्यो केटाको मात्र होइन, मेरो साथीको महत्वकांक्षामा पनि छ। अनमेल महत्वकांक्षाका सिकार बनेकी हो इभाना तर मैले घाउमा नुन छर्किन चाहिनँ र भनें 'सब ठीक हुन्छ। समयले सबै पुरानो गराउँछ।'