'पर्ख न', भन्दै पछाडिबाट बोलाउने कोही भए पो रोकिनु पनि अर्थपूर्ण हुन्छ', भन्दै उसले सुनाउछे मलाई।
म पनि उसलाई भनिहाल्छु, 'मलाई पर्खाएर आफ्नै बाटो लाग्नेहरूबाहेक त मैले कोही भेटिनँ, अब म नरोकिँदा गल्ती मेरो कि बोलाउनेको।
बेजोड हुरी चल्दा रूखको हाङ्गामुनि मलाई राखेर आफू बलियो छत खोज्ने मनहरूबारे बोलौं? कि, त्यही छत भत्किँदा वर्षौं हराएका, मेरै रूख भाँच्न आएकाहरूको कुरा गरौं। सुनाउनलाई त थुप्रै छन्, कहानी नभए पनि साना-तिना कथा, कति खुसीका, कति दु:खका, अनि धेरै भोगाइका।'
खुसीबाटै सुरू गरौं न त।
जिन्दगीले पनि यस्तै त गर्छ, सुरूमा उधुम खुसी दिन्छ, अनि फेरि नराम्ररी भुइँमा बजार्छ अनि फेरि मनमा केही आश नहुँदा टाढाबाट थोरै आशाका किरण ल्याउँछ अनि फेरि रात पर्छ, अन्धकार हुन्छ।
धेरै, त्यो सन्नाटापछि बिहानी हुन्छ कि भन्ने आशमा जिउँछन्, बाँकीको आश गर्ने शक्ति नै सकिन्छ अनि अरूको लागि बाँचिदिन्छन्, त्यही पनि नसके मरिदिन्छन्। अनि एउटा जिन्दगी यसै सकिन्छ। उसले आमाको कोखबाट निस्किन त्यो बाटोमा गरेको संघर्षदेखि बाँच्नलाई यो गोरेटोमा गरेको लडाइँ सबै ऊसँगै जान्छ, उसको जीवनको अधुरो कहानी आफूसँग बोकेर, खुसी हुने ठाउँ नै नभेटेर त होला, सबको खुसी आफैंसँग बोकेर हिँडेको।
उसले खुसी नै त्यसैमा भेट्यो होला, या सायद मानसपटलमा चलिरहेको असह्य द्वन्द्वको बिराम भेट्यो।
हामीलाई सोच्दा कहाली लाग्ने मृत्युलाई कति सजिलै स्वीकार गर्यो भनौंला हामी, तर उसको जीवन र मृत्युबीच कति अनिँदा रात गुज्रिए होलान्, कति कहाली लाग्दा सोच, कति डरलाग्दा साँझ अनि कति छट्पटीमा कटेका दिन।
उसको लागि खुसीको सुरूआत नै जीवन अन्त्यबाट भयो।
हामी सन्तुष्टि बाहेक हर कुरामा खुसी खोज्छौं। तर उसको लागि त सन्तुष्टि नै खुसी थियो, त्यही भेटेन र त जीवन नै मरण भयो। अनि, नचिन्नेको लागि केबल दुई हरफको समाचार बन्यो, चिन्नेको एक पाना सहानुभूति आयो, तर आफ्नाको त ब्रह्वाण्डै लुटियो नि।
अब सुखभन्दा पनि जीवनको पीडासँग लड्न सक्ने हिम्मत मिलोस्। बिहान उठ्दा मन फुरूङ्ग होस्, कामको वजनले शरीर थाके पनि मन नथाकोस्, घर फर्किंदा भोलि फेरि उठ्ने जोस हरदम होस्, साँझसँगै अल्झिन खोज्ने मनको डोरी फुकाउने साहस सधैं रहोस्, राति ओछ्यानमा पल्टिँदा मन भारी नहोस्, सपनाबाट ब्युझिँदा मुटुले ठाउँ नछोडोस्, अनि फेरि अर्को आउने बिहानीले मनमा उल्लास छाओस्।
आखिर, जति भौतिक खुसी खोजे पनि दैनिकी काट्न यो मन नै खुसी चाहिने रहेछ।
दु:खलाई त बोलाउनै परेन, ऊ बिना निम्तो आइलाग्ने पाहुना हो, जसको लागि पुग्ने भात नभए पनि अरूको भाग खान्छ, अरु भोकै होलान् यो चिन्ता पनि छैन स्वयम् आफ्नै पेट भर्छ, अरू भुइँमा ओल्टिँदै पल्टिँदै अनिँदो रात काटून्- आफू भने विस्तरामा शाहीनिद्रा भर्छ।
अनि, जब प्रफूल्लित हुन्छ, अर्को साथी छोडेर आफू बाटो लाग्छ। अनि फेरि ती घरका हरएक अर्को पाहुनाको आतिथ्यमा लाग्छन्। गर्दागर्दै, तिनको पेट भर्दाभर्दै, आफ्नो भोक टार्दाटार्दै, कति भकारी रित्तिए होलान्, सुनको अनि गुनको। तर, यहाँ लाएको सुन त सबले देख्छन्, लाएको गुन कसैले देख्दैनन्। त्यसैले त, गुन लाउने संसारका लागि अनविज्ञ छन्, अनि सुन लाउने संसारकै विज्ञ छन्।
यस्तै दुःख-सुखका भोगाइले जिन्दगी चल्दै छ, चल्दै जाला। तर दुःख र सुखबीच निराशा नछाओस्। ओठबीच फुलेको हाँसो जीवन रहँदासम्म ओइलेर नझरोस्। आशा अनि भरोसाले अड्याएको यो धर्तीको माटोमा अज्ञात मिल्न नपरोस्।
स्वयः तिमी त छौ तिम्रो लागि,
लडे उठ्नु छ,
तोडे जुट्नु छ,
अन्त्यमा सबलाई टुट्नु नै छ,
तर, शरीर टुट्नु अघि मन नटुटोस्!
यो जीवनरूपी काँच आफ्नै हातले नफुटोस्!
त्यसैले,
आजलाई, केवल दुई थोपा आँसु
अनि,
अनन्त हाँसो राख आफ्नो लागि।