आकाश गर्जिए सँगसँगै बेपत्ताले दर्कियो मुसलधारे पानी।
पानीको धारा धान कुट्ने मुसल जत्रो भएर मुसलधारे पानी भनिएको हो रे। मैले आजसम्म बुझेकै रैनछु। अनिताले सम्झाएपछि बल्ल बुझेँ।
एक घण्टा बढी भैसक्यो हामी कफी सपमा बसेर चिया खान थालेको तीन राउन्ड चिया नास्ता सकिइसकियो, पेट भरिइसक्यो, तर न गफ सकिन्छ न मन भरिन्छ। उनी एकछिन अझै मसँग बसिदिए हुन्थ्यो भन्ने मेरो मनको कुरा इन्द्र भगवानले बुझिदिए।
‘प्रकाश! हामी यस्तो पानीमा भिज्दै जाने त?छाताले पनि काम गर्दैन।’
‘अलि कम होस् न।’
लौ! मेरो मनको कुरा अनिताले पो भनिन्।
मेरो मनले भनिसकेको थियो यस्तो पानीमा भिज्दै कसरी जाने? मुखले मात्र भन्न बाँकी थियो।
अनिताले मलाई सोध्दै नसोधी फेरि अर्को राउन्ड कफी अर्डर गरिन्। सायद मेरोजस्तै उनको पनि मन भरिएको थिएन होला।
‘प्रकाश! अनि तिमी विदेश गएपछि कहिले फर्किन्छौ?’
‘उज्यालोको किरण छरिन सुरू हुने बित्तिकै।’
‘कहाँ छरिने उज्यालोको किरण?’, कुरा बुझिनँ नि मैले।
‘मेरो आर्थिक अवस्थामा, मेरा इच्छामा, मेरो रहरमा मेरो समग्र जीवनमा हे भगवान एक पटक विदेशको पाइला त टेक्न पाम।’
‘प्रकाश तिमीमा कति धेरै विदेश जाने भूत सवार भएको जहिले भेटमा पनि मेरो वान साइड इर्न्टभ्यू। न भेट्नमा कुनै कौतुहलता न कुराकानीको मुड न कुनै न मौसमले रोमान्टिक बनाउन सक्छ न भोक प्यासले गलाउन सक्छ कस्तो रोगले समात्यो है तिमीलाई खाली विदेश विदेश विदेश’
सुन अनिता मलाई त्यतिकै विदेशको भूत सवार भएको होइन। न क्षमता अनुसारको काम पाइन्छ। न काम अनुसारको कमाइ। कमाइभन्दा मंहगाइ धेरै।
नेपाल बस्नुपर्ने कारण भन्दा छोड्नु पर्ने कारण बढी ओजनदार भएपछि कसरी बस्ने नेपाल वाफे रे वाफ रे जुन क्षेत्रमा पनि राजनीति राजनीति भित्र पनि गुटबन्दीको राजनीति। असललाई खराब देखाउने अनि खराबलाई सजाय दिनुभन्दा उसलाई जोगाउने त नेपालको संस्कृति नै बनिसक्यो अनि केही गर्छु भन्नेको खुट्टा तान्ने प्रवृत्ति नै बनिसक्यो। राज्य संचालन प्रणालीमा कति धुलिया लागिसक्यो सक्यो।
जब कुनै पनि समाजको प्रवृत्ति संस्कृति र प्रणाली खराब हुँदै जान्छ त्यो देशमा असल मान्छे अट्न गाह्रो हुन्छ।
मैले नेपालको माया नमानेर विदेश जान्छु भनेको होइन नेपालले धकेलेको हो।
असल मानिस सफल हुन सकिन्न नेपालमा। हाम्रो देश नेपालसँग होइन नेपालको प्रणालीसँग वाक्क भएको हो म।
‘कूल डाउन, कूल डाउन प्रकाश त्यसरी आक्रोशमा नआउन हेर त यो चियामा दूध, चिनी, चियाको चियाको रंग कति राम्रोसँग घुलमिल भएका छन्। हामी किन घुलमिल हुन सक्दैनौं। हाम्रो कुरा किन जहिले पनि चुम्बकको समान ध्रुव जस्तो। मेरो कुरा सुन न, बुझ न।’
‘अनिता तिम्रा कुरा म सुन्दिनँ पनि बुझ्न पनि चाहन्नँ। जहिले त्यही विदेश नगए हुन्न र! हामी नेपालमा केही गरौं, यही होइन? तिम्रो कुरा, मैले विदेश जान खुट्टा उचालिसकेँ रोक्ने प्रयास नै नगर।’
२०७५ असारको सात गतेको दिन अनिताको कुरै नसुनि म रिसाउँदै तिम्रा कुरा बुझ्नै चाहन्न भन्दै पानी पानीमा रिसको झोंकमा निस्किएँ छाता पनि नलिई।
ओहो कति छिटो पाँच वर्ष पुगेछ।
आज सम्झँदा नरमाइलो लाग्छ। उनले भनेका कुराहरू सम्झँदा।
सायद उनका शब्दका भावहरू बुझिनछु कि। त्यस दिन उनीसँग छुट्टिएपछि उनको मेरो भेट एयरपोर्टमा भएको थियो। उनले मलाई साथीमात्र सम्झिनथिन् कि साथीभन्दा माथि केही सोच्नै आवश्यक ठानिनँ।
विदेश आएदेखि सामाजिक सन्जाल सबै बन्द गरिदिएँ। साथीहरूले मायाले भन्दा पनि पैसाको आवश्यकताले मलाई सम्झिन्थेँ। मानौं म उनीहरूको लागि पैसा कमाइदिन आएको हो। भर्खर भर्खर विदेश आएको तँलाई गाह्रो छ कि कसैले नसोध्ने।
उसै त चिसो स्विट्जरल्यान्ड त्यहीमाथि चैतको हिउँ लाजै नमानी आउने पाहुनाजस्तो।
सुकेका थाक्रा गाडेकाजस्ता पात झरेका रूखहरू। चैत लाग्दा त बसन्त सुरू हुनुपर्ने हो अझै पनि परिरहेको छ हिउँ। सुरू सुरूमा हो हिउँ रमाइलो लाग्ने त्यसपछि त बोरिङ।
चैतमा पनि हिउँ। कति बेला काम गरेर यति धेरै विकास गर्छन् होला यहाँका मानिसले।
नेपालमा त महिना अनुसार नै मौसम अनुमान गर्न सकिन्छ। चैत वैशाखमा प्रकृतिमा आउने न्यानोपन, रूख बिरूवामा आउने पालुवा र फूलसँगै मनमा छाउने उमंग, वर्षातमा बादलले बजाएको मादलको तालमा हावाले गीत गाउँदा मकैको पातमा परेको पानीले निकालेको संगीतमा, बेलौती आँप कटहरका रूखहरूको हांगाहरूको नाच, ओहो! सम्झँदा पनि कति मिठो लाग्ने।
नेपालमा हुँदा हाम्रो घरको झ्यालबाट देखिने ती दृश्य देखेर म निकै रमाउँथेँ।
विदेश आएदेखि काम, काम, काम। एक हप्ता भिजिट भिसामा आउनेहरू बरू धेरै घुमेर फर्कन्छन्। म यतै छु। काम र कोठा बाहेकको नजिकैको पर्यटकीयस्थल पनि जान पाएको छैन। पर्यटकीय स्थल, घुमफिरका मनमोहक ठाउँ नेपालमा जति त कहाँ होलान् र अन्य देशमा।
हामी हाम्रो देश घुम्न चाहँदैनौं। सकिनसकी बाहिरी देश। अब केही त छ नि म पनि नेपाल फर्कन विदेशमा पढ्ने कमाउने रहर पुगिहाल्यो। नेपाल गएपछि ढुक्क पहिला आफ्नो देश घुम्ने छु।
आफ्नो कोठाको झ्यालबाट बाहिर हेर्दै नेपालमै हराएको थिएँ। फोनको मेसेन्जरमा बजेको घन्टीले झस्किएँ।
सोच्दै नसोचेको अनिताको मेसेज। तिमीलाई फुर्सद भएको बेला कल गर्नु है। हतार हतार तुरून्तै कल ब्याक गरेँ। पहिलो घन्टीमै फोन उठ्यो।
पाँच वर्षपछि बल्ल तिम्रो बोली सुन्न पाइयो त अनिता। सन्चै छौ? पढाइ सक्यौ? के गर्दैछौ? एक सासमा आफूले बोल्नुपर्ने कुरा सबै सकेँ।
‘ओहो कति हतार भएको प्रकाश सबै कुरा विस्तारमा विदेश आएपछि भनुँला म मेरो श्रीमान र छोरासहित विदेश आउन चाहन्छौं। के के पोर्सेस गर्नुपर्छ सबै मलाई सिकाऊ है। तिमीले पाँच वर्ष अगाडि भनेको कुरा शत प्रतिशत व्यावहारिक थिए। त्यसदिन कफी सपको भेट हाम्रो अन्तिम भेट रहेछ। तिमी विदेश लाग्यौ म नेपालमा केही गर्छु भनेर यतै बस्ने प्रयास गरें तर सकिनँ प्रकाश।
देशको बेथितीले मलाई नेपाल बस्नै मन लागेन। तिमीले ठीक भनेका थियौ। असल मान्छे सफल हुन गाह्रो छ नेपालमा। म र मेरो श्रीमान छोरीसहित विदेश आउन चाहन्छौँ। प्रोसेस कसरी अगाडि बढाउने सबैकुरा इन डेप्थ लेखेर इमेलमा सेन्ड गरिदेऊ है।’
यति भनिनसक्दै अनिताले फोन काटिन्।
उफ् म कति ढिला भैसकेछु करियर पढाइको पछाडि लाग्दा आफ्नो व्यक्तिगत जीवन बिर्से।
बुवा आमाप्रतिको कर्तब्य पूरा गर्न सकिनँ। बुवा आमाको कोरोनाको कारणले निधन हुँदा म कोरोनाकै कारण नेपाल जान सकिनँ। बाबा-आमा बाँचुन्जेली उहाँहरूको लागि केही गर्न नसक्ने म, मरेपछि पनि दागबत्ती दिन सकिनँ। बुवा आमालाई त गुमाए नै अनितालाई पनि पाउन सकिनँ। उनको जीवन सुखी खुसी बनोस्। मैले टाढै बसेर सहयोग गर्न पाइरहुँ।
नेपाल फर्कन योजना बनाएको म अब किन नेपाल फर्कने? न बाबा आमा, न अनिता, न अवसर।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)