आधा रात भइसक्यो पटक्कै निन्द्रा लागेन। छोरी फेरि दूध खान उठ्ने बेला भइसक्यो। यसो निन्द्रा लागे अलि जिउलाई आराम पुग्थ्यो। दिउँसो नि सुत्केरी भेट्न आउनेसँग भलाकुसारी गर्दा सुत्नै पाइएन। कस्तो छट्पट मात्र भएको। मनमा अनेक कुरा खेलिरहेछन्।
दिउँसो साथीहरूले गरेको कुरा दिमागबाट हटाउनै सकिनँ। के सही के गलत छुटाउनै सकिनँ। यस्तो दोसाँधमा सायद कमै परेको हुँला म। सफलता र मायाको बीचको कुराकानी अझै गुन्जिरहेछ।
सफलता: हेर जीवन, बच्चा ३ महिनाको भइसक्यो। अझै १ महिना बेतलबी बिदा मिला। यही समयमा बच्चा हेर्ने मान्छे पनि खोज्नु अनि अलि दिन कस्तो काम गर्छे निगरानी गर्नु। त्यसपछि ठीक लागे काममा फर्किनु। बच्चा सानो छ, मान्दैन भन्ने बहाना गरेर आफ्नो भविष्य नबिगार है। यस्तो राम्रो जागिर छोडिस् भने भोलि पछुताउनु पर्ला।
यसो कुरा सुन्दा ठीकै हो जस्तो लाग्यो। तर अचानक यो कुरामा असहमत हुँदै माया भन्न थाली,
माया: हेर सफलता, तेरो कुरामा म चाहिँ पटक्कै सहमत छैन। बच्चा भनेको बोझ हैन नि। आमा बन्नु नै संसारको सबैभन्दा ठूलो जिम्मेवारी हो। अरूको लाख आमाको काख। एउटा बच्चालाई घरमा सबैले माया गर्छन् तर कसैले पनि आमाको जस्तो माया र स्याहार गर्न सक्दैन। आफ्नो हातमा सीप छ भने बिस्तारै योग्यता अनुरूपको जागिर पाइहालिन्छ नि।
सफलता: अहिले बच्चा सानै छ जस्तो लाग्छ, बिस्तारै बच्चाको बानी पर्छ। आफूलाई पनि काममा जान मन लाग्दैन। धेरै समय यसै खेर गए राम्रो जागिर पाउँदैन। आज सँगै भएका साथी धेरै माथि पुग्छन्। टन्न पैसा कमाउँछन् अनि आफूलाई हीनता बोध हुन्छ। मानसिक तनाव हुन्छ अनि बिस्तारै यो बच्चा पाउनाले मेरो करियर बिग्रियो जस्तो लाग्छ। अनि त्यो बेलामा बच्चालाई कोसेर के फाइदा? तेरो तलब राम्रो नै छ। बच्चा हेर्नेको खर्च घरमा माग्न पर्दैन। त्यसपछि त घरकाले नि कचकच गर्दैनन्। बिहान-बेलुका तँ घरमै आइहाल्चस् नि।
माया: बच्चाको विकासको लागि सुम्पिएको समयमा कुनै पश्चाताप हुँदैन। दिउँसोको काम मात्र कहाँ हुन्छ र? कहिलेकाहीँ फिल्डमा पनि जानुपर्छ। बढी समय काम गर्नुपर्छ। अनि जीवन, तँलाई पैसाको के खाँचो छ र? तैंले नकमाएनी तलाई खान लाउन पुग्छ भने यो बच्चाको दूध काटेर केलाई सम्पत्ति थुपार्न छ? अनि आमाको दूधजस्तो अमृत के नै होला र बच्चाको लागि? काममा जाने भन्यो, बट्टाको दूध खुवायो। आमाको दूधमा रोगसँग लड्ने शक्ति हुन्छ भन्ने त थाहा नै होला? अहिले जागिर, भविष्य भन, अनि नत बच्चालाई राम्ररी हेर्न सक्छस् न काममा ध्यान। पैसाले अरू किन्न पाएनी आमाको दूध र काख कैले किन्न सकिन्न।
सफलता: मैले देखेको भनेको हो। धेरै महिलाले बच्चाको नाममा आफ्नो भविष्य बिगारेका छन्। मेरै आमाले पनि त्यो जमानामा राम्रै पढ्नुभएको थियो। तर हाम्रो लागि भनेर पढाइ जागिर छोड्नुभो। आहिले केवल गृहिणी मात्रामा सीमित हुनुभयो। बेलाबेलामा आफ्ना साथी ठूला ठाउँमा पुगेको देखेर आफू पुग्न सकिनँ भनेर मन दुखाउनु हुन्छ तर हामीलाई देखाउनु हुन्न। मलाई पनि मेरो आमा जागिरे भाको भए कति गर्व लाग्थ्यो होला।
माया: सफलता सारै भाग्यमानी रैछे, यस्ती महान् आमा पाएर। आमाले तँलाई कुनै दिन तैंले गरेर मेरो जिन्दगी बिग्रियो त भन्नु भएन नि? वहाँ तिमीहरूको सफलतामा खुसी हुनुहुन्छ। आमा आफ्नो भविष्य भन्दै तिमीहरूलाई बेवास्ता गरेको भए तिमीहरूको बाल्यकाल कस्तो हुन्थ्यो? आफ्नो योग्यता अनुसारको जीवन नपाउनु चाहिँ अलि पीडा नै हो। तिमीहरू हुर्केसी फेरि सुरू गर्नुभएको भए हुन्थ्यो। तर मैले बच्चाको लागि १-२ वर्ष पो देऊ भनेको। आफ्नो बच्चा देखिको सपना नै मार्नु भनेको त हैन नि। आजभोलि धेरै बच्चाहरू शारीरिक र मानसिक रूपले विकलांग भएको सुनेको छैनौ? बच्चालाई सही पोषण, स्याहार, समयमै उपचार नहुनु त्यसको एउटा मुख्य कारण पनि हो। भाग्य भन्दा ठूलो केही छैन तर पनि आफ्नो कमीले त्यस्तो हुन पुगे कति हीनताबोध होला सोचेको छौ? हामीले जस्तै हाम्रा बच्चाले आमाको माया नपाउने? स्वास्थ्य हुन नपाउने? बाँकी त आफैं बुझ्ने छेस्।
सफलता: जेमा पनि हामी नारी नै किन पीडित हुनु पर्ने? विदेश पढ्न जाम भन्दा प्राय: बिहे गरेर पठाइदिन्छन्। अझ बढी पढ्छु भन्दा केटी धेरै पढे केटा पाउन गाह्रो भन्छन्। अब बच्चा पाएर नि फेरि पछाडि धकेलिनु पर्ने! म त बच्चै पाउँदिनँ होला यार। आफूसरहको केटाहरू कहाँ पुगिसके।
माया: मैले नारी पुरूषको बीचको फरकको कुरा गरेकै छैन। मात्र आमाले दिनसक्ने माया स्याहार र त्याग हो। त्यो हरेककाे व्यक्तिगत निर्णय हो। आफ्नो बारेमा सोच्ने कि बच्चाको। हेर हामी जागिरे आमाले जे गरेनी अपजस् पाउनै पर्छ। कमाउन गए बच्चाको दूध काटेर कति कमाउन पर्ने हो भनेर सुनाउँछन्। घर नै बसे यत्रो पढेर पनि के बच्चा भनेर बसेको, पढे लेखेका मूर्ख भन्छन्। हामी दुबैको कुरा सुनिहालिस्। दुनियाँले जे गरेनी भन्छन् तर आफ्नो मनको सुन्नू। अनि जे निर्णय गरेनी पछि पश्चाताप नगर्नू।
विदेशमा जस्तै हाम्रो देशमा पनि लामो सुत्केरी बिदा भाको भए कति सजिलो हुन्थ्यो।
आज बच्चा स्वस्थ भए भोलिका युवा स्वस्थ हुन्छन् अनि देश विकासमा मद्दत पुग्छ भन्ने कुरा देशका नीति नियम बनाउनेले कैले बुझ्ने हो? नारीले मात्र नभएर पुरूषले पनि आमा र नवजात शिशुको बारेमा सुधार गर्न पहल गरे कति राम्रो हुन्थ्यो। कसले बुझिदेला हाम्रो पीडा।
अचानक छोरी भोकाएर रुन्छे। जीवन छोरीलाई स्तनपान गराउन थाल्छे। त्यो आँखै नहेरी दूध चुसेको अबोध बालक सुम्सुम्याउँदै जीवन कर्तव्य र भविष्यको लडाइँमा विवश भै रुन थाल्छे।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)