डिग्रीको पढाइ सकेपछि केही समय गाउँ बस्ने सोच बनाइ काठमाडौंबाट आफ्ना पोका पुन्तुरा बोकेर गाडी चढें।
गाउँको सरकारी स्कुलमा एसएलसीमा विशिष्ट श्रेणीमा पास भइ उच्च शिक्षा लिन म काठमाडौं पस्दा जुन ऊर्जा अनि रौनक थियो झण्डै १ दशकको काठमाडौं बसाइपछि घर फर्कंदै गर्दा त्यो ऊर्जा अनि रौनक शून्यजस्तै थियो। लाग्दै थियो मेरो हातमा डिग्रीको सर्टिफिकेट भएता पनि केही पनि थाहा नभएको अवोध बालकजस्तै छु।
हजुरहरूलाई लाग्न सक्छ केटो डिग्री सकेर केही समय गाउँमा विश्राम गर्न जाँदैछ भनेर।
तर मेरो बाध्यता अर्कै छ म गाउँ फर्कंदै छु किनभने बिहान बेलुका आफ्नो पेट भर्न नसकेर, आफू बसेको डेराको भाडा घरबेटीलाई बुझाउन नसकेर।
फाट्न लागेका आफ्ना लुगा फेर्न नसकेर। तपाईंहरूलाई लाग्न सक्छ यस्तो बल वैंशको मान्छेले पनि कस्तो ‘नामर्द’ले जस्तो कुरा गरेको भनेर।
हो म उमेरमा ठिटो भएता पनि हिम्मत नभएको एक ‘नामर्द’ नै हुँ। गरिब परिवारको ५ दिदीबहिनी पछिको एक्लो छोरो म गाउँको स्कुलमा कहिल्यै दोस्रो हुन परेन।
मेरो पढाइ देखेर विद्यालयका सर म्यामदेखि गाउँका सबै जनाले भन्नुहुन्थ्यो केटोले हाम्रो गाउँको नाम राख्ने छ। एसएलसीको नतिजा राम्रो आइसकेपछि मलाई गाउँका सबै जनाले यो जत्तिको केटोलाई पढाउन काठमाडौं पठाउनु पर्छ भन्नुभयो।
मेरो घरको आर्थिक स्थिति खासै राम्रो थिएन। ५ जना दिदीहरूलाई पढाएर बिहे गर्दा हामी बस्ने त्यही एउटा झुपडी र आमाको एउटा तिलहरीबाहेक सबै सकिसकिएको थियो। झुपडीको लालपुर्जा साहुकोमा बन्धक राखी ऋण निकालि अनि आमाको त्यही एउटा तिलहरी पनि बेचेर म काठमाडौं पसें। काठमाडौं प्लस टु पनि राम्रै नम्बर ल्याएर पास गरें। त्यसपछि सानो काम खोजी ब्याचलर पढ्न सुरू गरें।
ब्याचलर पढ्दै गर्दा मेरो गलत साथीहरूसँग संगत हुन पुग्यो।
बिहान कलेज जान्थें अनि दिउँसो काममा रात परे पछि भट्टी। बिहान र दिउँसो घरको बारेमा चिन्ता लाग्थ्यो। बाबा आमाले खाइ नखाइ मेरो लागि गरेको दु:ख सम्झन्थें, बेलुका भट्टी छिरेपछि यी सब कुरा बिर्सी हाल्थें। साहुनीको मुस्कान देख्दा म संसार त्यही मुस्कानले धानेको जस्तो ठान्थें। रातको १०/११ बजे लड्खडाउँदै डेरा पुग्थें।
घरबेटीले यति सोझो केटो हेर त अहिले यसरी ठेगानमा नै नहुने गरी कुकुरको झोल धोकेर आएको छ भन्दै गाली गर्नुहुन्थ्यो।
म बेहोसीमा हुन्थें। भोलिबाट खान्नँ भन्दै भित्र छिर्थें। भोलि फेरि त्यही हालत। यसरी दिनहरू बित्दै गए ब्याचलर पनि सकियो। एसएलसी र प्लस टुमा विशिष्ट श्रेणीमा पास भएको म ब्याचलरमा बल्ल बल्ल पास भएँ।
विचरा घरमा दिनहुँ साहु आएर ऋण छिटो तिर भन्दै थर्काउँथे छोरोको यता यस्तो हाल!
धन्न मेरो यो अवस्थाको बारेमा घरमा थाहा थिएन। सायद घरमा यो हाल भनेर थाहा भएको भए त आमा बाबा के गर्नु हुन्थ्यो होला। बिचरा घरमा आमा बाबाले आधा पेट खाएर जीवन कटाइ राख्नुभएको छ, यता छोरो जुवातास रक्सीमा आफ्नो जीवन गुमाइरहेको छ।
पढ्न छोडे भनेपछि गाउँमा जानुपर्छ भन्ने सोचें र सजिलो विषयमा मास्टर्स डिग्रीमा भर्ना भएँ।
चुस्कीबाट सुरू भएको रक्सीको यात्रा ३/४ बोतलसम्म नै पुगिसकेको थियो। पहिला त सुत्नको लागि डेरा पुग्नु पर्थ्यो अहिले त खाएर टिल परेपछि हरेक गल्ली आफ्नै डेरा भएका छन्।
बिहान रक्सीले छोड्यो भने उठेर डेरा पुगि नुहाएर काममा जान्थें। बेलुका भएपछि खुट्टा भट्टीतिर आफैं मोडिन्थे। यसरी दिनहरू बित्दै गए। डिग्री पनि बल्ल बल्ल पास भएँ। मलाई लाग्छ ब्याचलर र मास्टर्स डिग्री म पास हुनुमा प्लस टु सम्मको पढाइको जग राम्रो हुनाले हो। नेपाली उखान छ नि जग राम्रो भएसी घर राम्रो हुन्छ भनेर त्यो मेरो जीवनमा लागु भयो।
पढाइ सकिए पनि घरमा पढ्दै छु भनेर ढाट्थें किनकि मलाइ घर जान मन थिएन। विस्तारै बेलुका खाने बानीले मलाई दिउँसो पनि तलतल लाग्न थाल्यो। दिउँसो कामबाट यसो निस्किन्थें अनि १ गिलास तनक्क पार्थें अनि फेरि काममा नै फर्किन्थे यसो गर्दागर्दै पनि धेरै खान लाइएछ। साहुले थाहा पाएर कामबाट नै निकाल्दिए।
आजसम्म त ठीकै थियो कामको पैसोले खान डेराभाडा तिर्न र बेलुका भट्टी छिर्न पुगेकै थियो। अब कहाँबाट खाने कोठाभाडा तिर्ने। भट्टी छिर्ने त टाढाकै कुरा भयो। खाने गरेको बानी एकदम तलतल लाग्थ्यो तर गोजीमा दाम थिएन। एक दुई दिनमा भएको रासन पनि सकियो।
काम खोज्न नगएको पनि हैन मरी गए कतै काम पाइएन। अब घर फर्किनेको विकल्प रहेन।
कोठाभाडा पनि तिर्न पर्ने थियो। ग्यासको भुड्को र किचन र्याक देखाएर घरबेटी बा मसँग भाडा तिर्ने पैसा छैन यही राख्नु भनें।
घरबेटीले धेरै गाली गरे। ‘त्यति सोझो गाउँको केटो हेर त सहर आएर आज यो तालको भयो। थुक्क! घर के मुख लिएर जान्छस् मोरा। बाबा आमाले तेरा लागि जीवनभरी गरेको दु:ख बालुवामा पानी खनाए सरी खनाइस् हैन?’
म केही बोल्न सकिनँ। मूर्तिजस्तै भएर आफूलाई धिकार्दै घरबेटीका गाली सुनिरहें।
अनि थर्काउँदै घरबेटीले भन्नुभयो- घर जाने भाडा त छ नि?
मैले मुन्टो हल्लाउँदै ‘नाइँ’ भनें।
‘अनि के तिरेर जाने हो त घर’ भन्दै खल्तीबाट एक हजारको नोट निकाली दिँदै जिन्दगीमा जे गल्ती गर्यौ गर्यौ अब नगर्नू। आमा र बाबाको विश्वासघात यतिन्जेल गर्यौ। अब यसलाई सुधार्नतिर लाग्नु’ भन्नुभयो।
मेरो जीवनको एक घुम्ती थियो त्यो पल।
म त्यो पैसा समाती घरबेटीको पाउ छोएर रुदै जीवनमा धेरै गल्ती गरें अब आइन्दा यस्तो कहिल्यै गर्ने छैन भनें।
अनि घरबेटीले मेरो काधमा हात राख्दै ‘तिमीले सुध्रिने बाचा गर्यौ भने म मेरो भतिजले बाहिर मान्छे पठाउँछ त्यसैलाई भन्दिउला र ऋण पनि मै हाल्दिउला। जाउ एक महिना घर बसेर बाबा आमासँगै बसि घरको दु:ख देखेर अनि बुझेर आऊ। बाबा आमासँगै खेतबारीको काम गर अनि बल्ल जीवनको वास्तविकता बुझ्नेछौ।’
घरबेटी बाको यो कुरा सुन्दा म मनमनै निकै खुसी भएँ। मैले भगवान जस्तै घरबेटी पाएको रहेछु भनेर सोचें।
म अब छिट्टै बिदेश गएर साहुको ऋण तिरी बाबा आमालाई खुसी र सुख दिने छु आमाको तिलहरी किन्ने छु अनि झुपडीलाई घरमा बदल्ने छु भन्ने सोच्दै घरबेटी बासँग बिदा मागी यात्रामा निस्किएँ।
हजुरहरू पनि आफ्ना सन्तानलाई पढाउनको लागि सहर राख्नु भएको छ भने बेलाबेला आफ्नो सन्तानको अवस्थाको बारेमा बुझ्दै गर्नुहोला
यदि बेलैमा ध्यान दिनु भएन भने हजुरहरूको सन्तान पनि म हिँडेको बाटोमा हिँड्न सक्छन् र जीवनभरि पछुताउनु पर्नेछ।