ठूला घर, चिल्ला गाडी, सुकिला मान्छे देख्दा हामी जस्ता भुइँमान्छेहरूलाई लाग्छ संसारका सुखी मान्छे यिनै हुन्!
यस्तै घरमा बस्छन् ध्रुव र उनकी पत्नी रूबी।
ध्रुव सबेरै उठेर निकै टाढाको यात्रा गर्दैछ कि जस्तो गरी हतारिएको छ। केही दिनका लागि उसले बन्दोबस्तीका सामान ब्यागमा कोच्न थाल्छ।
सामान तयारी अवस्थामा भेट्दैन अनि भुनभुनिन थाल्छ, 'हैन तिम्रो दिउँसोभरि के काम छ भन त? जति बेला पनि त्यही मोबाइलमा झुन्डिएको छ, बसेको छ। यति खाना बनाउन पनि तिमीलाई महाभारत छ। खै मेरो कोटमा आइरन पनि छैन। जुत्ता पालिस गरेको छैन। आफूलाई उज्यालोमा घर बस्न पुर्परोमा कहिल्यै लेखेन। बिहान पाँच बजे हिँडेको मान्छे बेलुका आठ बजेसम्म काममै व्यस्त हुनुपर्छ। तिमी घरमा बसेर यस्ता झिनामसिना काम गर्न पनि कति गाह्रो हो के!'
'गाह्रो छ नि ध्रुव मलाई, डिग्रीसम्मका सर्टिफिकेटहरू यहीँ भान्सामा रांगिएर बसेको कति भइसक्यो? आफ्ना सपनाहरूलाई लत्याएर तिम्रो लक्ष्यहरूको खुट्किलोमा सधैं आफूलाई उभ्याएकी छु। त्यो तिमीले कहिल्यै देख्दैनौ,' रूबी परेली उचालेर लोग्नेको आँखामा हेर्न खोज्छे।
अहँ उसलाई पलभर आफू स्थिर भएर बस्ने फुर्सद थिएन। केको हतार हो कुन्नि?
ध्रुव आफूले आफैंलाई प्रतिबिम्वन गर्न सकिरहेको थिएन। टेबलमा छिरलिएका फाइलहरू बटुल्दै ब्यागमा राख्छ। ल्यापटप सट-डाउन गर्न समेत उसलाई फुर्सद थिएन। हतार हतार फोल्ड गरेर एउटा हातमा झोला अर्को हातमा ल्यापटप लिएर बाहिरिन्छ।
'उफ्, फेरि कारको चाबी बिर्सिएछु।'
रूबी एक हातमा टिफिन अर्को हातमा पानीको बोतल लिएर बाहिर आउँछे।
ध्रुव चर्किन थाल्छ, 'खोइ चाबी भन्या होइन?'
रूबी हातको टिफिन र पानीको बोतल ध्रुवको हातमा थमाउँदै भन्छे, 'यो समात्नु त म चाबी लिएर आउँछु।'
ध्रुव रिसले आगो हुदै रूबीको हात झड्कार्छ।
'चाहिएन ... तेरो टिफिन तैं राख्।'
ध्रुवको व्यवहार रूबीलाई अमिलो लाग्छ। ध्रुव दायाँबायाँ नहेरी रफ्तारमा भित्र पस्छ। यताउता चाबी खोज्न थाल्छ। बाहिर कार स्टार्ट भएको आवाज आउँछ। ऊ हतार–हतार बाहिर निस्किन्छ।
रूबीले आफ्नो कम्मरमा झुन्ड्यार राखेको चाबी झिकेर गाडी स्टार्ट गरेकी हुन्छे। टिफिन र पानी गाडीको अगाडिको सिटमा राखिदिन्छे।
ध्रुवको रिस तराइको उखुम गर्मीबाट एक्कासि सगरमाथाको टुप्पोमा गएर बस्छ। ध्रुवको मुस्कानको रापले रूबीको मनको सन्तापलाई केही हदसम्म भए पनि कम पारिदिन्छ।
ध्रुव खहरे खोला जस्तै छ तर रूबी खहरेको पहरेदार समुद्र जस्तै किनारा बनेर बसेकी छ।
ध्रुवलाई अफिसको काम भ्याइनभ्याइ थियो। स्टाफहरूको व्यवस्थापनदेखि लिएर आयव्ययको तालमेललाई लयमा ल्याउन उसलाई सधैं हम्मेहम्मे परिरहन्थ्यो। बिहे भएको चार वर्ष बितिसकेको थियो। यी चार वर्षका प्रत्येक दिन अफिसका थिए। आफ्नो भागमा एक दिन पनि परेको थिएन। उसको व्यस्तताले रूबीलाई निकै उकुसमुकुस बनाएको थियो।
घरमा आउने इष्टमित्रको बारम्बारको एउटै कथनले रूबीलाई निकै चिढ्याएको थियो, 'रूबी, तिमीलाई कति मजा छ है! ध्रुवले जति पनि कमाइदिएको छ। आनन्दले घरमै बस्यो, खायो। पुर्परोमा त लिएरै आएकी रहिछौ नि!'
यी भनाइहरू बारम्बार रूबीको कानमा गुञ्जिरहन्थे, मुटुमा काँडा बनेर बिझिरहन्थे। आत्मसम्मानमा ठेस लाग्थ्यो। मनपेट भतभती पोल्थ्यो।
एक मन त रूबी सोच्ने गर्थी, 'आफ्नो कमाइ भनेको आफ्नै कमाइ हो, भाँडा माझ्ने काम नैं किन नहोस्। अब म नोकरी गरेरै छाड्छु।'
रूबीको यो अठोटलाई उसको आत्मबलले साथ दिन सकेन किनकी उसको पेटमा बच्चा हुर्किरहेको थियो। आफ्नो करिअरको अगाडि पेटमा हुर्किराखेको भ्रूणलाई तगारो ठान्ने साथीहरू पनि थिए उसका। कुनै साथीको भने करिअर त बन्यो तर बच्चाकै कारण त्यसले निरन्तरता भने पाउन सकेन। यी यस्तै उदाहरणका बीचमा आफूलाई उभ्याएकी थिई रूबीले।
सबेरै उठेर घर सफा गर्ने, खाना र टिफिन बनाउने, कपडा धुने, आइरन गर्नेजस्ता झिनामसिना कामसँग जुध्दाजुध्दै दिनले बिदा लिएको रूबीले पत्तै पाउँदिन थिई। लोग्ने अफिस गएपछि कोठा मिलायो। बगैंचामा पानी हाल्यो, आएका पाहुनापासाको सत्कार गर्यो। यस्तै दिनचर्याले उसलाई सधैंभरि पछ्याइरहन्थ्यो।
बाहिरकाले घर हेरेर रूबीलाई 'महलकी रानी' को संज्ञा दिन्थे। वास्तविकता फरक थियो। पानीको विशेषता बग्नु हो, चरीको उड्नु, फूलको फुल्नु। विशेषताले नै अस्तित्वको रक्षा गर्ने हो। रूबी घरकी विशेष थिई तर उसको विशेषताको मूल्यांकन थिएन।
बिहानै चिसै हात लिएर अफिस हिडेको ध्रुव काममा हराएको थियो। असारको मसान्त आउनै लागेको थियो। ध्रुवलाई वर्षभरिको हिसाबकिताब मिलानको उल्झनले चेपेको थियो। साँझ पर्दासम्म पनि उसले खाजा खाने मेसो पाएन। कारमा खाजाको टिफिन छ भन्ने समेत उसलाई हेक्का भएन। सबै स्टाफहरू अफिसको समय सकिएपछि घर लागे। तर ऊ भने कामको धुनमै मन्त्रमुग्ध थियो।
उसलाई बीचमै काम अपूरो छोडेर हिँड्न मन लागेन। खाना यतै खान पनि क्यान्टिन बन्द भइसकेको थियो। यत्तिकैमा उसको मोबाइलमा घन्टी बज्यो। अल्छी मानी–मानी उसले फोन उठायो।
'खाजा खानुभयो त? गाडीको अगाडि टिफिनमा खाजा र पानी छ। ... बेलुका खानामा के बनाइदिऊँ?', रूबीले भनी।
'तिम्रो इच्छा। म ढिला आउँछु। मलाई नकुर्नू है!' फोन राख्छ। फेरि पनि काममै घोरिन थाल्छ।
ध्रुव अबेर घर पुग्छ। रूबी गाडीको आवाज सुनेर ढोकानेरै आएर बसेकी थिई। रूबी ध्रुवलाई लिन कारछेउ आउँछे। उसले लिइराखेको झोला तानेर आफैंले झुन्ड्याउँछे।
'तिमी किन नसुतेकी अहिलेसम्म? मलाई कुर्नुपर्दैन भनेकै थिएँ त,' ध्रुव भोक र निद्राले गालेको टर्रो आवाजमा बोल्छ।
ध्रुवको यो रूखो शब्दले रूबी भक्कानिन्छे। अनायसै चिच्याउन थाल्छे। आफूभित्र गुम्सिएका भावहरूलाई आँसुले पखाल्न खोज्छे।
'मेरो ठाउँमा हजुर एकदिन बसेर हेर्नुस् त। कसरी भन्न सक्नुहुन्छ है हजुरले मलाई नकुर्नू भनेर? जीवनसाथी सँगै सारथी पनि त हुन् नि श्रीमती। मलाई भन्दा नि महत्व हजुरले कामलाई दिनुहुन्छ हैन? एकपटक राम्रोसँग सोच्नुस् त, काम त सास र साथ रहे फेरि पनि गर्न मिल्छ। तर आफूलाई प्रेम गर्ने विश्वास गर्ने अनि सुखदुःखको छहारी बनेर काँध थाप्ने मान्छे एकपटक गुम्यो भने कहिल्यै फर्किँदैन। पाएको करोडौंको उपलब्धि निरर्थक हुन्छ। म हजुरकी श्रीमती हुँ,' रूबी भन्दै थिई।
'कहिलेकाहीँ त मेरा लागि अनि यो पेटको हुर्किँदै गरेको बच्चाको लागि पनि सोच्ने गर्नुस्। यो मेरो खिइँदै गएको शरीर र आँखा नियालेर हेर्नुस् त। घरमा आफूभन्दा जेठाबाठा कोही छैन। कमसेकम सासूआमा भएको भए यो बेलाको समस्या थोरै भए पनि बुझ्नुहुन्थ्यो होला नि!,' ऊ बोलिरही।
'असल र स्वस्थ सन्तान सबैभन्दा ठूलो अवार्ड हो। एकपटक आफ्नो साथीभाइलाई पनि हेर्नु त, के उनीहरूले पनि आफ्नो श्रीमतीलाई यस्तै व्यवहार गर्छन्? करिअर बनाउनुपर्छ, इज्जत कमाउनुपर्छ, म मान्छु। त्यो त हजुरको नशा नै हो। तर काम, आराम र सम्बन्धको तराजु पनि सन्तुलित हुनुपर्छ। सपना त मेरा पनि छन्... हजुरजस्तो म पनि बन्दिए के घर, घरजस्तो बन्ला? हुन त हरेक कुरालाई महसुस गर्ने मान्छेहरू निकै मायालु हुन्छन्। हजुरको प्रोजेक्ट अवार्डका लागि नोमिनेसनमा परेको रहेछ। यस्तो खुसीको कुरा मैले हजुरको मुखबाट सुन्न पाइनँ। पराइले भनेर बल्ल पो थाहा पाएँ,'... लामो गन्थन–मन्थनपछि दुवैजना निदाए।
भोलिपल्ट बिहान सबेरै उठेर रूबी घरको काम सकेर ध्रुवको सटमा आइरन गर्दै थिई। पाइन्टमा आइरन लगाइवरी जुत्ता हातमा लिएर पोलिस गर्न लागेकी थिई। ध्रुवले श्रीमतीको हातबाट जुत्ता थुतेर आफैं पालिस गर्छ।
रूबी कोटपाइन्ट देखाउँदै भन्छे, 'हेर्नुस् त आज यो कोटपाइन्ट लगाउनु है। हजुरको जन्मदिनमा किनेको कोटपाइन्ट हो यो। हजुरलाई यो निकै सुहाउँछ। अनि यो टाइ पनि योसँग मिल्छ। हजुरको फाइल सबै मिलाइदिएकी छु। ल्यापटप कालो झोलाभित्र छ। अनि गाडीको चाबी टेबलमा। मेरो आजको सपनाले भन्छ आज हजुरको दिन निकै खास हुनेछ।'
रूबीको पेटले च्यापु छुनै लागेजस्तो देखिन्थ्यो। निकै मुश्किल गरी हिँडेकी थिई। तर उनले आफ्नो पीडा कसैलाई पनि देखाइन।
आज ध्रुव अरू दिनभन्दा भिन्न मुडमा थियो। बाटोमा जाँदाजाँदै उसले धेरैपटक रूबीलाई सम्झियो। रूबीले हिजो राती बोलेको एउटा वाक्य उसको दिमागमा रिल घुमेझैं घुमिरह्यो।
'सासूआमा भइदिएको भए' भन्ने शब्द उसको कानमा आएर बारम्बार ठोक्किइरह्यो।
ध्रुव सानो छँदा उसकी आमाले सदाका लागि छोडेर अर्कै संसारमा विलय भइन्। बाबु लाहुरे थिए। कडा अनुशासनमा हुर्केको ध्रुवमा भावानात्मक स्वाभावको कमी थियो। त्यसैले ऊ कडा मिजासको थियो।
ध्रुव आज अवार्ड वितरण कार्यक्रममा छ। कार्यक्रम निकै भव्य रूपमा सञ्चालन भइरहेको छ। अवार्डका लागि उसको कम्पनीसहित अन्य आधा दर्जन अन्तर्राष्ट्रिय कम्पनीहरू मनोनयनमा परेका थिए। उद्घोषकले अवार्ड हात पार्न सफल कम्पनी घोषणा गर्न गइरहेका थिए। उसको मुटुको धड्कन बढ्न थाल्छ। आँखा चिम्लिन्छ। दुई हात कसेर सिंगो मुठी बनाउँछ। उसको कानमा आफ्नै कम्पनीको नाम गुञ्जिन्छ। नाम सुन्नासाथ उसको गहभरि आँसु झर्छ। अवार्ड लिन ऊ मञ्चतर्फ अघि बढ्छ।
ध्रुव खुसीलाई गुम्साएर आफ्नो मनभित्र राख्न चाहँदैन। आफन्त, साथीहरूसँग त्यो खुसीको पल बाँड्न चाहन्छ। गोजीबाट मोबाइल झिक्छ। फोनमा दस मिसकल आएर बसेको थियो। नम्बर आफ्नै छिमेकी दिदीको थियो। उसले गर्दा फोन उठेन। रातीको आठ बजिसकेको थियो। ऊ हतार–हतार घरतर्फ लाग्छ।
घर पुग्दा सधैं खुला हुने गेट बन्द थियो। सधैं धुपको बासना आउने मन्दिर अँध्यारोमा हराइरहेको थियो। गेटमै लोग्नेको बाटो हेरेर बस्ने रूबी त्यहाँ थिइन। ध्रुव छक्क पर्यो। रूबीलाई फोन गर्यो। फोन उठेन। ध्रुवले त्यति छोटो समयमा नै अनुभव गर्यो। उसलाई लाग्यो आफूसँग सबथोक भए पनि केही नभएजस्तो, भरिएर पनि रित्तिएजस्तो, पाएर पनि गुमाएजस्तो, जितेर पनि हारेकोजस्तो...।
यत्तिकैमा ध्रुवको फोन बज्छ।
'बाबु रूबीलाई अस्पताल राखेको छ, बधाइ छ तिमीलाई, छोरी जन्मिएकी छे...।'
ध्रुव कति बेला घरबाट निस्कियो, कति बेला अस्पताल पुग्यो, पत्तो पाएन। इमरजेन्सी कक्षमा रूबीलाई अक्सिजन दिएर राखिएको थियो। ध्रुवका आँखा रूबीलाई देखेर पहिलोपटक रसाएका थिए। बोतलको निप्पल चुसेकी छोरीलाई हेरेर ध्रुव मुसुक्क हाँस्छ। छोरीलाई काखमा लिएर उसैको अनुहार हेर्दै घन्टौंसम्म हराउँछ।
आज कुनै गन्तव्य नभएको उसको दौडाइले आराम लिएको थियो। पाएको अवार्ड गाडीमै थन्किएको थियो।
छोरीको न्वारानका दिन ध्रुवले आफूले पाएको अवार्ड श्रीमतीलाई थमाउँदै भन्छ, 'यदि तिमी नभएको भए यो अवार्ड पाउने हैसियतको म होइन। रूबी यो तिम्रो त्याग, समर्पण, सहनशीलता अनि मेरो सपना पूरा गर्न तिमीले गरेको बलिदानीको अवार्ड हो। हरेक क्षणको आ–आफ्नै महत्व हुँदो रहेछ। लाग्थ्यो जीवन जित्नको लागि मात्र हो। जित्नको लागि मैले धेरै महत्वपूर्ण पलहरू चुकाएको छु। कहिलेकाहीँ जितमा पनि मानिस पछुताउँदो रहेछ। तर म जित्न पर्ने ठाउँमा हारेको पात्र हुँ। रूबी, तिमीलाई मेरो जीवनले प्राप्त गर्नु जति ठूलो अवार्ड अरू केही हुन सक्दैन।'
(कमला अधिकारीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)