कविता
के रहन्छ अहिले झैं उस्तै,
उसलाई जब बुढेस लाग्छ?
सलक्क परेको जिउ कुप्रो पर्छ
मस्याईलो अनुहार झुत्रो पर्छ
आँखा बस्छ सपना धमिलो हुन्छ
थलिएका इच्छा सम्झी मन अमिलो हुन्छ
न आश न त केही खास लाग्छ
आफ्नो आफ्ना आफैं लाग्छ,
उसलाई जब बुढेस लाग्छ!
के रहन्छ घमण्ड कुटिरोको यस्तै,
उसलाई जब बुढेस लाग्छ?
छिमेकी हुन्छ कालको धुरी
नजिक छ समाधी को दूरी
कहाँ कात्रोमा गोजी हुन्छ
चाहिँदैन केही मन मौजी हुन्छ
चिरशान्ति को खोजी हुन्छ
कहाँ अर्थोकमा हुनु
छ आफू भित्र खुसी लाग्छ
बल्ल जीवनको अर्थ लाग्छ,
उसलाई जब बुढेस लाग्छ !
के रहन्छ माया मोह यस्तै,
उसलाई जब बुढेस लाग्छ?
अस्ताउँदो छ सूर्य
न राप न त ताप हुन्छ
चाहिन्छ त्यति जमिन
जति शरीरको नाप हुन्छ
अन्तिम सत्य थाहा हुन्छ
न त केही सङ्गै लैजाने चाह हुन्छ
कि पुरिन्छ कि त दाह हुन्छ
यो शरीर माटोको खराई लाग्छ
न कोही आफ्नो न कोही पराई लाग्छ
मन्थन गरी मन बुझाउँछ
लेखा आउँछ देखा भाग्छ
खुईईय गर्दै आढेस लाग्छ,
उसलाई जब बुढेस लाग्छ !!