कविता
जतिबेला तिमी स्वार्थमा डुब्दै थियौ
डुब्दै थियौ सत्ताको अहंकारमा
हो त्यतिबेला मेरा शब्दहरूले
तिमीलाई खबरदारी गरेकै हो
त्यही खबरदारी तिमीलाई
बदमासी लाग्छ भने
हो, म दोषी नै हो।
परिवर्तनको आश गरी
रगत बगाएका मेरा बुवा
तपतप चुहिने छानोमुनि कठ्याङ्ग्रिँदै बस्दा
त्यही चुहिने छानो टाल्छु भनी
परदेशिएको मेरो दाजु
बन्द बाकसमा सबै सपनासँगै टालिएर आउँदा
हो त्यतिबेला मेरा शब्दहरूले
तिमीलाई प्रश्न गरेकै हो
त्यही प्रश्न तिमीलाई
बदमासी लाग्छ भने
हो, म दोषी नै हो।
मलाई थाहा छ
तिम्रा भरौटेहरूले
तिम्रो जयजयकार गरिरहँदा
तिमी नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त थियौ
तिमी कुल्चिरहेका थियौ
शहीदका सपनाहरूलाई निर्मम पैतालाले
हो त्यतिबेला मेरा शब्दहरूले
तिमीलाई उल्का बर्साएकै हो
त्यही उल्का बर्साउनु तिमीलाई
बदमासी लाग्छ भने
हो, म दोषी नै हो।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)