'ओए, मेरो दाइ आउँदै हुनुहुन्छ नि, अष्ट्रेलियाबाट!'
निच्च दाँत देखाउँदै कुसुमले भनी।
चार वर्षपछि आफ्नो दाइलाई भेट्न पाउने खबरले उसको खुसीको सीमा नै थिएन।
त्यसबेला पाचौँ सेमेस्टरको परीक्षा चलिरहेको थियो। दुई दिन बिदापछि अर्को परीक्षा हुँदै थियो।
'के गरूँ, के गरूँ भाको छ! काठमाडौं गएर दाइलाई भेट्न मन छ फेरि आउने परिक्षा पनि गाह्रो छ!'
न्याउरो मुख बनाउँदै उसले भनी!
जा न त, के हुन्छ र ! दुई दिन बिदा छँदैछ क्यारे, अलि अलि उता पढ, बाँकी फर्किएपछि पढ! प्लेनमा जाने होला!
मैले उसको द्विविधा तोड्न खोजेँ।
'अँ, जे होला होला, म दाइलाई भेट्न जान्छु। एकदमै भेट्न मन पनि छ। फेरि एक महिनामै दाइ फर्किनुहुन्छ। पछि प्राक्टिकल सुरू हुन्छ। भेट नभई दाइ अष्ट्रेलिया फर्किहाल्नु हुन्छ !'
त्यही साँझ फ्लाइटमा ऊ काठमाडौँ गई। दाइलाई भेटि र परीक्षाको अघिल्लो दिन नै घर फर्की।
'कस्तो रमाइलो भयो!'
मिठो मुस्कान दिँदै उसले भनी। ऊ एकदमै खुसी थिई। यसरी नै दिनहरू बित्दै गए। परीक्षा सकियो। प्राक्टिकल परीक्षा सुरू भयो।
पहिलो प्राक्टिकल परीक्षा दिएर म ओछ्यानमा पल्टिदै थिएँ। पल्लो ओछ्यानबाट मित्र कृष्णले बोलायो।
'ओए, बास्केटबल खेल्न जाम!'
भोलिपल्ट दोश्रो प्राक्टिकल परीक्षा थियो। केही पढेकी थिइन, जाम कि नजाम भयो। दोधारमा परेँ। खेल्न निस्किएँ।
बास्केटबल कोर्टमा कुसुम र मीरा हाम्रो प्रतिक्षामा बसिरहेका रहेछन्। कुसुम र कृष्ण एउटा टिममा अनि म र मीरा अर्को टिममा बाडियौं। त्यसपछि खेल सुरू भयो।
'आइज आइज, बल खोस...'
मीरा, यता यता
'पास, पास ....छिटो के....'
चान्स पाउने बित्तिकै शुट गर्दि हाल्ने हो क्या....
'दामी, दामी...'
खेल चल्दै थियो। खेलबीचमा कुसुमको फोन बज्यो। फोनमा कुरा गरेपछि कुसुमको अनुहार धमिलिएको जस्तो भयो। तर मैले केही पनि बोलिनँ। खेल फेरि सुरू भयो।
'वा वा ...खत्रा ...'
ल फेरि नि त्यस्तै शर्ट हान्न पर्छ, गुड...
'ऐया, हातमा लायो! बिस्तारै खेल न हौ!'
अँध्यारो हुन लागिसकेको थियो।
'अब त खाना खान जाम। नत्र ढिला हुन्छ के! तिमीहरूको होस्टेल हाम्रोभन्दा नि छिट्टै बन्द हुन्छ फेरि! जाम के अब!'
कुसुम र मीरातिर नजर फर्काउँदै मीराले भनी- जाम न त!
कुसुमको अनुहार उदासीपनले पूरै ढाकिएको म स्पष्ट देख्न सक्थें । होस्टेलको गेटनिर पुगेपछि मेरो धैर्यताको डोरी चुँडियो। मैले सानो स्वरमा सोधेँ- के भयो तँलाई? मुड ठिक छैन त'
'घरबाट फोन आएको थियो! दाइको बाइक दुर्घटना भयो रे!'
उसको दाइ काठमाडौंबाट कञ्चनपुर फर्किसक्नु भएको रहेछ! दुर्घटनाको पूरा जानकारी त्यसबखत पाइएन। सामान्य नै होला भन्ने सोचियो! मीरा र कृष्णले पनि चिन्ता नलिन भने।
भोलिपल्ट करिब ७ बजेको कुरा हो। म सेतोपाटीमा समाचार पढ्दै थिएँ। मेरा आँखा 'कञ्चनपुरमा छुट्टाछुट्टै बाइक दुर्घटनामा दुईको मृत्यु' भन्ने समाचारतिर खिचियो। भित्र पढ्दै जाँदा राजेन्द्र जोशी नामक युवकको बाइक दुर्घटनामा ज्यान गएको उल्लेख गरिएको थियो।
त्यस युवकको ठेगाना पनि कुसुमको घरको ठेगानासँग मिल्दोजुल्दो थियो। मेरो ज्यान लगलग काँप्न थाल्यो। नाम र ठेगानाले त्यो युवक कुसुमको दाइ नै हो भन्ने बताइरहको थियो तर मन मान्न तयार थिएन।
मैले समाचार कृष्णलाई सुनाउन थालेँ। त्यसैबेला कृष्णलाई मीराको फोन आयो। मीराले कक्षाका सबै साथीलाई चौतारीमा भेला हुन सूचना पठाएकी रहिछ। मेरो शंकाले सत्यमा रूपान्तण हुँदै थियो।
सबै मित्रगण चौतारीमा भेला भएपछि मीराले न्याउरो मुख लागाउँदै भनी- 'हामी आज एउटा कुराको निर्णय लिन भेला भएका हौं। हिजो कुसुमको दाइ बाइक दुर्घटनामा परेर बित्नुभयो। कुसुम हिजो नाइटको गाडीमा घर गइसकेकी छे!'
मेरो कानले सत्य स्वीकार्न सकेन, म स्तब्ध भएँ।
'अब कुसुम नआउन्जेल हामी सबैले कलेजलाई प्राक्टिकल परीक्षा नगराउन निवेदन दिन पर्यो। त्यतिन्जेल छैठौं सेमेस्टरका कक्षा सञ्चालन गर्न माग राखौं। यो कुरामा सबैको सहमति छ ?', मीराले प्रश्न गरी।
सबैको एकै लहरमा 'सहमत छ' भनेर उत्तर दिए।
निवेदनमा हस्ताक्षर गरेपछि सबै आफ्ना आफ्ना बाटो लागे। म गह्रुँगो पाइला चाल्दै होस्टेलतिर हिँडेँ।
मनभरी कुरा खेल्न थाले- आफ्नो दाइलाई भेट्न पाउँदा एकदमै खुसी भएकी थिइन् कुसुम। उसको नयाँ बाइक आउँदै छ भनेर सुनाएकी थिई, आज त्यही बाइकमा दाइको दुर्घटना भयो। अझ बाइक बिदा भएपछि कलेज ल्याउछु भन्थी। अझ कुसुमलाई त बाइक चलाउन पनि आउथ्यो।
'हेर, वसन्ते, अब कलेजमा बाइक ल्याउने हो अनि खुब घुम्नी हो। अब त कत्ति मज्जा गर्ने हो', भन्दै दाँत देखाउँदै मख्ख परेको क्षण झलझली याद आयो।
अहिले आफूलाई कसरी सम्हालेकी होली? के बितिरहेको होला? घरमा कस्तो वातावरण होला? यस्तै कुराहरू सोच्दैँ म खाटमा पल्टिएँ।
एकदुई दिन बित्यो तर कुसुमलाई फोन गर्ने आँट आएन। फोन गरे पनि के भन्ने, के बोल्ने यस्तो बेला?
त्यतिबेला मीराले साँझ मेसेज गरी- 'वसन्त, हामी कुसुमको घर जानुपर्छ। हामी नै त हौं उसको नजिकका साथी।'
कुरा ठिक हो, म नि यसबारे सोचिराको थिएँ, अनि कहिले जाने त ?', मैले जवाफ दिएँ।
'भोलि जाम'
भोलि नै?
'अँ'
ल ल
त्यसपछि अनलाइन टिकट काट्न इ-सेवा खोलेँ! इ-सेवामा कुनै बस देखिएन। म सुतेँ।
भोलिपल्ट दिउँसो भैरहवा बसपार्कमा गएर धनगढी जाने टिकट काटेँ।
बेलुका साढे ५ बजे छ जनाको टोली बसपार्क पुग्यौं। मीरा र कृष्णबीचका सिटमा बसे। सुरेश र सम्राट सेकेन्ड लास्टमा। म र शंकर लास्टमा।
करिब करिब साढे ६ बज्दा हामी बसपार्क पुगसकेकाध थियौं तर बस हिँड्न अलि समय लाग्ने हुँदा सबै डुल्न बाहिर निस्कियौं।
डुलेर फर्किएपछि गाडी चढ्यौं। हाम्रो सिटमा अर्कै मान्छे बसेको थियो।
दाइ, यो त हाम्रो सिट हो नि!
'कसरी हुन्छ भाइ, मैले टिकट काटेको हो', ती दाइले उत्तर दिए।
मैले काटेको टिकटमा सिट नम्बर देखाउँदै उनले भनेँ, 'ल हेर, कुन सिट नम्बर लेख्या छ?'
आबुई, सिट नम्बर त जुधेछ नि!, मैले मनमनै भनेँ।
पाइन्टको खल्तिबाट टिकट निकालेँ अनि त्यस व्यक्तितर्फ हात तन्काउँदै भनेँ, 'ल हेर्नुस्, हाम्रोमा पनि त्यहीँ सिट नम्बर नै छ!'
'ए अँ त एउटै परेछ, अब के गर्ने त ?'
खलासीलाई बोलाएर कुरा गरम!
'हुन्छ'
मैले खलासी दाइलाई चिच्याउँदै बोलाएँ - 'ओ दाइ, यहाँ आउनु त तपाईं'
'के भो भाइ', भन्दै खलासी दाइ हामीतिर आए।
'के गरेको यस्तो? एउटै सिटको टिकट दुईजनालाई काट्ने! यत्रो लामो यात्रा छ। यसरी हुन्छ? सिट मिलाउनुस्!'
म अलिक चर्किएँ ।
खलासी दाइले अर्को व्यक्ति बोलाए। दुवैको टिकट नियालेपछि ती व्यक्तिले भनेँ- 'पैसा खान टिकट काउन्टरवालाले यस्तै गर्छन् कहिलेकाहीँ! अब अरू सिट खालि छैन, क्याबिनमा एक जनालाई मिलाउन सकिन्छ! के गर्नुहुन्छ त अब, यस्तै हो कहिलेकाहीँ, मिलेर जानुपर्ने भयो।'
त्यसैबेला एक यात्रुले हामीलाई हेर्दै भने- 'क्याबिनमा त नजाऊ भन्छु भाइ, म अस्ति आएको क्याबिनमा बसेर, अति नै सास्ती खेप्नु पर्यो।'
मैले शंकरतिर आफ्ना नजर घुमाएँ।
'भो सर छोड्दिनुस्! हामी दुब्ला दुब्ला छौं। यहीँ सिटमा म्यानेज गरेर जाम्ला', शंकरले भने। हाम्रो एक अर्कालाई 'सर' भनी सम्बोधन गर्ने बानी थियो।
'ठिक छ सर! म्यानेज गरेर जाम न त', मैले लामो श्वास फेरेँ।
गाडी चल्यो।
'लास्ट सिटमा यसै उफार्छ, झन् अब कोचिएर बसिएको छ। कसरी यत्रो लामो यात्रा सहज होला', मनमनै सोचेँ। त्यसैबखत म सिटबाट दह्रो जोडले उफार्यो।
'ऐया बाबा', पुट्ठा सिटका उभारमा जोरले बजारिएँ। त्यसपछि उफार्नेको शृंखला नै चल्न थाल्यो। म र शंकर सिटभन्दा बढी त हावामा नै थियौँ।
'सर, केटाहरूलाई सिट केही समयलाई साट्न भन्ने कि? यसरी त कसरी गइ होला र', मैले सरलाई प्रस्ताव सारेँ।
'भैगो सर, जीवन कम्प्रोमाइज नगरी चल्न सक्दैन। कुनै बेला एउटाले गर्ला, कुनै बेला अर्कोले', शंकरले मीठो मुस्कान दिदैँ भने।
आहा! कत्ति राम्रो कुरा। साँच्चै, हो त नि! जीवनमा सधैँ आफूले चाहेको जस्तो, आफूले सोचेको जस्तो हुन्न नि! आखिरीमा जीवन त्याग र स्वीकार्यको पर्याय न हो। मान्छेले जति छिटो यो सत्यलाई बुझ्छ, त्यति सहज हुन्छ! म नि बिस्तारै बिस्तारै सिक्दै-बुझ्दै छु।
जिन्दगीमा धेरै कुरालाई सहनु, स्वीकार्नु, नजरंदाज र धैर्यता गर्नुपर्ने रहेछ।
एकातिर रक्सीको गन्ध आइरहेको थियो त अर्कातिर सुर्ती र चुरोटको गन्ध आइरहेको थियो। आफूले नखाने भएर होला यस्ता कुराको गन्ध मलाई बिलकुल मन पर्दैन।
गाडीको उफार्ने क्रम त जारी नै थियो। उछिट्टिएर बसको प्यासेजमा नै पुग्छु कि भन्ने डर हुन्थ्यो। समय बित्दै गयो। गाडीमा भएका यात्रुहरू निदाउने तरखरमा थिए। ५ जनाको लास्ट सिटमा ६ जना बसेका थियौं। निन्द्राको तालमा दुवैतिरबाट मलाई घचेट्ने र घरी तान्ने गर्थे, मानौँ कि म एउटा सिरक हुँ। बडो सकस भइराखेको थियो।
म पनि निदाउन खोज्थेँ तर गाडीको उफारले गर्दा निदाउन सक्दिँन थिए। यसो निन्द्रामा के पुग्न लागिसक्या हुन्थे, गाडीले उफारी हाल्थ्यो। मलाई अब कति बेला गन्तव्यमा पुगिएला भन्ने भइरहेको थियो।
बिहानको ५ बजे केही यात्रुहरू गाडीबाट झर्न थाले। यो देखेर शंकरले मलाई झक्झकाउँदै- 'सर, अगाडी खाली भयो। एक घण्टा जति भएपनि अगाडी गएर मस्त सुतम् अब।'
टाउको झोक्राएर निदाउन कोशिस गरिरहेको मैले शंकरको कुरा सुनेपछि खुसी हुँदै अगाडिको सिटतिर आफ्नो पाइला सारेँ।
'आहा, कति मज्जाको सिट! कति फराकिलो र लचकदार', मेरा हड्डी हाँस्न थाल्यो। जिन्दगीको अहिलेसम्मको बसयात्रामा यो सबैभन्दा कठिन यात्रा थियो।
काठमाडौं पढ्दा दिनहुँ माइक्रोमा कच्याक-कुचुक पच्याक-पुचुक हुँदै वर्षौं यात्रा नगरेको पनि हैन तर पनि यो यात्रामा धेरै कठिनाइ भोग्न पर्यो।
'ओए,झर्ने हो अब उठ्! कि खलासीसँगै जान्छस्?', सुरेशले मेरो कुम हल्लाउँदै करायो। मैले मधुरो आवाज मात्र सुनिरहेको थिएँ।
'हँ हँ', भन्दै म उठेँ। शंकर नि उठ्यो। १ घण्टा जति मस्त सुतिएछ।
आ-आफ्नो झोला हातमा लिएर सबै साथीहरू एकाएक गर्दै गाडीबाट झर्न थाले।
सुदूरपश्चिमको भूमीमा मैले पनि आफ्नो पहिलो कदम राखेँ।
क्रमशः