घडीमा ५ बजिसके छ। अब गन्तव्यमा हानिनुको विकल्प छैन, मसँग। टेबुलमा छरपस्ट भएका किताब, कापी, इयरफोन, मोबाइल हतार हतार झोलामा हालेर हस्याङ्फस्याङ् गर्दै भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयबाट निस्कें।
असार महिना भएकाले बिहानदेखि नै सिमसिम पानी परेर मौसम धुम्म भएको थियो। र, अलि अलि चिसो पनि। बस चढ्न पुग्नुपर्ने थियो बागबजार!
आजकाल काठमाडौंमा ट्राफिक नियम कडा भएर होला जथाभावी बस रोक्दैनन्। मेलै पाइला चालें, भृकुटीमण्डपदेखि बागबजारको भक्तपुर बसपार्क।
भृकुटीमण्डपदेखि भक्तपुर बसपार्क सम्मका गल्ली, ठेलावाला, रिक्सावाला, फुटपाथ पसले, मकै पोल्ने आमा सबैजसो याद छ। अझ आरआर क्याम्पस अगाडिको जेब्राक्रसिङमा कति वटा सेतो घर्का छन् त्यो नि कण्ठस्थ छ मलाई। बाटोमा हिँडदा आँखा धेरै नाच्छन् तर मन अन्तै कल्पनामा डुबुल्की मारिरहेको हुन्छ।
उमेर बढेसँगै जिन्दगीमा जिम्मेवारीहरू दिन प्रतिदिन थपिन थालेका छन्। आफ्नो प्रगति भने शून्य छ। आफू सँगैका साथीहरू कति सरकारी जागिरे छन्, कति समुन्द्रपारिका चिल्ला र गगनचुम्बी विल्डिङको मुनि बसेर फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्छन्, कतिले यही आफैं व्यवसाय गर्दै छन्। तर, म भने दिनानुदिन एक्लिँदै गएको छु।
२०७२ सालको भूकम्पसँगै एसइई पास गरेर इन्जिनियरिङ पढ्ने सपना बोकेर काठमाडौं छिरेको म, प्रगति लगभग शून्य नै छ भन्दा फरक पर्दैन। न गतिलो फ्याकल्टीकोे सर्टिफिकेट छ, न त अंक नै हेर्नलायक।
एसइई पास गरेर सिन्धुपाल्चोकबाट काठमाडौं छिरें।
कपनस्थित मामाको डेरामा बसेर डिप्लोमा ३ वर्षे इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी गरें।
प्रवेश परीक्षा दिएँ, पास त भए तर पास हुनुभन्दा पनि भर्ना गरेर कसरी पढ्ने भन्ने आर्थिक चपेटामा थिएँ नभन्दै तोकिएको समयसम्ममा भर्ना गर्ने पैसा समेत जुटाउन सकिएन।
त्यहीँ नै तुहियो इन्जिनियर बन्ने सपना। त्यसपछि नै हो, मैले सपना देख्न छोडेको। कहिलेकाहिँ सपना देखें भने पनि, उक्त सपनाको हत्या तत्कालै गरिदिन्छु। मेरो एउटै सपना छ अहिले, पैसा कसरी कमाउने..?
मनमा आगो बलिरहे पनि सुन्दर संसारको कल्पना गर्न भने छाडेको छैन।
सयौं सपना तुहिए, काँध फतक्कै गल्थ्यो तर आशाका हिम्मतको दियो अझै निभेको छैन। यस्तै सोचमा हिँडिरहेको थिएँ, काठमाडौ मोडल अस्पतालको गेटनिर एक २०–२१ वर्षकी युवतीसँग ठोक्किन पुगेछु, झसङ्ग भएँ।
मैले कागती निचरेको जस्तो अनुहार पारेर ‘सरी’ भने उनले उताबाट ‘इट्स ओके’ भन्ने जवाफ फर्काइन्, मन शान्त भयो। बसपार्क पुग्न अझै ५ मिनेट लाग्छ, त्यतै पाइला लम्काएँ।
मनमा ती युवतीले नरम स्वरमा ‘इट्स ओके’ भनेको झझल्को आइरहेको थियो।
बसपार्क पुग्दा शरीरमा पसिना चिरचिर आइसकेका थिए।
हतार-हतार भक्तपुर जाने बस चढें। सिट प्रायः भरिभराउ नै थियो। तर, अन्तिमको एउटा सिट बाँकी रहेछ। त्यहीँ गएर बसें।
हात लम्काएर दायाँतिरको झ्याल खोलें अलि-अलि शितल हावा चल्दा, फोक्सोमा अक्सिजन भरिएर बेग्लै आनन्द भयो।
सहचालक भाइ एकोहोरो स्वरमा बानेश्वर–कोटेश्वर–गठ्ठाघर–नयाँ बाटो.... भन्दै, यात्रुहरूलाई सिट खाली छ, भित्र जानुस्, परपर सर्नुस्.. भन्दै मान्छे कोच्दै थियो। सोचें मेरा सपना, इच्छा, चाहनाहरूलाई पनि यसरी नै कोचेर राखेको छु।
फेरि सम्झन्छु आफ्नो अजङ्गको जिन्दगी।
बद्री पंगेनीको गीत जस्तै भएको छ, मेरो जिन्दगी! हात हेराउँदा ज्योतिषीले राम्रो हुन्छ, भन्थे भन्नलाई...... भने झैं। ज्योतिषी र बाह्मणलाई आधा दर्जन पटक चिना देखाइसकें। हात हेर्न बसेकाहरू जहाँ भेट्छु त्यहीँ हात हेराउँछु, हेर्ने जति कसैले नराम्रो भनेका छैनन्। तर आफ्नो भने एउटा पनि राम्रो भएको छैन।
ज्योतिषीले भाग्य हेर्न जानेनन् वा देखेको भाग्य मेरो भागमा परेन राम जानुन्।
यही देशमा केही हुन्छ र गर्नुपर्छ भन्ने सोचेर परदेशको सपना देखिनँ। बिडम्बना, यो देशमा व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था उस्तै छ।
अब त खाडी जानैपर्छ, पसिनासँग पैसा साट्नै पर्छ। बा’को फाटेको कमिज, आमाको च्यातिएको चोलो फेर्नुछ। त्यति मात्र कहाँ हो र, हामीहरूलाई (३ छोराछोरी) पढाउन गाउँमा साहुहरूसँग लिएको कर्जा चुक्ता गर्नुछ। त्यसैले योभन्दा अर्को विकल्प छैन, मसँग।
ममात्र हैन आज लाखौं युवाहरू यही नियति भोगिरहेका छन्। धेरै पैसा लगानी गर्न सक्नेहरू अमेरिका, अष्ट्रेलिया पश्चिमा देश आदि मुलुकमा जान्छन्। तर मजस्ता निम्न वर्गको मान्छे मलेसिया, कतार, साउदी, कुवेत आदिको विकल्प छैन।
अझ बिडम्बना त म्यानपावरलाई बुझाउने पैसा समेत गाउँमा च्याउसरी खुलेका सहकारीमा खेत, बारी दृष्टिबन्धक राखेर ३ पुस्ते विवरणमा धेरै ठाउँमा ल्याप्चे लगाएर चर्को ब्याजदरमा कर्जा लिएर खाडी उठ्नु पर्छ।
यस्तै, गहिरो सोचमा थिएँ, झल्यास्स भएछु! गन्तव्य आइसकेछ। सहचालक भाइ ढोकाबाट गठ्ठाघर झर्ने आउनुस् भनेर चिच्याउँदै थिए। घ्याम्पोमा गुन्द्रुक जसरी खादिएका मान्छेको चेपबाट बल्ल निस्किएँ। र, बस भाडा तिरेर लागें, डेरातिर।
बस स्टपबाट डेरासम्म पुग्न करिब २० मिनेट जति हिँडन पर्छ।
पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने बाटोबाट स्थानीयले खेप्न परेको सास्तीको कुनै सीमाना छैन। त्यही बाटो हिँडेर दिनमा २ पटक ओहोरदोहोर गर्छु। बाटोमा एउटा निकै फोहोर खोला तर्नपर्छ ‘हनुमन्ते खोला’।
हनुमन्तेभन्दा कम फोहोर र धमिलो छैन मेरो सपना, गन्ध मात्र आउँछ। २०७२ सालमा सपनाको पोको भिरेर सहर छिरेको म, कौडीको भाउमा लिलामी भएका सपना बेचेर रित्तिएको छु।
मेरो देशमा मौलाइरहेको चरम भ्रष्टाचार, आर्थिक मन्दी, राजनीतिक अनियमितताका खबर दिनानुदिन सुन्दासुन्दा कान पाक्न लागिसक्यो। यो देशप्रतिको बितृष्णा बढेको छ। एयरपोर्टमा देश छाड्ने युवाको संख्या दिनानुदिन बढ्दै छन्। मैले यो देश छाड्ने योजना बनाएर दौडधुप गरिरहेको छु।
थकित मुद्रामा बल्ल डेरामा आइपुगें। पानी पनि स्याररर... पर्न लाग्यो। कोठाभित्र छिरेर कपडा फेरें अनि हातमुख धोएर खाटमा पल्टिएँ।
बस, यसैगरी चल्दै छ जिन्दगी...।