पोल्न त आँगन पोलेर छोरीलाई आफ्नै हातले कन्यादान गर्न पाए बाआमाका लागि सौभाग्यको कुरा हो तर आँगनसँगै बाका तालु अनि आमाको मन पोलेको कहाँ देखिन्थ्यो!
त्यसैले होला धेरै गरिब बाआमाहरू सकिनसकी भए पनि छोरीका घर बसोस् भनेर आफ्नो खरको छानो र भित्ताको खामो बल्ल तल्ल उठ्न लागेको पनि उठ्न नपाउँदै छोरीलाई कन्यादानमा दाइजो भिराएर आफ्ना घरका खामा कमजोर बनाउँथे।
ठूला ठूला राम्रा गाडीहरू धुमधामसँग जन्तीका लस्कर बोकेर कसैको आँगन छेउमा गैरहेको देख्दा बाले पुर्पुरो समाउँदै भन्ने गर्थे, ‘छोरी पराइका घरमा सुखसँग बस्न पाउली नि भनेर कुन चाहिँ छोरीका बाले भएभरको जायजेथा बेचे होलान् है आज, सकिनसकी ऋण काढेर भए पनि यति गाडी जन्तीलाई त खुसी बनाएर पठाउने सोचमा आफ्नो हैसियतले नभए पनि जग्गे बलियो बनाउँदै होलान् है भनेर।
अनि यता आमा पटुकी कस्दै भन्थिन्, ‘ऋणको भारी हाम्रा काँधमा बसेर छोरी अर्काका घरमा खुसी हुन्छे भने त लाखौं लिन त म पनि लिन्थे होला नानीका बा तर घरमा गतिलो केटै ल्याउँदैनन् र पो!
अनि यता म भित्तेपात्रो हेर्दै दिन गनिरहेको थिएँ, आमाका लागि औषधि सकिएर किन्ने दिन आइसक्यो तर काम गर्ने ठाउँले पैसा दिएको छैन। उता सानो भाइ टुलुटुलु मेरो मुख हेर्दै भोक लायो दिदी भन्दै छ। भोलिको लागि आमालाई औषधि किनम् कि भाइको आजको भोको पेटलाई अघाइदिम्? थुक्क गरिबी!
जिन्दगी भर बाले कोदालो र आमाले कुटो चलाएर छोरीलाई उच्च शिक्षा दिने सोचमा पेट बाँधेर पढाएका हुन्छन् अनि यसो केही पढेकी हुन्छे र थोरै कमाइ भए पनि घरमा आउन मात्र सुरू गरेको हुन्छ, छिमेकी र आफ्नालाई त्यसै ज्वरो आउन थाल्छ अनि प्रश्न र केटा आँगनमा तेर्साउन आइपुग्छन्।
नजिकैको तर टाढाको आफन्तहरू एकदिन चाडबाडमा यसो हाम्रा झुपडीमा नि आउँथे र वर्षभरी पुग्ने गरी भनेर जान्थे।
त्यही छोरीको कमाइको मानो थाल भरी पस्किएर मुखमा गाँस हाल्दै अनि छोरीलाई धेरै समय घर राख्न हुन्न है कान्छा बिहे गर्दिहाल भनेर मुख फोरिदिन्थे!
कोही आउँथे र प्याच्च भन्न सुरू गर्थे, ‘अनि बिहे नभएको कि बिहे नै नगरेको हो छोरीको यतिका उमेरसम्म’ भनेर।
कोही लाजै नमानी इज्जत नै नगरी, कि छोरीको कतै केही हो यति भनेर चुप लाग्थे। त्यो आवाज नआएको बोलीमा झन् धेरै आवाज हुन्थ्यो। यस्तो भन्दै दिनदिनै दैलो अगाडि तेसारेका धारिला हतियारले बाका बोलीलाई नै काट्दिन्थे र मात्र नत्र त बाका मनले मलाई अर्काको घर यति चाँडै पठाउनै चाहान्थेनन्।
समाज पनि समाज नै छ मैले पढेको समाजको व्याख्या र मैले भोगेको समाजको व्याख्यामा धेरै फरक छ।
२५ वर्षको उमेरसम्म मैले कहिल्यै पनि समाजबाट पैंचोमा चिनी र उधारोमा उनीहरूको अर्तिबाहेक केही पाइनँ। अनि यी आफन्त भनौंदाहरू आफ्नी छोरीलाई कुल घरान धनी मानी पढेको इमानदार खोज्दै हिँड्ने अनि मेरा बाका गोजी हेरेर होला मलाई केटा खोजिदिँदा जहिले नपढेको लफङ्गो अनि उसकै घर पाल्न नसकेको जडियामात्र देखाउँथे।
अनि यति प्रशंसा गर्दिन्थे कि सोझा बालाई लाग्थ्यो कि छोरी यही घरमा दिन पाए छोरी नि खुसी हुन्थी होला भनेर तर किन आफन्तले मेरो पढाइ अनि मेरो इमानदारिता हेर्दैनथ्यो म त्यो बुझ्दिनथे अनि त्यति बेलै प्रतिउत्तरमा मैले ‘त्यति राम्रो लागेको भए त्यो केटा तपाईंकी आफ्नी छोरी पनि त छ दिँदा भैहाल्यो नि’ भनेर एक वचन फर्काएको हुन्थे।
उनीहरूले चार गाउँमा मेरो आमाले आजसम्म दिएको शिक्षा, बाको खानदान र मेरो बानी ब्यहोराको धजिया उडाउन पुगेका हुन्थे। त्यसपछि त कोही केटा हेर्न आए भने सिधै मेरै मुखमा नानीको त मुख छुच्चो छ रे नि त यसरी त हुँदैन है हाम्रोमा भनेर सुनाइहाल्थे। अनि बालाई त्यो कुरा मन पर्थेन। मलाई उनीहरूको कुराले चित्त बुझ्दैनथ्यो। अनि उहीँ जागिर खोजेर घर कसरी चलाउने भनेर तारन्तार दौडधुपमा यताउता भौंतारिन सुरू गर्थें।
यो दुनियाँ यस्तै हो, यी गरिबलाई त जहाँ गयो उतै अँध्यारो भने जस्तो, दिन आउँछ र पनि उज्यालो आउँदैन जिन्दगीमा।
मेहनत गरेर पढेको सर्टिफिकेट पनि काम लाग्दैनन् पावर र फोर्स लगाउन पर्छ। अनि म परे भएभरको बल जति जमिनमा खन्याउने बा र भान्छाका चुलोमा दालसँगै उमाल्ने आमा कि छोरी कहाँ जानू म राम्रो जागिर पाउने आशमा फोर्स लगाउन? सकिनसकी एउटा काममा लाग्यो पैसा दिन्छ महिनाभरी बाका प्रेसरको औषधि नआउने पैसा।
पैसा कमाउनका लागि पनि गोजीमा पैसा नै हुनु पर्दो रहेछ र जागिर पाउनका लागि पनि मार्कसिट बलियो होइन खानदान नै बलियो हुनु पर्दो रहेछ। हो यत्ति मात्र कुरा बुझ्नलाई मेरा बा आमालाई पूरै उमेर लाग्यो अनि मलाई २५ वर्ष लाग्यो किनभने बा सधैं जागिर गतिलो भएन यो ठाउँमा जा भन्थे जहाँ सिफारिस बिना त पिउन पनि हाल्दैनन् मलाइ के हाल्थे भाको यही नोकरी नै प्यारो लागेको थियो जहाँ सोर्स फोर्स त लागेन।
कमाइ खोज्दा ठक्कर खानुको नि बेग्लै मजा छ नि, म जान्थें जागिर खोज्न अनि जागिर वालाहरू सर्टिफिकेट हेरेर जागिर दिन नसके पनि मेरो अवस्था, मेरो बोली र मेरो व्यवहार देखेर बिहेका लागि सुहाउँदो केटो खोज्न चाहिँ कोसिस गरिरहेका हुन्थे।
लाग्दो होला गरिब निमुखी विचरी छ जता लग्यो उतै गइहाल्छे जस्तो केटा भए पनि भैहाल्यो भनेर कहाँ कसको बिग्रेको छोरो छ सुधार्छे भनेर मलाई अचानोको रूपमा प्रयोग गर्न खोज्थे।
जताततैबाट जिन्दगी ओरालो नै लागेपछि बाले पनि केटा खोज्दिन भन्दै आग्रह गर्न थाले।
महिनौंपछि बल्लबल्ल एउटा केटा अल्लि गतिलो त ल्याएका थिए टाढाका नातेदारले। पढेको अनि मभन्दा आर्थिक रूपमा अल्लि बलियो। हेर्नका लागि निम्तो दिइयो आउने दिन जुर्यो र आए पनि, बा चाहिँ वर्षौंसम्म कपडा नै नकिने पनि यो पटक एक जोर सर्ट पाइन्ट किनेर ल्याए। आमाले नि धोती फेरिन्, मनमनै खुसी लाग्यो केटा हेर्ने निउँमा नै सही। नयाँ कपडामा बा आमालाई देख्न पाको थिएँ। मलाई आज आफ्नै बाआमा नै खुब हेरिराखम् जस्ता राम्रा लागिराको थियो। आखिर दु:ख र पसिनाले रहेछ होइन भने नराम्रा त हाम्रा बाआमा नि होइनन् नि भन्दै मनमनै सोचें।
मलाई हेर्न आउँदा ऊ लगायत उसका परिवारले, उसका स्वागतमा वर्षौंपछि कपडा फेरेर बाहिर उभिएका मेरा बा आमालाई भन्दा बढी घरको खरको छानोलाई हेरिरहेका थिए।
चिया बोकेर गएको मलाई भन्दा बढी चियाको गिलास र चियाको रङ्ग हेरेका थिए। यत्तिकैमा कुरा कुरामा हाम्रो र उसको स्तर बोलिरहेको थियो तर अफसोच घरमा केटा हेर्न आए अनि फर्केर गए भने त्यहाँनिर केटीकै खराबी देख्ने समाजमा हुर्किएकी म। मलाई कता कता डर पनि थियो बाको गरिबीले कतै बालाई नै पोल्छ कि भनेर।
कुरा गर्न पठाएका थिए मलाई र उसलाई, मैले नि भन्छु सब कुरा भनेर उसलाई आफ्ना कुरा भन्न थाले हेर्नुस्।
मैले पढेर जे गर्न सक्छु गर्छु र काम जे नि गर्छु, म तपाईंको घरमा गएर बुहारीले निभाउन पर्ने हरेक कर्तव्य निभाउँछु तर तपाईंहरूले एउटामात्र गुन लगाइदिनुस् हामीलाई, सिधासाधा बिहे गरेर घर लैजानुस्, अब पनि म बाका काँधमा ऋण बोकाएर आफ्नो घर बसाउने सोचमा मभन्दा धेरै सानो भाइको घरको जग कमजोर बनाउन सक्दिनँ। टाउकोमा भार बोकाएर जान्नँ के भनेकी थिएँ बोली खस्न नपाउँदै, उसले पनि हुन्छ मैले पनि पैसा होइन घर गरिखाने र श्रीमती चाहिएको हो, काम गर्ने नोकर्नी र दाइजो दिने धनी घर चाहिएको होइन भन्यो।
मलाई जीवनमा सायद नै यति आनन्द कहिल्यै आएन जति यति सुन्दा भएको थियो।
कुनै आफन्त, कुनै साथी कुनै छिमेकीले मलाई दु:ख पर्दा एक वचन मीठो नबोल्दिएको भएर होला कसैले हाँसेर बोल्दिए नि ओखतीजस्तै लाग्थ्यो भने उसले त मेरो टाउकोको भारी बिसाइदिएको थियो।
बा पनि नयाँ कपडा लगाएसी त हैसियत नै छोपिन्छ कि झैं गरी सानसँग बसेका थिए तर उनीहरूको नजरले त्यो कपडा बाटोको गल्लीबाट उठाएकै होला भन्नी उत्तर दिइरहेको थियो।
बालाई मप्रति भने सानैदेखि किन किन त्यसै गौरव लाग्थ्यो, यसले जीवनमा केही गर्छे भन्नी विश्वास भने थियो त्यही भएर पनि होला मलाई चाहिँ मैले बाआमाका लागि त केही गर्नै सकिनछु जस्तो मात्र हुन्थ्यो।
बिहे गरेपछि जिम्मेवारीका बोझले कति थिच्ने हो मेरो पढाइमा ऋण खोजेर गरेको लगानी नि उठाएर दिन सक्दिनँ कि मेरो परिश्रमले भनेर मन त्यसै पिरलिरहन्थ्यो।
बिहे गर्ने केटामा त मलाई केही प्रश्न पनि थिएन तर उनका बाआमाले बुहारी भन्दा बढी काम गर्ने केटी खोज्न आए जस्तो गरी ब्यवहार देखाउँदै थिए।
एउटै मान्छेमा लाखौं गुण खोज्दै थिए, पढेकी पनि चाहियो, राम्री पनि चाहियो, इमानदार पनि चाहियो अनि घरको सब काम जानेकी पनि चाहियो र घर सम्हाल्दिने पनि चाहियो!
मेरी आमाभन्दा १० वर्ष कान्छी उनकी आमाले एक वचन यो भन्न सकिनन् कि म छँदैछु नि मेरो हातगोडा चलिन्जेल बुहारीले कमाउँछिन् र उनको तरिकाले जीवन जिउँछिन् पछि हामी नसक्दा हामीलाई हेर्दिए भयो भनेर।
अनि मैले मनमनै सोचें, कामबाट आउँदा थाकी होला नानी भन्दै विस्तारामै तातो चिया अनि तातो खाना ल्याइदिने आमा अब मैले यही झुपडीमा छोडेर जाने भएँ। यदि भविष्य यस्तै हुन्छ भन्नी थाहा थियो भने ए मेरी आमा बच्चाबाटै मलाई चुलोचौकामा राखेर दिनभर सेवा गर्न सिकाइदिएको भए तिमीले त बरू सुख पाउथ्यौ नि जस्तो लाग्न थालेको थियो।
यी सब कुरा नजिकबाट देखेपछि त मैले नि मेरै दोष होला होइन भने सबलाई गरिबीसँग नै किन समस्या हुन्थ्यो र?
अनि फर्केर मैले एकपटक हामी गरिब हुनुका कारणलाई नियालें। दाजुभाइको अंशबन्डामा मेरा बा सानै भएर अंशको नाममा त्यही एक झुपडी छोडेर भएभरको सम्पत्ति बोकेर गएका बाका दाइ अहिले महलमा छन्।
उनकै सन्तानको हाइ सुख छ। गाउँ छोडेर जाँदै गर्दा तेरो एउटा छोरी मात्र छ नि सम्पत्ति किन दिनुपर्छ र त्यसलाई भनेर बाआमालाई भड्काउँदै भएभरको जायजेथामा आफ्नै हक लगाउने ती ठूलाबा नै गाडी चढेर पैसाका डसनामा सुत्ने अनि यता हामी दुई हात जोड्नलाई पनि धौधौ भएको देख्दा, भगवानसँग पनि प्रश्न गर्न मन लाग्छ कि नराम्रो गर्नेलाई नराम्रै गर्नुपर्छ भन्नी ज्ञान देऊ भगवान होइन भने नराम्रो गर्नेलाई तिमी नै हेरिदेऊ।
यो सधैं राम्रो गर्ने कै कसौटी रित्तो राखेर उसकै सन्तानलाई दु:ख माथि दु:ख थप्ने भाग्य नलेखिदेऊ।
हामी भने भगवान छन् भनेर हरेक कुरामा जवाफ नदिकिन तिम्रो मुख हेरेर बस्यो अनि तिमी नै केही नगरिदिएसी हामी प्रगति गर्न खोज्दा नि जताततै बाटो बन्द हुँदा त निराश पो लाग्दो रहेछ त यो जिन्दगीसँग।
जन्मेको ८/९ वर्षको उमेरदेखि जे हुन्छ राम्रैका लागि हुन्छ भन्दै सुन्दै आएको नि १५ वर्ष भैसक्यो त्यो राम्रो कहिले आउने रहेछ थाहा भएन।
पाप धुरीबाट कराउँछ भन्थे तर खै सधैं नराम्रो गर्नेकै घरको धुरी अझै बलियो देखेको छु।
कुन धुरीबाट कराउने हो पाप खोज्न अझै देखिएन। पाठ त धेरै सिकियो जीवनमा, तर दुखीलाई सुख खोज्न के गर्नुपर्छ भन्ने पाठ भएको किताबको पाना नै भेटिनँ। सायद मेरो जीवनमा त्यो पाना च्यातेर पठाइएका थिए होलान् भगवानले।
बल्लबल्ल बाका बोझ कम गर्छु भन्ने उमेरमा झन धेरै बोझ थपेर जाने दिन पनि आयो।
बिहे नि जसोतसो त्यही घरमा पक्का भयो। मनमा अनान्द पनि थियो भने जस्तै सोचे जस्तै घर छ, घरभन्दा नि केटा सोचे जस्तो छ।
दाइजो दिनु पर्दैन टीका लगाएर लान्छु भन्या छन् भनेर तर जब बिहेका दिन नजिकिँदै गए, बिहे हामीले सोचेको जस्तो नै भएन।
दुलाहाका दाइ छन् बहिनी छन् यो ल्याइदिनु पर्छ यो गर्दिन पर्छ भन्दै केटा देखाउने लमीसँग प्रस्ताव आउन थाले।
खै त्यो सब भरिएको घरलाई मेरो झुपडीमा के छ जस्तो लागेछ, जन्ती नै १०० जनाभन्दा बढी आउने कुरा भयो। अब २ लाखमा उम्काउने सोच राखेका बा पसिना पसिना भए अब २० ले नपुग्ने छाँटकाँट देखियो।
छोरीलाई बिहे गर्दा गर्ने खर्चले त बाको जिन्दगी, भाइको जिन्दगी र आमाकै जिन्दगी बेचे पनि ऋण तिर्न सकिँदैन भन्ने देखियो। अब बिहे तोड्न सक्ने हिम्मत थिएन, छोरीको घर पर्यो इज्जतको कुरा छ, भोलि औंला आफैंलाई उठ्छ भन्ने थाहा छ।
नगरम के नगरम अनि गरम त कसरी गरम, कसैको घर लुट्न गएमात्र उपाय छ नत्र अर्को बाटो नै छैन।
छोरोले गर्ला भनम भने आफैं यो पाइनँ र यो भएन भन्दै पिरोल्ने उमेरको छ त्यसले गर्नी बेलासम्म त बाआमा नै रहँदैनन्, अब मुख कस्को ताक्ने? २ रुपैयाँ नपत्याउने आफन्तहरूसँग लाखौंलाखको ऋणको अपेक्षा बोकेर बा ढाका टोपी फिजाउँदै हात थाप्न थाले।
के देखेर दिन्थे र ऋण कसैले पत्याएनन्।
बा आमा राति राति कुना पस्दै रोएको यही दुई आँखाले देखेको छु।
मैले गर्दा छोरीको इज्जत र भविष्य दुइटैको डुंगा डुब्ने भो बुढी भन्दै भक्कानिएको ती बुढा अनि कमजोर बा र कपाल फुलेकी कुप्री परिसकेकी आमा।
आमा आफ्ना भएका गरगहनाका नाममा फुली र मुन्द्री जोड्दै पैसा कति आउँछ अड्कल लगाउँदै थिइन्।
म टुलुटुलु यताबाट विवश अनि लाचार बाआमा हेरिरहेको थिएँ।
बिहेको निम्तो दिएका हरेक घरमा फेरि एक निम्तो दिने निर्णयका साथ त्यो रात म यही सोचिरहें।
सन्तान भनेको बाआमालाई रूवाउन होइन हँसाउन जन्मेका हुन् भने म किन यति ठूलो बोझ बोकाइरहेको छु आखिर त्यो घर गएर पाउने के हो र मैले?
छोड्नै नहुने घर पनि त होइन, बोलीको भरोसा नभएको घर हो त्यस्तो घर जानू छैन मलाई भनेर रातिको १ बजे मेरो हुन नसकेको दुलाहालाई फोन गरेर आफैंले बिहे नगर्ने निर्णय सुनाइदिएँ।
ऊ प्रश्न माथि प्रश्न गरिरहेको थियो। जवाफमा म यही भनिरहेको थिएँ, ‘धोकेबाजहरूको घरमा मलाई बिहे गरेर भित्रनु छैन, बाँकी उत्तर आफ्नै बाआमालाई सोध्नुस्’ भनेर फोन राखिदिएँ।
आखिर इज्जत त उसको पनि त हो। ऊ मुख फेर्न सक्छ भने म किन सक्दिनँ! बिहानै बाआमालाई बिहे नगर्ने कुरा सुनाइदिएँ।बाको गाली, आमाको कचकच सुरू हुन थाल्यो। तँलाई पढाको यही गर्न हो किन बाठी भइस् भन्दै आँखा रसाउँदै बोलिरहेका थिए।
सुनें एकछिन अब हामीलाई समाजले के भन्छ भन्दै तर जुन समाजले हिजो केही बोलेन केही गरेन त्यो समाजको हामीलाई के मतलब! भनेर म आफ्नो काममा गएँ।
बिहेका लागि लिएको बिदा नसक्दै अफिस जाँदा हजार प्रश्न थिए साथीहरूका। तर सामना गर्दै हिँडें।
समाजले नि वर्षौं दिन नै छलफल गर्ने विषय पायो, आफन्तहरूले उनीहरूको इज्जतमा ठेस लगाएम हामीले भन्दै सुनाउन आए। हजार थरी कुराहरू, बाआमालाई यही सम्झाउँदै बसे कि जीवनमा पर्दा केही नगर्नेको बोली सुनेर चिन्ता नगर्नुस्, मान्छेको काम नै यही हो यही भन्छन बस्छन्। छोरी पढेको देख्न नसक्ने समाजमा बसेर छोरीले बिहे आफैंले तोडेको देख्दा अल्लि नपचेको हो बिस्तारी पचाउँदै जान्छन् भन्दिन्थें।
अनि विस्तारै विदेश जाने निर्णय गरें। आफ्नो हैसियतले पढें अनि अरूको विदेश जान नसक्ने तर पैसा भाको छोरोलाई डिपेन्डेन्टमा लगेर जाने निर्णय गरें। आखिरमा गरिबका घरमा नि भगवान आए कि क्या हो भिसा लागेर अस्ट्रेलिया छिरें।
आखिर गर्न सक्ने त नेपालमै हो तर गाउँबाटै उठ्न नसकेको म कमाएर के उठ्न सक्थें र जीवनमा भनेर लागेको हो परदेश।
हुन त भगवान हुँदा रहेछन् भनेर बल्ल लाग्न थाल्यो। आज ४ वर्ष भयो बिहे तोडेको। उसको के छ कुन्नी मेरो भने खुब राम्रो छ।
बाआमालाई नयाँ घरमा राख्न सकेको छु। सुख दिन सकेको छु। ऋण तिर्न सकेको छु, भाइ पढाउन सकेको छु, खानका लागि दु:ख छैन, हात फिँजाउन परेको छैन, अब केटाले मलाई हेर्न आउँदै गर्दा म उसको घरको अवस्था पनि हेर्न सक्ने भएकी छु।
विचरा भएकी छैन, अब उठाओस् न औंला, अब बोलोस् न कोही, अब भनोस् न कसैले, मुख फोर्न सक्ने हिम्मत छ हातले होइन, कामले, बोलीले, विचारले।
हिजो हेप्नेहरूलाई उत्तर दिन सक्ने भएकी छु। बा हाँस्न थालेका छन्। आमा नयाँ नयाँ धोती लगाउनलाई २० चोटि सोचेर किन्दिनन्।
यो हो नि त जिन्दगीको कमाइ।
बस् बिहे गरेर ऋण बोकेर अरूको घर जाँदैमा बाआमाको बोझ कम हुने होइन कमाएर कमाइ खुवाउन सके बोझ कम हुने हो।
छोरी मान्छे बोल्न सक्दैनन् जे गरेनी हुन्छ भनेर बिहे हुनु अगाडि केही चाहिँदैन भनेर पछि हजार कुरा माग्ने लोभीहरूका घर गएर छोरी खुसी हुन्छे कि भनेर ऋण खोजेर छोरीको बिदाइ नगर्नुस्।
यस्तै कमजोर छन् भनेर हो महिला हिंसा र शोषण हुने, आफ्नो निर्णय लिन सक्ने छोरी बनाउनुस्। पढ्न र कमाउन सिकाउनुस्। गरिब नै भए पनि झुक्न पर्दैन।
घर बाहिर निस्केसी छोरीको इज्जतमा प्रश्न गर्ने समाजमा बसेर आफैंले बिहे तोडेर विदेशको भूमिमा मेहनत गरेर बाआमालाई खुसी राख्न सक्ने छोरीलाई तपाईं छोरी हो बिहे गरेर उम्काए बोझ कम हुन्छ भनेर सोच्न थालेको भए अहिले म त्यहीँ घरमा भाडा माझेर भात पकाएर दिन जान्थ्यो। ऋण बढ्दै जान्थ्यो, ब्याज थपिँदै जान्थ्यो अनि के हुन्थ्यो? सानो भाइ पढ्न पाउथेन, आमा अझै रोगी हुँदै जान्थिन्, तिमीलाई औषधि कसले किन्दिन्थ्यो?
हेर्नुस् त बा हाम्रो जिन्दगीले नि त कोल्टो फेर्यो, पृथ्बी साँच्चै गोलो रहेछ पालो आउँदो रहेछ।
अब हाम्रो पालो आयो, हामीले पेटभरी खाएर नयाँ कपडा लगाउनलाई सोच्न पर्दैन।
बा मैले बिहे तोडेको बेला, तिमी गरिब भएको बेला, अब छोरीले त गर्नु गरी है आँटिली छ नानी भन्दै फकाउन आउलान् दुई रूपैयाँ नि नचुहाउनु बा, मैले ज्यान घोटेर कमाको हो एक एक याद छ दु:खका दिन। यहाँ दिनदिनै कल गर्छन् ठूला बा आफ्नै छोरी पठाउन कस्तो हुन्छ अलिअलि पैसा देखाउन पर्दो रछ नानी भन्दै मसँग मागेझैं इसारा देका छन्। पैसा नै छैन आफ्नै छोरो सानो छ दाइ भन्दिनु होला।
आमा बिरामी हुँदा ४ हजार नपत्याउने ठूला बा तिनै हुन्, त्यो बेला आमाको मङ्गलसुत्र बेचेको याद छ नि बा।
कसैलाई दया गर्ने होइन रछ बा, छन् गेडी सबै मेरी हुन्, बरू ती फुपूका घर जानू, आफूसँग नभई नभै पनि मलाई पढ्नलाई लुकाएर पैसा दिने गर्थिन्।
उनका साना बाबु पढ्न गाह्रो छ भने सकेको गरेर पढाउन पर्छ, गुन बिर्सन हुन्न, पत्थरीको अपरेसन गर्न पाइन् कि पाइनन् नपाएको भए गर्न लैजानु तपाईंकी आफ्नै दिदी हुन्, म पठाउँछु खर्च!
अनि बा आएर बिहे पनि गर्ने हो तिमीलाई आनन्द हुन्छ, म राम्रो घरमा भित्रिएसी।
यति बुझेको छु मैले अनि थाहा छ मलाई, अब बिहे गर्दा धनी केटा होइन पढेको गरिब भए पनि हुन्छ तर लोभी अनि झूट बोल्ने र मेरा आफन्त र छिमेकीजस्तो नभए हुन्छ त्यस्तो खोज्नुस्।
अनि म आफैंले बिहे तोडेको कुरा सुरूमा भन्नुस् है झूटमा सम्बन्ध बढाउन छैन।
यो विदेश लैजान्छे भनेर जो नि देखाउन आउँछन् तिमीले जिन्दगी देखेको अनि भोगेको छौ त्यही अनुसार ज्वाइँ रोज्नु है बा। भोलि छोरो भन्न सुहाउन पर्यो। तिम्री छोरीले तिम्रो घर हेर्न पाउन पर्यो, बुहारीले माइती हेरेर हुन्न भन्ने घर हुनु भएन बस अनि बल्ल जिन्दगी जिन्दगी जस्तो लाग्छ बा।