कविता
मेरो देशमा के भैरहेछ
बाटा हरू कता गैरहेछ
म पहिल्याउन सक्दिनँ
म छुट्याउन सक्दिनँ
कल्पनाको सीमा भन्दा
मन एकातिर गैरहेछ
मानसिकता अर्को भैरहेछ
फगत ! सपनाहरू अधुरा रहिरहेछ
हामी सबै नेता बन्यौं
हामी सबै नेतृत्व बन्यौं
तर कसका लागि थाहा छैन
केका लागि थाहा छैन
मात्र हामी भन्ने गर्छौं
हामीले नेतृत्व दियौं
हामीले आकार दियौं
हामीले सपना दियौं
हामीले आशाहरू जगायौं
हो, तिमीले सबै दियौ
आफू बाहेक
सबैलाई नेतृत्व दियौ
सबैलाई आशाहरू जगायौ
सपनाहरू जगायौ
तर विपनाहरू धुमिल बनायौ
केवल,
अनुयायीहरूको अस्तित्व जोगाउन
तिमीले
नसुनेको केही छैन
नजानेको केही छैन
नचिनेको कोही छैन
नघुमेको ठाउँ छैन
नबुझेको परिवेश छैन
अनुभव नगरेको कुनै तप्का छैन
छन् त केबल....
सबैमा अल्पज्ञानको भ्रम
अनुशरणको कमी
सार्थकता दिने साहसको अभाव
मौखिकताको तिम्रो सर्वज्ञान
फगत! रङ्गमञ्चको मनोरञ्जन मात्र!
जब तिमी मासमा हुन्छौ
तब तिम्रो विज्ञता
धाराप्रवाह सुरू हुन्छ
तिमी
कतै रोकिन्नौ
कतै ठोकिन्नौ
रटानका शब्दजालहरू
कनिकठौरी बेप्रवाह बग्छन्
आफैं जान्ने, आफैं सुन्ने
सर्वज्ञान सम्पन्न!
सुन्दा लाग्छ
अहो! क्या गज्जब
त्यहाँ
न अरूको स्थान हुन्छ
न अरूको भावना हुन्छ
मनोभावले कता लान्छ
तिमी स्वयमलाई थाहा हुन्न
मात्र तिम्रो मनोविज्ञानमा रहन्छ ....
बस! रोकिनु भएन
कतै ठोकिनु भएन
जनता भुलाउन भुल्नु भएन
कहिले गाउँका कुरा
कहिले सहरका कुरा
कहिले हिमालका कुरा
कहिले पहाडका कुरा
कहिले तराईका कुरा
कहिले समृद्धिका कुरा
कहिल सम्पन्नताका कुरा
फगत! गफका कुरा....
देशमा सिंको भाँच्नु पर्दैन
दुई हातका पखेंटा फिजाउँदै
लज्जाबोधका अनुहार झल्काउँदै
देश
छिनमै कताकता पुग्छ
कहिले सिंगापुर पुग्छ
कहिले स्विट्जरल्याण्ड
कहिले अमेरिका पुग्छ
कहिले अस्ट्रेलिया, कहिले जापान
शब्दजालमा त विश्व ब्राह्मण्ड नै
हाम्रो सिकोमा लागे जस्तै लाग्छ...
सीमाहरू मिचिए
नक्साहरू फेरिए
श्रम बेचिए
श्रमजीविहरू हेपिए
तर
तिमी भन्दैछौ
हाम्रो भूगोल हामी सँगै छ
नक्सा त अरूको भ्रम हुन्
ग्रेटर नेपाल हाम्रो हो
कालापानी, लिपुलेक
दोधारा, चादनी हाम्रा हुन्
हामी फर्काउँछौं,
हामी आफ्नो अस्तित्व झल्काउँछौं
श्रम हाम्रो मूल्य हो,
श्रमिक हाम्रो समृद्धिको आधार हुन
हामी बेच्दैनौं
हामी हेप्दैनौं....
तर खै
तिमीलाई त बानी गफकै परेछ
भूगोल शब्दमा रह्यो,
नक्सा कागजमा भयो
समृद्धि सपनामा गयो
सम्पन्नता कल्पनामा भयो
श्रमले सम्मान गुमायो
श्रमिकले देश गुमायो
पौरखले अस्तित्व गुमायो
इतिहासले पहिचान गुमायो ...
तर
तिमीले केही गुमाएनौ
किनकी ठूला गफमा रम्नु
तिम्रो बानी भयो
भ्रमलाई साँचो बनाउनु तिम्रो
अर्को भ्रम भयो
साना कुरा गरेर किन खुम्चिनु
बोल्दैमा केही जाने होइन
खोक्नसम्म खोक
शब्दमा डकार्नु सम्म डकार
तिम्रो
कर्म नै यही हो
तिम्रो मर्म नै यही हो
यो भन्दा माथि तिमी जानै पर्दैन
जानै सक्दैनौ
जाने चाहना पनि गर्दैनौ
भाइरोलोजी तिम्रो चाहना हो
एक दुई मिडिया बोकी
खोकी हिँड्नु तिम्रो बहाना हो
फगत झुटो खेती जो छ....
तिमी आफैंलाई बिर्सन्छौ
तिमी आफैंलाई गुमाउँछौ
तिमी आफैंलाई लुकाउँछौ
तर बोल्न बिर्संदैनौ
शब्द भुल्दैनौ
नेतापनमा रम्न छुट्दैनौ
यति बोल्छौ कि
दुईचार जना अनुयायीहरू लट्ठ बन्छन्
तर
तिमीलाई थाहा छ
जनता के भन्छन्?
भुलमा भुल्ने
अफवाहमा झुल्ने
हासी मजाकमा मस्त खुल्ने
तर वास्तविकता शून्यतामा
त्यो तिमी हौ......
तिमी
अपराध गर्दैनौ
तिमी लोभमा पर्दैनौ
अपराध तिम्रो चाह होइन
अपराधपन तिम्रो वाह होइन
गरिहालेछौ भने
तिम्लाई लुकाइन्छ
निर्दोषको आवाज फुकाइन्छ
आफ्नो शिर ठाडो
अरूको झुकाईन्छ
अनि थाहा छ?
पुलिसकै अघि फरार कहलाइन्छ
छद्मभेषमा सलाम चाहिँ खुवाइन्छ
अपराध तिम्रो हो
तर
सेटिङ मिलाइन्छ
प्रमाण लुकाइन्छ
यी सबैको लागि
फरार करार गरी गरी समय मिलाइन्छ
तिम्रो अपराध नक्कली हुन्छ
तिम्रो गिरफ्तार नक्कली हुन्छ
सक्कली त
तिमी जे बोल्छौ त्यही मात्र हुन्छ
गरिबलाई बोक्न भ्यान
तिमीलाई बोक्न कार
गरिबलाई जेलको चिसो भुइँ
तिमीलाई भिआइपी सैयन
गरिबलाई हुन्छ दाल र भात
तिमीलाई चौरासी व्यंजन
गरिब त्यतै सड्छन्
तिमीलाई
दुई दिने मुद्दाको जाल
बचाउमा वकिल फालाफाल
न्याय भाँड्ने तिमी
नगद बाँड्ने तिमी
अन्तमा
निर्दोष करार हुने तिमी
अदालतको क्लिन चिट
कार्पेटको सजावटमा
फुलको स्वागत तिमीलाई
वाह!
तिमी फेरि गफ दिन थाल्छौ
मलाई फसाइयो
म अपराध गर्दै गर्दिनँ
त्यसमा पर्दै पर्दिनँ
म सङ्लो पानीको रूप हुँ
जो कञ्चन छ, निश्चल छ
हेर त
झूटले तिमीलाई
अझै झूट बोल्ने बनायो
सुधार तिम्रो बहसमा रहेन...
हो
तिमी
यस्तै थियौ
यस्तै छौ,
सधैं यस्तै रहन्छौ
र त जनता भन्छन्
फगत! गफका कुरा
हामी यस्तै त हो नि ब्रो....