प्रिय छोरा दिवस बाबु,
धेरै धेरै माया अनि आशीर्वाद।
मलाई यहाँ सञ्चै छ। तिमीहरू सबैलाई सञ्चै होस् भनी भगवानसँग प्रार्थना गरेको छु। दिवस लेख्नु त धेरै छ तिमीभन्दा टाढा रहेको बुवाको कथा व्यथा। तर के कति लेख्न सक्छु थाहा छैन। कति कुरा त म व्यक्त गर्न नसकूँला पनि तर मलाई थाहा छ, बुवाले के भन्न खोजेको भन्ने तिमीले बुझ्नेछौ।
बाबु तिमी तीन वर्षको नपुग्दैदेखि म घरको हालतले काम खोज्दै यो परदेशमा भित्रन बाध्य भएँ।
पछिल्लो पटक घर आएको पनि तीन वर्ष भएछ। बाबुलाई थाहा छ त्यस बेला म घोडा बनेर बाबु ढाडमा चढेर रमाएको। आहा अब म आउँदा त्यसै गर्नु पर्छ ल बाबु। कहिले त लाग्छ शायद म कस्तो छु भन्ने पहिचान पनि तिमीबाट लुकेको भान हुन्छ, किनभने बाबु छोराको घुलमिल छैन सँगसँगै बसाइ छैन। तर पनि बाबु तिम्रो आगमनको खुसीमा देखेका सपना पूरा गर्नु छ।
तिमीलाई कति धेरै पढाउनु छ। माथिको काइँला दाइको छोरो महेश भन्दा पनि धेरै। मलाई थाहा छ मेरो बाबु असाध्यै ज्ञानी छ, असल छ अनि पढ्छ भन्ने। बाबु पढाइ साथसाथै तिमी कविता विधामा पनि अब्बल हुँदैछौ भन्ने सुन्दा गर्वले छाती फुल्छ।
थाहा छ बाबु अस्ति मैले तल्ला घरको तिम्रो साथी मदनको दाइलाई भेटेको थिएँ। तिमी जिल्लास्तरीय कविता प्रतियोगितामा प्रथम भयौ भनेर कस्तो प्रशंसा गरेको। अनि थाहा छ बाबु त्यो दिन म तिम्रै सपनामा हराउँदै निदाएछु। उठ्दा लाग्यो, हो यही त हो मैले चाहेको भनेर आफैं गदगद भएँ। यस्तो हुँदा अझ मेहनत गर्न मन लाग्छ बाबुको लागि।
बाबु गैरी खेतमा तिमी खसी बाख्रा चराउन लान्छौ रे। आमाले भन्दै थिइन् खाली त्यो कुनाको मक्किए उत्तिसको रूखमा चढेर बस्छौ रे। बाबु त्यो रूख म त्यहाँ हुँदा काट्छु भनेको केले हो भ्याइनँ र काट्न बिर्सिएछु। त्यो रूख बूढो भैसक्यो। पिर लाग्छ, बाबु अब नचढ्नु ल। गैरी खेत जाँदा सानी आमाकोमा पनि निस्कनु बाबु। सानी आमालाई म आएको छु है सानिमा भन्नु अनि सानिमाले तिम्रो पनि ख्याल गर्छिन् खाजा दिन्छिन्। भोकै बाख्रा चरायौ भने मेरो चित्त कत्ति पनि बुझ्दैन है बाबु।
तिमीलाई किताब कपीको खाँचो छ भने केदार काकाको बाट लिनु म कुरा गरिदिन्छु। अनि पछि म हिसाब मिलाउँला। ट्युसन नछोड्नु हिमाल सरको घरै गएर भए पनि पढ्नू। तिमीलाई केही खान मन लाग्छ भने सुनिता दिदीको पसलबाट खानू। तर कहिलेकाहीँ मात्र खानु नि ल बाबु तिमीलाई जंक फुडको असर था छ नि हैन?
अनि बाबु आमाले भनेको सधैं टेर्नू। आमासँग धेरै झगडा नगर्नू ल। आमाले अरूका बाबुहरूले साइकल चढ्छन् हाम्रो बाबुको छैन खाली अरूले कुदाएको हेरेर बस्छ भन्दै थिइन्। त्यसैले बाबु मैले साइकल किन्न पुग्ने पैसा जम्मा गरेको छु। महेश चिन्छौ नि? तिम्रो साथी कविताको बुवा अर्को महिना गाउँ जाने रै छ काठमाडौंबाट त्यति साइकल लगी देन भनेको आफ्नै सामान धेरै छ भन्यो नभए म बाबुलाई साइकल पठाइदिन्थें।
अब म अर्को वर्ष आउँदा मेरो बाबुलाई साइकल लिएर आउँछु ल।
यो सुनेर बाबु तिमी कति खुसी भयौ होला म कल्पिँदै छु।
बाबु पर घर हजुर आमाको गइरहन्छौ रे खुसी लाग्छ। हजुर आमाको ध्यान दिनू। अनि नि हजुर आमाको सन्दुकबाट के-के लगी रहन्छ दिवसले भनेर हजुर आमाले भन्दै हुनु हुन्थ्यो। अरू लगे पनि पुराना पैसा नलगोस् है तेरो छोराले भनेर ठट्टा गर्दै हुनुहुन्थ्यो। ती पुराना पैसाको सहरतिर महत्त्व हुन्छ रे बाबु नचलाउनु ल सन्दुक खोल्दा। अनि क्या बाबु ओखलढुंगा सदरमुकाम एक्लै भए पनि जान्छौ रे त्यसो नगर्नू साथीसँग कि आमासँगमात्र जानू। त्यहाँ गएर गैरी गाउँ मावली पनि निस्कनु। पहिला त मावलमा लटरम्म सुन्तला फलेका हुन्थे अहिले के छ कुन्नी नभए मामाले जेजे दिनु हुन्छ टन्न खानु अनि बोक्न सक्ने जति आमा र हजुर आमालाई पनि लगी दिनू ल बाबु।
यता मेरो केही पिर नगर्नु मेरो काम पहिलाको भन्दा राम्रो छ। तलब पनि बढिरहन्छ। त्यहाँ समिर बडाबाकोबाट लिएको पाँच लाख ऋण तिर्न पुग्ने पैसा जम्मा गर्दैछु बाबु। त्यति भएपछि त के चाहियो बाबु। सोची रहेछु त्यति पैसा जम्मा गरेँ भने अब गाउँ नै फर्किन्छु।
अनि तिमी म सँगसँगै हुन्छौ। बाबा छोरा खुब रमाइलो गर्नु पर्छ ल। म आएपछि तल्लो बारीमा किवी खेती गर्नु पर्छ ल। मैले सुनेको तिमीलाई खुब मन पर्छ रे। अनि आफ्नै बारीको किवी खान्छ मेरो बाबुले।
बाबु अझै लेख्न मन थियो उतासँगै बस्ने साथीले खाना खान बोलाइसक्यो। म अब चिठी टुङ्ग्याउँछु। मेरो मुटुको टुक्रालाई, मेरो खुसी, मेरो जीवन, मेरो सबै थोक दिवस बाबुलाई बुबाको करोडौं अरबौं अनि खर्बौं माया र सम्झना।
उही तिमीलाई माया गर्ने परदेशी बुबा
प्रवीण कटवाल