कविता
मलाई बिहे देखि आपत्ति छ
बिहे गरेको दिन देखि जन्मेको
आफ्नो बाल्यकाल बिताएको
वर्षौ लगाएर जोडिएका जन्मभूमिका
हरेक कुना, काप्चा र आफ्ना प्रिय मान्छेहरूसँग
जोडिएका वर्षौका यी मीठा मीठा यादहरूलाई समेट्दै बीच बाटोदेखि नै टाढा जानुपर्ने रे
मलाई आपत्ति छ अझ हाम्रो मस्तिष्कमा
हाम्रो समाजमा जीवित रहेको यो पित्तृसत्तात्मक सोच र व्यवहार सँग
जहाँ बिहे भएपछि छोरी नै छोराको घरमा
आफूले जीवनका महत्त्वपूर्ण याद बनाएको
वर्षौं लगाएर सजाएको, बनाएको
प्रिय जन्म घर छोडेर
सदाका लागि नयाँ घर जानु पर्ने रे
बिरानो ठाउँ, अन्जान मान्छेहरूलाई नै आफ्नो बनाउनुपर्ने रे
नाम, थर सँगै गोत्र पनि फेरिने रे ..?
नयाँ हुनु पर्ने रे,
नाम, थर सँगै गोत्र फेरिएपछि
छोरी त जन्म दिने आमा बाबाकी पनि पराईकी अमानत हुनुपर्ने रे
मलाई आपत्ति छ अझै पनि छोरीहरूले नै आफूले दु:ख सहेर भए पनि
सदा परिवारलाई हँसाउनुपर्ने रे
आफ्नो सपना, रहर सबै बन्धकी राखेर भए पनि सदा परिवारलाई बनाएर राख्नु पर्ने रे
कहिले छोरी, बुहारी तिमी खुसी त छौ
सन्चै त छौं, खाना त खायौ भनेर विरलै सोध्ने परिवारको लागि रात दिन आफ्नो सम्झी खटिई नै रहनुपर्ने रे
आफू माथि जति नै नराम्रो व्यवहार भए पनि
थोरै सहेर खुसी बाँड्नु पर्ने रे
त्याग र सहनशिलताकी प्रतिमूर्ति बनेर छोरीले नै घर र माइतीको नाम जोगाइराख्नुपर्ने रे