मैले अलि अगाडि एउटा कार्यक्रम हेरेकि थिएँ, विद्या चापागाईंको हेर्ने कथा (साइनोको कथा) भाग - ८१।
मलाई असाध्यै मन छोयो। अनि मैले मेरो सानुलाई पनि उक्त कार्यक्रम हेर्न आग्रह गरें। उनले तुरून्तै भनिन्, ‘तिम्रो त हिम्मत पनि छैन पब्लिक गर्ने’ भन्दै अन्य दुई केटीकेटीको माया र उनीहरूको खुसीले भरिएको भिडिओ समेत मलाई पठाइन् तर यही समाजको खोक्रो इज्जत सम्झेर मौन बसें।
एकछिनमा भने थोरै समयसम्म माग्ने आँट गरें उनीसँग तर उनले मेरो विश्वास गरिनन्।
मैले गर्ने माया र विश्वासमा एकरति कमी थिएन तर उनलाई त्योभन्दा पनि हाम्रो सम्बन्धको सामाजिकीकरण चाहिएको थियो।
मेरो बुझाइ यसमा थोरै फरक थियो।
जतिसुकै कागजपत्र र समाज जुटाए पनि विश्वास टुटेका दिन त्यो सम्बन्धको औचित्य हुँदैन, कागजले जोडेको सम्बन्धलाई कागजले नै तोड्न सक्छ तर यदि विश्वास छ भने कुनै पनि कागजपत्र र समाजलाई उक्त सम्बन्ध तोड्ने तागत नै हुँदैन।
तर मैले उनलाई यही कुरा सम्झाउन नसक्दा हाम्रो सम्बन्ध नै कमजोर बन्यो, त्यही कमजोरीका बखत उनले अन्य पार्टनर रोजिन्, उनी जीवनमा अगाडि नै बढिसकिन् रे!
मेरो खुसी खोसेर उनले नयाँ खुसी खोजिन् रे!!
मैले पुन: दोहोर्याएँ हामी दुबैको जीवनमा पुरूष पात्र नआएको होइन र यहाँ पुरूष पात्रलाई घृणा पनि गरिएको छैन।
समय परिवर्तनशील छ, कहाँबाट कहाँ पुगिसक्यो तर हाम्रो सोच जहाँको तहीँ छ।
एउटी महिलाले आफ्नो पुरूष पार्टनरको वियोगमा जिन्दगी बिताउँदा उसलाई दया गरिन्छ, बिचरा भनिन्छ अनि उसले आफ्नो लागि नयाँ साथी खोज्दा त्यहाँ चरित्रको कुरा आउँछ।
चरित्र पुरूषको चाहिँ हुदैन? कि ऊ चाहिँ सधैं चोखो हुन्छ?
एउटासँग सम्बन्धमा हुँदाहुँदै अर्को सम्बन्ध राखिन्छ भने त्यसलाई अनैतिक सम्बन्धको नाम दिइन्छ तर आफ्नो साथी (श्रीमान, प्रेमी) सँग कुनै पनि कारणले पुन: रूपमा अलग भएको अवस्थामा ऊ एक्लै बस्नुपर्छ, सधैं दु:ख नै पाउनुपर्छ र हामीले सधैं विचरा भन्न पाउनुपर्छ भन्ने सोचलाई नै धिक्कार छ।
बाँच्ने र हाँस्ने अधिकार खोस्ने हाम्रो समाज, बाँच्न देऊ\ हाँस्न देऊ\ आफ्नो गरेर खान देऊ\ खुसी भएर बाँच्न देऊ।
पहिले बिहे भनेको सेटलमेन्ट भनेर बुझिन्थ्यो, आफूलाई जीवनभर सुखले पाल्न सक्ने केटो खोजेर बिहे गरेर सेटल हुने रे, सबैका इन्द्रीय बराबर छन्, बेकारमा आत्मसम्मानको नाममा दैनिकी भैरहेका सम्बन्ध बिच्छेदभन्दा मलाई मेरो स्वाभिमान नै प्यारो छ, आफैंले आफैंलाई मात्र हैन २/४ जनालाई पाल्न सक्ने खुबी छ हामीमा।
हामीलाई कोटा (महिला कोटा) होइन अवसरको जरूरत छ किनकि हामीलाई कमजोर सोच्ने दिमागले सक्षम देख्नुपर्छ सक्षमताका लागि निरन्तरको मेहनत र लगन जरूरी छ, घर बसाउन होइन, आफैंले बनाउन अघि बढौं, अनि मात्र हाम्रो इज्जत सदैव हुनेछ।
समाज विस्तारै परिवर्तन हुँदैछ अब पालो हाम्रो सोचको हो।
समस्या नियम वा निकायको होइन हाम्रो सोचको हो जसलाई फराकिलो पार्न जरूरी छ। संसारमा सबभन्दा महत्वपूर्ण कुरा भनेको खुसी र सन्तुष्टि नै हो।
मलाई चियाको सुर्कीसँग जति सन्तुष्टि अरू कहीँ मिल्दैन, अर्कोको सन्तुष्टि फरक हुन सक्छ अनि मलाई मेरा मान्छे मुस्कुराउँदा जति खुसी अन्त कतै मिल्दैन तर अर्कोलाई फरक हुन सक्छ तसर्थ किताबको बाहिरी गाता हेरेर मूल्याङ्कन गर्नुभन्दा भित्र नै पढेर, बुझेर र सोचेर केही बोल्दा चित्तबुझ्दो निचोड निस्किन्छ कि?
अब कुरा गरौ हाम्रो सम्बन्धको।
हाम्रो मायाको बयान मैले अघिल्लो अंशमा गरिसकेकी छु साथै मैले यस सम्बन्धलाई सामाजिक गर्न नसक्दा उनी असन्तुष्ट भएको सम्मको कुरा बोलिसकेकी छु।
मैले बोलाएकी पनि थिइनँ उनलाई आफैं आइन् र पठाएकी पनि थिइनँ उनलाई आफैं गइन्।
मेरो कुनै प्रश्नको उत्तर छैन रे, उनीसँग। अब मैले के गर्नु? उनको खुसीमा रमाउनु कि आफ्नो पीडामा दुखी हुनु, उनको यो धोका जीवनभर याद रहने छ।
सेक्स भनेको डिजायर हो, जुन आफ्नै हातमा हुन्छ कन्ट्रोल गर्ने कि पूरा? तर माया,
यो त हायय..... फिलिङ्स हो फिलिङ्स।
कन्ट्रोल नै हुँदैन, फ्लोमा बगिरहन्छ र सँगै बस्दै गएपछि त झन् दिनप्रतिदिन बढ्दै जान्छ तर पनि, आखिर केटा मान्छेलाई गर्न नसकेको विश्वास उनलाई गर्दा पनि त सम्बन्ध फेरि टुट्न पुग्यो, हाम्रो साथ छुट्न पुग्यो। जहाँ विश्वासघात पनि त्यहीँ हुने रहेछ।
जीवनमा ठूलो शिक्षा पाउनको लागि ठूलै चिज गुमाउन पर्दो रहेछ। माया गरेको मान्छे हौ तिमी, तिमीलाई सजाय दिँदा मलाई नै दुख्छ, जाउ मेरो जीवनबाट। तर सधैं खुसी हुनु भनि हाँसीहाँसी छोडिदिएँ किनकि एउटा केटी मान्छे भएर आफ्नो यथार्थभन्दा माथि उठेर गरेको माया!
त्यति कमजोर त कहाँ थियो र?
आत्मकथाभन्दा ठूलो कथा र स्वाभिमानभन्दा ठूलो मान अरू केही नहुँदो रहेछ संसारमा।
पाउनु मात्र होइन रहेछ माया, आफूले माया गरेको मान्छेको खुसी नै महत्वपूर्ण हुँदो रहेछ।
मेरो खुसी पनि दाइजो तिमीलाई, बिताऊ जीवन हाँसेर।
मैले पटकपटक भनेकी छु, यो लिंगको होइन मायाको कथा हो, माया र विश्वासको कथा!
माया मनबाट गरिन्छ, दिमागको त यहाँ काम नै छैन। घाटा नाफा हेर्ने र दिमाग चलाउने काम त मेरी सानुले गरेकै छन् त। तिम्रो समलिंगी माया, तिमीलाई नै उपहार भयो।
केटी-केटीले मात्र सृष्टि चल्दैन, सृष्टि चलाउन महिला पुरूष दुवै चाहिन्छ तर माया गर्नको लागि लिंगले रोक्दैन यसमा दुई मत छैन।
माया अजम्बरी हुन्छ, सास टुट्नुपर्छ माया मर्नको लागि, माया गरौं तर माया गरेर विश्वास जितेपछि धोका नदिऔं, धोकाले अवश्य पोल्छ आज या भोलिमात्र हो।
यो पनि:
नामबिनाको हाम्रो सम्बन्ध!