कविता
बिग्रिएका सिस्टमहरू कसरी मिल्छन् होला?
एक सरकारी कर्मचारीले सर्वसाधारणलाई टेर्दैन।
जन्मदर्ताको प्रमाणपत्र लिन गएको भक्ते दाइ
दिनभरि घरको काम थाती राख्छ,
वडा सचिवको घरमा पास्नी छ।
उहाँ अफिसमा भेटिनु हुन्न।
बिउ लिन कृषि शाखा जाऊँ-घन्टौं कुर्नुपर्छ।
कसलाई जवाफ माग्ने -हाकिम साप नै बिदा बस्नुहुन्छ।
गुनासो पेटिकाका सर्वसाधारणका पीडाहरू
धमिराले खाइसके होलान्।
सुनुवाइ कहिल्यै हुँदैन।
ऊ लोकसेवा पास हो।
मज्जाले हप्काएर बोल्छ काम गर्दिनु भन्दा
कमिसनको चक्कर लगाउनु पर्छ
प्रक्रियामा जाऊँ झन्झट छ।
सुरूमै कर्मचारी रिझाउन नमस्कार गर्नुपर्छ।
किन कि ऊ त देशको सरकारी कर्मचारी हो।
नेताहरूलाई गाली गर्ने ठिक्क भएको बेला
कर्मचारीतन्त्र कति भ्रष्ट कसले बोल्न सक्यो।
बैंक गएको मान्छे घन्टौं लाइन लाग्छ।
छिटो राहदानी बनाउँदा त अधिकृतकै पावर चाहिन्छ।
गलत को ?
सर्वसाधारण कि कर्मचारी?
बाध्यताको फाइदा लुट्ने कर्मचारीहरू लाई
तिनका महालेखाले त्यो हिसाब- किताब गर्दैन होला!