कविता
कतै हराएको छ, कतै रूमल्लिएको छ
मेरो देशको अस्तित्व,
देशको सुन्दर मुहार कुरूप हुँदै गएको छ
भ्रष्टाचाररूपी दागहरूले,
आज देशको ललाट, हस्तहरू फोहोर भएका छन्,
पदलाई सर्वोपरि मानेर, झूटो आश्वासनका
हिलो छ्याप्नेहरूका औचित्यविहीन कर्महरूले,
हो त्यै सुन्दर देहरूपी देशको
अस्तित्वको खोजीमा छु
जहाँ कतै कुकर्मका दागहरू नहोस्
स्वच्छ मुहारले ओतप्रोत होस मेरो देश
मेरो देश विवशताले मात्र खुसी छ।
त्यो खुसी भित्र मौलिकता छैन
फगत छिमेकीको खुसीको लागि
कृत्रिम हाँसो सजाउनु परेको छ
त्यसैले त मेरो जननी दुखी छ
अरू कसैको खुसीको लागि
आफ्नो खुसी गुमाउनुपरेको छ
अस्तित्व बेच्नुपरेको छ।
सरकार!
हिजो तिमीले घरका सम्पदा बेच्यौ,
घरका खोलानाला अनि अनमोल रत्नहरू पनि
आज घरकै सन्तान बेच्दै छौ अनागरिक बनाएर,
भोलि त घर नि बेच्छौ होला है?
तिमी प्रेम, भाव र भक्तिविहीन अभिभावक
हो आज त्यै बेचिएको अस्तित्व खोजी रहेकी छु।
तिमीले घरको शासन चलाउन
अंगीकार गरेका विभिन्न वादहरू
फगत भ्रमका शब्दहरू,
ती त भित्तामा टाँसिएका छन्
विधानमा कोरिएका छ्न्
ती वादहरू भ्रम भएरै होलान्
एउटा निर्दोशले अन्नको अभाव भएर
अकालमै देह तिलाञ्जली दिएका छन्
हो त्यै तिम्रो समाजवादको अस्तित्व खोजिरहेको छु।
सरकार!
तिमी आफ्नै घर भएर पनि
अरूका घरमा, विमानस्थललाई
सहारा बनाएर सन्तान बेच्छौ
अर्काको घरका अपरिचित मानवले
तिम्रा सन्तानलाई त्यो खाडीको तातो हावामा
सीमातित दमन गर्दा हुन् है,
घरकै पाखा, पखेरो, वनजंगल अनि
कारखानामा छहारी दिन सकेनौ नि
तिमीले देशका बिम्ब अनि आधारहरू बेच्यौ।
त्यसैले म देशको अस्तित्व खोजिरहेछु।
घरको ढुकुटी रितिएको छ
घरका सन्तान जिउँदै जलेर परलोक गएका छन्
सन्तानले अकालमा देह त्याग गर्दा
तिमी टुलुटुलु हेरेर बस्ने
कस्तो स्वार्थी अभिभावक है
अस्ताएको भास्कर त फेरि उदाउँछ
तर बेचिएको मेरो देशको रत्न फेरि फर्कंदैन
फर्किंदो रहेछ भने पनि ठेगान छैन
आज म देश अस्तित्व भएर पनि
कतै हाराएको, कतै बेचिएको अस्तित्व खोजिरहेको छु।