कविता
दुख्यो भनेर भन्न नसकिने
रूँदा आँसु देखाउन नसकिने
छटपटीमा फुस्रो अनुहार बनाएर
मुस्कान हराएको मान्छे हुन नसकिने
यस्तै हुँदो रहेछ
व्यवहारले थिचिए पछि।
आफ्नो भन्दा परिवारका कयौं सपनाहरू अङ्गाल्दै
आफ्नो सपनाहरू लाई किनारा लगाउँदै।
रहरहरू कुण्ठित आँसुसँगै बगाउँदै
हुत्तिएर बाढीमा किनारा पुगेको
काठको मुढा जस्तो
यता उता सबै तिर ठक्कर खाँदै
चोट सहने बनी परेर हो कि
चोट नै नपुगेर हो
मरेको मासु जस्तो
चेतना शून्य
खोइ किन यस्तो हुन्छ
शायद व्यवहारको गह्रौं भारी
मनको पिठ्यूँमा राखेर
बाध्यताको नाम्लो शिरमा राख्दै
थोत्रा पुराना रहरहरूको टालोले पसिना पुछ्दै
तिम्रो उसको उनको उहाँको हजुरको
रहरहरू पूरा गर्न यात्रा गर्दैछ।
शायद उसको रहर अगाडि ठूलो व्यवहारिक पहाड छ।
अरू रून्छन् ऊ सम्झाउँछ
ऊ पनि रून्छ तर मुस्कान देखाउँछ
अरू चिन्ता गर्छन् भोलिको लागि
ऊ आजको चिन्तनमा लिप्त छ।
उसलाई भोलि भन्दा आजको डर छ।
आज भए भोलि त होला भन्ने छ।
सानो झिनो आशा मनमा राखेर
ठूला ठूला सपनाहरू देख्दै
पूरा गर्ने वाचा गर्दै
विपनामा यसरी कुदेको छ कि
जसरी पिठ्यूँमा ग्यासको सिलिन्डर
औषधीका कार्टुन
चामलका बोरा
मलका धोक्रो बोक्दै
उता हिमाल तिर याक कुदेका छन्।
घोडा कुदेका छन्
गधा कुदेका छन्।
ऊ चुपचाप बस्छ, मन दौडिन्छ
मन स्थिर बस्छ, नियन्त्रित भएर
ऊ दौडिन्छ बेपत्ता सँग
थाहा छैन कहाँ जाँदैछ
के का लागि जाँदैछ
किन जाँदैछ
कसरी जाँदैछ
तर पनि यात्रा गर्दैछ
परिवारको ओठमा हाँसो
श्रीमतीको रहर पूरा गर्न
आफ्ना रहरहरू किनारा लगाउँदै
ऊ आफूलाई बिर्सिंदै
भविष्य सम्झिराको छ।
तँ भइनस् भने हाम्रो के हुन्छ?
आमाको त्यो वचन मनमा राखेर
तैंले सहयोग गर्नु पर्छ
दिदी बहिनीको आशा शिरोधार्य गर्दै
तिमीले नगरेर हुन्छ भन्ने
सबैको इच्छा अङ्गालेर
आफ्नो मनलाई सम्हाल्दै
ऊ सोच्दैछ
म, म बाहेक सबैको लागि हुन सकूँ
सबैलाई खुसी राख्न सकूँ
सपना पूरा गर्न सकूँ
रहर लाई वास्तविकता बनाउन सकूँ
त्यति भए पुग्छ
किनकी म म मात्र होइन
म सँग जोडिएका धेरै कुरा रहेछन्
त्यो सबै त मैले मिलाउनु छ।
उसलाई लाग्छ
म दुखेर कसलाई दुख्छ?
देखाउन नमिलेको घाउ कसले देख्छ?
लुकाएर मन भित्र लगातर यसरी नै
के भैसक्यो होला मन मेरो
तर पनि प्रतिरोधी क्षमता धेरै हो कि
अरू केही छ
म उस्तै छु, ढुंगा छु
देख्दा ढुंगा मन त नौनी नै त छ नि।
उसको मुस्कान भित्र कयौं पीडा छन्
उसको कुदाइ भित्र हजारौं दायित्व छन्
उसको एउटा ज्यानमा
लाखौं सपनाहरू,
करोडौं रहरहरू छन्
ऊ ऊ मात्र होइन घर हो
खुसी हो, रमाइलो हो।
कसैको लागि सुनौलो बिहान हो
अँध्यारोमा उज्यालो प्रकाश छर्ने
बत्ती हो।