हामी बिहानै गहुँको डाटा लिन फिल्डमा गएका थियौं।
चैते धानबाहेक अरू रिसर्च प्लटहरूमा गहुँ लगाइएको थियो। भ्रमरपुर फर्ममा काम दुई सिफ्टमा हुने गर्थ्यो।
मध्याह्न १२ बजेदेखि २ बजेसम्म ब्रेक हुन्थ्यो। फिल्डको काम हुँदा म बिहानै इन्टर्न अफिस पुग्ने गर्थें, अरू दिन १० बजे पुग्ने गर्थें।
कम्प्युटरमा डाटा इन्ट्रीको क्रममा शिखाले भनिन्, 'यो पेजसम्म मात्र आज इन्ट्री गरौं है, शौरभ!'
यतिकैमा शिखाको फोन बज्यो।
'हजुर सर, दश मिनेटमा हामी फिल्ड पुग्छौं,' यति भन्दै शिखाले फोन राखिन्।
पिएचडी अध्ययन अन्तर्गत विभिन्न ठाउँमा अनुसन्धान गर्नुपर्ने भएकोले सुरेन्द्र सरले गहुँको ट्रायल भ्रमरपुर धान फार्ममा लगाउनु भएको थियो। सर आफ्नो ट्रायल निरीक्षणको लागि विराटनगरबाट आउनु भएको थियो।
'शिखा, म आज फिल्ड जान्नँ, नगरपालिकाको कार्यालयमा काम छ। तिमी टेम्प्रेचर गनले गहुँको केनोपी तापक्रम नाप्नु, धेरै समय लाग्दैन', यति भन्दै म निस्किन लागें।
'शौरभ, तिमी फिल्ड गएनौ भने म त एक्लै फिल्ड जान्नँ। प्लिज तिमी नि हिँड न है'
शिखाले यति भन्दै गर्दा अलि चिन्तित देखिन्थिन्।
एकछिनको मौनतापछि मैले जवाफ फर्काएँ, 'हुन्छ जाम् तर तापक्रमको डाटा लिई सकेपछि म फर्किन्छु है।'
शिखाले अफिसको ढोकामा ताल्चा लगाउँदै गर्दा म रजिस्टर समाती अगाडि बढें।
शिखाको इन्टर्नसीपको अन्तिम हप्ता थियो। उनी एमिटी युनिभर्सिटीमा कृषि स्नातकमै अध्ययनरत थिइन्। हामी विषयगत कुराकानी गर्दै हिँडिरह्यौं। फिल्ड पुग्दा त्यहाँ सुरेन्द्र सर कामदारहरूको सहयोगले गहुँको डाटा लिन व्यस्त देखिनु हुन्थ्यो। शिखाले तापक्रमको डाटा लिन सुरू गरिन् र मैले रजिस्टरमा टिप्दै गएँ।
करिब आधी प्लटहरूको डाटा लिई सकेपछि मैले एउटा कामदारलाई रजिस्टर दिएर निस्किने तरखर गरिरहेको थिएँ।
'किन यति हतार हो, गर्लफ्रेन्डसँग डेटिङमा जाँदै हो?' शिखाले जिस्किँदै भनिन्।
काम गर्नेहरू हाँस्न थाले, मैले ठट्यौली पारामा भनें, 'गर्लफ्रेन्ड छैन। भए पनि कलेज रामपुरमा अनि गर्लफ्रेन्ड जनकपुरमा हुन सक्छ र?'
सुरेन्द्र सर पर अलिक तनाव ग्रस्त देखिनु हुन्थ्यो।
मैले एउटा कामदारलाई सोधें, 'सर आज हामीसँग बोल्न किन हिच्किचाउनु भएको छ त?'
मेरो कान नजिक आएर मधुरो स्वरमा उसले भन्यो, 'अभी नै बोलु उ बात सब, अहाँ के साथी शिखा नै कथु कहलकरु काइल दिन भैर सरसँगे रहे मेडमजी, नास्ता सँगे खैलैक, आई भोरके काण्डबारे बाधमे बतिआइब।'
सुरेन्द्र सर हामीलाई कुरा गरेको देखेर बोलाउनु भयो, 'ल ल यता आउनुस् म गहुँले खडेरी सहन सक्ने अनुवांशिक गुणबारे बताई दिन्छु।'
म सर नजिक गए तर शिखा डाटा लिँदै गर्दा अलि असहज अनुभव गरिरहेकी देखिन्थिन्।
'सौरभ, म पनि अब एकछिन पछि घर जान्छु, मलाई नि सन्चो छैन, रिङ्गटा लाग्ला जस्तो भएको छ।'
शिखाले यति भन्दै गोजीबाट फोन निकाली आफ्नो भाइलाई कल गरिन्, फोन उठेन।
मैले भनें, 'अप्ठ्यारो भएको छ भने हिन् मसँगै, शिवचोकसम्म म बाइकमा पुर्याइदिन्छु अनि म नगरपालिका अफिसतिर लाग्छु।'
'हैन हैन पर्दैन, सौरभ, भाइ लिन आउँछ।'
यतिकैमा उनको भाइको कल आयो, कुरा गर्न व्यस्त भइन्।
म सर नजिक पुगे।
सरले मलाई भन्नुभयो, 'आज डाटा लिने काम सम्पन्न भयो, म आजै बेलुका नै विराटनगर निस्किन्छु। गहुँबारे केही सोधपुछ गर्नु परे मलाई मेल गर्नुहोला।'
शिखा फोनमा कुरा गरिसकेपछि हामी नजिक आइन्, नजर रजिस्टरतिरै, अलि आत्तिएकी उता सरको कान रातो, निधारबाट खलखल पसिना चुइरहेको थियो।
'भाइ २० मिनेटमा आइपुग्छ। तिमीलाई ढिलो भएको छ भने तिमी जाँदै गर, डाटा इन्ट्री भोलि गरौंला है?'
मलाई अवस्था बुझ्न गारो भयो अलि उत्सुक नि भए तर त्यहाँ अडिन अनुचित लाग्यो, हिँडें।
अर्को दिन अफिस आउँदा म आफ्नो काम गरी साँझ फर्कें। २/३ दिन यसरी नै बित्यो, शिखा अफिस आइनन्। अर्को दिन म आफ्नो रिसर्च प्रोपोजल बनाउनमा व्यस्त हुँदै गर्दा शिखा त्यो दिन २ घण्टा ढिलो अफिस आइपुगिन्।
'ल ल छिटो छिटो डाटा इन्ट्री गरम् सौरभ, अर्को हप्ता मेरो फ्लाइट छ।'
मैले केही नसोधी रजिस्टर पल्टाउन थालें।
'अफिसमा कसैले मेरो बारेमा केही सोध्यो सौरभ?'
मैले ठट्यौली पारामा जवाफ दिएँ।
'अँ सोधे नि मैले आफूलाई, शिखा यति दिन किन अफिस आइनन् होला?'
'ह्या मजाक नगर, खुरूखुरू डाटा भन्दै जाऊ, म एक्सेलमा इन्ट्री गर्छु।' शिखा चिन्तित देखिन्थिन्।
हामीले काम सकेपछि मैले रजिस्टर बन्द गर्दै भनें, 'चेक गर्न पर्दैन होला, दुई जाना मिलेर इन्ट्री गरेको भएर।'
शिखाले भनिन्, 'म रिस्क लिन्नँ, तिमीलाई थाहा नै छ! १० को फरकमा डाटा भन्दै जाऊमा म हेर्दै जान्छु मिल्यो कि नाइँ।'
दिउँसोको खाजाको समयमा हामी अनेकौ विषयमा कुरा गर्यौं।
शिखा खाजाको लागि प्राय: टिफिनमा तर्बुज ल्याउने गर्थिन्।
'मलाई क्यान्टिनको खाजा मन पर्दैन, अहिले गर्मी पनि धेरै छ, लेऊ तिमी पनि खाऊ न।' शिखाले टिफिन मतिर सारिन्।
कुराकानी हुँदै गर्दा उनी तर्बुजको बिउ झ्याल बाहिर फाल्न कुर्सीबाट उठेर गइन्। झ्यालतिर फर्केर भनिन्, 'सौरभ, डु यु नो वान थिङ'
बोलीमा गह्रुंगोपन थियो, प्राय: हामीलाई केही भन्न अप्ठ्यारो लाग्दा अंग्रेजी बोल्दा रहेछम्! शब्द नै वाक्य बन्दो रहेछ।
मैले सोधें, 'ह्वाट्'
'इट्स नट इजी टु बि अ गर्ल, सौरभ!'
मलाई यो वाक्य बडो गम्भीर लाग्यो, पछिसम्म सोचमग्न बनायो, सहरमा युनिभर्सिटी अध्ययन पूरा गरी इन्टर्न अफिस आएकी शिखाले यस्तो भन्दा मलाई सुरूमा अनौठो लाग्यो। पछि यही वाक्यले यो लेख्न प्रेरणा दियो।
मैले मधुरो स्वरमा सोधें, 'ह्वाइ'
'तिमीलाई अफिसको कति जना स्टाफले कम्प्लिमेन्ट दिएका होलान्' अलि गह्रुंगोपन बोलीमा, उनी झ्यालतिरै फर्की रही।
'म इन्टर्न आएको दिनदेखि नै धेरैजसो कार्यालय भित्रको स्टाफ या भनौं कामदारहरूले समेत,राम्री देखिन्छौ, राम्री छ्यौ भन्छन्
कुन पर्फ्युम, कुन क्रिमको कमाल हो, मेडम?'
मैले भनें, 'सबैले सुन्दरताको प्रशंसा गर्नु राम्रो कुरा हो नि, हैन र?'
एकछिनको मौनतापछि शिखा झ्याल बाहिर हेर्दै भनिन्, 'कसरी के? त्यो सरले मलाई कसरी त्यस्तो भन्न आँट गर्नुभयो?, नामको मात्र पिएचडी'
झनक्क रिसाइन्, 'म उहाँकी छोरी उमेरकी हुँ यार।'
मैले पानीको बोतल अगाडि सार्दै कुर्सीमा बस्न रिक्वेस्ट गरें।
'किन, के भन्नु भो त्यस्तो?'
शिखा आफ्नो ब्यथा पोखिराखिन्, म गम्भीर भइ सुनिरहेँ।
'हैन, राम्री देखिन्छौ भन्दा कसलाई नराम्रो लाग्ला र? आफ्नो साथीसंगीले भनेको भए कसलाई अप्ठ्यारो लाग्छ र? तर सुरेन्द्र सरले त हदै पार गर्नु भो'
म सुन्दै गर्दा रजिस्टरतिर ध्यान दिन खोजिरहेको थिएँ।
'थाहा छ म किन अफिस आइरहेको थिइनँ? म ३ दिन एक्लै कोठामा रूँदै बसेँ, यस्तो मसित मात्र किन भयो होला सोचेर। पछि आफूलाई सम्हालें। आमालाई सुनाएँ, भाइले नि यो कुरा थाहा पाएछ। भाइले त दाँतमा दाँत पिस्दै रिसले नाक रातो पारी भन्यो,
'त्यो दिन नै भनेको भए हुन्थ्यो नि, त्यहीँ त्यो मूलालाई आफ्नो औकात देखाइदिन्थें।'
'म भोलिपल्ट अफिस आएको थिएँ, सौरभ। फारम प्रमुखको कार्यालयमा गई सुरेन्द्र सरबारे कम्प्लेन गर्दिएँ, पेथोलोजीको सर पनि त्यहीँ हुनुहुन्थ्यो। भाइसँगै घर फर्कें।'
म मौन सुन्दै थिएँ र अप्ठ्यारो मानि, घाँटी सफा पारी भनें, 'शिखा त्यही दिन तिमीले भनेकी थियौ नि, म एक्लै फिल्ड जान्नँ, सौरभ', त्यति बेला नै मलाई यो कुराको आभाष भएको थियो तर तिमीलाई सोध्न मलाई असहज भयो। सुरेन्द्र सर यहाँ भएकै बेला, साझँपख तिमीले हाकिम सरलाई कम्प्लेन गरेको भए ठिक हुन्थ्यो।'
शिखा बोलिरहिन्, 'सर अन्तिम दिन बिहान चाँडै फिल्ड आउन भन्नु भएको थियो, तिम्रो त अनलाइन क्लास थियो, ढिलो आयौ। त्यो दिनकै कुरा हो। हामी डाटा लिँदै गर्दा, 'तिमी सारै राम्री छौ, यो उमेरमा ब्वाइफ़्रेन्ड त पकै होला नि तिम्रो त?' मलाई उहाँको बोली र हेराईले असहज महसुस भयो अनि मैले कुरा टार्न खोजें।'
'छैन सर, छिटो डाटा लिम्, चर्को घाम छ।'
मतिर फर्की शिखा रिसाउँदै भनिन्, 'सौरभ, मेरो निजी जीवनबारे सोध्ने सर को हो? २/३ दिन चिनजान भएकै भरमै मसँग व्यतिगत कुरा गर्ने अधिकार उहाँलाई कसले दियो?'
'भन्देऊ न, मेरो त उमेर नि गइसक्यो, छोराछोरी तिमी जति ठूला भइसके, म कसैलाई केही भन्दिनँ नानी'
'म केही नबोली डाटा लिइरहें। त्यो मौनतालाई उहाँले के बुझ्नु भयो थाहा भएन तर फेरि भन्न थाल्नु भयो।'
'तिमी सारै राम्री देखिन्छौ, तिमीलाई त जुन रंगको लुगा लगाए नि सारै सुहाउँदो रहेछ। तिम्रो योवनप्रति मोहित भएको हुँ, राति निद्रा लागेन, सपनामा तिमी स्वर्गकी परी बनि आयौ। मेरो मन चोरी सकेकी छौ। म तिमीलाई मन पराउँछु, सारै माया गर्छु शिखा।'
'मलाई सरको बोली र समिप आउने प्रयासले अनौठो लाग्यो, डर लाग्यो, असज भयो, म नर्भस भई रजिस्टर त्यही प्लटमै फालेर अफिसतिर दौडेकी थिएँ।'
यति भन्दै गर्दा शिखाको आँखा रसाइसकेको थियो तर मन हल्का भएजस्तो लाग्यो, सहज महसुस गरिन्, कुर्सीमा बसिन्।
'वैज्ञानिक कहलिनु हुन्छ तर खै उहाँको व्यवहारिक ज्ञान? खै त औपचारिक शिक्षाले सिकाउन सकेको सभ्य बन्न?' शिखा भावविहोर भइन्।
मैले टिस्यु बक्स अघि सारिदिएँ, केही बोल्न अनुचित लगेर मौन बसिरहेँ।
एकछिनपछि उनकाे मन हल्का भएजस्तो लाग्यो, सहज महसुस गरिन् ..! कुर्सीमा बसिन्!
शिखाले कम्प्युटर रिस्टार्ट गरिन्। स्क्रिनतिर हेर्दै भनिन्, 'खैर जे भयो भयो, अतितको कुरा नगर्नुपर्ने मैले, तिम्रो टाइम नि लस् भयो होला।'
मैले टाउको हल्लाउँदै भनें, 'त्यस्तो हैन, मनको गाँठो फुकेकै राम्रो!'
शिखाले माहोललाई बदल्न खोजिन्। 'ल अब काममा ध्यान दिम्! तिम्रो रिसर्च प्रोपोजल के कस्तो भएको छ? म हेर्दिन्छु है के कहाँ बिग्रेको छ, माउस यता ल्याऊ त!'
अर्को दिन फिल्ड जाँदा एउटा कामदारले मलाई सोध्यो, 'गहुँम् खेतमे कोन् घटना घट्लै ? सर कि कहल्कै शिखा के? कोनो काण्ड भेलै कि?'
मैले यस्ता अनेकौ प्रश्नको उत्तर मौनताले दिएँ।
अर्को महिला कामदारले कुरा काट्दै गरेको सुनें, 'हाकिम साहेबके कैला कहिदेल्कै लड्की? लड्कीके इज्जत गेलै, सरके कोनो फरक नै पर्तै!'
अर्को कामदारले फेरि थपिन्,'दिन भैर उ लड्की सरजौरे रहे, खाजा सरसँगे क्यान्टिनमे खल्कै, मन रहै त हँ कहितै नै त नै नजिक जैतै, मरद सब ओह्ने होइ छै, हल्ला फैलाके आपने इज्जत गुमा लेल्कै लड्की!'
अर्को दिन हामी गहुँको रोगको निरीक्षण गरी रहँदा, शिखाकी आमाले पटक-पटक फोन गरी अवस्था बुझ्दा उनलाई अप्ठ्यारो लागेजस्तो आभास भयो। बाली विकास शाखाको सरले घटनाबारे विस्तृत बुझ्न शिखालाई फोन गरी अफिस आउन आग्रह गर्दा, पछि शिखाले सरको कल रिसिभ गरिनन्। काम सकेर हामी चापाकलनिर हातखुट्टा धुदै गर्दा शिखाको भाइ स्कुटर लिएर त्यहीँ आयो।
त्यो साझँ हामी घर फर्किंदा मलाई डाटाको रजिस्टर थमाउँदै शिखाले भनेकी थिइन्, 'मलाई अफिस आउन मन लाग्दैन… सौरभ! भोलिदेखि बाँकी डाटा तिमीले आफैं लिनू है।'
उनको इन्टर्नसीपको अन्तिम सप्ताह थियो। तर उनी ३ दिन अगावै अनुभव पत्र नलिई रिसर्च फारम छोडेर गइन्… त्यसपछि उनी कहिल्यै फर्किनन्… ।
गहुँ पाकिसकेर हरियोबाट सुनौलो रङमा डुबिसकेको परिवेशमा सुरेन्द्र सरको आगमनले मलाई झस्कायो!
म मौन थिएँ तर मन अक्रान्त थियो। सरको मुहारमा चमक देखें। उहाँलाई आफ्नो बोलीप्रति के कति पछुत भयो थाहा भएन तर सामाजिक कुख्यातीको डर मुहारमा प्रस्ट देखेँ।
कामदारहरूले त्यो घटनालाई सामान्य ठाने। कैयौंले केटीकै इज्जत जान्छ यस्तो कुरामा भनेको मैले सुनें। म आफूलाई प्रश्न गर्दैछु।
कैयौं अवस्थामा मेरो बोली, व्यवहार क-कसको लागि दुर्व्यवहार बनेको होला?
मेरो हेराइले कति केटी साथीलाई अप्ठ्यारो भएको होला त?
म भित्रको पुरूषत्वलाई म यी र यस्ता अनेकौं प्रश्न तेर्स्याउँदै छु। म त आज आफ्नो मनको अदालतमा आफैंलाई कठघरामा उभिएको देख्दै छु।
शक्ति र सत्ता प्राय: पुरूषकै हातमा भएको समाजका अगुवाहरूलाई यस्ता प्रश्न गर्न मन लाग्छ!
दुर्व्यवहार भौतिक रूपमा मात्र हुन्छ र ? बोली र आँखाले हुने दुर्व्यवहारको लेखाजोखा कसले गर्ने?
दुर्व्यवहार महिला हिंसामा परिणत हुँदा र पीडितले उजुरी दिँदा मात्र कारबाही हुने गर्छ। मानसिक यातनाको लेखाजोखा गर्न समाजको पुरूषत्व असमर्थ छ, भोग्नेलाई मात्र थाहा हुँदो रहेछ!
हामी दुर्व्यवहारका घटनाबारे कुरा गर्न हिच्किचाउँछौं तर बडो चाखले सुन्न रूचाउँर्छौं।
केही न सोची व्यंग्य गर्छौं। हाँस्यव्यंग्यको आफ्नो सीमा हुँदो हो। जोप्रति व्यंग्य गरिन्छ, उ नहाँसे व्यंग्यको हाँस्य-रस हराउँदो रहेछ! अचेल त हामी दुर्व्यवहारका घटनालाई काण्डको संज्ञा दिन पछि पर्दैनौं।
कपिलवस्तु जिल्लाका न्यायाधीशमाथि वैवाहिक बलात्कारको आरोप उहाँकै पत्नीले लगाउनु भयो। जिल्ला अदालतमा न्याय नपाएपछि सर्वोच्च अदालत धाएपछि मात्र प्रहरीले कारबाही सुरू गरेको थियो।
आफ्नो कार्यालयमा पदीय शक्तिको आडमा आफूभन्दा तल्लो तहमा कार्यरत महिलाहरूको व्यक्तिगत परिधि के कति मिचिन्छ त्यसको लेखाजोखा कुनै कानुनले गर्दैन।
नैतिकता, मान-मर्यादा सिकाउने अग्रज, आफन्त, गुरू होस् या धार्मिक प्रवचन गर्ने साधु सन्त, सबमाथि प्रश्न उठेकै हो!
यसको अर्थ यो नलागोस् कि सब अग्रज, आफन्त, गुरू वा सन्त खराब नियत राख्छन् तर कुदृष्टि राख्ने प्राय: यीमध्येकै.. नजिकै.. हुँदा रहेछन्।
चर्चित भएको 'सकम्बरी' गीतको प्रसंग जोड्न मन लाग्यो, गीतमा देखाए जति मानासिक रूपले कमजोर त हुनन् होला चारैतिरको हण्डर खाएका सकम्बरीहरू!
यो गीतमा फूलमायाले बडो गहिरो प्रश्न गर्छिन्,
'इज्जत छोरी मान्छेको मात्र हुन्छ र?'
केटीको आचरण र रूपको सौन्दर्यको पर्यावाची
केटाको स्मार्टनेस र जागिर कसले ठहर गरिदियो?
व्यवहारभन्दा माथि श्रृंगारलाई राख्नु के महिलाको वास्तुकरण गर्नु हैन?
यस्ता अनेकौं प्रश्नका उत्तर जटिल छन्…
सायद त्यसैले शिखाले भनेकी होलिन्
'इट्स नट् इजी टु बि अ गर्ल, सौरभ!'
यी सब कुरा मेरो मनमा खेलिरहँदा शिखाको मेसेज आएको रहेछ, 'शौरभ, मेरो एक्सपेरियन्स लेटर नि बनेको छैन… हाकिम सरलाई बनाई दिन भन्देऊ है! तत्काल इन्टर्नसीप रिपोर्ट बनाउनु पर्ने छ, भ्रमरपुरबाट उन्मोचित धानका जातहरूबारे कुनै सामग्री छ भने पठाइदेऊ न है!'
मसँग उपलब्ध फाइल मैले शिखालाई मेल गरेपछि आफ्नो डाटा इन्ट्री सुरू गरेँ।
(यस रचनाका पात्रहरू, परिवेश र कथावस्तु काल्पनिक हुन्, वास्तविक जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ)