म खासै प्रेममा मन लगाउने मान्छे त हैन, तर उनलाई देख्दा मन खै कता बहकियो पत्तै भएन।
आँखाले मात्र हैन मनले पनि उसलाई मनमनै चाहन थाल्यो। उनलाई देख्नेबित्तिकै मन परेको, कुरा गर्ने रहर पनि उस्तै जाँगेर आयो।
कहिले कसरी बोल्न पाइन्छ? कहाँबाट उसको सम्पर्कमा आउने? चासोको विषय बनिसकेको थियो।
हुन त हामी एउटै कलेज पढ्दै थियौं। तर पनि मलाई बाेल्ने आँट आएकाे थिएन। मलाई नाम पत्ता लगाउन पनि ठूलाे सकस परिरहेको थियो।
बल्लतल्ल उनकाे नाम साेध्ने आँट राखें, उनले पनि मुस्कुराउँदै आफ्नो नाम भनिन्। म भर्खर मात्र गाउँबाट काठमाडौंमा आएकाे थिएँ। मलाई खासै फेसबुककाे ज्ञान थिएन।
मोबाइल पनि त्यो समय टुकटुके (किबोर्ड वाला) फेसबुक पनि डाटा नलिइकन रमाई-रमाई चलाइन्थ्यो। मोबाइल सानो भएर फोटो पनि साह्रो सानो देखाउथ्यो। उसको फोटो ठम्याउन निकै गाह्रो भयो। बल्लतल्ल अनुहार चिन्न सकेँ र साथी बन्नको लागि रिक्वेस्ट पठाएँ।
केही दिनपछि एसेप्ट भयो। खुसीको सीमा रहेन। मनभित्रै खुसीले मन नाच्यो। आफूले चाहेको मान्छे आफैंले पाएजस्तै भयो।
साथी बन्नासाथ हतारमै मैले म्यासेज गरेँ। हामी बिस्तारै फेसबुकमा कुरा गर्न थाल्यौं। पहिलो दिन सामान्य कुरा भयो।
हामीबीच कुरा हुँदै थिए। कुराकुरैमा हामी दुवै एकअर्काको एकदमै नजिक भैसकेका थियौं। दिनमा निकैबेर एकअर्कासँग कुरा गर्ने भइसकेका थियौं। सानो मोबाइल फेसबुक चलाउन गाह्रो हुन्थ्यो। त्यसपछि मैले नै उसको नम्बर मागेँ।
हामी फेसबुकभन्दा पनि मोबाइलकै म्यासेजमा व्यस्त हुन थाल्यौँ। राती, बिहान र दिउँसो हामीलाई कुनै मतलब हुने थिएन। हामी राति पनि अबेरसम्म कुरा गर्ने त कहिले कुरा गर्दागर्दै बिहानै हुन्थ्यो। ऊसँग बोल्न थालेपछि के रात? के दिन? के भोक यो सबको पत्तै नहुने। ऊ भए मलाई पुग्ने भइसकेको थियो।
हामीबीच माया पिरतीका हुँदै बिहे र बच्चा समेतको कुरा हुन थालिसकेको थियो। यति मात्र कहाँ हो र? हामीले त ख्याल-ख्यालमै बच्चाका नाम समेत सोचिसकेका थियौं। छोराछारी भनेर केही समय त मनमुटाव पनि हुन्थ्यो। उसलाई छोरा एकदमै मनपर्ने र मलाई छोरी। हाँसीमजाकको केही क्षणपश्चात फेरि कुरा अगाडि बढ्थ्यो।
हामी दुवैको १२ सकिएपछि पारिवारिक सल्लाह गरेर बिहेको प्रस्ताव पनि मञ्जुर भयो। तर पक्का भने थिएनौं। लाग्थ्यो जुरेको छ भने आफूले चाहेको मान्छे नभेटी, प्रत्यक्ष नदेखी पनि आफ्नो मान्छे आफ्नै हुने रहेछ। साँच्चै माया त यो पो रहेछ। हामी कुरा गर्न थालेको दुई वर्ष बितिसकेको थियाे। यति समयसम्म भेटेका पनि थिएनौं। हाम्रो १२ काे परीक्षा पनि नजिक आइसकेकाे थियो।हामीले परीक्षा सकिने अन्तिम दिन यानिकी जेठ ११ गते भेट्ने कुरा भयो। ऊ म पढ्ने कलेजतिरै बसेरै परीक्षा दिइरहेकी थिई।
ऊ उताबाट उसको कलेजतिर आउने र भेट्ने कुरा भएको थियो।
परीक्षा सकेर हतारमा बाहिर आएर नजिकै एउटा पार्कमा उसलाई कुरेर बसें। हाम्राे भेट भयाे, हामी लगभग तीन घण्टा रमाइला कुरापछि कुरा गर्दै घर फर्किएका थियौं। भाेलि फेरि भेट्ने बाचामा। भाेलिपल्ट हाम्रो भेट भएको थिएन उनले मलाई कल गरेर हिजोकाे ठाउँमा आउन भनिन्! हाम्राे भेट फेरि त्यही पार्कमा भयो।
हामीले निकैबेर गफ गर्यौं र आफू अहिले बिहे नगर्ने सेचमा रहेको र आफू उच्च शिक्षाको लागि विदेश जाने कुरा गरेकी थिइन्।
मलाई पनि बिहे गर्ने मन थिएन। उनी उच्च शिक्षाकाे लागि विदेश जाने तयारीमा थिइन्। मलाई पनि नछाड्न अनुरोध गरिरहेकी थिइन्।
केही महिनापछि उनी विदेश जाने तयारीमा थिइन्। त्यतिबेरसम्म हाम्राे भेट धेरै पटक भइसकेकाे थियो। मलाई यस्तो लाग्थाे कि प्रेमले असल सम्बन्ध निभाउन सिकाउँछ। प्रेमले एक पटक तिमी र मलाई अवसर दिएको छ। खुसी हुनु नै प्राप्ति हाे जस्तो लाग्थाे।
एक भनाइ पनि छ ‘अल इज फेयर लभ एण्ड वार’ अर्थात् प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ।
प्रेमको कुनै भाषा हुँदैन, साइनो हुँदैन, समय हुँदैन, नियम हुँदैन। हुन्छ त केबल महसुस खुसीले रसाएका नयनहरू, बेफिक्री धड्किने धड्कन, विश्वास, सम्बन्ध। तर आज उनी विदेश गएकाे चार वर्षपछि अर्कोसँग बिहे गर्न लागेको खबर सुनें। खबर सुनेको दुई दिनपछि उनकाे बिहेकाे निम्तो आयाे।