‘हमनी सबके गाडी से घरे पुगादु सर। ,
अर्थात् ‘हामीलाई गाडीमा घर पुर्याइ दिनु सर।’
कविताजीको यो आवाजले मलाई तान्यो। कामको व्यस्तताले म अलिक हतारमा थिएँ। आज नै कार्यपालिकाको बैठक सम्पन्न भएको थियो। बैठकका निर्णयहरू उतार्ने, कार्यान्वयनका लागि शाखा-शाखामा पठाउने, काम गर्न आवश्यक निर्देशन दिने हतारो स्वाभाविकै हो।
तर पनि मलाई कविताको आग्रहभन्दा पनि एक किसिमले करिब आदेशात्मक आवाजले खिच्यो। मैले पुन:ध्यान दिएर हेरेँ। मुसुक्क मुस्काएको निर्दोष अनुहारमा आत्मविश्वास र चमक दुवै स्पष्ट झल्किन्थ्यो।
कविताजीका साथमा भएका कार्यपालिकाका अरू महिला सदस्यहरूबाट पनि एकै स्वरमा ‘हँ सर हँ हम सबके पुगावे के हो तै।’ अर्थात् ‘हो सर, हो हामीलई पुर्याउनु पर्छ’ भन्दै थप अनुरोध आयो।
एक किसिमले म प्रफुल्ल भएँ। मलाई नगरपालिकोका सम्पत्ति यही समुदायको हो भन्ने लाग्छ। राज्यले मलाई यहाँ खटाएपछि आफूलाई कर्तव्यका दृष्टिले स्थानीय मतदाता सरह ठान्ने गर्छु। तर साथमा मलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संवैधानिक अधिकार प्राप्त स्थानीय सरकार गठन गर्न पाउने एक नगरका नगरवासीको अधिकार हनन गर्नु हुन्न भन्ने पनि लाग्छ।
मेरो कामको अवसर, अनुभव, शिक्षा र संगतका आधारमा यहाँका स्थानीय जनता र नेतृत्व वा कतिपय जनप्रतिनिधिहरूभन्दा कुनै विषयमा मेरो स्तरमाथि हुन सक्दछ। तर पनि सार्वभौम नेपाली जनता र स्थानीय मतदातालाई अहित हुने र आफ्नो हित हुने गरी कुनै काम गर्न मेरो नैतिकताले दिँदैन।
मेरो मर्यादाले उहाँहरूलाई नजान्ने र म बढी जान्ने भन्न कहिल्यै दिँदैन। मलाई मेरो बढी योगदान भएका कारणले कार्यान्वयनमा आएका कामको श्रेय वा जस मेरो नाममा हैन स्थानीय नेतृत्वको नाममा नै जानु पर्दछ भन्ने लाग्छ। तर कार्य सम्पादनमा भएको त्रुटिको अपजस कर्मचारी नेतृत्वका कारण स्वाभाविक रूपमा मैले लिनुपर्छ भन्ने लाग्दछ।
त्यसैले पनि कविताजीको ‘आदेश’ मलाई प्रिय लाग्यो।
उनले स्वाभाविक रूपमा आफ्नो हकको उपयोग गर्न अघि सरेकोमा निकै खुसी लाग्यो।
मैले लोकतन्त्रको जरा ‘भुइँ मान्छे’ सम्म फैलिएको अनुभूत गरेँ।
समाजमा नाम कमाएका र प्रतिष्ठित सेवाग्राही आउँदा मलाई वास्तविकता परीक्षण गर्न जति मन लाग्छ सामान्य सेवाग्राही अगाडि आउँदा परीक्षण त्यति आवश्यक हुन्छ जस्तो लाग्दैन।
म समुदायका घटनाहरूलाई समाज विज्ञानको दृष्टिबाट पनि हेर्न रूचाउँछु।
कविताजीहरूको जन्मस्थान, परिवारको पृष्ठभूमि र हुर्काइलाई मैले नजिकबाट हेर्न पाएको होइन। अरूका कुरा, टिप्पणी, द्वितीयक स्रोत र अल्पकालीन अवलोकनका आधारमा धारणा बनाउनु पर्ने हामी जस्ता कर्मचारीको बाध्यता नै हो।
मैले मेरो जन्मस्थान सम्झिएँ। उकाली, ओराली, भञ्ज्याङ चौतारीमा घाँस दाउराको जोहो गर्न हिँडेका दिदीबहिनीहरू आँखा अगाडि नाच्न थाले।
म आफैं पनि सँगसँगै हिँडेको र साथ दिएको स्मरणमा आयो। मेरो परिवारमा महिलाको संख्या कम हुनाले घरका काममा आमालाई बढी साथ दिन्थेँ। आमालाई खुसी पार्न उहाँको साथमा रहेर काम गर्नुको मजा नै बेग्लै। घरको लिपपोत गर्ने, दुना टपरी गाँस्ने, परालको ताने गुन्द्री र सुकुल गुन्द्री वा पिरा बुन्ने, कपासको रूवाबाट बात्ती कात्ने, असारे हिलोमा पसेर छुपुछुपु धान रोप्ने कामहरू मेरा लागि सामान्य थिए। अँ खनजोत र कडा परिश्रम परम्परागत रूपमा चलिआएका महिला केन्द्रित काम गरेकोले साथीभाइ र अग्रजले पनि मलाई जिस्क्याउने र ‘पराइ घर पठाउनु पर्ला’ भन्ने ठट्टामा पनि झण्डै सर्माउर्थेँ।
ऐंया ऐंया भन्दै कामको बोझ उठाइरहेका धेरै दिदीबहिनीको पीडा नजिकबाट देखेको छु।
हरेक महिना महिनावारीको समयमा महिलाले भोगेको अतिरिक्त प्राकृतिक दर्द र पीडा पनि नजिकबाट देखिरहेकै छु।
मधेस भूभागको जनजीवनसँग नजिकबाट साक्षात्कार हुने अवसर मिलेको थिएन। अहिले यो अवसर पाएपछि गहिरिएर हेर्दैछु। त्यही भएर होला मलाई कतिपय सामान्य लाग्ने घटना र व्यवहारले पनि कहिलेकाहीँ मन छुन्छ। कहिले कसैले आफूमाथि अपमान गर्दा पनि सामान्य लाग्छ। अनि फेरि कसैले गरेको अपमान लक्षित व्यवहारको पनि ठाडै प्रतिवाद गर्न मन लाग्छ।
अर्थात् मलाई बुझेका मान्छेभन्दा बुझ्दै गरेका मान्छे, सिकी सकेकाभन्दा सिक्दै गरेका मान्छे र अहम् पालेका आडम्बरी भन्दा समझदार र सरल व्यवहार भएका मान्छेसँग नजिक रहन मन लाग्छ।
कविताजीहरू भर्खर सिक्दै गरेका मान्छे। सिक्ने अवसर पाउँदै गरेका मान्छे। घर व्यवहार आफैं धानेर सामाजिक कामको नेतृत्व लिन भर्खर चियाउँदै गरेका मान्छे। आफ्ना हरेक कदममा श्रीमानबाट हस्तक्षेपरहित साथ, सहयोग र हौसला पाउँदै गरेका मान्छे।
यो तर्कसँगै म सोच्छु, यदि समावेशीकरणको कानुनी बाध्यता नभएको भए कविताजीहरूले स्थानीय तहमा कार्यपालिका हुन्छ र यसको बैठकले स्थानीय सरकारका काम कारबाहीको निर्धारण गर्छ भन्ने कुराको जानकारी पाउन अझै कति वर्ष पर्खिनु पर्ने थियो होला।
अझ केही पर सोच्न पुग्दा कविताजीहरूका श्रीमानहरू आफ्ना श्रीमतीलाई साइकलमा पुर्याउन आएको र बैठक अवधिभर बाहिर कुरेर बसेको अनि बैठक सकिएपछि उसैगरी साइकलमा घर फर्किएको दृश्य सम्झिन्छु।
अनि समाजको स्तर अनुसार अगुवामा गन्न सकिने भैसकेका मात्र नभई राष्ट्रिय स्तरमा समेत नाम कमाइसकेका अगुवाले आफ्नी श्रीमती वा नजिकका नातेदार महिलालाई सामावेशीकरणका नाममा अघि सारेर आफैं सञ्चालक बन्न खोजेका घटना सम्झन्छु।
अझ कार्यकक्षमै हस्तक्षेप गरेका कतिपय सन्दर्भहरू आँखा अगाडि नाच्न थाल्छन्।
मलाई कविताजीहरूका श्रीमानहरूप्रति अझै श्रद्धा बढ्न थाल्छ।
मैले हाँस्दै ‘हुन्छ नि यो यहाँहरूकै सम्पत्ति त हो नि' भनेँ।
केही समयपछि कामबाट आँखा उठाएर बाहिर हेरेँ, कविताजीहरू गाडीमा हाँस्दै सरर।
हो, आज पूर्व निर्धारित नभई आकस्मिक बैठक डाकिएको थियो।
सायद आज कविताजीहरूका श्रीमानहरू काम विशेषले अन्तै जानु परेको थियो होला।