कविता
प्रिय,
तिमीलाई समीप पाउँदा
तिम्रा अन्तरकुन्तरका
भावनाहरू केलाउँदा
मेरो मनमा बेग्रल्ती प्रश्न भित्र प्रश्न
सजीव बनेर आइरहँदा
तिम्रो रहस्यको आँखीझ्यालबाट
बिस्तारै मनका भावहरू
प्रष्फुटन गर्दैछौ
आजकाल तिमीले !
तिम्रा अविरल रहर
तिम्रो टुटेको स्फुरण
यथार्थका तिमीभित्रको कथामा
जेलिएका अनेकन
गहन किस्सा झैं लाग्ने
तिम्रा असीम दर्दनाक कथाहरूको
बोझमा
चोट र ब्यथाहरूको
संग्रह बोकेर
एउटा कठिन जीवन
बाँचेकै हो नि
प्रिय तिमीले !!
हो,
तिमी भित्र मन छ अनि
मनभरी स्वतन्त्रताको
सागर छ
तिमी भित्र पनि तृष्णा छ
धरातलमा उभिएको
एउटा नियात्रा रूपी
सिंगो जीवन छ
तिमीसँग अगाध भावनाको वेग छ
खुसीको यी असीमित
लहरहरू बोक्दै
अनि फेरि व्याप्त
पराजित मानसिकतामा
हिँडेकै छौ है
प्रिय तिमीले !!!
अब,
तिमीले समयलाई बदलेर
प्रथाहरू तोडेर
आफ्नो पलहरू तिम्रै शब्दमा
कोर्नुपर्छ
रहरका भेलहरू उन्माद हुँदै
बगाउनु पर्छ
स्वतन्त्रताको रङमा तिमी पौडिनपर्छ
प्रणयमा भुल्दै
रमझममा सजिँदै
अतीत बिर्सेर
जिन्दगीलाई अमूल्य बनाउँदै
हरेक क्षण खुसी र सुखी हुँदै
मधुर जीवन जिउनु निरन्तर
प्रिय तिमीले !!!!