कविता
आउन बरू यसो गरौँ न हुँदैन
मलाई रूवाउनु भन्दा तिमी मेरो आँसु पुछ्ने रुमाल बनिदिनु
अनि म तिम्रो मुस्कान बनिदिउँला
सागर हुँ म तिमीलाई तैरन गाह्रो भए बरू भनन
म सुकेर खोला बनि दिउँला
झलमल्ल घामको रापिलो किरण हुँ म
पोल्यो भनी बरू गुनासो गरन
म बादल रुपि तिम्रो अंगालो भित्र लुकी दिउँला
दुनियाँको होहल्लाले आतङ्कित छौ भने
बरु मनको बह पोखन
म सुमधुर संगीत बनि दिउँला
वरिपरि खडेरीले ढाकेझैं लागे बरु एक फेर
नजर आकाश तिर लगाउन
म झरी बनि झरी दिउँला
जिन्दगीको भारी बोक्दा बोक्दा थकाइ लागेको भए
बरू एक फेर लामो सुस्केरा हालि देऊ न
म सिमलको शितल अनि अर्को काँध बनि दिउँला
एक्लै संघर्ष गर्दागर्दै हरेस खान लागेको भए बरू
त्यो डगमगाएको आत्मविश्वासको शिर उचाली एक फेर यता हेरन
तिम्रो संघर्षको साथी म बनि दिउँला
कोसिस गर्दागर्दै जिन्दगी अन्धकारले घेरिए झैं लागे
बरू एक पटक बोलाउन
म चम्किलो किरण बनि आइ दिउँला
तिमी आफू र आफ्नो यात्रा माथि विश्वास राख न
बरू म हात थामी गन्तव्य सम्मकै साथी बनि दिउँला
ठूला ठूला कुराहरू छोडन
बरू आउन सँगै खुसीको घर बनाउने हातहरू बनि दिउँला।