कविता
सानै थिएँ
कुटो बोकेर निस्किएँ
लसुन गोड्न
जब आमाले भन्नुभो
बाबु! अल्छीको थालीमा
भात ओर्लिन अल्छी गर्छ
र पन्यूमै टाँसी बस्छ
सानै थिएँ
कुवा सधैं सफा राख्थेँ
जब आमाले भन्नुभो
छोरा! पानीमा थुक्नेहरूलाई
सिमदेउता लाग्छ
र बिमार भइन्छ
सानै थिएँ
साँझपछि शान्तले बस्थेँ
जब आमाले भन्नुभो
जेठा! राति सुइँसुइँला पारे
अलच्छिन हुन्छ
र घरमा सह बस्दैन
प्रिय!
आज हाम्रा तन्नेरी छोराहरू
सिन्का नभाँची
दिनभर खाएरै डुल्छन्
सरसफाइ गर्दैनन्
हल्ला गर्नलाई समय हेर्दैनन्
त्यसैले सोच्छु
मेरी आमाको विश्वास जस्तै
यो आधुनिक समयमा
काश...भात पन्यूमै टाँसिन्थ्यो
काश...सिमे भूमे नै लाग्थ्यो
काश... अलच्छिन नै हुन्थ्यो