काठमाडौं मलाई संसारमै सबैभन्दा प्रिय लाग्ने सहर।
यहाँको माैसम ..आहा! छाेइला, कचिला , स्वँ र थाें ओहाे ओहाे। जात्राकाे उमंग, लाखेकाे नाच ,धिमेकाे ताल र मस्त मानिस।
काठमाडौंकाे विशेषता गजब छ। याे सहरले धेरै दिएको छ। थाेरै लिएको छ। मलाई मान्छे बनाउने सहर यही हाे। दुई अक्षर चिनाउने सहर यही हाे। दुई रुपैयाँ कमाउन सिकाउने ठाउँ यही हाे। साँच्चै काठमाडौं कमालकाे छ। यहाँ आउँदा धेरैले हात्ती छाप चप्पल पड्काएका थिए। अनुहार कुचुक्क परेको थियो। अहिले धेरैलाई करोडौंकाे पति बनाएको छ। अनुहार चिल्लो बनाइदिएको छ। काठमाडौंले गतिलो ठाँट दिएको छ।
धेरैलाई धेरै थाेक दिएको काठमाडौंले भने आफ्नालाई केही नदिइएको भान हुन्छ। यहाँका गल्ली, चाेक, बहालभित्रकाे आफ्नै कथा छ।
बसन्तपुर दरबार हाताभित्र जुङ्गे महादेव मन्दिर अन्य मन्दिरभन्दा पृथक लाग्छ। छेउका अजङ कालभैरव पनि डर लाग्दै हुन्। तर देवालयकाे झ्यालबाट कुनै युगल देवीदेवताले हेरेकाे आकृति सायदै अन्यत्र छन् हाेला। जुंगे महादेवकाे मुख्य विशेषता भनेको जुंगा हुनु र प्रेमील भावमा कसैलाई हेरिरहेको आकृति नै हाे।
अर्को रमाइलो भनेको मन्दिरकाे काखका देवल, ती देवलमा पलेँटी कसेर साँझपखकाे जीवन्त चहलपहल हेर्नुकाे मज्जा छुट्टै छ। बसन्तपुर यसै पनि व्यस्त बगैंचा हाे। देश विदेशका रङ्गीचङ्गी मानिसहरू बरालिरहेका हुन्थे, मस्त मगन।
एक साँझ त्यस्तै ६ बजेको थियो।
आकाश गड्याङगुडुङ गर्दै थियो। वर्षा रूझाउने मनसायमा थिइन्। मानिस हतारोमा थिए। म जुंगे महादेवकै देवलमा बसिरहेको थिएँ। जसरी माथि झ्यालमा महादेव र उनकी अर्धाङ्गीनी सबैलाई नियाल्दै थिए। म पनि झरीमा मानिसका हाउभाउ हेर्दै थिएँ।
झरी एकछिनमा शान्त भयो। आकाश सफा देखियो। एक चक्कर बसन्तपुरमा बरालिएँ। मस्तले मन्दिरमा कुँदिएका टुँडाल हेरें। देवीदेवताकाे राशलिला पनि कलात्मक। पुनः झरी सुरू भयो। यसपटक कतै ओत लागिनँ ,म रूझेँ , निथ्रुक्क। शरीर हल्का भयो, चिसो पनि। आकाश हेरें, पानी राेकिने मनसायमा थिएन। एकनास आफ्नै गतिमा बर्सिएको थियो। पर क्षितिजमा इन्द्रेणी पनि झुल्केकी थिइन्। सायद मेघराजलाई नराेकिन इसारा गर्दै थिइन्। म पनि के कम थिएँ र उनलाई हेर्दै आफ्नो लयमा काेठा जाँदै थिएँ।
काेठा नपुग्दै चाेककै अग्लो घरबाट ‘अँ खेँचा किन भिजेको, त्यहाँ बिरामी पर्ला’ कसैले भन्यो।
दायाँ-बायाँ काेही थिएनन्। माथितिर हेरें मचाकाजी रहेछ। ‘पानी पर्याे केटा के गर्ने’, जवाफ दिएँ।
उसले मायालु आवाजमा, ‘पासा छाता बाेक्नुपर्थ्याे नि। साउनको महिना हाे। पानी त पर्छ नि’, भन्यो!
‘छाता थिएन पासा, यस्तै भयो आज’ मैले भनें।
‘ल पासा लुगा चेन्ज गरेर आऊ चाँडो, ज्यान तताउनुपर्छ, जाडो फाल्नुपर्छ नत्र बिरामी परिएला’ मचाले भन्यो।
मैले हाँस्दै ‘हुन्छ पासा’ भनें।
मचाकाजी महर्जन र म पुरानै साथी हाैं। ऊ काठमाडौंकाे रैथाने हाे। लगन उनीहरूकाे टाेल हाे। त्यहाँ गुठी लगायतका सबै उनीहरूकाे आफ्नै थियो, अझ भनाैं पुस्तेनी थियो। म लगन बस्न थालेको पाँच वर्ष भएको थियो। पहिला बिरानो लाग्थ्यो। बहाल उजाड लाग्थ्याे। भलै दिनहुँ जात्रा, भाेज चल्थ्याे। धिमेकाे ताल, बाँसुरीकाे धून र झ्यालीकाे आवाज नसुनेकाे दिन हुँदैन थियो। कहिले लाखे नाच्थे, कहिले रैथाने आफैं कम्मर लर्काएर नाच्थे। म जुम्लीलाई यी बिराना थिए। हुन त हाम्रो पनि पैठ छन् यहाँका जात्रा जस्तै। लाखे नभए पनि नाच्ने धामी हुन्थे। धिमे नबजे पनि दमाह बज्थ्याे। बाँसुरीकाे प्यास सनाइले पूरा गर्थ्याे। तर कताकता घरबाट टाढा रहेर हाेला यी उत्सवले खासै तानेको थिएन।
मचाकाजीसँगकाे भेटले भने म भित्रकाे बिरानोपन मेटाएकाे थियो। उसँग मित्रता हुनुअघि त्यो टाेलमा मेरो काेही छैनन् जस्तो लाग्थ्यो। काेही बाेल्दैनन् थिए, सिवाय घरबेटी। महिना मर्नेबित्तिकै भाइ भएन भन्नुहुन्थ्यो। म अवस्था हेरेर हुन्छ दाइ छिट्टै भन्थें।
पासासँग मेरो पहिलो भेट किजाकाे भट्टीमा भएको थियो। किजा त्यस टाेलकाे प्रसिद्ध भट्टी, पिउनेकाे प्रिय ठाउँ। सधैं मान्छे खचाखच। किजाकाे खप्परमा पैसा लेखेको हुनुपर्छ। सधैं पैसा गनिरहेकाे हुन्थ्यो।
एकदिन म टाेलकाे नामुद भट्टीमा गएको थिएँ। खाजा खाएँ, चाउमिन। पर कुनामा एउटा व्यक्ति ‘अँ साउ भतिचा कचिला तिले’ भन्दै थियो। स्वर अलि चर्को थियो। अनुहार अलिक रिसाहा देखिन्थ्यो। मैले खासै वास्ता गरिनँ। केही भनाैं फेरि स्थानीयकाे रवाफ बग्लै हुने। खाजा खाएँ, हिँडें। अर्कोदिन पुनः खाजा खान गएँ , त्यसदिन कुनामा अर्कै मान्छे थियो। म बस्ने ठाउँमा हिजो कुनामा बसेको मानिस बसेको थियो। दायाँबायाँ हेरें सबै टेबल भरिएका थिएँ। म एकछिन अलमल्लमा परें। जाऊँ कि बसाैं भयो। त्यहीँ पनि एकछिन उभिएँ कतै खाली छ कि भनेर।
अकस्मात ‘ल पासा यहाँ बस न खाली छ त’, त्यही व्यक्तिले भन्यो। जहाँ म पहिले बस्थें। आफ्नै अगाडि कुर्सी पर्खिरहेको मैले पत्तै पाइनँ। ऐ हाे त, म बसें।
‘पासा, घर कहाँ हाे’, उसले तुरून्तै साेध्याे।
‘उता कर्नाली, जुम्ला हाे। अहिले यहीँ लगनमा भाडामा बस्छु’, भनें।
‘अनि सधैं यहीँ आउँछ हाे, देखेदेखे जस्तो लाग्छ’ पुनः प्रश्न आयो।
‘हाे खाजा खान प्रायः यतै आउँछु। खाजा मिठो पनि छ’ जवाफ दिएँ।
यही भेटले हामीलाई नजिककाे साथी बनायो। काठमाडौंमा पहिलोपटक पासा भनेर सम्बाेधन गरेको उसलाई थियो। त्यसपछि हामी दिनहुँ भेट्थ्याैं। ठर्राका गिलास जुधाउँथ्याे। सुख दु:खका कुरा साट्थ्याैं। उसको घरमा म जाने आउने, उ मेरो काेठामा आउने जाने चल्थ्याे। पासाकाे बहिनी र आमाले खुब माया गर्थिन्। पासा आमालाई माँ भन्थ्याे। पछि मैले पनि माँ भन्न थाले।
सधैं ‘बाबु के कस्तो छ’, भने’ माँ साेध्नुहुन्थ्याे।
‘घर टाढा छ, महङ्गी छ। बुबा आमा उतै हुनुहुन्छ, केही गाह्रोसाह्रो पर्याे भने भन्नू है। तिमी पनि मेरो आफ्नै छाेरा जस्तै हाै’, भन्नुहुन्थ्यो।
यी वाक्य सुन्दा आँखा रसाउँथे। बिरानो ठाउँमा कसैले त्यति भन्नु मलाई तागत बराबर थियो। ‘हुन्छ माँ केही परे मेरो हजुरहरू बाहेक यहाँ काे छ र भन्थें।
पासाकाे घरको प्रत्येक भाेजमा म सधैं जान्थें। मलाई एक एक भाेज कहिले हुन्छ थाहा थियो। घाेडाजात्रा, पाचरे, य:मरीपुन्ही सबै भाेजमा गएको थिएँ। पासाले नै हाे मलाई नेवारी ‘सुकुल भ्वय’मा लगेर गएको। लाखामरी य:मरी खुवाएकाे। पालमा ऐला चखाएकाे।
बेलाबेलामा पासा मलाई जुम्ला घुमाउन लैजा भन्थ्याे। म गफ दिँदै तिमीलाई जुम्ला हुँदै रारा घुमाउँछु। च्याट् मुर्मटपमा बसेर रारा हेर्ने। स्याउ टन्न खाने। एक फन्काे रारा पाैडिएर वारपार गर्नुपर्छ, भन्थें। मलाई थाहा छ पासा ..गफ दिएको। म हाँस्दै कस्तो विश्वास नगरेको यार, रारा त ऊ बेला मेरो चिया पिउने ठाउँ हाे, भन्थे। यस्तैयस्तै गफ गर्दै, हाँस्दै हामी गल्लीगल्ली घुम्थ्याैं। जात्रामा जान्थ्याैं, रथ तान्थाैं। हातमा टन्नै फाेका बाेकेर फर्किन्याैं।
कताकता म मस्टाे मान्ने मान्ठ, प्रकृति पूजक, नेवा भएको महसुस हुन्थ्यो। भाेज थाहा थियो। हल्का भाषा थाहा थियो। हुन त माँकाे माया पनि त्यस्तै थियो। जन्मदिने आमाको जस्तै। पासाकाे साथ र बहिनीको स्नेह घरको भन्दा कम थिएन। सबै आफ्ना थिए, मनका थिए। पासा र उसको परिवारसँग याे मित्रता हाेला भनेर मैले कल्पना पनि गरेको थिइनँ।
एकदिन म तरकारी लिन जाँदै थिएँ। सधैं हाँस्ने पासा निराश थियो। झ्यालमा टाेलाएर बसेको थियो। मैले भने पासा तल आऊ, चिया खाऊ। ऊ केही नबाेली भित्र गयो। अनुहारको रंग पनि उडेको थियो। तर जस्तो समस्या पर्दा पनि उसले आजसम्म त्यस्तो कहिल्यै गरेको थिएन। सधैं जवाफ दिएकै हुन्थ्यो। खैर, मान्छे हाे सधैं एकनास हुँदैन। केही समस्या अवश्य हाेला। म तरकारी किन्न गएँ।
फर्कंदा, मनले मानेन म उसको घर गएँ। लिभिङ रूपमा बहिनी थिइन्। ‘दाइ बस्नु’ भनिन्। म बसें। ‘पासा कता हाे’ भनें। केही आवाज आएन। एकछिन पछि माँ आउनुभयो। ‘बाबु सन्चै छाैं?’, साेध्नुभयाे।
मैले ‘ठिक छ माँ’ भनें।
‘माँ मचाकाजीलाई के भयो। मदेखि रिसाएको छ त। बाेलाउँदा पनि बाेल्दैन। मैले केही गल्ती गरेकाे छुजस्तो पनि लाग्दैन’,भनें।
माँ एकछिन माैन हुनु भयो।
माथि सिलिङतिर हेर्दै लामा सुस्केका हाल्नु भयो।
कुरा गम्भीर भएको छनक थाहा पाएँ।
‘कुरा अर्कै हाे बाबु।’ अर्को वाक्य नबाेल्दै ‘नानु जाऊ दाइलाई चिया लिएर आऊ’ भन्नुभयो। बहिनी किचनतिर गइन्।
‘माँ के भयो मचाकाजीलाई, हजुर पनि निराश देखिनुहुन्छ।’
‘के भन्ने बाबु, सबै एकाएक बर्बाद भयो। सम्पत्तिको नाममा यही एउटा घर छ। सबैको आँखा यसमा गयो। पहिला धेरै जग्गा थियो। खेत आफ्नै थिए। समस्या केही थिएन। सबै भाेज र माेजले सिध्यायाे। बा हुँदा सबै बेचेर भाेजमै गयो। आफन्त खुसी पार्दापार्दै जग्गा सबै गयो। अलिकति खेत ठूलो छाेरीहरूकाे विवाह, व्रतबन्ध, इहि गर्दागर्दै सबै सक्कियाे।
अहिले कान्छो देवरले सम्पत्ति चाहियो भनेर अदालतमा मुद्दा हालेछ। यही घर पनि ..बाँडे कता जाने हाे बाबु! कस्तो आपत आइलाग्याे। याे उमेरमा अन्त कहाँ जाने। यही पीरले बाबु निराश छ।’
चिया मेरो अगाडि आयो। ‘माँ, ‘ल ओल’ भनिन् नानुले।
मेसिन लिन माँ जानुभयो।
म माैन बसें। के भनेर सान्त्वना दिने। केही शब्द थिएनन्। आन्तरिक कुरा थियो। ‘पासा..पासा कता हाे’, बाेलाएँ।
पासा आएन, उसको काेठामा गएँ। ऊ निराश देखिन्थ्यो। छाेराे मान्छे भएर यसरी आत्तिने हाे! समस्या आउँछन्, जान्छन्’, सम्झाएँ।
‘के गर्नु यार यस्तो पर्ला भनेर कहिल्यै साेचेकाे थिएन। काका बाहिर हुनुहुन्थ्याे। सबै उहाँको सेट छ। अमेरिकामा सबैले राम्रै छ भन्छन्। कहिल्यै सन्चो बिसन्चाे छ भनेर साेध्नुभएन। बा बित्दा एकपटक आउनुभएको थियो। अहिले मुद्दा हाल्नु भएछ।’
‘यस्तै हाे पासा। हामी आफ्नै ठान्छाैं। आफ्नाले आफ्नो ठान्दैनन्। याे धन सम्पत्ति वास्तवमा पाप हाे। यसले सुख कमै दिन्छ, तनाव धेरै।’
‘ल बाहिर जाऔं, घरमै गुम्सिएर समस्याको समाधान हुन्छ यार! यसाे मुड फ्रेस नि हुन्छ। लुगा लगाऊ’ भनें।
‘के लगाउनु पासा यत्तिकै जाऔं’, उसले भन्यो।
हामी बाहिर नआउन पाउँदै बाहिर तीन जना मान्छे घर नाप्दै थिए।
‘माँ ..माँ बाहिर घर नाप्दै छन् त’, पासा चिच्यायाे। मैले मनमनै मनन गरिसकेको थिएँ। उसको काकाले अमिन ल्याएको हुनुपर्छ।
माँ बाहिर निस्कनुभयाे। उसको काकाले नमस्कार पनि गरेनन्।
‘मलाई मेरो अंश चाहियो। धेरै कुरा गर्नुपर्दैन। भाेलि मालपोतमा आउनु , कागजात सबै तयार छ’, भन्यो।
माँ केही बाेल्नुभएन, घरतिर एकोहाेराे हेरिरहनुभयाे। पासाकाे आँखाभरि आँसु थियो। उनीहरू यत्ति भनेर गए।
मैले पनि एकपटक घर हेरें। सुन्दर आँखीझ्याल थिए। कलात्मक ढाेका थिए। यी सबै अब दुई भागमा विभाजित हुँदै थिए। मचा र माँ घरमै बसे। मैले केही भन्न सकिनँ। काेठातिर गएँ।
अस्ति माँ भन्दै हुनुहुन्थ्यो ‘याे घर बनाउँदा बाकाे र मेरो रगत पसिना बगेको छ। कयौं रात खाना खाएनाैं। दुनियाँसँग हात थापेयाैं। कतिले मुख बङ्गयाए। कतिले कुरा काटे। नानी बाबु साना थिए। यिनले पनि इट्टा सार्ने काम गरेका थिए। हातकाे खत देखाउँदै कति घाउ भए, बाबु। ऊ त्यो बेलामा अमेरिकामा मस्त थियो। घरमा के थियो कुनै मतलब थिएन। हामीले नै हाे जग्गा बेचेर उसलाई पढ्न पठाएको हाे। आज सारा गुन देखायो।’
माँसँगै म पनि दुखी थिए। सधैं हाँस्ने परिवार एकाएक निराश थियो। मलाई खुसी दिने परिवारलाई पर्दा मैले केही गर्न सकिनँ। सक्ने ठाउँ पनि थिएन। सिवाय सान्त्वना। त्यसरात मलाई निद्रा लागेन। पासाकाे घरमा पनि बत्ती बलेको थियो। सायद उनीहरू पनि सुतेनन्।
भाेलिपल्ट पासाकाे काका ४ जना मान्छेका साथ आए। एकजनाकाे हातमा काठ चिर्ने मेसिन थियो। माँ तल चाेकमै हुनुहुन्थ्यो।
‘भाउजू मुद्दा लड्ने कि दुई भाग लगाउने’ काकाले साेध्याे। माँ ले ‘जे जे गर्न मन छ त्यहीँ गर्नु’। पासा केही बाेलेन। बहिनीकाे अनुहार राताेपिराे थियो। साँच्चै आफ्ना मान्छे किन यति बैगुनी? किन आँसु हेर्न चाहन्छन्?
‘भाइ एक काेठा छाेडेर झ्याल काट त। मेरो भाग यत्ति हाे सीमाना’, सिकाए काकाले।
ती मिस्त्रीले पनि उनले भने बमोजिम सुन्दर आँखीझ्याल काटे। माँ माथि जानुभयो, पासा म पनि गयौं। हतारहतार काेठाकाे सामान पल्लो काेठामा सार्याैं। काका चुराेट पिउँदै हाँस्दै थिए।
माँ एकछिन चिच्याउनु भयो। पासा र नानीले माँलाई अङ्गालाे हालेर राेए। बाहिर मेसिनकाे चर्को आवाज थियो। हुन त याे शान्त परिवारकाे चित्कारले काकाकाे बैगुनी मनलाई के छुन्थ्याे हाेला र!
हेर्दाहेर्दै घर दुई भागमा परिवर्तन भयो। आँखीझ्याल दुई फ्याक भयो। ढाेका दुई वटा भए।
त्यस रात म पनि माँ कै घरमा सुतें। खाना खायाैं। सबैको अनुहार हेरें। निराश थिए। शरद ऋतु थियो। दशैंकाे माहोल पनि। मैले माँलाई अनुरोध गरें, ‘हामी रारा घुम्न जाऔं। रमाइलो हुन्छ। अलि मुड पनि फ्रेस हाेला। चिसो शान्त ठाउँ छ’ भनें।
बहिनी र पासाले मुखामुख गरे। माँ ले ‘भर्खर यस्तो भएको छ बाबु के जानु। बरू पछि जाउँला’ भन्नुभयो।
‘माँ त्यता पनि आफ्नै घरमा बस्ने त हाे नि। म तपाईंको छाेराे हाेइन र! यहाँ उनीहरूको काम पनि सक्छन्’,भनें।
‘के भन्ने बाबु’, पुन: दाेहाेर्यानु भयो माँले।
मैले जवाफमा ‘जाऔं’ भनें।
बिहान पासा र म बालाजु बसपार्क टिकट काट्न गयौं। टिकट दिउँसो ३ बजेको थियो। ‘कर्नाली यातायात तपाईंलाई कुरेर बसेको छ समयमै आउनु है’ गुरूजीले भने।