यो २० जुनले
मेरो घाउ सम्झाउँछ
खाटो बस्दै गएको मेरो बाउको पीडा फर्काउँछ
मेरी आमाले बिर्सिँदै गरेको वियोगको दिन सम्झाउँछ
अनि कसले २० जुन सम्झिन सक्छ!
हामी कसैलाई चाहिँदैन यो दिन
जसलाई सम्झिँदा पनि भक्कानो छुट्छ!
डढेलाभरि बोकेर दमनका नीलडामहरू
कसरी देखाउँदै हिँडौं म
त्यो २० जुनमा
अहँ, म सक्दिनँ त्यसलाई उत्सव जसरी मनाउन!
मैले बिर्सिएका शासकको ती कर्तुतहरू
फेरि सम्झाउन नआऊ
बरू नियालेर हेर मेरा अनुहारहरूमा
ती शरणार्थी ट्याटुहरूले
कति कुरूप बनाएको छ मेरा सपना
अनि म कसरी मनाउन सक्छु
उत्सव जसरी!
आफ्नै चिहानमाथि मेला लगाएर
आफ्नै निधारमा लागेको शरणार्थी ट्याटु
म कसरी देखाउन सक्छु!
तिमीले यो निधारलाई
मनोरम हिमाल सम्झियौ या
आकाशमा तस्बिर कोरिरहने बादलको क्यानभास देख्यौ
र, भनिरहेका छौ अवलोकन गर्न
म सक्दिनँ आफ्नै निधार देखाउन
त्यसैले चाहिँदैन त्यो २० जुन!
मेरो बाउलाई
मेरो आमालाई
या मेरा छिमेकीहरूलाई
कसलाई देख्यौ
चिडियाखानाका जनावर जस्ता
र तम्सिएका छौ अवलोकन गर्न
तिम्रो शाषकीय चेहराले
सायद त्यस्तै देख्छ!
मानौं हामी खोरमा थुनिएका
बाख्रा, कुखुरा र सुँगुर हौं
तिमी मालिक
र चुपचाप तिमीलाई अवलोकन गराऊ
आफ्नै घाँटीमा झुन्ड्याइएको शरणार्थी लकेट
कम्तिमा म उभिन सक्दिन त्यो लाइनमा!
जबकि म आफैं थुनिएर पिँजडामा
म आफैं कसरी अवलोकन गर्न सक्छु
त्यो २० जुनलाई
तिम्रो शाषकीय चश्माले त
देख्ने सक्छ होला शरणार्थी अवलोकन दिवस
कम्तिमा म सक्दिनँ!
२० जुनले मेरो भाग्यको फैसला गर्न सक्दैन
यसरी
अवलोकन गर्दै
कति दिन
कति वर्ष
कति युग
कति शताब्दी
कति पुस्ता राख्ने विचार गरेका छौ
हाम्रा पखेटा काटेर!
आकाश पोखिएर
भविष्य भिजिरहेका बेला
यो भिजेको मेरो पखेटा कसरी अवलोकन गराउँ तिमीलाई!
(लेखक दिल भुटानी भुटानी हुन्। उनी हाल भुटानी शरणार्थी शिविर, बेलडाँगीमा बस्छन्।)