कविता
आमा,
म सधैं धुवाँ धुलोमा
भ्रष्टहरूको हुलमा
आमा यो तिम्रो देश
कस्तो देश?
लाचारहरूको देश
म कर तिरिरहेछु
ती करबाट पालिएका कारिन्दाहरू
मलाई एउटा रौं जति सोच्दैनन्
आमा यो तिम्रो देश
कस्तो देश?
लाचारहरूको देश
काम मेरो, मेहनत मेरो
सबैकुरा उत्कृष्ट खोज्छन्
अवसरको बेला आफ्ना रोज्छन्
आमा यो तिम्रो देश
कस्तो देश?
लाचारहरूको देश
तिमीले असल मानेको म
इमान्दारितालाई कमजोरी ठान्छन्
ढाट्न खोज्छन्, लुट्न खोज्छन्
आमा यो तिम्रो देश
कस्तो देश?
लाचारहरूको देश
आमा यो तिम्रो देश
यो मेरो देश
हामी लाचारहरूको देश
भ्रष्टहरूको त देश कहाँ हुन्छ र?
भ्रष्टहरूको त आमा कहाँ हुन्छ र?
आमा यो तिम्रो देश
कस्तो देश?
लाचारहरूको देश