वैशाखको खडेरीले बारीमा मकैहरू सुकेको छन्। झारपातहरू थाङ्गक्रो चढ्न सकिराछैनन्। कत्ले खोलाको मुहान सुकेको छ क्यारे सुसाएको सुनिँदैन अचेल। तर वनमा लटरम्म काफल फलेका छन्,चराहरू खुब रमाएका छन् बसन्त तिनलाई आएको छ वास्तवमा।
सानुमा स्कुलमा पढ्दा सरले भनेको अझै सम्झना आउँछ ‘मीठो हुन्छ ऐशेँलु काफल, जथाभावी टिपेर नफाल।’
यही काफल खाने भनेर काठमाडौंबाट फुपू पनि हाम्रो घर आउने खबर भएर कान्छो भाइ बिहानै काफल टिप्न वनतिर गएको छ। पिँढीमा बसेर बहिनी (कृति) र म (सृष्टि ) निउरो केलाउँदै छम्।
साँझमा बस चढेर फुपू आइपुग्नु भयो। अलिकति फलफूल र चकलेट बहिनीलाई दिँदै भन्नुभो ‘कृति त कति ठूलो भैछ। अनि सृष्टि खै त’।
मैले भित्रबाटै भनें, ‘फुपू नमस्कार, म भात पकाउँदैछु।’
फुपू पिँढीमा आढेस् लगाउँदै भन्नुभयो, ‘बस्नलाई त माटोको घर नै ठिक रैछ भाइ, सिमेन्टको घर रोग्या हुँदोरहेछ, चिसो गडिहाल्ने, बस्नलाई त हावापानी गाउँमै राम्रो, पानी कति मिठो छ उताको त घाँटीबाट तल झर्दैन।’
भाइले फुपूलाई जिस्काउँदै भन्यो, ‘दिदी एक बोत्तल पठाइदिउँला नि’
फुपू ‘यो मोरो पनि जिस्काउँछ, कति दिन पुग्छ र एक बोत्तल पानीले?’ सबै जना हाँस्नु भयो एकछिन।
साँझ खाना खाई वरी हामी आआफ्नो कोठामा पस्यौं। मसँगै साइन्समा प्लस टु सकेका साथीहरू अब बिडिएस र एमबिबिएसको इन्ट्रान्स तयारीका लागि काठमाडौं जाने कुरा म्यासेज गरिराख्थे।
प्लस टुमा साइन्स त छात्रवृत्तिमा सुको नतिरी पढ्न पाएँ र टप गर्न सफल पनि भएँ तर अब कसरी अघि बढ्ने म चिन्तित थिएँ।
बाहिर पिँढीमा बुवा-आमा र फुपूबीच अनेकौं विषयमा कुराकानी चलिरहेको थियो। म कोठाको झ्यालका प्वालबाट सुनिराथें, ‘छिमेकमा एउटा बिजनेस म्यानको एक्लो छोरा छ। एउटा बहिनीको थिइन् उनको बिहे भयो। सम्पत्ति जथानाम छ, मैले त सृष्टिलाई दिन पाए सोचेको छु यस्तो मौका कहाँ आउँछ र भाइ’ फुपूले भनिन्।
‘कुरा त ठिकै हो दिदी तर सृष्टि सानै छ, बल्ल १८ कि लागेकी छ, उसको कुरा नि सुन्नु परो, डाउटरी के के हो तयारी गर्छु भनिराछे, हाम्रो सपनाको टुक्रा हो, अहिले नगरम कि दिदी’, बुवाले भनेको सुनें।
‘अब नि के स्यानी हुने हो र उनीहरूले जे पढे पनि पढाइदिन्छु भनेको छन्, यसले ढुक्कसँग पढ्न पाउँछे। अनि सृष्टिले बिडिएस, डाक्टर पढ्दा कति खर्च लाउच,था छ? तिमीहरूको घरबारी बेचे पनि खर्च पुग्दैन’, फुपूले भनिन्।
फुपूका कुराले मेरा आँखा भरिएँ। तर आवाज निकालेर रूँन सकिनँ।
(गाउँमा सामान्य किसान परिवारमा हुर्केकी सृष्टि, निकै सरल स्वभावकी थिइन्; उनलाई घरको सबै काम त आउथ्यो नै पढ्नमा तेजावी भएकोले सबैको प्यारी थिइन्। घरमा निकै हलुँगो साथ काम गर्ने सृष्टि ,फुर्सदमा पढेर पनि गतसाल कलेज टप्न सफल भएको थिइन्। उनी जोकोहीसँग नजिकै हुन्थिनन् तर सन्जयसँग पहिलेदेखि नै राम्रो मित्रता थियो,नोटहरू पनि दुवैले सेयर गर्ने गर्थे, कहिलेकाहीँ बाटोमा सृष्टिलाई जिस्काउँदै सन्जयले भन्थो- म अफिसर भएर तिमीलाई माग्न आउने हो पर्खि बस ल।, सृष्टि तुरून्तै हाँसेर जवाफ दिन्थी, बरू ‘म अफिसर भएर तिमीलाई माग्न आउला’। दुवै यसरी नै हासेर दैनिक स्कुल ओहोरदोहोर गर्थे, उनीहरूबीच गहिरो मित्रता थियो।)
भोलिपल्ट बिहान पानी पिउँदै आमाले एउटा केटाको फोटो देखाउँदै मलाई भन्नुभयो- फुपूले काठमाडौंबाट राम्रो खानदान भएको केटाको कुरा ल्याउनु भएको छ, फुपूले पनि राम्रो ठानेर नै ल्याउनु भएको होला। केटा छोड्न हुने खालको छैनन्, तेरो के छ विचार ?
यति नभन्दै मेरा आँखा भरिए,आमाको अंगालोमा रूँदै भनें- नाइँ म अहिले बिहे गर्दिनँ, मलाई अहिले पढ्ने इच्छा छ।
बुवाले मलाई सम्झाउँदै भन्नुभो- हेर सृष्टि ,घरको जेठी छोरी होऊ। तिमीले हाम्रो कुरा नबुझे कसले बुझ्छ, तिमीलाई नै राम्रो होला पढ्न पाउली भनेर नै हामी अघि बढेका हौँ।
आमाले अझै थपिथपाउ गर्नुभयो, ‘सम्पन्न घर छ रे, मैले भोगेकोजस्तो दु:ख तिमीले भोग्न नपरोस् उतै बसेर पढ्न पनि सहज होला भनेर हो।
म केवल रोइरहें। बिहानको खाना समेत खान मन लागेन। कोठा थुनेर बसें दिनभरि भित्र।
साँझमा आमाले सम्झाउनुभयो, ‘हेर, तिम्रो खुसीको लागि भनेर मैले गाउँबाट साग, टमाटर, आलु डोकोमा लगेर पोखरामा बेच्ने गर्थें,अब हाम्रो खुसीको लागि भए पनि यति मान्देऊ न सृष्टि, फेरि तिमीले दु:ख पाउने घर दिन लागेको पनि त होइन हामीले।’
मैले आमालाई हेरें। वर्षौंदेखि च्यातिएको चोली फेर्न सकिराछैनन्, आमाको आँसु अगाडि मेरा आँसु निरीह भए जसरी मादी नदीको सामु कत्ले खोला निरीह बन्छ। बुवाआमाको सामु मेरो सपना, काठमाडौंको घरभन्दा ठूलो हुन सक्ने अवस्था थिएन।
मेरो मौनता सँगै; काठमाडौंबाट केटाको परिवार हेर्ने, बिहे आँट्न आउने कुरा पक्का भयो।
बुवाले भन्नुभयो, ‘हामीले त नानी र पानी मात्रै दिने हो, पछि यस्तो उस्तो भनेर छोरीलाई वचन लगाउनु हुन्छ कि?’
केटाको बुवाले जवाफ फर्काउनु भयो ‘हामीलाई नानी असल र पढ्न सिपालु भए पुग्छ, उनले हाम्रो सम्पत्ति सम्हालेमात्रै पुग्छ, केही दु:ख मान्न पर्दैन। ढुक्कसँग सुखले पढ्न पाउँछिन्’
मैले केटासँग कुराकानी क्रममा आफ्नो इच्छा र भविष्यको सपना बताएँ र केटाले बाचा गरे, जसरी पढ्ने वातावरण मिलाउनेछु।
अन्ततः सप्तरंगी पार्टी प्यालेसबाट वैशाख २७ गते बिहे हुने भयो। सबै आआफ्नो तयारीमा जुटे। मैले पुरानो मिल्ने साथी सन्जयलाई बिहेको निमन्त्रणाको सहित आउनका लागि म्यासेज गरें, तर सन्जयले ‘ह्यापी म्यारिज लाइफ’ भन्दै सहभागी हुन नसक्ने सन्देश पठायो।
बिहे समय केही दिन रमझम गरेर बित्यो र हप्तादिन पछि मलाई एमबिबिएसको इन्ट्रान्सको लागि तयारी कक्षामा भर्ना गरिदिए।
श्रीमान दिउँसो अफिस जान्थे साँझमात्रै फर्कन्थे। ४ तले घर बिहान सरसफाइ, खाना पकाउने गरेर बित्थ्यो। म आएपछि सासू बिहान मेडिटेसन र साँझ भजन गाउने ठाउँमा जाने आउने गर्दैमा बित्थ्यो।
घरमा सिकाउनुको सट्टा अरूसँग मेरा कुरा मात्रै काट्ने गर्थिन्। नयाँ बुहारी भएपछि कसैलाई जवाफ फर्काउन पनि भएन। इष्टमित्र आफन्तहरूको बिहे वर्तन पूजामा बोलाउँदा म नै जानुपर्थ्यो। यसोउसो गर्दा पढ्ने समय मिल्थेन, श्रीमानलाई सुनाउँदा नि घरको काम के हुन्छ र, आफूलाई कति धेरै तनाव हुन्छ भनेर उल्टै थर्काउँथे। कहिले भैरहवा कहिले पोखरा, कहिले कता जानुपर्ने श्रीमान, मलाई पढ्न समय मिलाउन कठिनाइ हुन्थ्यो। श्रीमानसँग चिना मिलेर के गर्नु मन मिलेन, विचार मिलेन, वास्तवमा साथ मिलेन।
उनी साँझमा पनि धेरैजसो कहिले के कहिले के पार्टी भनेर रक्सी पिएर आई अनेकौं वचन लगाउने ‘तँलाई के नपुग्दो छ र, मस्त गहना लगाउन पाएकी छस् बाहिर निस्कँदा कारमा जान पाएकै छस्, मान्छेले कति दुख गरेर पढ्छन्, गाउँमा जस्तो घाँस दाउरा काट्न, गोबर सोहर्न परेको त छैन।’
म केबल नबोली बस्थें। माइत बाआमालाई सुनाऊँ भने झन् दु:ख मान्लान्, आमाले नारी भएपछि केही कुरा सहनुपर्छ,जवाफ नफर्काउनु भनेको सम्झन्छु।
बेलाबेलामा लामो सास तानेर बस्छु।
अहिलेसम्म कुनै परीक्षामा फेल नभएको म, तयारी पुर्याउन नसकेको कारणले एमबिबिएस इन्ट्रान्समा फेल भएँ, मेरो डाक्टर हुने सपना विस्तारै मलिन हुँदै गएको थियो।
केही महिनापछि आफू आमा बन्न लागेको थाहा भयो। मैले श्रीमानलाई भनें। र अहिलेलाई यो रोकम भनेर सल्लाह मागें, तर श्रीमान रिसाएर भने ‘तिम्रो पो अझै उमेर बाँकी छ, मेरो उमेर ४० कटिसक्यो। मेरा लागि भए पनि केही त सोच्नु, इन्ट्रान्स पनि फेल भइहाल्यौ।’
श्रीमानको कुराले म स्तब्ध भएँ। कुरा काट्ने सामर्थ्य ममा थिएन। बरू पेटमा हुर्कंदै गरेको बच्चाको माया लागेर आयो।
मेरो डाक्टर बन्ने सपना तुहिसकेको थियो तर पनि पढाइलाई निरन्तरता दिन घर नजिकैको त्रिचन्द्र कलेजमा बिएस्सीको लागि भर्ना भएँ। पेट भारी हुँदै गइरहेको थियो। कलेज रेगुलर उपस्थित हुन सक्थिनँ। दिउँसो घरमा एक्लै रोएर बस्थें, घरिघरि लाग्थ्यो ‘यति परिपक्व पनि बन्नु थिएन मलाई कि, एक्लोपन प्यारो लाग्न थालोस्’
मलाई लाग्थ्यो श्रीमानले मेरो कुरा बुझ्ने छन्, साथ सहयोग गर्नेछन् तर सोचेजस्तो नहुँदो रहेछ जीवन।
गलाभरिको गहनाले मेरो अस्तित्व दिलाउन सकेन बरू म जेलभित्रको कैदीजस्तो बनायो। यसरी दिनहरू बित्दै जाँदा आमा बन्ने समय आएछ तर बच्चा उल्टो भएकोले अपरेसन गर्नुपर्ने हुँदा ओम हस्पिटलमा गई भर्ना भएँ। २ दिनपछि आमा बनें। मेरो पातलो शरीर देखेर मलाई नै दया लागेर आउथ्यो। खाना रुच्थेन मनमा चिन्ता मात्रै थियो सायदै सपनाहरू तुहिने मान्छे पातलो हुन्छन् होला।
सुत्केरी भएपछि अझै व्यस्तता बढ्न थाल्यो, श्रीमान दिउँसो मात्रै होइन कैयौं रात घरमा आउँदैनथे। जुनबेला मलाई उनको साथ चाहिएको थियो बच्चालाई स्याहारसुसार गर्नुपर्ने थियो फुर्सद छैन भन्दै तर्कन्थे।
सासू घरिघरि झनक्क झन्किन्थिन् ‘मान्छेले एक दर्जन पाउँदा केही हुँदैन गाउँमा, सुत्केरी हुँदाको दिनसम्म मोलको भारी बोक्छन् यसलाई बसीबसी खाँदा नि ठसठस।’
कलेज जान नपाएकोले सबै परीक्षा दिन सक्ने अवस्था रहेन। फिजिक्स मात्रै दिएँ। त्यो पनि पास हुन सकिनँ। मेरो सपनाहरूको मलामी म एक्लै जानुपरेको छ, र अझै जुठो बारिरहेको छु। मलाई निकै एक्लो महसुस हुन्थ्यो म जो भनेर आएँ उसले नै वास्ता गर्न छाडेपछि मन यसै नि रूने भयो। तर पनि रोएको अरूलाई देखाउन मन लाग्दैन। श्रीमानलाई बारम्बार भन्दा पनि सहयोग पाइनँ उल्टै यस्तो उस्तो भनेर बचनमात्र सुन्नुपर्थो।
कहिलेकाहीँ आमालाई दु:ख पोख्न फोन गर्दा ‘मैले जति दु:ख गरे पनि अब तैंले दु:ख गर्न परेको छैन छोरी, धनाढ्य व्यापारीको घर परेकी छस्, बुढा मालिक छन् तँलाई नपुग्दो के छ र, गाउँमा तैंले लगाएको गहना देखेर चकित हुन्छन् मान्छेहरू, साह्रै भाग्यमानी रैछस् सृष्टि तँ त।’
म केही बोल्न सक्थिनँ। उम ठिकै छ भन्थें। मेरा कारणले अरू खुसी छन् भने पीडा सुनाएर किन दुखी बनाउनु लाग्थ्यो। मलाई भन्न मन थियो ‘यो गलामा करोडौंको सुन भरिएको भन्दा एउटा स्वाभिमानको परिचयपत्र लगाउन मन छ,आफ्नो परिचय आफैंले बनाउन मन छ’ भनेर।
घर धन सम्पत्ति भरिएको छ तर मेरो मन रित्तो छ तै पनि बोकेर हिँड्न निकै कठिनाइ भएको छ।
ती सपनाहरू कता टुटे, कहाँबाट छुटे।
एकदिन फेसबुक खोल्दा स्कुल पढ्दाको साथी सन्जयलाई देखें,अति सहयोगी र बुझ्ने मान्छे थियो। जसले मलाई मिठाइ समेत जुठो लाग्छ भनेर सर्टभित्र हालेर टोकेर आधाआधा बाँड्ने गर्थ्यो। आज अफिसर बनिसकेछ, बुढीको फोटो पनि सँगै थियो, दुवै सरकारी कर्मचारी रहेछन्। क्याप्सनमा लेखिएको थियो ‘यो कात्रो ,यो चिहान, यो घाट त देखावटी मात्र हो, मान्छे त त्यति बेलै मरिसकेको हुन्छ जब उसलाई बुझ्ने कोही हुँदैन।’ कमेन्टमा मैले सुन्दर जोडी लेखेर छाडिदिएँ।
वैशाखको हावा उडेको सिमलको भुवाजस्तै भएको जिन्दगी, सपनाहरू उडिरहेको छन्,भौतिक सम्पन्नता भएर पनि म रित्तो छु,यो बालुवाको महलभन्दा मेरो सपना धेरै उचाइमा थिए।
जब मन बुझ्ने कोही हुँदैन भौतिक वस्तुमा केही चाखलाग्दो रहेनछ।
सोचेकोजस्तो होइन जे भोगिन्छ त्यो रहेछ जिन्दगी।
मरिसक्यो मन अब ज्यान बाँकी छ
तिमीले सिकाएको केही ज्ञान बाँकी छ ||
देख्नेहरूले शरीर जिउँदै देखेका छन्
मात्र अब ढुंगा माटोको चिहान बाँकी छ||