कविता
समय बदलियो,
समयसँगै पाठ्यक्रम र पाठ्य सामग्री पनि बदलिए
विद्यार्थी बदलिए, अभिभावक बदलिए
विद्यालयको भौतिक संचरना बदलियो,
सुरक्षित र पक्की भवनहरू ठडिए,
रंगरोगन र सजावटले सिंगारिए स्कुल र स्कुलका कक्षाकोठाहरू
स्कुलमा स्मार्ट बोर्ड र प्रोजेक्टर टाँगिए,
विषयगत ल्याब र पुस्तकालय निर्माण भए,
कतै आइसिटी ल्याब त कतै भर्चुअल ल्याब बनाइए,
कतै सिसिटिभी क्यामेरा र कतै डिजिटल हाजिरी जोडिए,
शैक्षिक सुधार कै लागि भनेर लगबुक र शिक्षक डायरीको व्यवस्थापन गरिए,
पाठ्यक्रमसँगै पाठ्यपुस्तक, शिक्षक निर्देशिका र पाठ्य सामग्रीहरू बनाइए,
शिक्षक तालिम र सेमिनारहरू आयोजना गरिए,
नमूना विद्यालयहरू भन्दै
कतै संघीय सरकारको नमूना विद्यालय,
कतै प्रदेश सरकारका नमूना विद्यालय,
कतै स्थानीय सरकारका नमूना विद्यालयहरू बनाइए, बने
सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका खातिर
चिन्तन र चिन्ता अभिव्यक्त भए, भइरहेका छन्,
शैक्षिक संस्थाको भौतिक संरचना बदलिएसँगै
हामी शिक्षक कति बदलियौ?
सिकारूको रूचि र क्षमतालाई कति सम्बोधन गर्याैं?
अभिभावकको सपनालाई कति महत्व दियौ?
हामीले केबल पढाइरह्यौ कि सिकायौं पनि?
कन्टेन्ट र कन्टेक्स्टको आलोकमा सिकाइमा नयाँपन दियौं कि दिएनौं?
विद्यार्थीको धारणात्मक बदलावसँगै हाम्रो मनस्थिति रूपान्तरण गर्यौं कि गरेनौं?
गृहकार्यको कर्मकाण्डी निरन्तरतालाई चुनौती दिँदै सिकारूको सिर्जनशीलता वृद्धि गर्न
परियोजना कार्य र अभ्यासात्मक क्रियाकलापमा कति सहभागी गरायौं?
सिकाइ सक्षमता प्राप्तिका सुनिश्चिततासँगै व्यवहार कुशल सीपहरू विकास गर्न,
सिकारूको अभिक्षमता र मनोविज्ञान बुझ्ने प्रयत्न गर्यौं कि गरेनौं?
औपचारिक परीक्षाको प्राप्तांकमा कि सिकारूको व्यवहारमा खोज्यौं गुणस्तर?
एक्काइसौं शताब्दीका हाम्रा विद्यार्थीहरूलाई समुचित सम्बोधन गर्न
शिक्षण सिकाइमा सहकार्य र समालोचनात्मक चिन्तनको वातावारण निर्माण गर्यौं कि गरेनौं?
सिर्जनशीलता र सञ्चार सीप विकास गर्न क्रियाशील बन्यौं कि बनेनौं?
हो, हामी एक्काइसौं शताब्दीको शिक्षक,
हामी बदलिनुपर्छ, विषयवस्तुको ज्ञानसँगै सान्दर्भिक पेडागोजीको प्रयोग गर्नुपर्छ,
विद्यार्थीलाई केवल किताब पढाउने मात्र होइन जीवन जिउने कला सिकाउनु पर्छ,
समस्या सामना गर्न अभिप्रेरित हुने, सिर्जनशीलतामा रमाउने सिकारू हुनुपर्छ हाम्रा विद्यार्थी,
हो, यसको लागि
विविधताको सम्मान गर्दै समावेशी कक्षाकोठा निर्माणमा ध्यान दिऔं,
क्रियाकलाप गर्ने प्रेरित गर्दै अनुभवहरू प्रतिविम्बन गर्न सिकारूलाई उक्साऔं
पाठ्यक्रमको निर्देशन र सिकारूको रूचि, चाहना एवम् आवश्यकताबीच तालमेल मिलाऔं
हामी धेरै रेडियो शिक्षक भयौं किः एकोहोरो बोलिरहने,
हामी कोर्स अफ स्टडी सक्ने शिक्षक बन्यौं कि केबल जागिर खाने,
हामी किताबे शिक्षक पो भयौं कि किताबमा उल्लिखित कुरामात्र फलाक्ने,
अब हामी जीवन सिकाउने सहयोगी बनौं जिन्दगीका पहेलीसँग साक्षात्कार गराउने,
आदर्श सहजकर्ता बनौः जीवन्त अनुभवसँग मानव मूल्य मान्यतालाई साक्षात्कार गराउने।
र, हामी शिक्षक नै शिक्षाको मेरूदण्ड हौं, सिकाइको आधार हौं भनेर बुझौं,
पढौं, सिकौं, सिकाऔं र देखाऔं हाम्रा बालबालिकाहरूलाई सिर्जनाका बाटाहरू।