कविता
म
सबैभन्दा शक्तिशाली हुँ,
दुनियाँबाट त बचौंला
तर, म बाट बच्न सक्दैनौ।
म
तिमी भित्रै छु
तिम्रै वातावरणमा नाचिरहेको छु
तर, तिमी मलाई चिन्न सक्दैनौ।
तिमीलाई दु:ख, दर्द, भय मैले नै दिन्छु
तिमीलाई अपराधी मैले नै बनाउँछु
तिमीलाई ज्ञानी, संन्यासी मैले नै बनाउँछु
स्वस्थ, स्वच्छ, शान्त पनि मैले नै गराउँछु
तिमीलाई कस्तो बनाउने मेरो हातमा छ।
तिमी मलाई जित्ने कोसिस गर्छौ
न तिम्रो पद, धनले मलाई हराउन सक्छौ
न तिम्रो ज्ञान, शिक्षाले मलाई रोक्न सक्छौ
मेरो अगाडि अर्जुनहरूको तीर भाँचिएको छ
रावणहरूको लंका जलेको छ
दुर्योधनहरूको राज्य सकिएको छ
सुर्पणखाहरूको नाक काटिएको छ।
मलाई नियन्त्रणमा लिन
बुद्धहरूले घरबार त्यागे
शिवहरू कैलाशमा भासिए
क्राइष्टहरू झुण्डिए
सुकरातहरूले विष पिए
तर मलाई हराउन सकेनन्,
म फेरि तिमी माथि शासन गरिरहेको छु।
मेरो शासन ढाल्नको लागि
तिमी कहिले जंगल जान्छौ
कहिले आश्रम जान्छौ
कहिले मन्दिरको ढोका ढकढकाउँछौ
कहिले मस्जिदको कान खान्छौ
तर तिमी जित्न सक्दैनौ।
तिमी आँखा भएर पनि अन्धो छौ
तिमी कान भएर पनि बहिरो छौ
तिम्रा ज्ञानेन्द्रियहरू सब निदाएका छन्
तिमी जाग्ने चेष्टा गर्दैनौ
अनि तिमी जहिले हार्छौ।
मलाई जित्नको लागि दौडिरहेका छौ
तर, मलाई जित्न एकदमै सजिलो छ
बाटो छोटो छ,
त्यसको लागि
दौडन छाडिदेऊ
मलाई हराउने चेष्टा छाडिदेऊ
मलाई डलाउने कोसिस छाडिदेऊ
म जस्तो छु, त्यसलाई स्वीकार गर
मेरो सागरमा पौडी खेल
मेरो संगीतमा नाच
मेरो अस्तित्वलाई स्वीकार गर
जब मलाई जित्नको लागि कोही आउँदैन
तब म हार्न तयार हुन्छु
म दुनियाँसँग होइन
आफैसँग हार्न तयार छु
जुन क्षण तिमी जित्ने कामना छोड्छौ
त्यही क्षण तिम्रो विजय हुनेछ।