कविता
एउटा प्रेम प्रसाद आयो पेट्रोल बोकेर,
देशको मुटु भनिने राजधानीमा,
आफ्नै शरीरमा आगो लगाएर देह त्याग गर्यो,
केही दिन सन्जालभरि छायो सकियो,
किसानहरू आए मनभरी पीडा बोकेर,
बल्ल बल्ल उब्जाएका तरकारी,
सडकभरी फाले बिक्री नभएर,
क्यामेरा ले कैद गरे तस्बिरहरू,
सन्जालभरि छरपस्ट भयो सकियो,
सुदूरमा पुस्तक पुगेन,
कर्णालीमा सिटामोल पुगेन,
मतपत्र समयमै पुग्यो,
चुनाव भयो चर्चा भयो सकियो,
धनी झन् धनी हुँदै छ,
गरिबलाई छाक टार्न गाह्रो छ,
पुस्तौंदेखिको यो खाडल,
पुरिएला भन्दाभन्दै कतिको जीवन सकियो,
कैयौं चेली बलात्कृत भए,
न्यायको लागि हारगुहार गरे,
न कसैले सुन्यो न न्याय पाए,
केही दिन आन्दोलन भयो सकियो,
युवाहरू बेरोजगार भए,
भाषणमा रोजगार दिने भनियो,
युवाहरू दिनहुँ विदेश भासिए,
कति रातो बाकसमा फर्किए,
जसलाई पर्यो पर्यो सकियो,
न रोजगार छ,
न मल छ, न बीउ छ,
न न्याय छ,
न स्वास्थ्य सुविधा छ,
न शिक्षामा समानता छ,
छ त केबल,
चरम बेथिति छ,
चरम भ्रष्टाचार छ,
व्यवस्था त कैयन् पटक बदलिए,
अवस्था जहाँको त्यहीँ छ सकियो,
हजुरबुवाको पालादेखि आजसम्म,
यसरी नै चलिरह्यो,
सायद अब पनि,
यसरी नै चल्छ चलिरहन्छ,