प्रफुल्लित मुडमा छोरीको पहिलो आवाज ‘बाबा मेरो सि.ओ.ई. आयो नि’।
दर्शन गरेर फोनको संवाद सुरू गर्ने छोरी आज त्यो पनि बिर्सी छ क्यार।
सायद खुसी भनेको यस्तै हुँदो हो। केही नयाँ चिज पाउँदा केही पुराना चिज बिर्सिने। ‘भाग्यमानी हुनू, खुसीमा धेरै नमात्तिनू। नआत्तिनू छोरी ! अब छिट्टै भिसा पनि आउँछ।’
म थप केही बोल्न खोज्दै थिएँ छोरीले कुरा काटिहाली।
‘साथीहरूलाई पनि यो सब सुनाउनु छ, हजुरलाई पछि फोन गर्छु है’ भन्दै फोन राखी।
मैले ‘हुन्छ’ भनें।
तर, फोन कटिसकेको रहेछ।
हिजोजस्तै लाग्छ छोरी तिमी जन्मिएको दिन। तिमीलाई केही थाहा छैन, मैले केही बिर्सिएको छैन। कति छिट्टै बित्दा रहेछन् है दिनहरू।
दुई वर्षअघि तिमी घर छोडेर उच्च शिक्षाको लागि तिम्रो सहर गएको दिन पनि आज बिहान् जस्तै लाग्छ। ठ्याक्कै यस्तै थियो छोरी।
घाम राम्रोसँग खुलिसकेको थिएन। मन नै उदास भएर होला वातावरण पनि शून्य लागेको थियो। तै पनि आशाका साना-साना किरणसँगै बिहानी घामका किरणहरू डाँडाबाट विस्तारै ओरालो लाग्दै थिए।
धरोधर्म ढाँटेको भए पाप लाग्ला, तिम्रो भविष्य सोचेर रातभर निदाएको थिइनँ।
तिम्रो आमा पनि यस्तै भन्दै थिइन्, ‘छोरी घर छोडेर जाने भैसकी है..। सहरमा एकदम गाह्रो हुन्छ रे, सब थोक किन्नु पर्छ रे। तपाईंलाई थाहा छ? अचम्म मान्दै भनेकी थिइन्। पानी त किनेर खान्छन रे। बोलेको पनि पैसा पर्ला जस्तो गरी एउटा कोठाको मान्छे अर्को कोठाको मान्छेसँग कामै परेमात्र बोल्छन् रे।
जन्म, मृत्यु जस्ता ठूलै घटना हुँदा पनि दुई घर पल्लो घरका मान्छेलाई पत्तै हुँदैन अरे।’
हो छोरी! हिजो तिमीले हामीसँगै घर पनि छोडेर गएकी थियौ। मन उदास थियो। घर शून्य भएको थियो। आज तिमी विदेश जाने कुरा गर्दैछौ। मनमा के-के खेलेको होला?
तिम्रो आमाको र मेरो मन कसलाई हेरेर बुझाउला ?
तिमीबिना शून्य लाग्ने घरमा कसलाई बोलाउला?
तिमी अब दसैं तिहारमा पनि घरमा हुने छैनौ छोरी।
भाइहरू कसको मुख हेरेर चित्त बुझाउलान् ?
गाउँमा अनेकले कुरा काट्लान्। राम्रो या नराम्रो जे सुकै होस्, कुरा काट्नेको, खुट्टा तान्नेको कमी छ र यो समाजमा?
आफ्नै मन सम्हाल्न नसकेको म, समाजले सोधेका प्रश्नको जवाफ कसरी दिउँला?
मेरो देशले सोधेका प्रश्नको जवाफ कसरी दिउँला?
सानो-सानो कुरा मलाई नसोधी कहिल्यै केही गरिनौ। तिमीलाई दोष लाउने कुनै ठाउँ छैन। विदेश जान सोचिसकेकी तिमीले विदेशको लागि कोसिस गर्नुभन्दा पहिल्यै यो सब सोधेकी पनि थियौ। मैले तिमीलाई यो सब गर्न रोक्न सक्दैनथें। हौसला दिन पनि सक्दैनथें किनकी म तिम्रो बाउ हुँ छोरी।
एउटा बाउले आफ्नो छोरी पैसा कमाउन विदेश जानु परोस् कसैले सोच्दैन। अपसोस! आज तिमी जस्ता कयौं छोरी पैसै कमाउन विदेश जाँदा म जस्ता बाउ चुप लाग्नु परेको छ।
भक्कानिएको मन सम्हाल्नु परेको छ।
समाज मुकदर्शक बनेको छ। देश लाजले घुम्टो ओढेर लम्पसार छ।
झट्ट सुन्दा म साँघुरो सोच भएको बाउ जस्तो देखिन्छु होला है? त्यस्तो होइन छोरी।
छोरा होस् या छोरी, घर छोडेर बाहिर जानु पर्छ। विदेश पनि जानु पर्छ। आजको विश्व परिवेशमा के मेरो देश के अर्काको देश। तर, म जस्ता बाउ, मेरो जस्तो समाज अनि मेरो देशले जसरी छोरा छोरीलाई विदेश पठाइएको छ, विदेश पलायन बनाएको छ, यो सब ठिक भएको छ?
हुनु पर्ने यस्तै हो ?
सधैं यसरी नै चल्छ ?
तिमी चुप छौ। यसको अर्थ यो होइन कि तिमीसँग मलाई सोध्न कुनै प्रश्न नै छैनन्। म मौन छु, यसको अर्थ यो होइन कि तिमी जे गर्दै छौ त्यसमै खुसी छु। खुसी हुनु र खुसी भएको जस्तो गर्नु नितान्त फरक हो।
हो छोरी ! म बारम्बार आफैंलाई प्रश्न गर्छु।
आज तिमी जुन अवस्थामा छौ त्यसमा मेरो कमजोरी कति छ?
मेरो समाजको हात कति छ? अनि मेरो देशको दोष कति छ?
मेरी प्रिय छोरी! तिमीले विदेश पैसा कमाउन जाने निर्णय गर्नुमा हाम्रो घरको गरिबीको दोष कति छ?
देश गरिब हुनुको दोष कति छ?
तिमीलाई पढाउन नसक्नुको कारणले यो सब भएको हो?
मैले पढ्न नसक्नुको कारणले यो सब भएको हो?
कि अरू केही त्यस्ता कारण छन् जुन न मैले बुझ्न् सकेको छु, न तिमीले न त मेरो देशले?
प्रश्नहरूको चाङबीच केही जवाफ दिन कोसिस गर्छु। तल्लो घरको दाइकी छोरी धनी थिइन्, उनी पनि त तिमीसँगै विदेश जाँदै छिन्।
मेरो घरको गरिबी मात्र दोष होइन रहेछ। रोसन सरका बाबु छोरी नै पढेका थिए। छोरीले त स्नातक गरेकी रे, उनी पनि त तिमीसँगै जाँदै छिन्। तिमीलाई पढाउन नसक्नु मात्र पनि कारण होइन रहेछ।
सन्तोष अंकल जिल्लामा अधिकृत जागिर गर्छन्। उनकी छोरी मास्टर्स गरेर विदेश पलाएन भइन्।। मैले पढ्न नसक्नु मात्र पनि त कारण होइन रहेछ।
त्यसो त ठूला-ठूला नेताका छोरा छोरी धेरै जस्तो विदेश बस्छन् अरे।
उच्च ओहोदामा पुगेका मान्छेका छोरा छोरी पनि विदेशमै छन् रे।
धेरै जस्तो त्यहाँका नागरिक बनेका छन् रे। हामीले त सुनेको, पत्रपत्रिकामा पढेको। सत्य हो कि असत्य उनीहरू नै जानुन्।
यति ठूला मान्छे जाने देश। यति ठूला मान्छे बस्ने देश। त्यति धेरै धनी देश। मेरो छोरी! तिमी त्यस्तो देशमा जान पाउँदा मलाई गर्व हुनुपर्ने होइन? मेरो समाजमा मान मर्यादा बढ्नु पर्ने होइन? उनीहरू र तिम्रो उद्धेश्य एउटै होइन?
उनीहरू र तिमीले गर्ने काम एउटै होइन?
मलाई सोध्न मन छ, कमसेकम विदेश त सबैको लागि एकै हुनुपर्ने होइन?
होइन रहेछ छोरी।
तिमी र उनीबीच आकाश पातलको फरक छ। तिमी पैसा कमाएर देश फर्किनु छ। उनीहरू पैसा कमाएर देश छोडेका हुन्। तिमीलाई आफू पढ्न नसकेकोमा पछुतो छ। तिमीसँग पढ्ने पैसा नहुँदा तिमी विदेश जान लागेकी हौ, कमसेकम आउने सन्ततिले त पढ्न पाउने छन्।
उनीहरू पढ्ने पैसा धेरै भएर विदेश गएका हुन्। तिमी हरेक दिन सोच्दी हौ, पैसा कमाएर पैसाको मात्र कुरा गर्नेलाई पैसाले नै जवाफ दिनेछु।
तिमी हरेक पल मनन गर्दी हौ, पैसा सब थोक होइन तर पैसाबिना केही सम्भव छैन।
घरबेटीले ढोका ढक्ढक्याउँदा मलाईभन्दा पहिले पैसालाई सम्झिदी हौ, पैसा र विदेश तिम्रो लागि उस्तै-उस्तै लाग्दो हो।
साथीभाइको मोज-मस्ती हेर्दी हौ, जिन्दगीको रमाइलो भन्नु नै पैसा रैछ सोच्दी हौ। बजारमा सामान किन्न जाँदा, पैसा नपुगेर आफूले चाहेको कपडा वा अरू कुनै वस्तु किन्न नपाउँदा, मनमा लागेको खान नपाउँदा पैसा सबथोक रैछ सोच्दी हौ।
देशमा जागिर गर्नेको हालत पनि देख्दी हौ, ब्यापार-ब्यवसाय गर्न गाह्रो छ सोच्दी हौ। लथालिङ्ग भएको देश र राजनीतिको हालत पनि देख्दी हौ अनि राजनीति भनेको घिनलाग्दो काम सोच्दी हौ।
कृषि ब्यवसायमा लागेका मान्छे पनि अन्तिममा विदेश जानु परेको यथार्थ देख्दी हौ।
यो देश हुने खानेका लागि मात्र रहेछ। सरकारका अनुदान, शिक्षा, स्वास्थ्य, रोजगारी आदि इत्यादि पनि पहुँच हुनेहरूका लागि मात्र रहेछ सोच्दी हौ। हो छोरी, पैसा र विदेश तिम्रो लागि उस्तै-उस्तै लाग्दो हो। भविष्य बनाउने एक मात्र अन्तिम विकल्प विदेश सोच्दी हौ।
मन भारी भयो। मनमा अकेन कुरा खेल्न थाले। छोरालाई फोन गर्नु पर्यो सोचें। फोनको पहिलो घन्टी उठेन। थाहा थियो, जानी-जानी पनि छोराले फोन उठाउन छाडेको थियो। फेरि दोहोर्याएर गरें।
‘हेलो!’ छोराको यो पहिलो आवाज।
अरू दिनको आवाजभन्दा अलि भिन्न, गहकिलो, चम्किलो अलि ठूलो स्वर।
त्यसो त हामीबीच कुरा नभएको महिना बढी भैसकेको थियो होला। म केही बोलिनँ।
‘बहिनी विदेश जाने भैइछ। फोन गरेकी थिई हजुरलाई?’ छोरी र छोराको आवाजमा कुनै भिन्नता थिएन। दुवै खुसी थिए।
यसरी सुनाउँदै थिए कि मानौं मलाई पहिलोचोटि कुनै उपहार दिँदै छन्। कुराको प्रसंग बदल्न खोज्दै सोधेँ, ‘के गर्दै छस् बाबु? कस्तो चल्दै छ लोक सेवाको तयारी?’ छोरो केही बोलेन।
मैले नै सोधेँ, ‘किन बोल्दैनस् बाबु, के भयो?’ लामो सास फेरेकोजस्तो आवाज आयो। मेरो प्रश्नको जवाफ नदिई उसले भन्न सुरू गर्यो।
‘आजभन्दा ठीक पाँच वर्ष पहिले हजुरले मलाई विदेश जान सल्लाह दिँदा त्यो रात म कति रोएको थिएँ। सम्झिँदा पनि मन भक्कानिएर आउँछ। एउटा पढ्दै गरेको छोरालाई विदेश जा भन्नु कति उचित थियो? सकिन्छ देशमै केही गर्नुपर्छ भन्ने थियो। अन्तिम विकल्प विदेश हुन सक्थ्यो। आज समय बदलिएको छ। परिवेश बदलिएको छ। मलाई माफ गर्नु होला बाबा, हजुरसँग धेरै कुरा लुकाएको छु, यो बाध्यता पनि थियो। म पनि छिट्टै विदेश जाँदै छु। सम्पूर्ण तयारी पूरा भैसकेको छ। सोचेको थिइनँ कुनै दिन हजुरसँग विदेश जाने कुरा सुनाउनु पर्छ। यसलाई रहर भन्नुहोस् या बाध्यता। आज अन्तिम विकल्प विदेश होइन देशमा बस्नु बनेको छ। कसैगरी विदेश जान सकिएन भने अन्तिम विकल्प देशमा बसौंला।’
जो कोहीलाई पनि देशमै केही गर्न सल्लाह दिने छोरो आज आफैं विदेश जाने निर्णय सुनायो। म छक्क परें। यो रहर हो कि बाध्यता ?
एउटा शब्दले एकदमै मन छोयो, भन्दै थियो ‘आज अन्तिम विकल्प विदेश होइन देशमा बस्नु बनेको छ।’
यति धेरै पढेको छोरो, मैले सिकाउने कुनै ठाउँ थिएन कमसेकम उसको भविष्यको निर्णय गर्न।
आज समय र परिवेश बदलिएसँगै विदेश रहर, लहर र बाध्यताको उपज बनेको छ।
सबैलाई थाहा छ, सधैं रेमिट्यान्सले देश अघि बढ्दैन। तर, देश यस्तो भूमरीमा फसेको छ, रेमिट्यान्सबिना देश चल्न सक्दैन। देशलाई अघि बढाउने वा चलाउने दुई विकल्पमध्ये अस्थिर सरकारले सधैं दोस्रो विकल्प रोज्दै आएको छ। हामी यस्तो बाध्यतामा छौं, रातारात यो अवस्था बदल्न सकिने पनि छैन।
सरकारको एक घर, एक व्यक्ति रोजगार कार्यक्रम असफल भएपछि एक घर एक व्यक्ति वैदेशिक रोजगार कार्यक्रम ल्याएको छ। शब्द ठ्याकै मिल्दैन होला भनिएको छ ‘नयाँ र आकर्षक गन्तव्य मुलुकहरूमा रोजगारीका अवसरहरूको पहिचान र उपयोग गरिनेछ।’
‘आफैं जान्ने छस् बाबु। हामीलाई सिकाउने भैइसकेको छस्’ मैले भनें, ‘म के भनूँ? जानी बुझेर यस्तो निर्णय गरेको होलास् क्यार।
‘एक हप्तापछि घर आउँछु। बहिनी पनि आउने कुरा गर्दै थिई। सायद सँगै आउँछौं होला’ भन्दै फोन राख्यो।
छोरीलाई सोधिएका जस्तै प्रश्नहरू छोरालाई सोध्ने ठाउँ थिएन। ऊ पढेलेखेको छ, जाने बुझेको छ, लह-लहैमा लागेको पनि त होइन होला।
जे होस्, यथार्थ स्वीकार्नुको विकल्प छैन। मेरा छोराछोरी पैसा कमाउन विदेश जानुपर्ने बाध्यतामा मेरो कमजोरी होला, उनीहरूको पनि कमजोरी होला।
मलाई सोध्न मन छ, वार्षिक लाखौं बाआमाका छोराछोरी विदेश जानुमा उनीहरूको मात्र दोष छ?
यो प्रश्न तिमीलाई, विदेश गएका र जान लागेका छोराछोरी र उनीहरूका बाआमालाई, मेरो देशको सरकार अनि मेरो देशलाई।