बिहान सबेरै उठ्यो, नित्यकर्म सकायो अनि किचनतिर लाग्यो, पकाउ, खुवाउ खान देउ अनि कार्यालयतिर, अनि बेलुका उहीँ रूटिन घर आइपुग्यो दिनभरिको थकानलाई पोको पारेर किचनतिरै लाग्यो। यही हो मेरो सदाको दैनिकी ...
हिजो साँझ घर पुग्दा टेबलमा एउटा बिहेको कार्डमा आँखा पर्यो। त्यो कार्ड अरू कोहीको नभएर मेरो मामाको छोरा अर्थात् मेरो दाइको रहेछ।
मावल आजभोलि खासै गइँदैन। यसको मतलब यो होइनको मावलमा सम्बन्ध राम्रो छैन। अति नै राम्रो छ तर घरपरिवारको जिम्मेवारी अनि प्राइभेट अफिसको जागिरे म एकदिन छुट्टी लिन राम्रै पापड बेल्नुपर्छ। तर जे होस् दाइको बिहेमा जसरी नि जाने हो।
बिहे भएको झन्डै पाँच वर्ष भैसक्यो बिहे भएको वर्ष गएको थिएँ त्यसपछि फर्केर गएको छैन।
बिहे आउन पाँच दिन बाँकी रहेछ, दाइको लभ म्यारिज कि अरेन्ज जान्न उत्सुक थिएँ, दाइसँग खासै बोलचाल हुन्न काम नपरी।नभए पनि उहाँ मेरो बायाँ हार्टभन्दा फरक नपर्ला। घरमा पनि सरसल्लाह भयो म नै जाने कुरा भयो त्यो पनि जग्या लगाउने दिनमा अर्थात् हाम्रो परिवर्तित समाजअनुसार हल्दीको दिनमा।
अफिसमा पनि छुट्टी लिइछाडें पापड बेलेरै भए पनि।
हल्दीको दिन पनि म बिहानै पुगे मामाघर। मेरो प्रस्थानलाई मामा र माइजुका आँखा यसरी गडिएका थिए कि म देवी माता नै उहाँहरूको दैलो टेक्दै छु। घरभरि पाहुनाले टनाटन थिए, जो सबै मेरो नाताकै थिए। मामाले गोरुदेखि परेवा बेचेको नाता समेत छोड्नु भएनछ निम्तो पुर्याउन।
कोही रोटी पकाउँदै खासखुस गर्दै थिए, कोही चामल कुट्दै, खट्टे भुट्दै थिए। म भर्खर पुगेकी अनि फेरि भान्जी पल्टिएर माइजूसँग लेपो मिलाउँदै थिएँ।
बेहुला दाइ फ्याट आइपुग्यो, ओहो दाइ त बेहुला भन्दै म दाइको मुखतिर हेर्न लागें।
दाइको मुखमा त्यो बिहेवाला खुसी मैले खासै देखिनँ। माइजू पनि बाहिर मात्रै खुसी हुनुहुन्थ्यो मामा त दाइलाई हेर्न पनि रुचाउनु भएको थिएन।
म सबै देखेर अलमल्ल परें, मामाकी छोरी अर्थात् मेरी बहिनीलाई हेरें चारैतिर उसलाई कतै देखिनँ।
माइजू हस्याँङफस्याँङ गर्दै भित्र बाहिर गर्दै हुनुहुन्थो। मैले माइजूको हात समाएर पर कोठातिर तानेर लगें।
अनि बहिनीको बारेमा सोधें- बहिनी अध्ययनको शिलशिलामा एक हप्ताअघि मात्रै जापान उडेकी रहिछन्।
जवाफमा मेरो ‘ए हो र !’ मात्रै थियो अरू हुने कुरा पनि त भएन।
माइजू आफ्नै कामतिर लाग्नु भयो म सोच्नतिर।
मामा माइजूको बिहे भएको तीस औं वर्षपछि घरमा यस्तो रमाइलो उत्सव हुन लागेको छ, त्यही पनि एउटी भएकी छोरी परदेशिएको बेला।
एकछिनमा आमा काम सकेर म भएतिर आउनु भयो म आमासँग गफ गर्न थालें।
मैले आमालाई दाइको बिहेबारे चासो राखेर सोधें अनि आमाले नालिबेलीसहित यसरी बेलीबिस्तार लगाउनु भयो।
‘नानी तेरो दाइले त आफैं खोजेको केटी, हामी बराबरको त हैनन् रे, जात मिलेर के गर्नु अहिलेको जमनामा पढाइलेखाइ पनि त हेर्नु पर्यो नि होइन र! केटी त कुनि क्या हो समाचार लेख्छे रे कता कता, खासै पैसो कमाउदिन रे पढेको पनि त्यही रहेछ। खासै कुल खानदानका त होइनन् बाआमा गाउँ घरतिरै बस्छन् रे। तेरो मामा माइजूले त सम्झाउनु सम्झाका थिए दाइ भनौदोले मानेन। बिहे गरे मैले खोजेको केटीसँगै गर्छु न भए गर्दै गर्दिनँ भन्यो।
बहिनीले पढेकै कलेजमा पढेकी हो रे। कलेजमा पनि सबैसँग झगडा गर्दै हिँड्छे रे लुगा के लगाकी हो कुन्नी जिउ छोप्न ढाक्नै जानेकी छैन रे।
न रूप कि न पढाइ कि, के देखेर मन पराएको होला? हुन त त्यो नखरमाउलीले नै आफ्नो जालमा पारी होला नि!’
खै के भनौं म यो विषयमा आमासँग मुख लाग्न चाहिनँ।
साँझको बेला भयो मेहेन्दी लगाउन सबै पहेला हरिया वस्त्रमा सजिएका थिए। मामा माइजूमा बाहिरी हाँसोमात्रै भएको प्रस्ट देखिन्थ्यो।
दाइ तयार हुन आफ्नो कोठातिर लागेछ। म सबै जना भएको हलमा गएँ। त्यहाँ भाउजूको फेसबुक हेर्दै खासखुस चलिरहेको रहेछ। म पनि के कम सानिमाको आडमा गएर हुनेवाली भाउजूको फेसबुक अकाउन्ट हेरें।
हेर्दै धपक्क बलेकी बिना फिल्टरको रातो गाउनमा सजिएकी रहिछन् उनी।
स्क्रोल गर्दै गए, मोट्टी नि होइन दुब्ली पनि होइन, सर्लक्क परेको मिलेको जिउडाल, बायोमा लेखिएको थियो। ‘पन्छी जस्तै पखेंटा फिजाएर उड्ने एक चरी।’
सानिमा पनि कुरा काट्न लेप्रो तान्न थाल्नुभयो ‘केटी त फोटो हेर्दा त्यत्ति उत्ताउलो देखिँदैन त फेरि हाम्रो दाइ भाउजूले किन हामी बराबरको भैइन भनेका होलान्?
पेसा, पढाइभन्दा नि बानी व्यहोरा कस्तो छ भन्ने हो यो जमाना छोटा लुगा लगाए फोटो, टिकटक हाले भनेर जज गरेर हुन्छ र! सबैलाई मिलाएर राख्न सके भैग्यो नि’
मेरी आमा छेउमै आएर भन्न लाग्नु भयो ‘केही न केही नि कसको छोरा बुहारी घरमा आएर बस्छन् र अनि जसले जति सक्छ त्यत्ति गर्ने हो जति पढे नि कमाए नि बाँचेको दिनसम्म खुसी मिले भइगो नि खै के चाहिया हो दाइ भाउजूलाई।’
बिहे रौनक भएको घरमा यो कति स्वभाव दिइरहेको थिएन। सबैलाई मैले एक साथ बोलाएर मेहेन्दीतिरै लगें।
आफ्नो र अरूको भन्नु बित्तिकै कतै न कतै फरक त भैहाल्छ त्यही भएको होला।
बिचरी ती हुनेवाली भाउजू घरमा भित्रिनु अघि नै हामी के के सोच्न थालिसकेका छौं। यी कुरा उनको कानमा परे के हुने होला। फेरि हामी महिला पात्र यस्तो छौं कि सधैं महिलाकै कुरा गर्छौं। पछाडि धकेल्न खोज्छौं।
सायद मामा माइजूले आफ्नी छोरीमा भएको गुण ती हुनेवाली भाउजूमा ठम्याउन नसकेर यस्तो भएको पनि हुन सक्छ।
नभए त दाइले किन त्यही केटी चाहिन्छ भन्थ्यो र! उनी भित्रको क्षमतालाई फेसबुकका फोटोसँग अनि एकैछिन गफ भएको आधारमा अड्कल लगाएर हुन्छ र!
जे होस् मामाघरमा सुख शान्ति छाओस्। मामा माइजूको मन जित्ने बुहारी यो घरमा प्रवेश गरून् भन्छन् भान्जा भान्जीले दिएको आशीर्वाद पुग्छ रे यदि पुग्ने नै भए मेरो यो आशीर्वाद लागोस्।