‘सुनिस् मम्मीको कुरा, भनेको बेलामा खेत बिक्री हुँदैन रे, हामीले मिलेर भाइबुहारीका लागि काठमाडौंको जग्गामा चाँडोभन्दा चाँडो घर बनाउन ॠण सहयोग गरिदिनु पर्यो रे। मटियानीको खेत बिक्री भएपछि ब्याजसहित सबै पैसा फिर्ता दिने रे। अझ भाइको व्यवहार मिलेपछि त झन् के हामीहरूलाई पनि अलिअलि पैतृक सम्पत्ति दिन्छु भन्दै हुनुहुन्थ्यो।
के बाउको सम्पत्तिमा हाम्रो चाहिँ हक छैन र?
अलिअलि दिने रे के हामी माग्ने हौं?
कत्रो दु:ख गरेर हामीले पनि जोगाएको सम्पत्ति होइन र? उबेला न मीठो नै खान पायौं, न राम्रो नै लगायौं। टेरिकटनका कहिल्यै नफाट्ने लुगा लगाएर जोगाएको सम्पत्ति पो हो त!
आज हामीलाई दु:ख छैन भनेर पैतृक सम्पत्तिबाटै विमुख गर्न पाइन्छ र?
पैसा सापट दिनु रे भाइ बुहारीको कमाइ नभाजस्तो!
मम्मीको कुरा सुनेर त उदेक लाग्छ बाई!
लु सहयोग नै गरौंला रे भोलि के ठेगान दाजुभाइको जात न हो, मम्मीलाई तलमाथि केही भयो भने। पैसाको लेनदेन नगरेको नै जाति हुन्छ। बरू पहिलेकै तीतो ठिक।
मैले त साफ साफ भनिदिएँ। मसँग माग्ने होइन ज्वाइँसँग कुरा गर्नु भनेर। अनि त मम्मी चुप्प लाग्नुभयो।
मान्छे डेरामा बसेका छैनन् र? कति न हाम्रा भाइबुहारीले मात्र डेरामा बस्नु पर्याजस्तो। थाहा छ दिदी! मम्मीको कान पक्कै त्यही जादूगर्नीले भरेकी हुनुपर्छ।’
‘हेर सानी मम्मीको पछि लाग्ने होइन, मम्मीलाई त त्यो जादूगर्न्नीले मोहनी लगाएकी छे। यो नरलोकमा कसैको नभएकी बुहारी हाम्री मम्मीले मात्र भित्र्याउनु भएको रहेछ।’
माइली छोरी अँध्यारो मुहार लाउँदै दिदीबहिनीलाई सम्झाउन थाल्छे।
‘के भाका है तिमेरू? माइतीमा एकछिन आउँदा रमाइलो वातावरण पारन। यो मनलाई जता लग्यो उतै बहकिन्छ। सकारात्मक रूपले सोच त मम्मीको कुरालाई। ठिकै त भन्नुभएको छ। बुढाबुढी हुनुभयो। न जाडोमा राम्रोसँग घाम ताप्न सक्नु हुन्छ न गर्मीमा मज्जाले हावामा नै घुम्न पाउनु हुन्छ।
‘एक थुकी सुकी सय थुकी खोला’ त्यसै यो उखान प्रचलित भएको होइन हेर। सबै मिलेर सहयोग गरौं न त। आमा र बुहारी मिलेर बसेको पो हामीलाई पनि रमाइलो हुन्छ। सकेको गरौं। हामीलाई लाज हुनुपर्ने हो!
बाउआमा लिएर भाइ डेरा डेरा भौंतारिएको छ। हामी चाहिँ गाडी लिएर डेराका घरमा आउँदा एकफेर सोच्न सकेका छौं! अझ भाइबुहारीकै खेदो छ। बुहारीका कुरा काटेर आखिर के हुन्छ?
दृष्टि राम्रो पारौं। विराट सोचौं। सबै राम्रो हुन्छ। परनिन्दा जस्तो तुक्ष काम केही होइन।
मलाई त अरूको कुरा काटेको फिटिक्क मन पर्दैन। तिमेरू कुरा काटेर बस म त भान्सामा गएँ, बुहारीलाई सघाउन।’
‘जा जा, कतै नभाकी बुहारीकी चम्ची!’
हतार हतार चुकुल लगाएर दुई दिदी बहिनी बेधड्क अझ कचरी जमाउन
कम्मर कस्न थाले।
बुहारी भने आधा रातिदेखि उठेर काम गरेकोगर्यै छ। बल्लबल्ल आएको शनिबारको दिन, आराम गरेर एक हप्ताको थकाइ मिटाउँला भन्ने धोकोमा पहिरो गएको कसले बुझ्ने!
आमाजूहरू माइत आएका छन् भनेर आफ्ना तमाम काम थाँती राखेर चेलीबेटीलाई मन पर्ने परिकार पकाउन सुलक्षणा व्यस्त थिई।
बेला बेलामा दुई छोरीहरूले आमालाई आँखा तरेर खै गरे पनि भान्सामा बुहारीलाई सहयोग गर्न चारूदेवीका हात जुर्मुराएकै थिए।
एउटै आमाका सन्तान कसरी भन्नु माइली छोरी जीवन र जगतलाई बुझ्ने छ भने जेठी र कान्छीले मन्थरा र कैकेयीको अभिनय मज्जा गरेका छन्।
दुई छोरीहरू गुजुल्टिएर कोठामै मूर्ति भएपछि दुई चार पटक भान्साबाट नै बोलाइन् चारूदेवीले तर छोरीहरूको कानमा बतास लागेन। केही सीप नलागेपछि छोरीहरूको कचहरीमा चिया बोक्दै आमाको प्रवेश हुन्छ।
‘ओई के भएका तिमेरू, कति बोलाएँ। अन्ठाएका कि नसुनेका हौ, चिया पनि महारानीहरूलाई कोठामै ल्याइदिनु पर्ने?’
‘ह्या मम्मी! कति कराइरा भन्या, माइत आउँदा पनि केको काम गर्नु। थाल तानेर खाने हो अनि थालैमा चुठ्ने हो। तपाईं पनि चुप्प लागेर बस्नु, माइली छोरी गएकै छे नि कहीँ नभाकी चेपारी!’
कुरै कुरामा घर बनाउने कुरा उप्कियो।
दुबै छोरीहरू टकटकिएको चारूदेवीले मज्जाले बुझिसकेकी थिइन्। प्रतिकूल परिस्थितिले चारूदेवीको अनुहारमा बारूदको धुलो उडाउन थालेको वर्षौं भैसकेको थियो। त्यही पनि लामो निश्वास तान्दै मनको बह सुस्तरी पोख्न थालिन् -
‘परेको बेला तिमेरूलाई बुवाले कति सहयोग गर्नु भयो सम्झ त एक फेर। आज आ-आफ्ना घरमा सुरक्षित छौ, सम्पन्न छौ। अब भाइलाई होस्टेमा हैंसे गर। बराकठा! भाइबुहारीको बिचल्ली छ।
सासूससुराले आर्जेको सम्पत्तिमा खुट्टा पसारेर खान कति आनन्द आएको छ तिमेरूलाई।
अरूले बनाइदिएको घरमा ढुक्कले बस्न पाउँदा पनि सासू ससुरा रूइँको भारी हुन्छन्।
सम्पत्तिले पुरिदिँदा पनि माइत आएर तीन ढक्किया कुरा काट्दै बस्छौ तिनै सासू ससुराको। बुहारीलाई हेर त कस्तो समुन्द्र छे।
डेराको बास छ। हामी भएपछि पाहुनापासाको कमी हुँदैन। घरबेटीहरू ढोकामा अलि धेरै चप्पल जुत्ता देखे ठूला आँखाले हेर्न थाल्छन्। डोरीमा अलि बढी लुगा सुकाए पानीको रामायण बक्न थाल्छन्। बिरालाले बच्चा सार्याझैं हामीलाई बोक्दै कति दौडिनु। सबै घरबेटी एकै हुँदैनन् बा! बालाई पक्षघात भएदेखि गाउँमा जान सकेकी छैन। नत्र मैले जानेकी थिएँ।
के भाका यत्रो पढेका छौ। देशविदेश देखेका छौ, बुद्धि चाहिँ कस्तो ?’
आँखाको झ्यालबाट चारूदेवीका पीडाहरू एक एक गर्दै ओर्लिन थाले।
‘बाफ्रे होइन मम्मी कति माया उर्लिएको त्यो जैरी बुहारीप्रति हाम्रो त वास्तै छैन तपाईंलाई। विदेशमा सोह्र सोह्र घण्टा उभिएर दिनरात नभनि, परिवार नभनि कत्रा दु:खले आर्जेको त्यो जाबो पैसा कति नै हुन्छ र भन्या।
आफ्नै व्यवहार गर्न सधैं हाहाकार मच्चिन्छ।’
घुम्म मुख फुलाएर जेठी छोरी गजधम्म पर्छे।
चारूदेवी पुनः निराश भएर भान्सामा बुहारीलाई सघाउन जान्छिन्।
आमा ओझेल परेको मौकामा जेठी छोरी फेरि कुराको चौका हान्न थाल्छिन्।
‘हेर सानी अस्ति उताबाट आउने बेलामा पनि मम्मी भन्दै हुनुहुन्थ्यो -
बुहारीलाई सकेको सामान ल्याइदे है नानी! बिचरी तिमेरूकै बाउआमाको सेवा टहल गरेर बसेकी छ। भनेको जस्तो किन्न पुग्दैन नेपालको कमाइले। मोबाइल पनि भाइको काम नलाग्ने भएपछि बल्ल बुहारीको हातमा पर्छ।
आफैं कमाएर पनि के गर्नु आफ्ना लागि एउटा गतिलो मोबाइल किन्न सकेकी छैन बरा!
टिठ लागेर आउँछ। गरोस् पनि के गरोस् , दाल, भात र डुकुकै सेरोफेरोमा सकिन्छ कमाएको पैसो जति। भाइको पनि राम्रो जागिर छैन।
बुहारी सकिनसकी सबेरै उठेर घरधन्धा सकेर भुतुक्क भएर दुई चार पैसा घरमा भित्रियोस् भनेर कुद्छे कति नै दिन्छ र प्राइभेट कम्पनीले।
नातिको स्कुलको फी पनि अचाक्ली महङ्गी छ। मलाई केही चाहिँदैन बाबै भाइ, बुहारी र भदालाई सकेको ल्याइदे है। उमेरदार छे कति रहर लाग्दो हो। बिचरीको खाऊँखाऊँ र लाऊँलाऊँ भन्ने उमेर छ त्यसमा रोगी ससुरा र सासू घ्याच्च आएर डेरामा थुप्रिनु परेको छ। हेर नानी एउटा गतिलो मोबाइल चाहिँ नबिर्सी ल्याइदे है बुहारीलाई।’
‘हेर, मेरो त कन्सरीको रौं तातेको थियो। पक्कै मम्मीलाई टुनामुना गरेकी छ त्यसले नत्र कुन सासूले आफ्नी बुहारीलाई यस्तो अचाक्ली माया गर्छ भन त।’
‘ओई! ढोका त राम्रोसँग लगाएकी छेस्। जादूगर्नी र विदुषी दिदीको कान ढोकामै टाँसिएको होला नि फेरि। मम्मी कता जानु भएछ?’
माइली भान्सामा छँदै छे त बुहारीको चाकडीवाज।
‘मम्मी ! मम्मी!! आउनु न बल्लबल्ल हामी आएका छौं। तपाईं भने खाली भान्सामै बस्नु हुन्छ त। आउनु चाँडो।’
‘के भाका तिमेरू बुहारी भान्सामा एक्लै छ। यसो हात लगाइदिँदा के जान्छ त्यहीँ बसेर कुरा गरे उसलाई पनि रमाइलै लाग्ला। हिँड उतै, साग पनि केलाउनु छ।’
चपक्क मम्मीको हात समातेर जेठी छोरी च्याँठिन्छे-
‘बुहारी हुँदाहुँदै भान्सामा पनि तपाईं नै जोतिनु पर्ने। बुहारीलाई टाउकोमा नटेकाउनुस्, लात हानेको दिन रूँनु पर्ला। जाबो चार पाँच जनालाई खाना पकाएर खुवाउन पनि महाभारत हुन्छ।
हाम्रो घरमा पचास जना आए पनि कसैले चालै पाउँदैनन् सबै काम म एक्लैले भ्याउँछु।
हेर्नु मम्मी अरू जे जे गरे पनि घरका जुठा भाँडा छुने हैन। लिउलिउ गर्दै बुहारीको अघिपछि गर्ने पनि होइन। आफ्नो मानमा बस्नुस्। थाल तानेर खाने उमेरमा केको काम गरिराखेको।’
‘ओई, के भाकी तँ अरूको काम गर्न त जानुपर्छ पर्यो भने। तैंले खाएको थाल मैले मोलेको होइन। अनि त्यो बुहारीले नभ्याउँदा दुइटा भाँडा मोल्दा के नचाहिने कुरा गरिरहेका?
तिमेरूको कुरा जम्मै मैले सुनेको छु। कान्छी त लौ कान्छी भई तँ के भाकी हँ। मैले त त्यस्तो संस्कार दिएको थिइनँ। राम्रो सोच। यो जमानामा यस्ती बुहारी पाउनु मेरा लागि त ठूलो भाग्य हो।
हेर बुवाको कति सेवा टहल गर्छे, घरको काम पनि भ्याएकी छ। हाम्रो मानसम्मान पनि राखेकी छ। तिमीहरू आउँदा गरेकै छ।’
ओठ लेप्याउँदै दुबै छोरीहरू हाँस्छन्।
‘बुहारीले नेहोरा किन गर्छे हामीलाई थाहा छैन र ? सबै पटियानीको खेतको लागि हो। सम्पत्ति नभएको भए गर्थी! भोलि ससुरा मरे एउटी सासू त हो नि भनेर नाटक गरेकी हो, गर्छे माया।’
‘नानी हो मसँग यस्तो घटिया कुरा नगर है! मलाई आफैंदेखि घृणा जाग्छ। मैले छोरीहरूलाई कस्तो संस्कार दिएछुजस्तो लाग्छ। हेर आफू भलो त जगत भलो। मैले मेरो तर्फबाट सक्दो गर्छु।
सत्य के हो म त्यही गर्छु। अहिले छोराको राम्रो व्यवस्था भएर तिमेरूको अवस्थामा खराब भएको भए! म छोरा बुहारीलाई तिमेरूको लागि सहयोग गर्न घचघच्याउँथें। आमा हुँ। जुन सन्तान कमजोर हुन्छन् स्वाभाविक रूपमा ध्यान त्यतैपटि जान्छ। तिमेरू पनि आमा भैसकेका छौ थाहा हुनुपर्ने हो। लु हिँड्न भान्सामा खाना खान। आज शनिबार छ। हामी खाना खाएर आश्रम जान्छौं। तिमेरू आराम गरेर बस।’
सुलक्षणा ढोकामै उभिएकी थिई।
सासूका कुरा सुनेर गर्वले छाती ढक्क पार्दै थिई। केही नसुनेको जसरी उज्यालो अनुहार पार्दै, खुसुक्क भान्सामा पसी। खाना खाएपछि सबै जनाले सामूहिक फोटो खिचे।
दिदीबहिनीहरू काम छ भन्दै न्यूरोडतिर लागे।
सासू बुहारी आश्रमतिर हिँडे।
बाटोमा सासूलाई सुलक्षणाले आँखाभरि आँसु पार्दै सोधी - ‘मम्मी तपाईं कसरी आफूलाई यति स्थिर राख्नु हुन्छ। आफ्नै छोरीहरूले हल्लाउँदा पनि हल्लिनु हुन्न ? आखिर हजुरलाई कुन शक्तिले तागत दिन्छ?’
‘हेर नानी कैकेयीलाई मन्थराले कान भरेकी थिई। दोष मन्थरा को हो कि कैकेयी को?’
सुलक्षणाले सहज उत्तर दुई - मन्थराको।
‘गलत दोष कैकेयीको हो। जो मान्छे कानको कच्चा हुन्छ त्यस्तालाई जोसुकैले बहकाउन सक्छ। अरूको कुरा सुनेर सही गलत छुट्याउन नसक्ने मान्छे जराविहीन वृक्ष हो जसलाई सानोभन्दा सानो हावाले लडाउँछ। त्यसैले आफ्नो विचार र सोचमा दृढ हुनुपर्छ। मलाई आफूमा पूरा विश्वास छ। म सत्य र न्यायको पक्षमा सदैव खडा हुन्छु।’
सुलक्षणा सासूलाई गम्लङ्ग अँगालो मार्दै भन्छे- मम्मी अबदेखि म पनि हजुरसँग प्रत्येक शनिबार आश्रम जान्छु र ध्यानको अभ्यास गर्छु। मम्मी हजुरको कुरा सुन्दा मलाई पनि हजुर जस्तै अटल बन्न मन छ।
सासू बुहारी एक भएर हिँड्दा सुलक्षणाको घरमा कहिल्यै भुइँचालो आएन। घर सधैं स्वर्ग बन्यो।